‘साथीका सिफारिसमा फिल्म हेर्छु’

बिहिबार, १३ साउन २०७३, १० : २० शुक्रवार , Kathmandu
‘साथीका सिफारिसमा फिल्म हेर्छु’

प्रभातविक्रम कटवाल, प्रवक्ता
युवा संघ, नेपाल

राजनीतिमा लागेको कति भयो ?
२०५५ सालबाट राजनीति थालेको हुँ ।
किन लाग्नुभयो ?
युवाहरूको उत्थानका लागि । समृद्धिसँग युवालाई जोड्नका लागि । अन्याय र असमानता तोड्ने उद्देश्यले पनि राजनीतिमा लागेको हुँ ।
उद्देश्य पूरा भयो त ?
हुने क्रममा छ । अन्याय र असमानता तोडिँदै छ । युवालाई रोजगारीसँग जोड्नुपर्छ भनेर संघबाट योजनाबद्ध रूपमै लागेका छौँ । नेता होस् वा कार्यकर्ता । हरेकले केही न केही व्यवसायमा लाग्ने कुरा विधानमै उल्लेख ग¥यौँ ।
मनोरञ्जनका लागि के गर्नुहुन्छ ?
साथीभाइसँग हुँदा रमाइलो लाग्छ । कहिलेकसो घुमघाम पनि गर्छु ।
कुन ठाउँमा घुम्न रमाइलो लाग्छ ?
आफ्नै गाउँठाउँ खोटाङ, हलेसीतिर घुम्न रमाइलो लाग्छ । पर्यटकीय क्षेत्रतिर जाँदा पनि रमाउँछु ।
फिल्म हेरिन्न ?
कहिलेकाहीँ समाजसँग जोडिएका र साथीहरूले ‘रिफर’ गरेका फिल्म हेर्छु ।
दिमागमा नमेटिने गरी बसेको फिल्म कुन हो ?
‘युगदेखि युगसम्म’ मनमा बसेको फिल्म हो । कहिल्यै बिर्सन्नँ । अरू त त्यतिखेरै बिर्सिन्छु ।
मन पर्ने कलाकार ?
गौरी मल्ल, राजेश हमाल, भुवन केसी ।
गेम खेल्नुहुन्न ?
पहिला खेलिन्थ्यो, भलिबल । अचेल हेरिन्छ, फुटबल र क्रिकेट ।
मन पर्ने खेलाडी ?
फुटबलमा हरि खड्का, क्रिकेटमा पारस खड्का ।
गीत सुनिन्छ ?
सुन्छु । लोकगीत र आधुनिक गीत मन पर्छन् । नारायण गोपाल, प्रमोद खरेलका गीत धेरै सुन्छु । अहिले रोपाइँ चलिरहेकाले असारे गीत सुनिन्छ ।
फेसनेबल हुन रुचाउनुहुन्छ ?
युवा उमेर हो । हल्का चिटिक्क पर्न त मन लाग्ने नै भयो ।
मोबाइल कस्तो बोकिन्छ ?
फेसबुक चल्ने मोबाइल छ, हुवावेको । आईटीमैत्री हुने संघकै योजनाअनुसार त्यस्तै हुन खोज्दै छु ।
फेसबुक, ट्वीटरमा कत्तिको अपडेट हुनुहुन्छ ?
ठीकै । दिनमा दुईतीन घण्टा फेसबुक र ट्वीटर मिलाएर समय दिन्छु ।
बाइक चढ्नुहुन्छ क्यारे ?
हो । १ सय ५० सीसीको पल्सर चढ्छु ।
तपाईंको आदर्श व्यक्ति ?
मदन भण्डारी ।

 

Leave A Comment