‘टिभीमा हेर्नेले मलाई प्रेम प्रस्ताव राख्ने आँटै गर्दैन’

बिहिबार, २४ माघ २०७५, ०६ : ०८ शुक्रवार
‘टिभीमा हेर्नेले मलाई प्रेम प्रस्ताव राख्ने आँटै गर्दैन’

हास्य टेलिसिरियल ‘दोबाटे’की प्रमुख कलाकार हुन्, लक्षणा राई । उनले आफ्नो जिन्दगीका फरक र रोचक अनुभव शुक्रवारलाई यसरी सुनाइन्ः 

पहिलो क्यामेरा फेस 
मलाई सुरुमा क्यामेरामा कसरी अभिनय गर्ने होला भन्ने लाग्थ्यो । मनमा डर र त्रास त हुने नै भयो ! स्टेज कार्यक्रमहरु गरिरहेको भए पनि क्यामेरामा अभिनय गरेकी थिइनँ । पहिलोपल्ट यही सिरियलबाट क्यामेरा फेस गरेकी हुँ । पहिलो सिन तीन टेकमा ओके भएको अझै याद छ ।  

खिसी गर्लान् भन्ने डर
मेरो ज्यान मोटो छ । सुरुसुरुमा मेरो सिरियल आउँदैछ भनेर भन्न पनि लाज लाग्थ्यो । खिसी गर्लान् कि भन्ने डरले मैले धेरै समय काम गरेको कसैलाई भनिनँ । मेरो सिरियल आउँदैछ, हेर है भन्न ’नि लाज लाग्थ्यो । त्यो स्थानीय हिमशिखर टेलिभिजनबाट प्रसारण हुँदासम्मको कुरा हो । अहिले राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुन थालेपछि धेरैले मलाई चिन्न थालेका छन् । मोफसलमै रहेर पनि कलाकारिता गर्न सकिने रहेछ भन्ने विश्वास बढेको छ । पथरीजस्तो गाउँमा रहेर विश्वभर चिनिन सकिएला भन्ने सोचेकै थिइनँ । अहिले सम्झँदा पनि सपनाजस्तो लाग्छ । मेरो ज्यान अलिक मोटो भएर हो या अभिनयले हो, दोबाटेमा मेरो क्यारेक्टर मलाई फिट भए जस्तो लाग्छ । 

म शिक्षक पनि हुँ
धेरैलाई थाहा नहोला, म शिक्षण पेसामा पनि आबद्ध छु । मोरङको पथरीमा रहेको एउटा बोर्डिङ स्कुलमा पढाउँदै आएकी छु । बिहान कलेज पढ्छु भने दिउँसो स्कुलमा पढाउँदै आएकी छु । सिरियल मात्र गरेर टिक्न सकिँदैन, त्यसैले पढाउँछु । अभिनय गर्ने भएर होला विद्यार्थी पढाउँदा पनि अभिनय गर्दै पढाइरहेकी हुन्छु । विद्यार्थी पनि रमाइलो मान्छन् । 

विल्सन विक्रमको त्यो कल 
हाँस्य कलाकार विल्सन विक्रम राईलाई भेट्ने मेरो ठूलो सोख थियो तर भेट जुरेको थिएन । एकपटक मोरङको जाँतेमा कार्यक्रम सञ्चालन गर्ने जिम्मा मलाई दिइएको थियो । त्यो कार्यक्रममा उहाँ गेस्ट हुनुहुन्थ्यो । त्यतिबेला मलाई उहाँसँग बोलुम्ला र एउटा सेल्फी खिचम्ला भन्ने ठूलो आशा थियो । मैले नै उहाँले स्टेजमा निम्ताएँ । आउनुभयो । हँसाउनुभयो । अनि राम्रो कार्यक्रम चलाउनु हुँदोरै’छ भन्दै फर्कनुभयो । त्यो बेला मेरो उहाँसँग बोल्ने र सेल्फी खिच्ने योजना अधुरै रह्यो । पछि ‘दोबाटे’को चर्चा बढेपछि उहाँले पनि सिरियल हेर्न थाल्नुभएछ । राम्रो लागेछ क्यार, उहाँले आफैँ फोन गरेर प्रशंसा गर्नुभयो । म त खुशीले गद्गद् भएँ । लाग्यो, म पनि बिस्तारै चिनिन थालेछु । 

आँट गर्ने भेटिएनन्
टेलिफिल्ममा हेरेर मलाई जो कोहीले प्रेम प्रस्ताव राख्ने आँटै गर्दैनन् । मेरो त्यो ठाउँमा अलिक रिसाहा क्यारेक्टर छ । धेरैजसो रिसाइरहेको अवस्थामा नै हुन्छु । सायद त्यो हेरेर नै होला, मलाई कसैले प्रेम प्रस्ताव राख्दैन तर उनीहरुलाई के थाहा म पनि डरपोक छु । प्रेम प्रस्ताव राख्न डर लाग्छ (हाँस्दै) ।  

प्रस्तुति : भोला अधिकारी
 

Leave A Comment