गत साताबाट हलमा प्रदर्शनरत फिल्म ‘रणवीर’बाट नेपाली फिल्ममा डेब्यू भएकी अभिनेत्री हुन्– शुभेच्छा खड्का । सन् २०१२ को मिस नेपाल प्रतियोगितामा सेकेन्ड रनरअप हुँदै मिस नेपाल इन्टरनेशनलको उपाधिसमेत जितेकी उनले टेलिभिजनको प्रस्तोताको रुपमा पनि लामो समय काम गरेको अनुभव छ । त्यो बेला नै उनलाई फिल्मको अफर ओइरो थियो तर मिस नेपालमा भिडेको सात वर्षपछि बल्ल फिल्म खेल्न तयार भइन् । पहिलो फिल्मकै व्यापार भने सन्तोषजनक देखिएन । फिल्मले राम्रो व्यापार नगरिरहेका बेला शुभेच्छा भने सकारात्मक नै देखिएकी थिइन् । उनै नवअभिनेत्रीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :
फिल्मबाट सोचेजस्तै रिजल्ट आइरहेको छ त ?
जति जनाले फिल्म हेर्नुभएको छ, प्रायःको रेस्पोन्स राम्रो छ । फिल्म मन पराइदिनुभएको छ । तैपनि दर्शकको संख्या सोचेजस्तो देखिएन ।
बिजनेस राम्रो भएन, है ?
त्यो त मैले भन्न नमिल्ला तर फिल्म हेर्नेको फिडब्याक भने राम्रो छ ।
चाहे जे काम गर्दा होस्, पहिलोबाट मान्छेलाई ठूलो अपेक्षा हुन्छ । सायद तपाईंको पनि थियो । तपाईंको अनुभवमा हलमा फिल्मले सोचेजस्तो दर्शक नपाउँदा डेब्यु कलाकारलाई कस्तो महसुस हुने रहेछ ?
दुःख लाग्यो किनभने हलमा जति दर्शक जानुपर्ने हो, त्यति गइदिनुभएन । आफ्नो काम धेरैभन्दा धेरै दर्शकले हेर्दिए हुन्थ्यो भन्ने त कसलाई लाग्दैन र ? जति धेरै दर्शक, धेरै त तारिफ मिल्ने न हो ! फेरि दर्शकले दिने प्रेम र प्रशंसाको छुट्टै महत्व हुने रै’छ । फेरि मैले मेरो तर्फबाट शतप्रतिशत दिएकी थिएँ । मलाई बिजनेस यस्तो नै होला भन्ने त लागेको थिएन तर चुनौती छ भन्ने महसुस भएको हो । किनभने बजारमा एकातिर कमेडी फिल्म चलिरहेको छ भने अर्कोतिर स्टारकास्ट खोजेर फिल्म हर्न जाने प्रवृत्ति पनि छ । तैपनि केही छैन, कोसिस जारी रहनेछ ।
तपाईंको अनुभवमा नेपाली फिल्म क्षेत्रले नयाँ अनुहारलाई कसरी व्यवहार गर्दोरहेछ, सुनौँ न ?
सुरुमा त जसलाई पनि गाह्रो महसुस हुन्छ । मलाई पनि निकै गाह्रो होला भन्ने लागेको थियो तर जब म फिल्मको वर्कसपमा बसेँ, सुटिङ सेटमा पुगेँ निर्देशकदेखि स्पटब्वाईसम्म सबैबाट सम्मान र प्रेम पाएँ । पछि प्रेस मिटमा पत्रकारहरुबाट उस्तै सम्मान । नराम्रो व्यवहार मैले महसुस गर्नुपरेन ।
एकछिन पुराना दिनमा फर्कौं है । फिल्म खेल्ने रहर सानैदेखिको हो ?
फिल्म खेल्ने रहर सानैदेखि थिएन । मिस नेपाल हुने रहर भने सानैदेखि थियो । टेलिभिजनमा आउने रहर सानैदेखि थियो । तैपनि यो फिल्म, मिडिया र मोडलिङ कतै न कतै लिंक हुने विषय रहेछ । सुरुमा मोडलिङ थालेँ । मिस नेपालमा भिडेँ । त्यसपछि टेलिभिजनमा आएँ । र, अहिले फिल्म गरेँ । फिल्मको अफर त मिस नेपाल इन्टरनेसनल (सेकेन्ड रनरअप) भएदेखि नै आइरहेको थियो । अफर आउन थालेपछि ममा पनि फिल्म खेल्ने इच्छा जागिरहेको थियो तर गरेपछि राम्रो टिमको राम्रै फिल्मबाट डेब्यु गरौँ भन्ने थियो । यही क्रममा ‘रणवीर’सँग जोडिएँ ।
मिस नेपाल हुँदै फिल्ममा आउनेहरु अधिकांशले सुरुमा फिल्म नखेल्ने घोषणा गर्छन् तर पछि बोली फेरेका छन् । यसरी सुरुमा खेल्दिनँ भनेर बस्नुको कारण के हुन्छ ?
अनेस्ट्ली भन्नुपर्दा, नेपाली सिनेमा अहिले राम्रो स्तरमा भए पनि पहिला हेर्ने नजर त्यति राम्रो थिएन । सायद त्यही कुरा मेरो दिमागमा पनि परेको थियो होला । हिरोइन भन्नेबित्तिकै नराम्रो दृष्टिले हेरिन्थ्यो । हिरोइनको करिअर हुन्छ होला र भनेर सोचिन्थ्यो । तर जब मिस नेपालसँग जोडिए, मिडियामा भिज्न थालेँ, फिल्म क्षेत्रका मान्छेसँग संगत गर्न थालेँ, त्यसपछि यहाँ पनि करिअर हुँदोरैछ, सोचेजस्तो हुने रैछ भन्ने फिल भयो । म त अहिले सबै अभिभावकलाई ‘लाउड एन्ड प्राउड’ भन्न सक्छु, तपाईंको छोरीहरुको फिल्म क्षेत्रमा आउने रुचि छ भने ढुक्कसँग पठाउनुस् । यहाँ राम्रो गर्न सक्दा राम्रै हुन्छ तर आफूमा क्षमता हुनुपर्छ है ! पपुलर बन्ने होडमा मात्रै आएर हुँदैन ।
पपुलर कुन अर्थमा ?
मलाई पत्रकारहरुले पपुलारिटी पाउनका लागि फिल्ममा आउनुभएको हो भन्दै सोध्नुहुन्छ तर म त्यसरी आएको होइन भन्छु ।
तपाईं अभिनयमा आउनुको कारण के हो त ?
फिल्म भनेको सञ्चारको बलियो माध्यम हो । यसले समाज परिवर्तनमा पनि ठूलो भूमिका खेल्छ । म पनि अभिनयमार्फत् दर्शकलाई मनोरञ्जनसँगै केही बलियो प्रभाव छोड्न सकूँ भन्ने चाहन्छु । अभिनयमा म ‘म’ भएर बाच्दिनँ, अर्कै पात्र भएर बाँच्न पाइन्छ । त्यसैले पनि मलाई यो पेशाले लोभ्याएको छ ।
कति फिल्म रिजेक्ट गरिसकेपछि ‘रणवीर’ खेल्न तयार हुनुभयो ?
ठ्याक्कै त याद छैन तर एक दर्जन त रिजेक्ट गरेँ । ‘रणवीर’ कथा मनपरेकै कारण खेलेकी हुँ । फिल्मका लागि कास्टिङ डाइरेक्टर राजकुमारले बोलाउनुभएको थियो । त्यसपछि डाइरेक्टर गोविन्दसिंह भण्डारीले स्टोरी सुनाउनुभयो । स्टोरी सुन्दासुन्दै मैले मेरो अगाडि छर्लङ्गै सिनेमा देखेँ । डाइरेक्टरसँग पहिलो भेटमै ‘इम्प्रेस’ भएँ । अनेस्ट्ली, मैले यस्तो खालको डाइरेक्टरको भेटेकी थिइनँ । फिल्मप्रतिको बुझाइ, ज्ञान र लगाव गहिरो पाएँ । अनि फिल्म खेल्न तयार भएकी हुँ ।
फिल्म खेल्ने रहर त पछि पलाएको हो तर मिस नेपाल हुने सपना त तपाईंको सानैदेखिको थियो । पछि सेकेन्ड रनरअपमै चित्त बुझाउनुपर्दा कस्तो महसुस भयो ?
मिस नेपाल भिड्दा म १८ वर्षकी थिएँ । अहिले २५ की भएँ । त्यतिबेला मसँग प्रतिस्पर्धा गर्नेहरु एकदमै बलिया र अनुभवी थिए । मिस नेपाल हुन नपाएकोमा अलिअलि खिन्न त भएँ तर त्यस्ता ट्यालेन्ट प्रतिस्पर्धीको बीचमा सेकेन्ड रनरअप हुनु पनि ठूलै उपलब्धि ठानेर चित्त बुझाएँ ।
तपाईंको अभिनयबाहेक अरु पनि बिजनेस छ ?
छ । म टेलिभिजन प्रेजेन्टर पनि हो । स्टेज प्रोगाम पनि चलाउँछु । मेरो आफ्नै पानीको बिजनेस पनि छ । ‘म’ नामको पानी कम्पनी मेरै हो । पाँच जनाले पार्टनरसिपमा चलाएका छौँ ।
पानीमा त लगानी गरिसक्नुभएछ, फिल्ममा पनि गर्ने सोच छ ?
अहिले नै त छैन । अहिले त पानीकै बिजनेसलाई कसरी बढाउने भन्ने सोच छ । पछि बनाउन पनि सकिएला । अहिले त एक्टिङ नै गर्ने हो ।
मोडल, भिजे, स्टेज प्रस्तोता, हिरोइन अनि पानीको बिजनेस । सानै उमेरमा कति धेरै परिचय ! कहाँबाट आउँछ यो सब भ्याउने ऊर्जा ?
(मुस्कुराउँदै) रुचि भएपछि ऊर्जा त त्यसै आउने रै’छ । समय भनेको त मिलाउने हो, मिलाएपछि मिलिहाल्छ ।
खास परिचय के बनाउन खोज्नुभएको हो ?
खासगरी म टेलिभिजन प्रेजेन्टरका रुपमा एकदमै खुशी थिएँ । मेरा कामहरु पनि दर्शकले मन पराइरहनु भएकै थियो । टिभीमा फेरि देखिने तयारीमा पनि छु । चलचित्रमा भने म वर्षमा ६–७ वटा गर्ने सोचमा छैन । रोजेर एक–दुई वटामा काम गर्छु । कलाकार भएर चिनिन चाहन्छु । फेरि एउटा मान्छेले एउटा मात्रै काम गर्नुपर्छ भन्ने छैन नि ! एक बारको जुनी हो, सकेसम्म सबै भ्याउनुपर्छ ।
केही पनि छोड्नुहुँदैन्, होइन त (हाँस्दै)?
हो नि ! जिन्दगी त सजिलो तरिकाले जिउने नै होइन । जतिसक्दो बिजी हुने हो, जतिसक्दो धेरै गर्ने हो अनि जतिसक्दो अप्ठेरोमा पार्ने हो । अनि पो हुन्छ त जिन्दगी जिउनुको मज्जा (हाँस्दै) !
फिल्म क्षेत्रमा आउनुअघि यो क्षेत्रलाई कसरी हेर्नुहुन्थ्यो र अहिले के फरक पाउनुभयो ?
फिल्म क्षेत्रमा यो मेरो ‘बेबी स्टेप’ नै हो । अझै धेरै गर्न, धेरै सिक्न बाँकी छ । मलाई त अहिले नै हिरोइन भन्न अझै लाज लाग्छ । अझै हिरोइन भइसकेँ भन्ने लाग्दैन । एउटा फिल्म खेल्दैमा हिरोइन भएँ भनेर के फुईं लाउनु ! अझै केही काम गरौँ, त्यसपछि भनौँला ।
फिल्म क्षेत्रमा आउनुअघि म नेपाली फिल्म हेर्न जाँदा एकदमै धेरै गाली गर्थें । ‘यो के गरेको होला यस्तो’ जस्तो लाग्थ्यो । आफैँ भित्रिएपछि थाहा भयो, सबैको चाहना राम्रै गर्ने हुँदोरहेछ । तर के के मिल्दैन, केही न केही बिग्रिहाल्दोरै’छ । सबैभन्दा महत्वपूर्णचाँही कलाकारको अभिनयमा पर्दामा देखिनुपर्ने रहेछ । फेरि दर्शकहरु अहिले एकदमै स्मार्ट भइसके, उनीहरु फिल्ममा राम्रो अनुहार मात्रै खोज्न आउँदैनन्, कन्टेन्ट नै खोज्छन् ।
राम्रीको कुरा निकालेपछि सोध्न मन लागिहाल्यो– तपाईं के कारण हिरोइन बन्नुभयो, अनुहार या ट्यालेन्टले ?
राम्री भएर त हो जस्तो लाग्दैन । मिस नेपाल इन्टरनेशनलको टाइटल जितेपछि, टिभीमा कार्यक्रम चलाउन थालेपछि काम मन पराएर नै अफर आएको जस्तो लाग्छ । राम्री भएर हिरोइन भएँ त म भन्दिनँ ।
राम्री छु भन्ने त लाग्दो हो नि ?
अहँ, मलाई त्यस्तो लाग्दैन (हाँस्दै) ।
थोरै प्रसंग बदलौँ । अचेल बजारमा हप्तैपिच्छे नयाँ–नयाँ सौन्दर्य प्रतियोगिता भइरहेका हुन्छन्, नयाँनयाँ सुन्दरीहरु जन्मिइरहेका हुन्छन् । यसलाई कसरी लिनुहुन्छ ?
बच्चाहरुलाई माइक समातेर बोल्न सिकाउनु नराम्रो कुरा होइन । तर, ५० जना प्रतिस्पर्धी राखेर प्रत्येकबाट १५–२० हजार उठाएर पैसा कमाउने हिसाबले काम गर्नु भने ठीक लाग्दैन । सुन्दरी जन्माउने नाममा धन्दा हुनु राम्रो होइन । हामीले मिस नेपाल भिड्दा त एक रुपैयाँ पनि खर्च गर्नुपरेको थिएन । कहिले मिस नर्स भन्या छ, कहिले मिस घर भन्या छ, कहिले मिस रुम भन्या छ । यसरी ब्युटी कन्टेस्टको भ्यालु नै हुँदैन नि, होइन ? १० वटा होस् तर राम्रोसँग होस् । यहाँ त मिस र मिसेज जन्माउने नाममा व्यापार भइदियो । यो दुःखलाग्दो कुरा हो ।
तपाईंको नजरमा सुन्दरता भनेको के हो ?
सुन्दरता भनेको तपाईंको आत्मबल हो । तपाईं आफूमा विश्वास गर्नुहुन्छ, आफूलाई आफू जस्तो छु त्यस्तै स्वीकार गर्नुहुन्छ र जुनसुकै अवस्थालाई पनि आत्मविश्वासका साथ फेस गर्न सक्नुहुन्छ भने तपाईं यत्तिकै सुन्दर देखिनुहुन्छ । छालाको रङ जस्तोसुकै होस्, पहिरन जस्तोसुकै लगाउनुस् त्यसले फरक पार्दैन । बरु मीठो बोल्नुस्, ज्ञान बढाउनुस्, त्यसै सुन्दर देखिनुहुन्छ नि !
हलिउड-बलिउडमा मीटू मुभमेन्ट चर्कंदो छ । आफूमाथि हुने यौन दुव्र्यवहारबारे त्यताका कलाकारहरु खुलेर बोलिरहेका छन् तर यता कलाकारहरु लगभग मौन छन् । तपाईं त नयाँ कलाकार, त्यस्तो केही भोग्नुपर्यो कि परेन त ?
मान्छेहरु नयाँलाई हेपेर त बोल्न खोज्छन्, पेल्न त खोज्छन् तर त्यसलाई ‘फाइटब्याक’ गर्ने क्षमतासँग आफूले पनि राख्नुपर्छ । पहिल्यैदेखि मिडिया ब्याकग्राउन्डको भएर होला मसँग त्यस्तो गर्ने आँट कसैले गरेन ।
चान्स मार्न खोज्नेहरुको यहाँ कमी छैन । तपाईं उनीहरुको फेला पर्नुभएन ?
मलाई त चान्स मार्न खोजे भने त्यहीँ ठीक पार्दिन्छु । एक त मलाई आँटै गर्दैन । गर्यो भने पनि म बलियोसँग प्रतिकार गर्छु, यसमा कुनै शंकै छैन । जुनसुकै फिल्डको मान्छे भए पनि बोल्न त डराउनु हुुन्न । गलत भनेको त गलत नै हो । खुलेर प्रतिकार गर्नुपर्छ । पहिला पहिला पो कसैले छुँदा पनि मलाई यसले छोयो भनेर घरमा सुनाउने अवस्थासम्म थिएन तर अहिले अवस्था त्यस्तो छैन । बोल्न अप्ठेरो मान्नुपर्ने अवस्थै छैन ।
अब रमाईलो कुरा गरौँ है । सानै उमेरमा धेरै काम गरिसक्नुभयो । बिहे पनि चाँडै गर्ने सोच कि ?
कहाँ अहिले नै बिहे गर्नु ? अझै कति गर्न बाँकी छ यहाँ ! (हाँस्दै)
ब्वाइफ्रेन्ड त पक्कै छ होला ?
(हाँस्दै) छैन, म सिंगल नै हो ।
पत्याउन गाह्रै भो !
पत्याउनुस्÷नपत्याउनुस्, मैले भन्ने त यही हो (हाँस्दै) ।
Leave A Comment