चलाउनै कठिन आदिवासी फिल्म

सोमबार, २८ माघ २०७५, ०२ : ३७ मनोज घर्तीमगर
चलाउनै कठिन आदिवासी फिल्म

गुरुङ समुदायको लोक संस्कृतिमा आधारित फिल्म ‘म्ल्हे क्यू’ प्रदर्शनीको पर्खाइमा छिन् निर्देशक जसु गुरुङ । 

जसुको फिल्म ‘म्ल्हे क्यू’ फागुन १९ गते हङकङमा पहिलोपटक प्रदर्शन भएपछि स्वदेशका लागि बाटो खोल्दैछ । ‘एक समय फिल्म भन्ने बित्तिकै ओइरिएर आउँथे । अहिले खासै बजार छैन । हामीले खोज्नुपर्छ । डोर टु डोर सेल गर्नुपर्छ’ थुप्रै म्युजिक भिडियो र केही ठूला पर्दाको फिल्म निर्देशनमा एक दशक लामो अनुभव बटुलेकी जुसु भन्छिन्, ‘दर्शकहरु फिल्म हलमा आएर हेर्ने वातावरण बनेकै छैन । तर, केही सुधार भएको छ ।’ 

केही वर्षअघि ‘रैंया’ फिल्म बनाएर सेतो पर्दामा छिरेका हर्क आले पनि फिल्मको बजार खोज्दै केही साताअघि हङकङ पुगे । मगर समुदायका प्रचलित नृत्य कौह्रा (कानराह) माथि बनाइएको डकुमेन्ट्री फिल्म देखाउन उनी हङकङ पुगे ।

यो फिल्म बेलायतमा फागुन १७ गते प्रदर्शन हुँदैछ । ‘आदिवासी जनजाति फिल्मको बजार भनेकै विदेशी भूमि हो’ फिल्म निर्माता हर्क आले भन्छन्, ‘नेपालमा पनि धेरै शो गरिन्छ । तर, लगानी सुरक्षित गर्न विदेश नगई सुखै छैन ।’

लामो समयदेखि फिल्म लाइनमा रमाइरहेका गुञ्ज गुरुङ पनि ‘युके स्विटर’ को च्यारिटी सो को समय गन्दै दिन बिताइरहेका छन् । हङकङ र युकेमा च्यारिटी सो गरिएपछि नेपालमा आउने गुञ्जको योजना छ । 
‘नेपालमा बजारै छैन । विदेशका एक दुई ठाउँमा सो नगरे लगानी डुब्छ’ गुञ्जले आदिवासी फिल्मको बजारबारे खुलाए, ‘नेपालमा सो गरेर प्रचार–प्रसार मात्रै हो । खासै फाइदा छैन । बजार खोज्दै विदेशिनु परेको हो ।’

पछिल्लो समयमा नेपाली फिल्मको बाढी आइरहेको बेला गुरुङ, मगर, तामाङ, थारू, नेवारी, लिम्बूलगायतमा भाषामा बनेका फिल्म पनि उल्लेख्य संख्यामा बन्न थालेका छन् । थुप्रै फिल्म च्यारिटी सो को पर्खाइमा छन् भने त्यति नै संख्यामा छायांकन भइरहेका छन् । 

२०४४ मा बनेको ‘सिलु’ नामक नेवारी फिल्म नै पहिलो आदिवासी जनजाति फिल्मको रुपमा दर्ज भएको छ । त्यसपछि २०४९ सालामा नवीन सुब्बाको निर्देशनमा लिम्बू भाषाको ‘तरेवा’ बनेको थियो । २०५२ सालमा युवराज मास्के रानामगरले पहिलो मगर फिल्म ‘लङ्घन’ लगत्तै गुरुङ भाषाको ‘पाते’ निर्देशन गरेका थिए । त्यसपछि आदिवासी जनजातिका विभिन्न भाषाभाषीमा फिल्म बन्न थालेका हुन् । आदिवासी फिल्मको इतिहास लामो भने छैन । यद्यपि, हालसम्म ५ सयभन्दा बढी फिल्म निर्माण भइसकेका छन् । 

लगत्तै भाषाभाषीका फिल्म बनाउने लहर नै चल्यो । तर, फिल्मको बजार भने सोचेजस्तो छैन । पोखराका केही वर्ष पहिलो माओत्से गुरुङले बनाएको फिल्म तिनागा एक सातासम्म फिल्म हलमा चलेको बाहेक अरु फिल्म हलमा चलेको इतिहास छैन । 

आदिवासी जनजाति समुदायले भाषाका फिल्म भनिए पनि अधिकांशमा भने संवादका बीचबीचमा नेपाली भाषा पनि प्रयोग गरिएका हुन्छन् । उनीहरुका कुनै पनि फिल्म हलमा नलगाइने भएकाले सधंै बजारको खोजी गर्नुपरेको मगर चलचित्रकर्मी संघका उपाध्यक्ष एवं निर्देशक मेजन पुनको अनुभव छ । 

‘हलवालाले हाम्रा फिल्म लगाउने अवस्थै छैन । उनीहरुको पनि व्यापार हो’ निर्देशक मेजन भन्छन्, ‘हामीले पनि अहिलेसम्म हलमा जाने आँट गरेका छैनौं । त्यसैले सधैँ च्यारिटीमै भर पर्नुपर्छ ।’

भाषाका फिल्महरू त बनेका बन्यै छन् । तर व्यावसायिक रूप दिनका लागि बजारको अभाव देखिएको छ । अध्ययन र लगानीको पनि अभाव छ । यस्तोमा बनेका फिल्मले संस्कृति र भाषा संरक्षणमा भने ठूलो योगदान दिएका छन् । ‘सरकारले नेपाली फिल्मलाई सहयोग गरे पनि आदिवासी जनजाति समुदायको फिल्मका लागि खासै सहयोग गरेको छैन’ आदिवासी जनजाति चलिचित्र महासंघका अध्यक्ष अमृत सुुनुवार भन्छन् ।

भाषाभाषीका फिल्मले कलाकारहरू पनि उत्तिकै जन्माएको छ । एउटा भाषाको फिल्म तयार गर्न कम्तीमा ६ महिना लाग्ने र बजेट सरदरमा ३० लाखदेखि ५० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । रहरैरहरमा बनेका आदिवासी जनजाति फिल्मले नाफा कमाएको आफूले सुन्न नपाएको निर्देशक एवं आदिवासी जनजाति चलचित्र महासंघका सचिव हिमाल पुन बताउँछन् । ‘भाषा र लोक संस्कृतिप्रेमीले नाफाका लागि भन्दा पनि भेषभूषा, कला संस्कृति र भाषा जोगाउन फिल्म बनाइरहेका छन्’ उनी भन्छन् । 

फिल्म तयार भएपछि नेपालमा भन्दा हङकङ, बेलायत, सिंगापुर, अमेरिका, जापान बसेका समुदायमा च्यारिटी सो गरेर सक्नेले लगानी उठाउने गरेका छन् । नेपालमा चल्तीमा डेढ सयभन्दा बढी हलहरू छन् । तर, साना र ठूला सहरी क्षेत्रका फिल्म हलम आदिवासी जनजाति फिल्मले सार्वजनिक प्रदर्शनी पाएका छैनन् । 
 

Leave A Comment