रजश्वला हुँदैमा गर्भ रहँदैन

बुधबार, २३ माघ २०७५, ०६ : ४४ शुक्रवार
रजश्वला हुँदैमा गर्भ रहँदैन

आजकालको खानपान, बच्चाको स्याहार–सुसार र शिक्षाको कारणले पहिलो रजश्वला हुने समय घट्दो छ । केही वर्ष अगाडिसम्म सामान्यतः पहिलोपटक रजश्वला १२ देखि १४ वर्षसम्ममा हुन्थ्यो भने आजकाल विकसित देशको तथ्यांक हेर्दा ८ देखि १२ वर्षभित्रमा हुन्छ । तर १६ वर्ष सम्ममा रजश्वला भयो भने पनि सामान्य नै मान्नु पर्छ । 

पहिलो रजश्वलापछि डिम्बाशयबाट डिम्ब निस्कने पनि हुन्छ । डिम्बाशयबाट डिम्ब ननिस्किएको अवस्थामा यौन सम्पर्क भए पनि गर्भ रहने कुरै भएन । यौन जोडीबीच यौन सम्पर्क भए पनि पहिलो रजश्वला भएको दुई वर्षसम्म निशेचन नभएर भु्र्ण (गर्भ) नरहनुलाई सामान्य नै मान्नु पर्छ । तर हाम्रो जस्तो बन्द समाजमा विवाह गरेको दुई वर्षसम्म पनि गर्भ रहेन भने कोलाहल मच्चाउनेको कमी छैन । विवाह गरेर बच्चा नहुँदा अनावश्यक टिका टिप्पणी हुन्छन् । फेरि यौन शिक्षा र कानुनी जटिलताका कारण जोडीहरुको सल्लाहले नै परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्नेको संख्या पनि कम छैन । 

रजश्वला हुँदैमा गर्भ रहँदैन
१८ वर्षपछि हरेक ४ हप्तामा नियमित रजश्वला नहुनु असामान्य हो । सामान्यतः २८ दिनमा महिलाको रजश्वला हुन्छ । प्रत्येक २८ दिनमा रजश्वला नभई तलमाथि हुनुलाई ‘अनियमित’ रजश्वला भनिन्छ । पहिलो रजश्वला भए पनि बढीमा दुई वर्षसम्म नियमित रजश्वला नहुन सक्छ । कसैको रजश्वला भए पनि पहिलो रजश्वला भएको दुई वर्षसम्म डिम्ब ननिस्कन सक्छ । गर्भ रहनका लागि महिलाको डिम्ब निस्कन आवश्यक हुन्छ । 

शारीरिक, मानसिक (अत्यधिक तनाव) अस्वस्थताका कारणले पनि नियमित रजश्वला नहुन सक्छ । विभिन्न किसिमका शारीरिक रोगका कारणले पनि नियमित रजश्वला हुँदैन । बाह्य तथा आन्तरिक यौनजन्य अंगको विकास भएन भने, पारिवारिक रोग र वंशाणुगत असामान्य अवस्थामा पनि रजश्वला नभई डिम्ब ननिस्कन सक्छ । 

पुरुषको शुक्रकिट उत्पादन नभएको अवस्थामा पनि यौन जोडीबीच यौन सम्पर्क भए पनि त्यस्ता पुरुषका कारणले बच्चा हुँदैन । उत्पादन भएको शुक्रकिट अधिकांश असामान्य भएको खण्डमा पनि त्यस्ता पुरुषले यौन सम्पर्क गरे पनि बच्चा हुँदैन । 

कुनै पनि बच्चा हुने वा नहुने भन्ने विषय ६५ प्रतिशत महिलाको कारण हुन्छ भने ३५ प्रतिशत पुरुषमा भर पर्छ । त्यसै कारणले यस्तो संवेदनशील विषयमा शारीरिक परीक्षणका साथै यौनाङ्गको परीक्षण नगरिकन गर्भ रहन्छ वा रहन्न भन्ने निक्र्योल गर्न सकिँदैन । 

वयस्क डिम्ब आवश्यक
सामान्यतया पुरुषको शुक्रकिट वयस्क हुनलाई ७४ दिन लाग्छ भने महिलाको डिम्ब वयस्क हुन वर्षदिन लाग्छ । महिलाको एक वर्षमा करिब १३ वटा वयस्क डिम्ब निष्कासन हुन्छ । महिलाले जीवनभरमा करिब चार सय ७० वटा वयस्क डिम्ब निकाल्छन् । त्यसैले पनि गर्भ रहेन भनेर हतार गर्नु उपयुक्त हैन । 
गर्भ रहनका लागि महिलाको डिम्बाशयबाट वयस्क डिम्ब निष्कासन हुनुपर्छ ।

डिम्ब निष्कासनपछि फेलोपियन नलीको औँलाले डिम्ब समात्नु पर्छ । औँलामा समातेको डिम्ब फेलोपियन नलीबाट सरासर फेलोपियन नलीको ठाउँमा आउनुपर्छ । नलीको फुकेको ठाउँमा आएपछि योनिको बाटो हुँदै शुक्रकिट सर्भिक्स, पाठेघरको बाटो हुँदै युटेराइन नली हुँदै फुकेको ठाउँमा पुरुषको शुक्रकिट र महिलाको डिम्ब भेट हुन्छन् र निशेचन हुन्छ । त्यसपछि पुनः शुक्रकिट गएको बाटो हुँदै पाठेघरमा भ्रुण अवस्थामा विकास हुँदै जान्छ । यो क्रम करिब दुई सय ७० दिन रहन्छ । भु्रण करिब दुई सय ७० दिन पाठेघरमा रहन्छ । नियमित रजश्वला नभएको अवस्थामा भने यी कुनै पनि भु्रण विकास हुने  प्रक्रिया हुँदैन । 

असामान्य शुक्रकिट
पुरुषले महिलालाई गर्भधारण गराउनका लागि पुरुष शारीरिक र मानसिक स्वस्थ भएर मात्रै हुँदैन । गर्भधारणका लागि यौनाङ्गहरु सक्षम र क्रियाशील हुन जरुरी छ । यौन जोडीबीच यौन क्रियाशील भएर मात्रै गर्भ रहँदैन ।

गर्भ रहनका लागि पुरुषको अण्डाशयबाट सामान्य शुक्रकिट निस्कनु पर्छ । शुक्रकिटजन्य नलीको भित्री भाग साँघुरिएर नलीको शुक्रकिट बाहिर निस्कन पाएन भने पनि गर्भ रहँदैन । शुक्रकिटजन्य नलीबाट सामान्य शुक्रकिटहरु निस्किए तर विभिन्न यौनजन्य ग्रन्थीबाट रसायन निस्किएन भने पनि यौन जोडीबीच यौन सम्पर्क हुँदैमा गर्भ रहँदैन ।

पेटमै अण्डा
कतिपय व्यक्तिको त अण्डाशयको छाला भित्री अण्डा नभएर तल्लो पेटमा रहेको अवस्थामा पनि गर्भ रहँदैन । यस्तो अवस्थामा १२ वर्षको उमेरअगाडि नै तल्लो पेटमा विकास भएको अण्डा शल्यक्रिया गरी अण्डाशयको छालाभित्र ल्याउनु पर्छ । कतिपय पुरुष बच्चाको अण्डा तल्लो पेटमा रहेको हुन्छ । कसैको एउटा डल्लो तल्लो पेटमा र अर्को अण्डाशयको छालाभित्र रहन्छ । 

शरीरको सामान्य तापक्रमभन्दा दुई डिग्री सेन्टिग्रेटभन्दा कम तापक्रममा शुक्रकिट बाँच्छन् । कम तापक्रम आवश्यक पर्ने भएकाले प्राकृतिक रुपमै अण्डा अण्डाशयमा झर्छन् । तल्लो पेटबाट अण्डाशयसम्मको बाटो नखुलेको अवस्थामा अण्डा पेटमै रहन्छन् । तसर्थ अण्डाशयको छालाभित्र अण्डा छ छैन अभिवावकले थाहा पाउनु पर्छ । 

महिलाको डिम्ब डिम्बाशयबाट शरीरको सामान्य तापक्रममा वृद्धि हुने भएकाले डिम्ब, डिम्बाशय, डिम्बनली, पाठेघर, सर्भिक्स, योनिग्रन्थी र योनिनली शरीरभित्रै हुन्छन् । शरीरको तापक्रमअनुसार चाहिने भएकाले यौनाङ्गहरु महिलाको शरीरभित्र भएका हुन् । 

उपचार गरे बच्चा हुन्छ
गर्भ रहने असामान्य अवस्थामा महिला र पुरुष उत्तिकै जवाफदेही हुन्छन् । एकले अर्कोलाई दोषारोपण गर्नु हुँदैन । गर्भ नरहने समस्या भएका यौन जोडीले विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुका साथै उपचार गर्नुपर्छ । समस्या निराकरणतर्फ लाग्नु पर्छ । 

महिलाको अङ्गका साथै हर्मनको विश्लेषण नगरी रजश्वला नहुनुको कारण बताउन सकिन्न । स्वास्थ्य परीक्षण गर्नै पर्छ । सम्बन्धित विशेषज्ञको राय र सल्लाहमा उपचार गरे उपचारपश्चात् ९० प्रतिशतभन्दा बढी महिलामा रजश्वला नियमित भई गर्भाधान हुन्छ । कतिपयको सामान्य चिकित्सकीय पद्धति, शल्यक्रिया र हर्मनल उपचार (थेरापी) ले रजश्वला नियमित हुन्छ । गर्भाधान हुन्छ । नियमित उपचार गर्नु पर्छ । त्यसै कारणले उपचार गरे नियमित रजश्वला हुन्छ । गर्भ रहन्छ । तर महिला सामान्य हुँदैमा गर्भ रहन्छ नै भन्ने छैन । पुरुष असामान्य भएको अवस्थामा कसरी गर्भ रहन सक्छ र ! त्यसैले पुरुष पनि सामान्य हुन आवश्यक हुन्छ । 

(याैन र स्वास्थ्यबारे कुनै समस्या भए infoshukrabar@gmail.com मा पठाउन सक्नुहुन्छ)
 

Leave A Comment