नेपाली फिल्म क्षेत्रका बुलन्द अभिनेता हुन्, विपिन कार्की । यथार्थपरक र चरित्रप्रधान फिल्ममा काम गर्दै आइरहेका विपिन अहिलेसम्म हरेक फिल्ममा आफूलाई फरक–फरक गेटअपमा उतार्दै आइरहेका छन् । ‘छड्के’, ‘पशुपतिप्रसाद’, ‘जात्रा’, ‘हरि’, ‘प्रसाद’ लगायत फिल्ममा उनको अभिनय खुब रुचाइयो । करिब अढाई महिनाअघि ‘जात्रैजात्रा’को सुटिङतिर जाने क्रममा उनी मोटरसाइकल दुर्घटनामा परे । खुट्टा भाँच्चियो । त्यसपछि दुई महिना बेड रेस्ट गरे । यो शुक्रवारदेखि रिलिज भइरहेको फिल्म ‘गोपी’का लागि उनी घाइते खुट्टा लिएर प्रमोसनमा हिँडे । सोमबार, काठमाडौं सुनधारास्थित सिटिसी मलको कफी सपमा पनि उनी खुट्टा खोच्याउँदै अन्तर्वार्ता दिन आइपुगेका थिए । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :
खुट्टा खुम्चाईखुम्चाई भए पनि प्रमोसनमा हिँड्दै हुुनुहुन्छ, है ?
त्यसै भन्नुपर्ला (हाँस्दै) । घाइते खुट्टा लिएरै प्रमोसनमा हिँड्दैछु । के गर्नु, आफ्नो प्रोडक्ट (फिल्म) हो, माया लाग्दो रै’छ ! फेरि मेरो बानी के छ भने मैले कुनै फिल्ममा हात हालेपछि त्यो फिल्म निर्माता÷निर्देशकको भन्दा पनि मेरो हो भन्ने लाग्छ । सुटिङका बेला पनि कुनै दृश्यका लागि केही पनि आवश्यक कुरामा कम्प्रोमाइज गर्न दिन्नँ । बरु झगडा गरेरै भए पनि पर्फेक्ट बनाउने कोसिस गर्छु ।
डाक्टरले त तपाईंलाई आरामै गर्नु भनेको होला !
डाक्टरले भनेअनुसार नै दुई महिना पूरै बेड रेस्ट गरेँ । अहिले त डाक्टरकै सुझावअनुसार हिँड्न सुरु गरेको हुँ । बिस्तारै सुधार हुँदैछ ।
(गफिइरहेकै बेला तीन जना युवतीहरुले विपिनलाई चिनेर उनीसँग तस्बिर खिचाउन चाहे । विपिनले नम्र भाषामा ‘अन्तर्वार्तापछि है’ भनेर पठाए ।)
तपाईं घाइते खुट्टामै भए पनि प्रमोसनमा हिँडिरहनुभएको छ । यहाँ त नेपाली कलाकारहरु पारिश्रमिक थाप्नेबित्तिकै प्रमोसनबाट उम्किने गुनासो व्यापक सुनिन्छ नि ?
अँ, कताकता सुनिन्छ तर म भने भ्याएसम्म हिँड्छु किनभने म जुन फिल्ममा काम गरे पनि आफ्नो सम्झिएर काम गर्छु । बरु ‘प्रसाद’ फिल्म रिलिजका बेला नै दुर्घटना भएको भएर मैले प्रमोसनमा टाइम दिन पाइनँ । त्यतिबेला पनि वैशाखी टेकेरै म दुईपल्ट हलमा पुगेको छु । नम्रता (श्रेष्ठ) एक्लै हिँडेको देख्दा मलाई तनाव हुन्थ्यो । मैले पनि साथ दिन पाए हुन्थ्यो भन्ने फिल हुन्थ्यो । निर्माताले त्यत्रो पैसा हालेर फिल्म बनाएको हुन्छ, हामीले वास्तै गरेन भने त चित्त दुखिहाल्छ नि ! अझ ‘गोपी’जस्तो गम्भीर विषयवस्तुमाथि लगानी गर्ने निर्मातालाई त हामीले झन् दिल खोलेर सपोर्ट गर्नुपर्छ । भोलि फिल्म चल्यो भने त कम्तीमा उसले अर्को फिल्म बनाउँछ नि ! यसले फिल्म इन्डस्ट्रीलाई नै फाइदा हुन्छ, होइन र ?
तपाईंजस्तो व्यस्त अभिनेता करिब तीन महिनादेखि सुटिङ सेटभन्दा बाहिर हुनुहुन्छ । बेड रेस्टका बेला कत्तिको मिस भयो फिल्मको सुटिङ सेट ?
सुरुदेखि नै भन्छु है ! म बाइक चलाउने गर्छु । त्यो दिन पनि ‘जात्रैजात्रा’को सेटमा म बाइक चलाएरै गइरहेको थिएँ । सुटिङ बालाजुमा भइरहेको थियो । गाडी लिन आउने तयारीमा थियो तर बाइक कुदाउन सौखिन म ढिलो होला भन्ने लागेर बाइकमै हिँड्ने निधो गरेँ । टेकु पुलमा पुग्नेबित्तिकै एउटा बाइक अनियन्त्रित तरिकाले आएको देखेँ । अलिकति साइड लाउन खोज्दै थिए, तैपनि ठ्याङ्गै मेरै खुट्टातिर आएर ठोक्किइहाल्यो । मलाई थाहा भयो, मेरो खुट्टा भाँच्चियो । दुख्यो पनि तर म बाइकमै छु, लडेको छैन । उता हान्ने मान्छे भागिसक्यो । खुट्टा टेक्न खोजेँ, सकिनँ तर बेहोस् भइनँ म । मनमा अनेक कुरा खेल्यो । अरे, यत्रो खुट्टा भाँच्दा पनि म बेहोस भइनँ । यसो आँखा छाम्छु, आँशु पनि आ’को छैन । फेरि मनमनै सोच्छु, ‘अरे यार यत्रो डेन्जर कुरा हुँदा पनि आँशु त आँउदैन त यार ! फिल्ममा भए त आँशु निकालेर धुरुधुरु रुनुपर्ने हुन्थ्यो । हामीले गरिरहेको अभिनय कति यथार्थपरक रै’छ, थोरै महसुस पनि गरायो । त्यतिबेला मैले ढलीढली भए पनि मोबाइल निकालेर फिल्मको प्रोडक्सन म्यानेजरलाई फोन गरेर दुर्घटना भएको जानकारी गराएको थिएँ । दुर्घटना भएको धेरै मिनेटसम्म मलाई कसैले उठाउन आएको थिएन । सबै आउँथे, हेर्थे, विचरा भन्थे अनि जान्थे । अति भएपछि, मैले प्लिज मलाई उठाइदिनुस्, बचाइदिनुस्, ट्याक्सीमा हाल्दिनुस् भनेर गुहार माग्न थालेँ । पर रहेका दुईजना प्रहरी, एकजना ट्राफिक आइपुग्नुभयो । ट्राफिकले मलाई चिन्नुभएछ क्यार ! उहाँले साथीलाई खुसुक्कै कानमा भनेको सुने, ‘यो त कलाकार हो ।’ त्यसपछि मैले हल्का खोलेको मास्कलाई पुरै खोले । हस्पिटल पुगेँ । उपचार भयो । दुई महिना बेड रेस्टमा हुँदा निकै गाह्रो भयो । सुटिङ सेट मिस त हुन्थ्यो तर म चित्त बुझाउँथे । योभन्दा ठूलो दुर्घटना भएको भए त मैले कलाकारिता गर्न पाउँथिन होला, धन्न यति मात्रै भयो भन्दै आफूले आफूलाई फकाउँथे ।
दुर्घटना हुनेबित्तिकै झट्ट दिमागमा आएको कुरा के थियो ?
अब ‘जात्रैजात्रा’वालाहरुलाई के होला ? प्रोड्युसरलाई कति तनाव होला ? कसरी फिल्म सकिन्छ होला ? त्यतिबेला मेरो मनमा उठेको पहिलो प्रश्न नै यही थियो । अनुभवले मान्छेलाई धेरै कुरा सिकाउँछ । दुर्घटनाले पनि धेरै कुरा सिकायो ।
त्यही त, तपाईंको कुरा सुन्दा दुर्घटना त तपाईंका लागि अभिनय कक्षा नै भएछ ?
हो । कलाकारिता पेशा नै यस्तै रहेछ, कुनै पनि अनुभव खेर जाँदैन रहेछ ! आफूले भोगिसकेको कुरा भोलि पर्दामा अभिनय गर्नुपर्दा मलाई कसैले सिकाउनुपर्दैन । म आफैँ गर्नसक्छु । देख्दै नदेखेको कुरा त रिसर्च नगरी गर्नै सकिँदैन ।
हामीकहाँ अधिकांश कलाकारले आफूलाई स्रष्टा सोच्दैनन् । उनीहरु आफूलाई निर्देशकको आदेश पालना गर्ने मान्छेबाहेक अरु ठान्दैनन् । तपाईंकै नजरमा तपाईं कुन सूचीमा पर्नुहुन्छ ?
हो । डाइरेक्टर सा’ब नमस्ते भन्दै उनीहरुले जे गर्नु भन्छन्, त्यही सरासर गर्ने परिपाटी हामीकहाँ छ । सही÷गलत के गरिराछु, त्यो ठम्याउँदैनन् । यहाँ त धेरै कुरा कलाकारलाई थाहै हुँदैन क्या ! एक पन्नाको स्क्रिप्ट दिइएको छैन । कस्तो क्यारेक्टर हो, के हो, केही थाहै नभइकन फररर डायलग मात्रै बोल्दिरहेका हुन्छन् । म के बोलिरा’छु, के गरिरा’छु र यस्तो फिल्मले बाहिर के म्यासेज दिन्छ भन्नेमै प्रस्ट हुँदैनन् तर यो ठीक होइन । मलाई पर्सनल्ली यस्तो मन पर्दैन किनभने कलाकार भनेको स्रष्टा पनि हो । आफूले गरिरहेको कामप्रति ऊ पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । त्यसैले म निर्देशकको आदेशमात्रै पालना गर्ने कलाकार होइन । हरेक दृश्य पछाडिको लजिक खोज्छु । त्यसैले हरेक फिल्म साइन गर्नुअघि म डाइरेक्टरसँग बस्छु र प्रस्टसँग भन्छु, ‘फिल्ममा काम गरेपछि तपाईंको मात्रै चित्त बुझेर हुँदैन, मेरो पनि बुझ्नुपर्छ । तपाईले मेरो कुरा पनि सुन्नुपर्छ । चित्त नबुझेको ठाउँमा एकअर्कालाई कन्भिन्स गर्नुपर्छ । त्यसैले पछि मैले प्रस्ताव राख्दा, कतै सुझाव दिँदा तपाईंले म निर्देशक हो, मलाई एक्टरले अपमान ग¥यो भन्ने ढंगले नसोच्दिनुस् ।’ भोलि निर्देशकलाई मैले हस्तक्षेप गरेको महसुस नहोस् भनेर म यी सबै कुरा प्रस्ट राखिसकेपछि मात्रै फिल्म साइन गर्ने गर्छु । त्यसैले अहिलेसम्म केही समस्या आएको पनि छैन ।
(अन्तर्वार्ताकै क्रममा विपिनलाई एकजना अत्यन्तै भेट्न खोज्ने जबर्जस्त फ्यानको फोन आयो । उनले पाँच बजे कुमारी हलमा आउनू भने )
अहिलेसँगै दुईपल्ट भयो इन्टरभ्यु दिँदादिँदै फ्यानले डिस्टर्ब गरेको (हाँस्दै) । फिल्ममा फरक–फरक भूमिकामा देखिने विपिन कार्कीलाई पनि अचेल दर्शकले चिन्न थालेका हुन् ?
अलिअलि चिन्न थालेका छन् । सायद मिडियातिर इन्टरभ्यु बढी भएर होला । अस्ति भर्खर पोखरामा वर्षा राउत र म सँगै हुँदा धेरैले वर्षालाई चिने, मलाई चिनेनन् । त्यतिबेला आनन्द लाग्यो, अझै रियलमा म र मेरा क्यारेक्टर उस्तै रैनछन् । यद्यपि एक वर्षजति भयो, सेल्फी खिच्नेको संख्या निकै बढेको छ ।
‘छड्के’देखि ‘गोपी’सम्म आइपुग्दा तपाईंले सधैँ आफूलाई फरक उभ्याउनुभयो । फरक–फरक गेटअपसहित अनेक चरित्र निर्वाह गर्नुभयो । कहिले एकदमै सन्की, कहिले एकदमै निरीह श्रीमान्, कहिले रिस उठ्दो डन, कहिलो एकदमै निर्दोष त कहिले मिहिनेती कृषक । एउटा अभिनेतालाई कसरी सम्भव हुन्छ यति फरक हुन ?
मसँग केही कुरा त गड गिफ्टेड पनि होला तर बाँकी त सिकाई र भोगाई नै हो । मेरो यो थोपडा (दाहिने हातले आफ्नो अनुहारतिर इंगित गर्दै) गड गिफ्टेड नै हो जस्तो लाग्छ । जस्तो क्यारेक्टर गरे पनि मलाई यो अनुहारले फरक देखाउँछ । कसैकसैको अनुहारमा जति गरे पनि उस्तै लाग्छ । एउटा जुँगा थप्दा पनि थाहा पाइन्छ तर मेरो हकमा यही कुरा गड गिफ्टेडजस्तो लाग्छ । मलाई जे गर्दा पनि सुहाइदिन्छ । जे गर्दा पनि फरक देखिन्छ ।
कुनै त्यस्तो क्यारेक्टर र दृश्य छ, जुन अहिले आफैँले हेर्दा मैले कसरी गरेँ होला भन्ने लाग्छ ?
‘पशुपतिप्रसाद’ को ‘भष्मे डन’लाई हेर्दाखेरी मलाई त्यस्तो फिल हुन्छ । कतिपय डायलग स्पटमै फुरेको थियो अनि निर्देशकले मन पराएर त्यसैलाई ओके गर्नुभएको थियो । जस्तो एउटा सिन थियो जहाँ मैले मेरा ग्याङका दुई साथीहरुलाई ‘ए समात्’ भनेर आदेश दिँदा उनीहरु मलाई समात्न आउँछन् । खासमा मैले पशुपतिप्रसादलाई समात्नु भनेको हुन्छु । त्यसैले फेरि तत्कालै प्रस्ट पारिहाल्छु, ‘मलाई होइन, त्यसलाई’ । यस्ता केही दृश्यहरु छन् जुन अहिले पनि मलाई हेर्दा रमाइलो लाग्छ । खासमा मलाई हरेक क्यारेक्टर म होइनजस्तो लाग्छ । कहाँ म यस्तो छु, म त हुँदै होइन भन्ने लाग्छ ।
अहिलेसम्म रिलिज भएका तपाईंका सबै फिल्म हेरेपछि निर्धक्कसँग भन्न सकिन्छ, तपाईं नेपालको बुलन्द अभिनेता हो । मलाई भन्दिनुस् न, आफ्नो अभिनयमा जीवन दिनलाई तपाई के–के मिहिनेत गर्नुहुन्छ ?
घमण्ड गरेजस्तो लाग्ला तर म कसैलाई फलो गर्दिनँ । मैले अभिनयका धेरै मेथडहरु पढेको छु । भरत नाट्यम् पनि पढेको छु । कहिले कसको प्रभाव देखिएला तर मैले काम गर्ने भनेको सधैँ आफ्नै पाराले हो । दर्शकले पर्दामा ‘विपिनत्व’ मनपरा’को हो नि त ! मैले गरेकै क्यारेक्टर अर्को मान्छेले गर्दा अर्कै तरिकाले गथ्र्यो । त्यसैले मलाई लाग्छ, मेरोजस्तो पनि कसैले गर्न सक्दैन, अरुकोजस्तो पनि मैले गर्न सक्दैन । अभिनयको सबैको आ–आफ्नो निजत्व त हुनैपर्छ ।
अभिनयको गम्भीरताको कुरा गर्दैगर्दा मलाई सौगात मल्लले ‘क्यारेक्टरमा काम गर्दा अन्डरवेयरको कलर समेत ख्याल गर्छु’ भनेको याद आयो । तपाईंको त्यस्तो केही छ ?
म पनि उहाँकै चेलाजस्तै हो । सायद मैले सौगात दाइको संगत नपाएको भए यो लेभलमा काम गर्थिनँ होला । कसरी एक्टिङलाई सिरियस लिने भन्ने कुरा त मैले उहाँबाटै सिकेको हो । गुरुकुलमा पढ्दा उहाँ मेरो रुममेट नै हुनुहुन्थ्यो ।
हिरोको परम्परागत मान्यतालाई तोड्दै उदाएका दयाहाङ राई, सौगात मल्लहरुले पछिल्लो समय ‘फर्मुला फिल्म’मा पनि काम गरेको पाइयो । हिरोइनको वरिपरि नाचेको पनि पाइयो तर तपाईं अहिलेसम्म त्यस्तो फिल्ममा देखिनुभएको छैन, यथार्थपरक र चरित्रप्रधान फिल्ममै काम गरिरहनुभएको छ । यो अडान हो कि फर्मुला फिल्म पनि गर्ने सोच छ ?
अडान नै त होइन तर आफूले यथार्थपरक र चरित्रप्रधान फिल्ममै काम गर्न मन लाग्छ । फर्मुला फिल्म भन्नेबित्तिकै पहिले गरिसकेकै कुरा के गर्ने भन्ने मन लाग्छ । नढाँटी भन्नुपर्दा मलाई खासै यस्तो फिल्ममा अफर आउँदैन पनि । कन्टेन्ट र क्यारेक्टर बेस्ड फिल्ममै मलाई बढी अफर आइरहेको हुन्छ ।
अरु चकलेटी हिरोहरुजस्तै रोमान्टिक फिल्म गरेर हिरोइनसँग रोमान्स गर्ने मन छैन तपाईंलाई ?
अनेस्ट्ली भन्नुपर्दा, मलाई एकपल्ट त्यस्तो खालको फिल्म गर्ने मन छ । त्यस्तो खालको भन्दैमा ड्याङ कि ड्याङ डाँडामा नाँच्ने खालको भने होइन है ! क्यारेक्टर बेस्डमा रहेर गर्ने मन हो । यसलाई यस्तो रोल सुहाउँदैन है भन्ने मान्छेहरुलाई गलत साबित गर्दिनका लागि पनि त्यस्तो रोमान्टिक फिल्म एकपल्ट गर्ने मन छ ।
दुई वर्षअघि कुराकानी गर्ने क्रममा तपाईंले मलाई भन्नुभएको थियो, ‘स्क्रिप्ट छान्ने मामिलामा म एकदमै सिरियस छु, कडा छु ।’ त्यस्तो कडा मान्छेले अभिनेता खगेन्द्र लामिछानेले अन्तिम समयमा रिजेक्ट गरेको ‘गोपी’ एक रातमै कसरी खेल्न ‘ओके’ गर्यो ?
अँ त, एक रातमै गरेँ है (हाँस्दै) ।
फिल्म रिलिजका बेला सोधिरहेको छु, फेरि पनि सही निर्णय गरेँ भन्ने लाग्छ ?
त्यसमा त कुनै शंकै छैन । अरुले झुरै भनून्, फिल्म फ्लप नै होस् या समीक्षकले जिरो रेटिङ दिऊन्, मलाई त्यसले कुनै फरक पार्दैन । मैले ‘गोपी’ फिल्ममा गरेको काम र क्यारेक्टरप्रति म सधैँ गर्व गर्नेछु । तीन महिना लाएर फिल्मको निर्णय लिने मान्छे हुँ म । अरुलाई पनि किन हतारमा निर्णय लिन्छस् भनेर सुझाउने मान्छे तर आफूले जिन्दगीमा भोगिसकेको क्यारेक्टर आफ्नो टेबलमा आइपुगेपछि छोड्न मनै लागेन । ‘गोपी’को गाईपालक क्यारेक्टरले मलाई सुरुमै मलाई रिलेट गर्यो किनभने मैले घाँस त डोकाका डोका काँटेको छु । गोबरका गोबर सोहोरेको छु । अलरेडी गाईको दुध दुहेको छु । अनि यस्तै क्यारेक्टर मकहाँ आइपुगेपछि मैले किन नगर्ने ? यो एउटा पाटोको कुरा भयो । अर्को पनि कारण छ । मैले सम्मान गर्ने कोही मान्छेले मलाई ‘म अन्तिम समयमा आपत्मा परेँ, तपाईंले फिल्ममा काम गर्दिनु पर्यो नत्र मेरो प्रोड्युसर नै उम्कने भयो’ भनेर रिक्वेस्ट गर्छ भने थोरै उदार त म हुन्छु नै तर उदारताकै कारण मैले यो फिल्म गरेको भने होइन । पहिलो त फिल्मको कथाले छोएरै हो । हत्तपत्त म एक बसाइमा स्क्रिप्ट पढ्न सक्दिनँ तर मैले एक रातमै पढिसकेको स्क्रिप्ट हो । सलल बगेको भएर । यद्यपि म सधैँ यस्तरी काम भने गर्दिनँ । सधैँ हतारमा निर्णय लिन्नँ । दीपेन्द्र दाइहरु (लामा, फिल्मका निर्देशक)का लागि एकपल्ट गरेको हुँ ।
अरुले प्रशंसा गरिरहेकै क्यारेक्टरमा पनि आफ्नो फिल्म हेर्दा कमजोरी भेट्नुहुन्छ कि हुन्न ?
भेट्छु । म त मैले कुनै पनि फिल्ममा पर्फेक्ट गर्न सकेजस्तो लाग्दै लाग्दैन । त्यसैले श्रीमतीका अगाडि आफ्नो फिल्म हेर्न आज पनि लाज लाग्छ । सबै फिल्मको कामबाट म अहिलेसम्म पूर्ण सन्तुष्ट त छैन, एउटा बाहेक । ‘हरि’ फिल्मबाट भने पूरा सन्तुष्ट छु । वर्षमा एउटा भए पनि त्यस्तो फिल्म गर्न पाइरहूँ भन्ने लाग्छ ।
नेपाली फिल्म क्षेत्रको सबैभन्दा ठूलो समस्या के लाग्छ ?
सुरुमा त यहाँ जो पनि आफ्नो स्वार्थले आउने हो । सुरुमा कोही पनि म राष्ट्रको सेवा गर्छु भनेर कलाकार बन्न आएको हुँदैन । त्यसैले म सरकारले यो गरेन, त्यो गरेन भनेर आलोचना गर्ने व्यक्तिमा पर्दिनँ । पहिला आफूले गर्नुपर्छ । हाम्रो फिल्म क्षेत्रको सबैभन्दा ठूलो समस्या भनेको बुझ्दै नबुझी फिल्म बनाउनु हो । पैसाको धाकमा फिल्म बनाउँछन् यहाँ । उनीहरुलाई फिल्मको न्यूनतम ज्ञान पनि हुँदैन । पैसा हाल्ने मान्छे खोज्ने, राम्रो चिफ एडी (मुख्य सहायक निर्देशक) राख्ने अनि आफू निर्देशक बन्नेहरु धेरै छन् । उनीहरुलाई टेक्निकल कुरा केही थाहै हुन्छ । लेन्सको बारेमा केही पनि ज्ञान हुँदैन । कुन इमोसन्सलाई कुन लेन्समा खिच्ने भन्ने नै थाहा नभएको मान्छे निर्देशक हुन्छ । यो जत्तिको लज्जास्पद कुरा अरु के हुन सक्छ ? आखिर फिल्म त डाइरेक्टरको सिर्जना हो नि ! तर हामीकहाँ त सबैकुराको ज्ञान हुने डाइरेक्टरकै अभाव छ ।
Leave A Comment