कलाकार गणेश मुनाल घरको सोफामा अचेत अवस्थामा फेला परे । घरमा सदस्यले उनलाई हतार हतार अस्पतालसम्म त पु¥याए तर ज्यान जोगाउन भने सकेनन् । परिवारका सदस्यले उनलाई सोफामा भेट्दा नै उनको मृत्यु भइसकेको खुल्यो ।
मुनाल मात्रै हैन, पछिल्लो समय सुतेकै अवस्थामा मृत फेला पर्ने घटनाहरु बढेका छन् जसलाई चिकित्सक सडेन कार्डियाक डेथ भन्छन् ।
बाहिरबाट हेर्दा कुनै समस्या नदेखिए पनि मुटुमा हुने समस्याका कारण यसरी अचानक व्यक्तिको मृत्यु हुने गरेको देखिन्छ ।
‘मुटुको विद्युतीय प्रणाली (चाल) मा गढबडी र रक्त सञ्चारको अवरोधका कारणले सडेन कार्डियाक डेथ हुने गर्छ,’ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले भने ‘सडेन कार्डियाक डेथमा १÷२ घण्टामा व्यक्तिको मृत्यु हुन्छ ।’
डा. प्रभा चापागाईं कोइरालाका अनुसार यस्तो घटनामा एक घण्टाभित्र व्यक्तिको मृत्यु हुने भएकाले समयमै जानकारी पाए बचाउन सकिने भए पनि सुतेको अवस्थामा व्यक्ति अचेत हुने र परिवारका सदस्यले थाहा नपाउँदा उपचारको प्रक्रियामा पु¥याउनु अगाडि नै मृत्यु हुने बताउँछन् ।
सडेन कार्डियाक डेथ भएको खण्डमा तुरुन्त कार्डियो सिपिआर गरेर व्यक्तिलाई बचाउन सकिन्छ । तर एक घण्टाभित्र उपचार नगरे मृत्यु हुने डा. कोइरालाले बताए ।
चिकित्सकका अनुसार पहिल्यै मुटुका समस्या भएकालाई वा कारणै थाहा नभइकन पनि अचानक मृत्यु हुनसक्छ ।
मुटुले काम गर्न छोडेपछि मस्तिष्कमा रक्तसञ्चार नभएर मस्तिष्कले अक्सिजन नपाउँदा मस्तिष्कको मृत्यु हुने वीर अस्पताल मेडिसिन विभागका उपप्राध्यापक फिजिसियन डा. भवेश थापा बताउँछन् ।
मस्तिष्कको मृत्यु हुनुलाई मेडिकल भाषामा ब्रेन डेथ भनिन्छ । मुटुले सामान्यतया एक मिनेटमा ६० देखि सय पटक पम्प गर्नुपर्छ । मस्तिष्कभित्रको रक्तनली फुटे पक्षघात हुन्छ ।
सोडियम, क्याल्सियम र पोटासियमको गडबडीजस्ता कारणले अचानक मुटुको चाल बन्द भएर सडेन कार्डियाक डेथ हुने बताउँछन्, डा. सुशील मोहन भट्टराई ।
मुटुको चाल बन्द भएको तीन मिनेट भित्र पुनः मुटु सुचारु नहुने हो भने मस्तिष्कमा रगत र अक्सिजन नपुगेर करिब तीन मिनेटभित्र मस्तिष्कको मृत्यु हुने उनले बताए ।
अचानक टाउकोको रक्तसञ्चार बन्द हुँदा पक्षघात हुने र रक्तसञ्चारमा अचानक कमी आउँदा र रक्तसञ्चार नली फुटेर अचानक रक्त सञ्चारमा अवरोध आउँदा ब्रेन सर्ट डाउन हुने डा. भट्टराईले बताए ।
रक्तसञ्चारमा अचानक कमी आउने वा रक्तसञ्चार नली फुटेर अचानक रक्त सञ्चारमा अवरोध आउँदा मस्तिष्कको मृत्यु हुन्छ । जसलाई मेडिकल भाषामा स्ट्रोक भनिन्छ ।
वयस्कमा हृदयाघातका कारण सडेन डेथको जोखिम हुने बताउँछन्, डा.थापा । मुटुमा कुनै न कुनै किसिमको समस्या भएका व्यक्तिमा सुतिरहेकै अवस्थामा सडेन कार्डियाक डेथ हुुन सक्ने बताउँछन्, चिकित्सक ।
बिहान जोखिम
सामान्यतया बिहानको समयमा धेरै व्यक्तिको मृत्यु भएको देखिए पनि यही कारणले बिहानको समयमा धेरैको मृत्यु हुन्छ भन्ने यकिन नभएको चिकित्सकको भनाइ छ ।
विशेषगरी जाडोको मौसममा बिहानीको समयमा व्यक्तिको बढी मृत्यु हुने देखिए पनि सडेन कार्डियाक डेथ भने बिहानकै समयमा हुन्छ भन्न नहुने मुटुरोग विशेषज्ञ डा. कोइरालाले बताए ।
बिहानको समयमा एकचोटी मुटु र मस्तिष्कमा बढी लोड (भार) पर्ने भएकाले बिहानको समयमा सडेन डेथ हुने गरेको चिकित्सक बताउँछन् ।
डा. भट्टराईका अनुसार टुसुक्क पोजिसनमा ट्वाइलेट बस्दा खुट्टाको सबै रगत मुटुमा जाने भएकाले मुटुले थाम्न नसकेपछि रक्तनली फुट्ने वा बन्द भएर सडेन डेथको जोखिमसमेत हुन्छ । यस्तो अवस्थामा हृदयाघातको जोखिमसमेत हुने चिकित्सक बताउँछन् ।
डा. भट्टराईका अनुसार विशेषगरी मर्निङवाक गर्दा र ट्वाइलेट बस्दा सडेन डेथ हुने गरेको देखिन्छ । अचानक मस्तिष्कमा लोड बढेपछि प्रेसर बढेर पनि ब्रेन हेमोरेज हुने गरेको देखिन्छ ।
व्यायाम गर्दा मुटुमा बढी रक्तसञ्चार हुनुपर्ने भए पनि राम्रो रक्त सञ्चार हुन नसक्दासमेत हृदयाघातको जोखिम हुने डा. थापा बताउँछन् ।
यस्तो छ कारण
अकस्मात मृत्यु हुने कारण भेन्ट्रिकुलर टै«ंकि कार्डिया र भेन्ट्रिकुलर फिब्रिलेसन पनि हुन् । मुटुका समस्या वंशाणुगत रुपमा, मुटुका धमनीमा बोसोको मात्रा धेरै वा जम्ने, मुटुका दीर्घरोगीमा सडेन कार्डियाक डेथको जोखिम हुने बताउँछन्, चिकित्सक ।
चुरोट सेवन गर्ने व्यक्तिमा चुरोट सेवन नगर्ने व्यक्तिको तुलनामा सडेन डेथको जोखिम तेब्बर हुने कार्डियोलोजिष्ट डा.कोइरालाले बताए ।
चिकित्सकका अनुसार उच्च रक्तचाप पनि सडेनडेथको मुख्य कारण हो । त्यसैले उच्च रक्तचापको समयमै उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । डाइबेटिज, कोलेस्ट्रोल, मोटोपना, व्यायामको कमीले समेत जोखिम हुन्छ ।
वंशाणुगत कारणले पनि हृदयाघात, सडेन कार्डियाक डेथ हुन सक्ने चिकित्सक बताउँछन् । परिवारमा बाबु बाजेमा मुटुको समस्या छ वा मुटुको समस्या भएर मृत्यु भएको छ भने त्यस्ता व्यक्तिका सन्ततिमा पनि मुटुरोग तथा सडेन कार्डियाक डेथको जोखिम हुने डा. भट्टराईले बताए ।
छातिमा कुनै किसिमको अकस्मात चोट लाग्यो भने पनि सडेन कार्डियाक डेथको जोखिम हुन्छ । कुनै कुरामा ठोकिँदा मुटुका पर्खाल च्यातिएर पनि अचानक व्यक्तिको ज्यान जान सक्छ ।
लङ्ग क्युटि सिन्ड्रोम, सर्ट क्युटी सिन्ड्रोम, डब्लुपी डब्लु सिन्ड्रोम जस्ता कारणले सुतेकै समयमा र अन्य समयमा पनि अचानक व्यक्तिको मृत्यु हुने गरेको छ । मुुटुको रक्तसञ्चार गर्ने रक्तनली जहाँबाट आउनुपर्ने हो त्यहाँबाट नआएर उल्टोपाल्टो हुँदा पनि जोखिम हुन्छ ।
३५ वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमा कोरोनरी आर्टेरि डिजिज हुन्छ । जसको लक्षण थाहा नहुन सक्छ । वंशाणुगत रुपमै र पछि भएका मुटुका रोगका कारण सडेन डेथको जोखिम हुने बताउँछन्, चिकित्सक । ८० प्रतिशतभन्दा बढी व्यक्तिमा कोरोनरी आर्टेरी डिजिजका कारणले ज्यान जाने जोखिम हुने बताउँछिन्, कार्डियोलोजिष्ट डा. प्रभा कोइराला ।
कार्डियो मायोप्याथिमा मुटुको मांशपेशी बाक्लो भएर ज्यान जाने जोखिम हुन्छ भने मुटु नै ठूलो भएर (डाइलेट) पनि मृत्युको जोखिम हुने चिकित्सक बताउँछन् । मुटुको भल्भसम्बन्धी गडबडीका कारण पनि ज्यान जाने जोखिम हुन्छ,जसलाई मेडिकल भाषामा भल्भकुलर हार्ट डिजिज भनिन्छ ।
मुटुको नसा अकस्मात छुट्टिँदा जोखिम हुन्छ, मुटुको नसा छुट्टिनुलार्ई डिसेक्सन भनिन्छ । विभिन्न किसिमका रोगको कारणले पनि मुटुको नसामा गडबडी भएर समस्या हुन्छ । त्यसैले रोगको पहिचान गरेर बेलैमा सडेन डेथ हुनबाट बच्नुपर्ने बताउँछन्,चिकित्सक ।
यस्ता हुन्छन् लक्षण
सडेन कार्डियाक डेथका सामान्य लक्षण महसुस हुने बताउँछन्,चिकित्सक । सामान्य छाती दुख्ने, स्वाँस्वाँ हुने, मुटु हल्लिएको अनुभूति हुने बताउँछिन्, डा. कार्डियोलोजिष्ट कोइराला । कतिपय अवस्थामा भने लक्षणै थाहा नहुन पनि सक्छ ।
मुटुको रोग पहिल्यैदेखि भएको अवस्थामा पनि सडेन डेथको जोखिम हुन्छ । सडेनडेथ हुनुपूर्व चक्कर लाग्ने, छाति दुख्ने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन सक्ने बताउँछन्, डा. थापा ।
महिला भन्दा पुरुष जोखिममा
अमेरिकामा वर्षेनि करिब ४ लाख व्यक्तिको सडेन कार्डियाक डेथ हुने गरेको बताउँछिन्, कार्डियोलोजिष्ट डा.कोइराला । विश्व स्वास्थ्य संगठनका अनुसार हजारजना पुरुषमध्ये दुईजनाको सडेन कार्डियाक डेथ हुने गरेको छ भने हजार महिलामध्ये एकजनामा सडेन कार्डियाक डेथ हुने गरेको छ ।
सडेन कार्डियाक डेथको जोखिम महिलामा भन्दा पुरुषमा धेरै हुने देखिन्छ । करिब ३० प्रतिशत महिला र ७० प्रतिशत पुरुष मुटुको समस्या भएर उपचार गर्न अस्पताल पुग्ने गरेका छन् ।
चिकित्सकका अनुसार महिलामा महिनावारीको समयमा हृदयाघातको जोखिम कम भए पनि महिनावारी रोकिएपछि जोखिम बढ्छ । युवा अवस्थामा सामान्य मुटुको चालमा गडबडी भयो भने अचानक मृत्यु हुन सक्ने बताउँछन्, डा. थापा ।
एक वर्षभन्दा कम उमेरका बच्चामा पनि सडेन डेथको जोखिम हुन्छ । कार्डियोलोजिष्ट कोइरालाका अनुसार सानो बच्चामा लङ्ग क्युटी जस्ता कारणले मुटुको चालमा गडबडी हुँदा अचानक ज्यान जाने जोखिम हुने उनले बताए । बच्चामा पनि लक्षण नदेखिन सक्छन् । ४० देखि ६० वर्षको उमेर समूहमा सडेन डेथको जोखिम हुने उनले बताइन् ।
नियमित परीक्षण
मुटुको इसिजी, इकोलगायतको जाँच गरेर मुटुको समस्या पत्ता लगाउन सकिन्छ । गंगालाल राष्ट्रिय हृदय केन्द्रमा हुने अप्रेसनमध्ये करिब २५ प्रतिशत जन्मजात मुटुरोगीको अप्रेसन हुने गरेको छ ।
हट्अट्याक भएर एनजिओप्लाष्टिक गरेर उपचार गरिनेको संख्या पनि पनि बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको अध्ययनअनुसार विशेषगरी उच्च रक्तचाप, चिनीरोगको समस्या, हरियो साग सब्जी र फलफूलको कमीले नेपालमा मुटु रोगको समस्या देखिएको बताउँछिन्, कोर्डियोलोजिष्ट डा.कोइराला ।
विशेषगरी मुटुको समस्या भएका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने, चिकित्सकको सुझाव छ । स्वस्थ रहन नियमित कम्तीमा आधा घण्टा व्यायाम गर्न जरुरी हुने चिकित्सकको सुझाव छ ।
Leave A Comment