भाइरल जोडी- बखत–प्रतिभा : फटाफट प्रेम, झटपट बिहे

आइतबार, ०५ फागुन २०७५, ०६ : ३३ भोला अधिकारी
भाइरल जोडी- बखत–प्रतिभा : फटाफट प्रेम, झटपट बिहे

केही महिनादेखि सामाजिक सञ्जालमा निरन्तर छाइरहेको छ, कञ्चनपुरका बखत विष्ट र प्रतिभा चौधरीको जोडी । यसको अर्थ, उनीहरुको प्रेम गर्ने शैली अरुको भन्दा फरक होइन तर शारीरिक हिसाबले भने उनीहरु अरु सामान्य जोडीभन्दा निकै फरक छन् । 

शारीरिक रुपमा बखत प्रतिभाभन्दा निकै होचा छन्, प्रतिभा बखतभन्दा निकै अग्ली तर उचाईले उनीहरुको प्रेमलाई रत्तिभर छेकेको छैन । बखतको उचाई होचो होला तर प्रतिभासँग गर्ने प्रेम धेरै अग्लो छ । उनीहरुको निःस्वार्थ प्रेम देख्दा भन्न करै लाग्छ– प्रेम त साँच्चै अन्धो हुँदोरहेछ । 

०००००
मंगलबार बिहान १२ बजे भक्तपुरको पेप्सीकोला सनसिटीमा बोलाएका उनीहरुले शुक्रबारकर्मीलाई २ घण्टा कुराए । ‘आइहालेँ एकैछिन है’ भनेका ती जोडीलाई भेट्न शुक्रबारकर्मीले ३ नै बजाउनु पर्यो । 
बल्ल बल्ल दुवैजना लुरुलुरु आए । उनीहरुले ढिला गरी आउनुको कारण रहेछ, युट्युब च्यानल । युट्युबले गर्दा उनीहरु अन्तर्वार्ता दिन मन नलागी–नलागी आएका रहेछन् । 

प्रारम्भमा संवादका लागि प्रस्ताव राख्दा नै उनीहरुले आफ्नो रेट पाँच हजार बताएका थिए । युट्युब हैन, पत्रिका हो भनेपछि बल्ल उनीहरु कुराकानीका लागि राजी भएका थिए ।
‘दुई सयभन्दा बढीमा युट्युबमा अन्तरवार्ता दिइसक्यौं अझै कति बोल्नु ?’ संवाद शुरु हुनुअगाडि नै दिक्किएका थिए दुवै । तर प्रश्नोत्तरसँगै दुवै हौसिँदै संवादमा मज्जाले सहभागी भए ।

बिहेमा जुरेको भेट 
२४ वर्षीय बखत काठमाडौँमा ११ मा पढ्दै थिए । दिदीले ‘मेरो देवरको बिहे छ आइज’ भनेर कञ्चनपुरमा बोलाइन् । उनी हुर्रिँदै पुगे ।

१८ वर्षीया प्रतिभा छिमेकी बिहेको रमझममा नाच्न आइपुगिन् । कम्मर मकाईरहेका बखतले प्रतिभालाई सँगै नाच्न हात ताने । उनी पनि राजी भइन् ।

दुवैजना राति अबेरसम्म नाचे । नाच्दानाच्दै बखतको मनमा कुतकुती लागिसकेको थियो । छुट्टिने बेलामा प्रतिभाको मोबाइल नम्बर मागे । उनले लजाउँदै नम्बर दिइन् । त्यसै रातबाट दुवैबीच कुराकानी शुरु भयो । 
दुवैको मनमा प्रेमको आगो यसरी सल्कियो कि, एक हप्ता पनि मुस्किलले कट्यो । बखत काठमाडौंबाट फेरि कञ्चनपुर पुगे र प्रतिभालाई लिएर टाप कसे । प्रेम शुरु भएको एक हप्तामै दुवै श्रीमान्–श्रीमती भए ।

फटाफट प्रेम, फटफट बिहे
लभ परेको एक हप्तामै बिहे ! कस्तो हतार हो ?

सोफामा बसिरहेका उनीहरुले एक अर्कामा पुलुक्क हेरेर मुसुक्क हाँसे । बखतले भन्दै थिए, ‘मन प¥यो । फोनमा कुराकानी गर्न थाल्यौँ । माया प्रेमका कुरा हुन थाल्यो । उनले पनि मन पराइन् ।’
‘मलाई त केही थाहा नै भएन,’ छेउमा बसिरहेकी प्रतिभाले भनिन्, ‘उहाँ मलाई मन प¥यो । अहिले त नछुट्टिने कसम खाइसक्यौँ ।’ 

कञ्चनपुरकै एक स्कुलमा एसएलसीको तयारी गर्दागर्दै बखतको मायाजालमा परेकी उनको पढाइ भने छुट्यो । 

प्रतिभाका अनुसार बखतले नै विवाह गर्न हतार गरेका थिए । उनी अलि पछि विवाह गर्ने मुडमा रहिछन् । भोलि भनेको के हो के हो भनेर बखतले मानेनन् ।
अहिले भने प्रतिभालाई पढाइको चिन्ता लाग्न थालेको छ । 

‘उनलाई कसैले लैजाला भन्ने ठूलो डर थियो,’ बखतले भने, ‘म काठमाडौँ आएपछि उनको परिवारले उनलाई अन्तै बिहे गरेर दिए भने तनाव हुन्छ भनेर हतारमा बिहे गरेँ ।’

दुवैसँगको संवादमा मिलेको मन देखिन्थ्यो । बखत खुला दिलका थिए । उनी आफ्नो सम्बन्धबारे खुलेर बोल्दा प्रतिभा हातले मुख थुनिदिन खोज्थिन्, आँखाले इशारा गर्थिन् । घरि बखतलाई चिमोट्थिन् त घरिघरि लाजले मुख छोप्थिन् । 

एकै सातामा जोइपोई नै हुने गरी केले आकर्षित गरेछ त यी दुवैलाई ?
‘उनको बानी नै मन पर्यो,’ बखतले भने, ‘जोसँग बोल्दा पनि मजाले बोल्छिन्, मन तानिहाल्यो ।’
मलाई त उहाँको सबै बानी मन पर्छ, यो त्यो भन्ने नै छैन,’ भन्दै प्रतिभा लामो हाँसो हासिन् । 
दुवै श्रीमान्–श्रीमती भए पनि बच्चा पारा देखाइरहन्थे । कुरा गरिरहँदा  बच्चो जत्रा बखतलाई उनी बोक्न नै खोज्थिन् । बखत श्रीमतीको छेउमा फुच्चे देखिन्थे । 
‘मायाभन्दा ठूलो के नै रहेछ र !’ 

श्रीमान्–श्रीमती भएपछि हल्का ठाकठुक हुनु सामान्य भइगयो । यी दुवैमा पनि ठाकठुक भइरहनेरहेछ । उनीहरु संवादका लागि क्याफेमा आउँदा पनि गुनगुन गरिरहेका नै थिए । कुनै विषयमा विवादझैँ देखिएको थियो ।

त्यो कुरालाई जोड्न खोज्यौँ, ‘दुवैको झगडा चैँ के कुरामा पर्छ ?’ हतार हतार प्रतिभाले भनिन्, ‘मोबाइलमा ।’

बखतको आँखा मोबाइलमै टाँसिएझैँ चलाउँदा रहेछन् । केटीहरुसँग कुरा गरिरहन्छन् रे ! प्रतिभालाई यस्तो मनै नपर्ने । 
किन ?

‘को को नचिनेको मान्छेसँग कुरा गर्नुहुन्थ्यो । मायामा शंका त भइहाल्छ नि !’ प्रतिभाले भनिन्, ‘त्यसैले सबैसँग छुटाउन उहाँलाई मोबाइल चलाउन दिइनँ ।’
श्रीमतीले यसो भनिरहँदा बखत भने चुपाचाप थिए । 

बखतलाई पनि श्रीमती अरुसँग बोलेको त्यत्ति मन पर्दोरहेनछ । ठाकठुक बढी यही विषयमा पर्ने रहेछ ।
‘श्रीमती अरुसँग नबोलिदिए हुन्थ्यो जस्तो लाग्छ,’ बखतले भने ।
‘मेरो श्रीमान् अरुसँग बोलेको मन पर्दैन,’ प्रतिभाले जोडिन् ।
दुवैसँगको कुराकानीमा उनीहरुमा जति प्रेम देखियो, शंका पनि उस्तै । 

डान्सबारको यात्रा 
मन मिल्यो बिहे गरिहाले तर विवाहले मीठो सम्बन्ध मात्रै ल्याउँदैन, जिम्मेवारी पनि सँगै ल्याउँछ । प्रतिभा टिनएजकै छिन्, बखत भने भर्खर कुरकुरे बैंश पार गरेका !
रोजगारी दुवैको थिएन । विवाह गरेपछि बखतले काठमाडौंमा काम खोज्न थाले । उनमा भएको सीप नृत्य नै थियो । काम पनि डान्स रेस्टुरेन्टबाट शुरु भयो । 

तीनकुनेमा रहेको एउटा डान्स रेस्टुरेन्टमा डान्सरको काम शुरु गरे उनले, प्रतिभाले वेटरको काम गरिन् । दुवै काममा व्यस्त थिए ।

डान्स रेस्टुरेन्ट दिउँसो पनि खुल्थ्यो । प्रतिभा दिउँसो पनि काम गर्थिन् । बखतको काम बेलुका । एक दिन उनी श्रीमतीलाई भेट्न दिउँसै पुगे । रेस्टुरेन्टमा आएका एक जनालाई उनीहरुको जोडी गजब लागेछ । दुवैको अन्तर्वार्ता लिए । 

युट्युबमा अन्तर्वार्ता आएपछि डिमान्ड बढ्यो । युट्युब च्यानलको लाइनै लाग्यो । दिनकै ८–१० जना अन्तर्वार्ताका लागि आउँथे । दुवै भाइरल भए तर काम छुट्यो । अहिले दुवै बेरोजगार छन् ।
‘जताततैबाट फोन आएको आयै ग¥यो, दिनभर अन्तर्वार्तामै बित्न थाल्यो,’ बखतले भने, ‘कामै छाड्नु प¥यो । अहिले बेरोजगारजस्तै छौँ । काम खोजिरहेको छु ।’

कलाकारको रहर
सामाजिक सञ्जालमा भाइरल भएपछि केही समय दुवैलाई कामको अफर पनि आयो । मेरी बास्सैमा गेस्ट रोलमा देखिए । दुई भागसम्म अभिनय गरेपछि प्रतिभा बिरामी भइन् र अभिनय छुट्यो ।
उनीहरुलाई हास्य टेलिसिरियल ‘भद्रगोल’ बाट पनि अफर आएको रहेछ । तर ‘मेरी बास्सै’ खोलिरहेकाले गएनछन् । अहिले ‘भद्रगोल’मा खेल्न मन छ रे तर अफर आएको छैन ।

टेलिसिरियलको क्रम रोकिए पनि प्रतिभाको भने मोडलिङ यात्रा अगाडि बढिरहेको छ । भाइरल भएपछि उनले ७ वटा जति म्युजिक भिडियोमा अभिनय नै गरिसकिन् ।
बखतले ३ वटा जतिमा अभिनय गर्ने मौका पाएका छन् ।  
दुवैमा अभिनयको भोक त छ तर अहिले अफर कम छ । दुवैमा विस्तारै भविष्यको चिन्ता देखियो ।
 

Leave A Comment