‘बुलबुल’ का ‘चोपेन्द्र’ भन्छन्, ‘म हिरो त हुँदै होइन’

आइतबार, १२ फागुन २०७५, ०६ : ५६ अनिल यादव
‘बुलबुल’ का ‘चोपेन्द्र’ भन्छन्, ‘म हिरो त हुँदै होइन’

गत साताबाट हलमा प्रदर्शन भइरहेको फिल्म ‘बुलबुल’बाट नेपाली फिल्ममा प्रवेश गरेका छन्– अभिनेता मुकुन भुषाल । फिल्ममा उनले निर्वाह गरेको ‘चोपेन्द्र’को क्यारेक्टरलाई दर्शकले मात्रै होइन समीक्षकले पनि खुलेर तारिफ गरिरहेका छन् । गत आइतबार दिउँसो काठमाडौं, सुन्धारास्थित सिटिसी मलमा इन्टरभ्युका लागि आइपुगेका उनलाई सुरुमा त चिन्नै गाह्रो प-यो । झ्याप्प दाह्री, लामो कपाल र कालो चश्मामा ठाँटिएका उनी फिल्मी ‘चोपेन्द्र’ भन्दा बिल्कुल फरक देखिन्थे । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः 


फिल्ममा हेरेको ‘चोपेन्द्र’ भन्दा त विल्कुल फरक देखेँ, चिन्नै गाह्रो भयो नि ?
हो र ? फरक त हुनैप-यो ! सिनेमामा दुई घण्टाका लागि देखिने क्यारेक्टर र म ७०–८० वर्ष बाँच्ने लक्ष्य बोकेर हिँडेको मान्छे, उस्तै हुने त कुरै भएन । म त म नै हो तर ‘चोपेन्द्र’ भने राइटरको क्रिएसन हो । हामी दुई फरक देखिनैपथ्र्यो । सिनेमामा तपार्इंले ‘चोपेन्द्र’लाई हेरेर कति इन्जोय गर्नुभयो थाहा भएन तर रियलमा भने म पक्कै बोरिङ क्यारेक्टर छु । 

आफ्नो पहिलो फिल्मको रेस्पोन्स कस्तो आइरहेको छ त ?
मिश्रित छ । कसैले सिनेमालाई अब्बल भनिरहनुभएको छ भने कोही कनेक्ट नै हुन नसकेको अवस्था पनि छ । सिनेमामै चासो राख्नेहरुलाई एकदमै टच गरेको छ, समीक्षा पनि राम्रै आइरहेको छ । मनोरञ्जन लिनेलाई भने कनेक्ट नगरेको होला । मलाई भने सिनेमा हेरुञ्जेल आँखामा बिझाउँदैन भन्ने लाग्छ । बरु दर्शकले अनुमान गरेअनुसारको ‘इन्डिङ’ नहुँदा कतिपय दर्शकलाई चित्त नबुझेको हुन सक्छ ।

फिल्ममा ‘चोपेन्द्र’ एकदमै ‘इनोसेन्ट’ क्यारेक्टर लाग्छ । उसको प्रेम गर्ने शैली पनि फरक छ । प्रेमका ठूल्ठूला संवाद ऊ फलाक्दैन । तपाईंलाई यो क्यारेक्टर निर्वाह गर्न कतिको सहज/असहज थियो ? 
फिल्ममा काम गर्नुलाई त कहिल्यै चुनौती मान्दिनँ, इन्जोय नै गर्छु । यसो भन्दैमा क्यारेक्टरका लागि मिहिनेत गर्दिनँ भन्न खोजेको होइन । ‘चोपेन्द्र’ गर्दा मैले स्क्रिप्ट पढ्नासाथ त्यस्तो क्यारेक्टरमाथि धेरै रिसर्च गरेँ । उसले हरेक कुरालाई कसरी बुझ्छ, समाजलाई कसरी हेर्छ ? त्यो नियाल्ने प्रयास गरेँ । अझ यो त मेरो डेब्यु फिल्म थियो । पहिलो फिल्म राम्रो भएन भनेर म उम्किने मनसायमा थिइनँ । त्यसैले वर्कशपमा रहँदा यो क्यारेक्टरका लागि मैले अढाई–तीन महिना नै मिहिनेत गरेँ । 

शहरमा त्यस्ता रियल क्यारेक्टर पनि पक्कै खोज्नुभयो होला । अहिलेसम्म मस्तिष्कमा ताजै रहेको कुनै त्यस्तो पात्रबारे सुनाउनुस् न ? 
‘चोपेन्द्र’ बाटोकै पात्र हो । अहिले शहरमा खोज्न हिँड्नुस्, बाटोमा जताततै भेट्नुुहुन्छ ‘चोपेन्द्र’हरु । रिसर्चका क्रममा मैले सुन्धारा (काठमाडौं) कै रुटमा कुद्ने टेम्पो स्ट्यान्डतिर एकजना रमाइलो क्यारेक्टर देखेको थिएँ । त्यो क्यारेक्टर एउटा टेम्पोको महिला चालकसँग एकदमै नजिक हुन खोज्दै थियो । जसरी फिल्ममा चोपेन्द्र रणकलाले जति इग्नोर गर्दा पनि नजिक हुन खोजिरहेको थियो, ऊ त्यसैगरी ती महिला चालकलाई पछ्याइरहेको थियो । ऊ दिनहुँजसो कुरेरै भए पनि उसकै टेम्पोमा चढ्दोरहेछ । त्यही क्यारेक्टरबाट पनि मैले केही लिएको हुुँ ।  

यो फिल्मसँग तपार्इं कसरी जोडिनुभयो ? 
तीन वर्ष अघिको कुरा हो । ओस्कार फिल्म कलेज (काठमाडौंं) बाट फिल्म एक्टिङमा ग्रयाजुएसन गर्दै थिएँ । त्यतिबेला विनोद पौडेल सर (फिल्मका निर्देशक) कै आग्रहमा म ‘रणकला’ पात्रका लागि रिसर्च गर्दै थिएँ । टेम्पोहरु चढेँ । महिला टेम्पो ड्राइभरको हाउभाउ, ऊसँग ठोक्किने मान्छेहरुदेखि जीवनशैली सबै नियालेँ । त्यसपछि विनोद सरलाई नै एकपल्ट ती पात्रलाई नियाल्न आग्रह गरेँ । किनभने फिल्म त उहाँ निर्देशन गर्दै हुनुहुन्थ्यो । उहाँले त्यो पात्रबारे के सोच्नुभएको छ, के कल्पना गर्नुभएको छ, त्यसलाई उतार्न सजिलो होस् भनेर उहाँलाई एकपल्ट नियाल्न आग्रह गरेँ । त्यसपछि हामीले सँगै नियाल्यौँ । मैले उहाँसँगै टेम्पोमा यात्रा गरेँ । त्यतिबेला टेम्पोको अगाडि सिटमा म बस्थेँ, उहाँ पछाडि । पछाडिबाट मलाई उहाँले नियाल्नुभएको रहेछ । जब फिल्म बनाउने हुनुभयो, त्यतिबेला फिल्ममा ‘चोपेन्द्र’को पात्रमा मलाई नै सुट हुने फिल गर्नुभएछ । म इन्डियामा फिल्म एक्टिङ पढिरहेको थिएँ, त्यतिबेलै उहाँले सम्पर्क गर्नुभयो र फिल्मका लागि अफर गर्नुभयो । यस्तो राम्रो इस्यु, राम्रो क्यारेक्टर र राम्रो टिमबाट डेब्यु हुन पाउँदा कसले ‘नो’ भन्छ ? म सहजै खेल्न तयार भएँ । 

फिल्म क्षेत्रमा संघर्ष गरेको कति भयो ?
८–१० वर्षै भयो । म हिन्दी/नेपाली सर्ट फिल्महरुमा बढी काम गरिरहेको थिएँ । साँघुरो दर्शकबीच मात्रै परिचित थिएँ, ठूलो मासमा आएको भने  यही फिल्मबाट हो । 

भनेपछि बल्ल हिरो भइयो ? (हाँस्दै) 
म आफूलाई हिरो त भन्दिनँ, कलाकार चाहिँ हो । 

फिल्ममा प्रमुख भूमिकामा अभिनय गर्ने कलाकारलाई हामीकहाँ ‘हिरो’को ट्याग लगाइदिने गरिन्छ नि त !
त्यो त हो तर म हिरो हुँदै होइन । म त सिनेमाको एउटा क्यारेक्टर हो । मलाई हिरो भनियो भने त मेरो क्यारेक्टर नै मर्छ होला ! म त ‘बुलबुल’को ‘चोपेन्द्र’ मात्रै हो । ‘चोपेन्द्र’ समाजको एउटा औसत पात्र हो, सामान्य पात्र हो । र, अर्को कुरा म यो सिनेमा क्षेत्रमा हिरो बन्छु भनेर लागेको मान्छे पनि होइन । 

कलाकार बन्नु सानैदेखिको लक्ष्य थियो या ख्यालख्यालमै आइपुग्नुभयो ? 
होइन । सानैदेखि लक्ष्य बोकेर हुने कुरा पनि होइन । सन् १९७० ताका भारतमा संकटकाल लाग्दा, त्यसपछिका सिनेमामा बेरोजगारी, भ्रष्टाचार, लुट, डकैती जस्ता विषयका फिल्म बन्न थाले । त्यतिबेलाका सिनेमाहरुलाई अमिताभ बच्चनले लिड गरेका थिए । ती सिनेमा म पहाड (अर्घाखाँची) मा हुर्किँदै गरेको एकजनाले टिभीमा देख्दा बडा गज्जबको लाग्थ्यो । हिरोको फिगर, काम र आँट गज्जब लाग्थ्यो । हिरो त अमिताभ बच्चनजस्तो हुनुपर्छ भन्ने छाप दिमागमा बसेको थियो । सायद मलाई मात्रै होइन, विश्वभर सबैमा सिनेमाको हिरो कस्तो हुन्छ भन्दा अमिताभ बच्चनको जस्तो जिउडाल भएको भन्ने छाप छोडिएको थियो । सिनेमा क्षेत्र भनेको रंगीन दुनियाँ हो । यहाँ हरकोही प्रोफेसनको मान्छे आउन चाहन्छ । म बच्चैदेखि ऐना हेरेर रुन्थेँ, बच्चैदेखि नाच्थेँ, बच्चैदेखि हिरो बन्न चाहन्थेँ भन्नेजस्ता कुराले मतलबै राख्दैन । त्यो मध्येको एउटा हो म । सिनेमा हेरेर हुर्किएको म प्लस टु पढिसकेपछि अब के पढ्ने भन्ने भयो । त्यतिबेला सिनेमा मेरो रुचिको विषय हुनसक्छ भनेर एक्टिङ पढेको हुँ । त्यही रुचिलाई फलो गर्दै इन्डिया पुगेर एक्टिङमा मास्टर्स पनि गरिसकेँ । अब अभिनयमै करिअर बनाउने लक्ष्य छ । 

जतिबेला तपार्इंले सिनेमा पढ्ने निर्णय गर्नुभयो त्यतिबेला नेपालमा एक्टिङलाई प्रोफेसन मानिन्थ्यो र ? 
अँ हँ, एक्टिङलाई प्रोफेसन त अहिले पनि मानिँदैन । एक्टिङ गरेर टिक्नै गाह्रो छ यहाँ । म त प्रायःको यहाँ साइड बिजनेस देख्छु । फेरि एक्टर भनेको यस्तो पेशा हो जो एकपल्ट उठेपछि तल झर्नैपर्छ । लगातार दर्जनाँै सुपरहिट फिल्म दिएका कलाकारहरु त एकाएक हराएका छन् भने अरुको त के कुरा !  तैपनि मैले सिनेमा किन पढेँ भने यो मेरो रुचिको विषय थियो तर एक्टर बन्नलाई पढ्नैपर्छ भन्ने छैन । मैले पनि खतरनाक एक्टर बनिन्छ भनेर सिनेमा पढेको होइन । बस्, कुनै एउटा विषयमा मास्टर्स त गर्नु नै थियो, सिनेमामै गर्दिऊँ न त भनेर गरेको मात्र हुँ । यत्ति हो, सिनेमाको सैद्धान्तिक ज्ञान लिन भने यो पढाइले सघायो । 

तर पढेको धेरै समयसम्म पनि तपार्इंले फिचर फिल्ममा काम पाउनु भएन नि, है ?
हो । एक त मैले पढिसकेपछि अब मैले कस्तोखालको सिनेमा गर्ने भन्ने विषयमा आफ्नै खालको एउटा सर्त बनाएँ । समाजकै कथा बोल्ने र आर्टिस्टिक टाइपको सिनेमा गर्ने सोच बनाएँ । जस्तो पायो त्यस्तै काम गर्न मन लागेन । हातमा अफर त आउँथ्यो तर चित्तै नबुझ्ने ! कहिलेकाहीँ त डिप्रेसनमै गइएला जस्तो पनि लाग्ने । यसरी निराश भइरहेकै बेला म थप पढाइ गर्न इन्डिया गएको थिएँ । फेरि मेरो समाज, मेरो परिवारमा पढाइको सर्टिफिकेटले ठूलो अर्थ राख्छ । त्यही भएर पनि म मास्टर्स गर्न इन्डिया गएको थिएँ । 

तपार्इं इन्डियामा पुगेर एक्टिङ पढेको मान्छे । उता बलिउडमै ट्राइ गर्न छाडेर किन नेपाल फर्कनुभयो ?
ट्राइ गरेर मात्रै हुँदैन, अवसर पाउनु पनि त प-यो ! फेरि हामी सिनेमाको कुनै भाषा हुँदैन, सिनेमा आफैँमा एउटा भाषा हो भन्छौँ भने जता काम गरे पनि केको आपत्ति ? अब बलिउडको कुरा गर्दा, हो त्यहाँ काम गर्ने सपना संसारभरका मान्छेको हुन्छ । त्यो भीडबाट म पनि पक्कै टाढा भने होइन । अहिलेसम्म त मैले अडिसन दिएको छैन तर मेरो लक्ष्य भने छ । ट्राइ गरिन्छ । 

‘बुलबुल’मा तपार्इंले रणकला (स्वस्तिमा खड्का) सँग सेयर गरेको त्यो कन्डमवाला दृश्यमा तपाईंको प्रतिक्रिया गज्जबको थियो । अभिनयका क्रममा कसरी आउँछ त्यस्तो अनुभूति ? 
मलाई सबैभन्दा समस्या परेकै सिन त्यही थियो । आजसम्म मैले सयभन्दा बढी क्यारेक्टर गरेँ तर त्यस्तो अन्तरंग दृश्यवाला सिन पहिलोपल्ट गरेँ । झट्का दिनेवाला चुम्माचाटी गर्नु थिएन । अलिकति आर्टिस्टिक देखिनुपर्ने थियो । त्यहाँ लाइफ देखिनुपर्ने थियो । लाइफ देखियो भने त दर्शकले पनि सजिलै स्वीकार्थे । यही सिनको विषयलाई लिएर निर्देशकसँग हल्का टकराव पनि भएको थियो । उहाँले खोजेजस्तो सिन हामीले दिन सकिरहेका थिएनौँ किनभने उहाँको र हाम्रो भोगाइ फरक थियो । पछि उहाँले राम्रोसँग ‘ब्रिफ’ गरेपछि हामीले त्यहीअनुसार ग-यौँ । 

कति टेकमा ओके भएको थियो त्यो सिन ?
प्रायः सिन हामी दुई टेकसम्ममा ओके गरिसक्थ्यौँ तर त्यो सिन ओके गर्न चार–पाँच टेक लागेको थियो । 

तपाईंले फिल्ममा बोल्ने एउटा डायलग ‘चाय गुल्लो छ’ लाई लिएर दर्शक खुब हाँस्छन् । म फिल्म हेर्न जाँदा पनि हलबाट बाहिर निस्किँदासम्म दर्शक त्यो डायलग दोहो-याइते-याई बोलिरहेका थिए । कमेडीकै लागि राखिएको डायलग हो या अर्घाखाँचीतिरकै बोलिचाली ? 
हो । तपाईंले रिसर्च गर्नुभयो भने यो अहिले पनि अर्घाखाँचीतिर बुढापाकाले बोल्ने शैली । त्यहाँ बुढापाकाले अहिले पनि चियालाई गुलियो होइन गुल्लो नै भन्छन् । हामीले रिसर्च गरेरै राखेको हो । ‘चोपेन्द्र’को क्यारेक्टरमा धेरै ठाउँ दर्शकहरु हाँस्नुहुन्छ तर दर्शकलाई हँसाउन भनेर त्यहाँ एउटा पनि संवाद प्रयोग गरिएको छैन । हाम्रो समाज नै यस्तो छ कि यहाँ हामी चिप्लेर लड्दा पनि हाँस्छौँ । भनेपछि हामी हाँस्ने बहाना धेरै छन् यहाँ । फिल्ममा जब चोपेन्द्रले दुईजना प्यासेन्जरसँग झगडा हुँदा ‘म त डराएसी त पुरै काम्छु पो’ भन्ने डायलग बोल्छ नि, त्यो बहुसंख्यक दर्शकलाई टार्गेट गरेर नै राखिएको हो । किनभने त्यस्तो मान्छे काम्छ, काम्छ । जस्तोसुकै मान्छे पनि काम्छ । 
यो फिल्मपछि अफर कत्तिको आइरहेका छन् ?
एक दुई वटा । स्क्रिप्ट हेर्दैछु । 

फिल्म खेल्नुअघिका तपार्इंका सर्त के हुन् ?
म कुनै ठूलो स्टार भन्ने लक्ष्य लिएर फिल्म क्षेत्रमा आएको होइन । म साधारण कलाकार मात्रै हो । फिल्म खेल्नुअघि पनि मेरो त्यस्तो ठूलो सर्त केही  हुन्न । स्क्रिप्ट हेर्छु । क्यारेक्टर मलाई फिट होला अर्थात् मैले गर्न सक्छु भन्ने लाग्यो भने खेल्छु नत्र खेल्दिनँ । 

तपाईंका लागि अभिनेता हुनु भनेको के हो ?
अभिनेता हुनु भनेको अरुको जीवन बाँच्नु हो । हो, सिनेमामा गरेको अभिनय फेक हो तर दर्शकलाई रियल फिल गराउने गरी अभिनय गर्नु भने  अभिनेता हुनु हो । सिनेमा गर्दा क्यारेक्टरको एक्टिङ गर्ने होइन, उसको जीवनको बाँचेको राम्रो । अझ स्पष्ट भन्दा अक्षर जीवन बाँच्ने हो ।  अक्षरलाई अभिनयमार्फत् जीवन दिने हो । 

मैले अस्ति विपिन कार्कीलाई पनि सोधेको थिएँ । तपार्इंलाई पनि सोध्न मन लाग्यो– कलाकारको जिम्मेवारी निर्देशकले अह्राएको काम सरासर गर्ने मात्रै हो या त्योभन्दा माथि पनि भूमिका हुन्छ ? 
खासमा यस्तो भारी प्रश्नको जवाफ दिने हैसियतको कलाकार म हुँदै होइन तैपनि ट्राई गर्छु है । (त्यसपछि उनी एकछिन सोचमग्न भए अनि मात्रै बोेले) तपार्इं कुनै क्यारेक्टर बाँच्दै हुनुहुन्छ भने त्यहाँ तपाईंका भोगाइ पनि जोडिएका हुन्छन् । त्यसैले तपाईंले निर्देशकले जे अह्रायो, त्यही गर्नुपर्छ भन्ने छैन । बस्, तपाईंले तपाईंलाई चित्त नबुझेको कुरा निर्देशकलाई बुझाउन सक्नुपर्छ । निर्देशक भनेको सुटिङ सेटमा घुम्ने कुर्सीमा ह्याट लगाएर बसेको मान्छे मात्रै होइन । ऊ पनि एउटा क्रिएटिभ मान्छे हुन्छ । तपाईं तर्कसहित केही कुरामा सुझाव दिनुहुन्छ भने कुनै पनि निर्देशकले नाइँ भन्दै भन्दैन । दर्शकले त सिनेमामा कलाकारलाई हेर्ने हो । त्यसैले आफूले निर्वाह गरिरहेको क्यारेक्टरप्रति जति जिम्मेवार निर्देशक हुन्छ, त्यति नै जिम्मेवार कलाकार पनि हुन्छ, हुनु पनि पर्छ । 

धेरै सिरियस गफ भयो । अब थोरै रमाइलो कुरा गरौँ । ‘बुलबुल’मा ‘चोपेन्द्र’ले रणकलालाई पछ्याइरहन्छ । रियल लाइफमा त्यसैगरी कसैलाई पछ्याइएको छ ?
समयअनुसार ठाउँअनुसार धेरैलाई पछ्याइन्छ । 

कसैलाई त्यसरी फिल्ममाजस्तै जबर्जस्त प्रेम गरिएको छ कि छैन ? 
गरिन्छ, हरेक चिजलाई प्रेम गरिन्छ । यहाँनेर मलाई अलिकति डिप्लोम्याटिक हुन मन लाग्यो (हाँस्दै) । किनभने यो अलि पर्सनल कुरा भयो । ठाउँ, परिस्थिति र समयअनुसार धेरै चिजलाई प्रेम गरियो, धेरै चिजलाई पछ्याइयो (हाँस्दै) । 
धेरै घुमाएर जवाफ दिनुभयो । अब प्रश्न नघुमाई सोध्छु है । गर्लफ्रेन्ड छ कि छैन ?

छन् भन्ने कि छैनन् भन्ने । छैन भन्यो भने भएकाले म को हुँ भन्दिने ! छ भन्यो भने कुन चाहिँलाई भनेको भनेर भन्दिन बेर छैन । जे होस्, म संसारलाई प्रेम गर्छु, सबैबाट प्रेमको आशा राख्छु । 

तपाईंले प्रेम गर्ने शैली त ‘चोपेन्द्र’को भन्दा फरक होला नि ?
फरक होला तर कति कुरा मिल्छ पनि । म पनि आकाशको तारा झार्छु त भन्दिनँ । 
 

Leave A Comment