‘ब्याटलसिप पोटेम्किन’ सर्गेइ आइजेन्स्टाइनले बनाएको रुसी भाषाको सोभियतकालीन चलचित्र थियो । यसले संसारभर धेरैको ध्यान खिच्यो । हुँदा हुँदा जर्मन शासक हिटलरलाई पनि यसले तान्यो । हिटलरको नाजी पार्टीका प्रचार मन्त्री गोयबल्सले १९३३–३४ तिर चलचित्रकर्मीहरुलाई प्रशिक्षित गर्न थाले । फेब्रुअरी १० का दिनमा बर्लिनको क्रोल अपेरा हाउसमा चलचित्र निर्माता तथा निर्देशकहरुलाई एकत्रित गरी उनले एउटा जोडदार भाषण दिए ।
‘हामीले असल जिन्दगीलाई एक चोटि फेरि चलचित्रको विषय बनाउनुपर्ने भएको छ । तपाईं सबै चलचित्रकर्मीहरुले मिलेर अमर जर्मन मानिसहरुका विषयलाई फिर्ता ल्याउनुपर्ने भएको छ । ती मानिसहरु, जसलाई हामीले भन्दा राम्रोसँग कसैले बुझ्न सक्दैनन् तिनलाई हामीले चलचित्रमा उतार्नु छ । जनता अझै पनि कलासँग कटिसकेका छैनन् । र, मलाई राम्रोसँग थाहा छ, यदि हामीले सही अर्थमा हाम्रो युगको प्रतिविम्बन गर्न सक्ने राष्ट्रिय समाजवादी ‘ब्याटलसिप’ बनाउन सक्यौँ भने चलचित्र भवनका मेचहरु लामो समयसम्म भरिइ नै रहने छन् ।’
गोयबल्सले भनेको ब्याटलसिप उही आइजेन्स्टाइनको ‘ब्याटलसिप पोटेम्किन’ थियो । मजदुरहरु नायक भएको त्यो समाजवादी चलचित्र, जसले १९०५ को असफल रुसी क्रान्तिलाई विषय बनाएको थियो र यसको प्रभाव संसारैभरिका मजदुरहरुमा गहिरोसँग परेको थियो । इन्डोनेसियाका डच जहाजमा विद्रोह गर्ने नौसैनिकहरुले पछि न्यायाधीशका अगाडि यही चलचित्रको प्रभावले विद्रोह गरेको बयान दिएका थिए । चौथो दशकमा भएको संघर्षका बेला यो चलचित्र युरोपमा निकै लोकप्रिय थियो र दोस्रो विश्वयुद्धपछि जापानमा यही चलचित्रका कारण राजनीतिक संघर्ष नै चलेको थियो । बढीभन्दा बढी दर्शकलाई यो चलचित्र देखाउने प्रयोजनका लागि नागरिक समितिहरु गठन गरिएका थिए । दोस्रो विश्वयुद्धको मुखमा पुगेका हिटलर र गोयबल्सलाई यस्तै चलचित्र चाहिएको थियो ।
तर, ‘ब्याटलसिप पोटेम्किन’का निर्देशक सर्गेई आइजेन्स्टाइनलाई भने जर्मनहरुले यस्तो चलचित्र बनाउन सक्छन् भन्नेमा विश्वास थिएन । गोयबल्स नहुने काममा लागेका छन् भन्ने बुझाइ उनको थियो । जनसमुदायको समष्टिगत शक्ति र अजेयताको ‘स्पिरिट’बाट उब्जिएको कलाकृतिलाई आफ्नो तुच्छ स्वार्थका लागि प्रयोग गर्न सकिँदैन । जीवनको हालतलाई आत्मसात् नगरीकन कलाकारले कुनै पनि कलाकृतिलाई महान् बनाउन सक्दैन भन्ने उनको बुझाइ थियो । हिटलरको शासनभित्र राज्यको पहलमा महान् कृति जन्मनु सम्भवै छैन भन्दै गोयबल्सको भाषणको आलोचना गरेर उनले एउटा पत्र नै लेखे ।
‘ब्याटलसिप पोटेम्किनको कुरा गर्दै गर्दा मलाई थाहा छ, तपाईंको दिमागमा यो मात्रै होइन, समकालीन चलचित्रका सारा शृं्खलाहरु घुमिरहेका छन् र हामी सबैलाई के थाहा छ भने असल जीवन चेतनाले मात्रै, जीवनको आफ्नै सच्चाइ र त्यसको सच्चा चित्रणले मात्रै साँचो कलालाई जन्माउन सक्छ ।
अहिले जर्मन सिनेमालाई पोटेम्किन बनाउनतिर प्रेरित गर्नु एक सर्वाधिक निरर्थक र पट्यारलाग्दो काम हो । जसले विगतमा निकै उपलब्धिहरु हासिल गरेको थियो, तर अब जर्मन चलचित्र उद्योग फासीवादको चंगुलमा फसिसकेको छ । फासीवादी प्रणालीभित्र महान् जर्मन चलचित्र बनाउनका लागि चलचित्रकर्मीहरुलाई तपाईंले दिनुभएको सुझाव एउटा पद्धतिगत भूल हो । तपाईं साँच्चै नै इमानदार भएर जर्मन समाजको ‘मास्टर पिस’ बनाउन चाहनुहुन्छ भने र त्यो सम्भव छ तर तपाईंलाई राम्रो सल्लाह चाहिएको छ । सल्लाह चाहिएकै छ र त्यो पनि थोरै होइन, असाध्यै धेरै । सीधै सफासँग भन्ने हो भने तपाईंको देशलाई पनि सोभियत व्यवस्थाको जरुरत छ ।
जुन राष्ट्रको चरित्र फासीवादी छ, त्यसले चाहेरै पनि उत्कृष्ट चलचित्र बनाउन सक्दैन । उत्कृष्ट चलचित्रहरुमा भित्र कतै मानवताको पुट हुन्छ, मानवताको मर्म र त्यसको खोजी हुन्छ जो फासीवादलाई पच्ने कुरा होइन । सत्यका पक्षमा बोल्ने चलचित्रलाई फासीवादले रुचाउँदैन । स्वतन्त्रता, समानता र सहअस्तित्वको मर्म बोल्ने चलचित्र फासीवादी समाजले बनाउनै कसरी सक्छ ? आफ्नै खुट्टामा बञ्चरो हान्ने मूर्खता कसैले किन गथ्र्यो ?’
गोयबल्सले भाषणमा भनेका थिए, ‘एक चलचित्रका पछि इमानदार कलात्मक नियत हुन्छ र म हर तरहले त्यसको पैरवी गर्छु ।’ तर, आइजेन्स्टाइनले त्यसलाई पत्याएनन्, ‘महाशय गोयबल्स, तपाईं झुटो बोल्दै हुनुहुन्छ । तपाईंलाई राम्रोसँग थाहा छ, एक इमानदार तथा कलात्मक चलचित्र त्यही मात्रै हुन सक्छ जसले त्यस नरकको पर्दाफास गर्न सकोस् जहाँ जर्मनीलाई तपाईंको ‘राष्ट्रिय समाजवाद’ले धकेलिदिएको छ । तपाईं त्यो गर्न सक्नुहुन्न । सच्चा जर्मन चलचित्र केवल त्यही चलचित्र हुन सक्छ जसले क्रान्तिकारी जनतासँग तपाईंका विरुद्ध युद्ध गर्नलाई आह्वान गरोस् । तपाईंको भाषणको मधुर वाणीका बाबजुद तपाईंले कला र संस्कृतिलाई पनि त्यही सिक्रीले बाँधेर जकडिदिनुभएको छ जसमा बाँधिएर लाखौँ मानिसहरु यातना शिविरभित्र बन्दी छन् ।’
कलाका कुनै पनि कृति तब मात्रै ख्याति वा नामका हकदार हुन्छन् जब कुनै कलाकार एउटा पूरै वर्गको संघर्ष र विद्रोहलाई आफ्नो कलामा अभिव्यक्त गर्न सक्षम हुन्छ । कलाको एउटा साँचो कृति वास्तवमा पूरै वर्ग र त्यसको संघर्षलाई झनै बलियो बनाउने संगठित प्रयासमा जुटेको हुन्छ । त्यही उपलब्धि उसको सामाजिक आधारमाथि कलाका रूपमा अमर तस्बिर भएर बाँच्दछ । समाजको सिर्जनात्मक ऊर्जालाई बुझ्ने, महसुस गर्ने र अभिव्यक्त गर्ने कलाकार नै कलाकृतिमा सफल मानिन्छ भन्ने धारणा आइजेन्स्टाइनको चिठीमा छ ।
आइजेन्स्टाइनको तरिकाले बनाउँदा बन्ने भनेको आइजेन्स्टाइनकै विचारधाराको चलचित्र हो जो जर्मन राष्ट्रिय समाजवादसँग मिल्दैन बरु बाझिन्छ । जर्मनीको समाजवादलाई राष्ट्रिय समाजवादको नाम दिइएको भए पनि त्यो समाजवाद नै होइन भन्ने मत आइजेन्स्टाइनको छ । स्टालिनको भनाइलाई उद्धृत गर्दै पत्रमा उनले लेखेका छन्, ‘मुख्यतः जर्मन प्रकारको फासीवाद जसलाई गलत तरिकाले राष्ट्रिय समाजवादको नाम दिइएको छ, धेरै खोज र छानबिन गर्दा पनि त्यसमा समाजवादको एक कण पनि पाउन असम्भव छ ।’
रुसी कलाकारिताबाट सिकेर जर्मनीले आफू अनुकूलको चलचित्र बनाउनै सक्दैन भन्ने दाबी आइजेन्स्टाइनको छ । गोयबल्सलाई उनको सल्लाह छ, ‘आफ्नो मायावी बाँसुरी लिएर चलचित्रमा समाजवादी यथार्थवादको धुन नबजाउनुस् । आफ्नो धुन निकाल्न त्यही यन्त्रको प्रयोग गर्नुस्, जसको प्रयोग तपाईंलाई आउँछ ।’
Leave A Comment