‘२० लाख पर्यटक ल्याउन सम्भव छ’

बिहिबार, २४ माघ २०७५, ११ : ५४ शुक्रवार
‘२० लाख पर्यटक ल्याउन सम्भव छ’

गल्फ एयरलाइन्सबाट करिअर सुरु गरेका विनोद सापकोटा अहिले आइएमई ग्रुपले सञ्चालन गरेको आइएमई ट्राभल्स डट कमको प्रमुख कार्यकारी अधिकृत छन् । आइएमई समूहले पछिल्लो समय पयर्टन क्षेत्रमा समेत लगानी बढाइरहेको छ । ट्राभल्सले पर्यटन प्रवद्र्धनका लागि खेलको भूमिका, मुलुकमा पर्यटनको सम्भावना र अवसरलगायतका विषयमा सापकोटासँग शुक्रवार साप्ताहिकका लागि गरिएको कुराकानी :

आइएमई ग्रुप किन पर्यटन क्षेत्रमा आएको हो ?
आइएमई ट्राभल्स यसअघिदेखि नै सञ्चालनमा थियो । ग्रुपले चन्द्रागिरी हिल्समार्फत केबलकार सञ्चालन गरिसकेको छ । चन्द्रागिरीमा होटल सञ्चालनको तयारीमा छ । अहिले अलि एग्रेसिभ रुपमा अघि बढिरहेका छौं ।

आइएमई ट्राभल्सले के कस्ता सेवा दिइरहेको छ ?
मुख्यगरी टुर, टिकेटिङ, प्रदर्शनी तथा प्रोत्साहन, मिटिङ एण्ड इन्सेन्टिभको विभिन्न पक्षमा फोकस गरेर सेवा दिइरहेका छौं । सरकारले समेत अनुदान दिएकाले डोमेस्टिक टुरिजम, इनबाउण्ड र आउटबाउण्ड टुरिजमलाई प्राथमिकतामा राखेका छौं । टिकेटिङमा पनि बजारलाई नेतृत्व गर्ने योजनामा छौं ।

प्याकेज कस्ता छन् ?
डोमेस्टिक टुरिजममा अवसर छ । अहिले डोमेस्टिक टुरिजमलाई विशेष फोकस गरिरहेका छौं । डोल्पा, रारा, अपर मुस्ताङ, धार्मिक पर्यटकसँग सम्बन्धित मुक्तिनाथ, मनकामनालगायतका पर्यटकीय गन्तव्यलाई प्याकेजमा राखेका छौं । डोल्पा भर्जिन ल्यान्ड हो । आगामी अक्टुबरमा डोल्पामा इन्टरनेसनल बाइक टुरको आयोजना गर्दैछौँ । विदेश घुम्न जाने नेपालीहरुको मुभमेन्ट पनि बढिरहेको छ । यसलाई अवसरको रुपमा लिँदै सेवा दिन थालेका छौँ । थाइल्यान्ड, सिंगापुर, मलेसिया, दुबई, इन्डोनेसिया प्राइम डेस्टिनेसमा पर्छ । युरोपियन देशका लागि पनि टुर प्याकेज बनाएका छौं ।

नेपालीमा घुम्ने संस्कृति बढेको हो ?
पहिला थोरै पैसाले घुम्न जान सकिन्छ भन्ने कन्सेप्ट थिएन । अहिले थोरै पैसा भए पनि घुम्न जान सकिन्छ भन्ने ट्रेन्ड बढेको छ । विगतको तुलनामा टुरिजम कल्चर बढेको हो ।

विदेशी पर्यटकलाई आकर्षित गर्ने के कार्यक्रम छन् ?
सगरमाथालगायतका हिमशृंखला र प्राकृतिक सुन्दरता देखाउने, नेसनल पार्क, बुद्ध जन्मभूमि नेपाल हो भनेर चिनाउने लगायतका टुर प्याकेज सबैले बनाएका छन् । तर नयाँ सिर्जना गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । जसअन्तर्गत अहिले विदेशी नागरिकलाई फोकस गरेर नेपालका सम्पूर्ण हिमशृंखलालगायत टुरको बारेमा र धार्मिक गन्तव्यलाई समेटेर एप्लिेकेसन बनाउँदै छौं ।  त्यसमार्फत विदेशमा प्रचार गर्ने योजना छ । 

सरकारले विदेशी पर्यटक भित्र्याउन ‘भिजिट नेपाल–२०२०’ कार्यक्रम ल्याएको छ, यसलाई सफल पार्न के गर्नुपर्छ ?
राज्यले घोषणा गरेका कार्यक्रमलाई सघाउनु निजी क्षेत्रको दायित्व हो । यसमा पर्यटन बोर्डसँग सहकार्य गरेर नेपाल एसोसिएन टाभल एण्ड टुर एजेन्ट्स, नाटा, पाटा, हानलगायतका एसोसिएसनले प्राथमिकता दिनुपर्छ । भिजिट नेपाल २०२० मा सरकारले प्रमोशन ग-यो भने त्यसको फाइदा पर्यटन क्षेत्रलाई हुन्छ । राज्यसँग असीमित स्रोत र अधिकार हुन्छ । सरकारले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग टाइअप गरेर प्रमोसन गर्ने काम गर्नुपर्छ । तब मात्र वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य पूरा हुन्छ । 

यो सफल होला त ?
बैंककमा वार्षिक तीन करोड पर्यटक जान्छन् भने नेपाल जस्तो पर्यटकीय सम्भावना बोकेको मुुलुकमा जम्मा २० लाखको लक्ष्य पूरा गर्न नसक्ने भन्ने नै हुन्न । पूर्वाधार बनिसकेको छ । सम्भव छ ।

कुन—कुन देशका पर्यटकलाई फोकस गरेर कार्यक्रम सञ्चालन गर्नुपर्छ ?
हामी चीन र भारतको बीचमा छौं । यी दुई मुलुक नै हाम्रा लागि प्रमुख बजार हुन् । भारतसँग धर्म, संस्कृति, रीतिरिवाज मिल्छ । हिन्दूलाई मात्र यहाँ ल्याउन सक्यौं भने ठूलो संख्या हुनसक्छ । त्यसैगरी, चीनबाट पनि भित्राउन सकिन्छ ।  धार्मिक पर्यटनका हिसाबले थाइल्यान्ड, म्यानमारबाट ल्याउन सकिन्छ । युरोपियन, अमेरिकन कन्ट्रीबाट हिमशृंखला अवलोकन, ट्रकिङका लागि आउन सक्छन् ।

सरकारी निकायले के कुरामा ध्यान दिनुपर्छ ?
भर्खर इन्डोनेसियाका प्रतिनिधि नेपाल आएर फर्किए । उनीहरुले पर्यटक आकर्षित गर्न एक सय ६७ देशलाई भिसा शुल्क फ्री र भिसा अनएराइभल दिँदा रैछन् । नेपालले पनि यस्ता ट्रिकी कन्सेप्ट ल्याउनुपर्छ । धेरै टुरिष्ट भित्राउने कम्पनीलाई इन्सेन्टिभ दिनुपर्छ । अहिले राज्यले विदशी पर्यटकलाई १५ दिनको भिसा शुल्क २५ डलर लिन्छ । मानौं योे शुल्क फ्री ग-यो भने उनीहरु यहाँ आएर २५ सय डलर खर्च गर्न सक्छन् । भिसा शुल्क फ्री भयो भने प्याकेजले आकर्षित गर्न सकिन्छ । 

Leave A Comment