फिल्म ‘अग्निपथ’बाट नेपाली रजतपटमा भित्रिएका अभिनेता हुन्, विराज भट्ट । नेपाली फिल्ममा एक्सन हिरोका रूपमा जम्दाजम्दै उनी भोजपुरी फिल्मतिर हानिए । दर्जनौँ भोजपुरी फिल्ममा अभिनय गरिसकेका उनी त्यहाँ सुपरस्टारका रूपमा परिचित छन् । पाँच वर्षपछि फिल्म ‘जय पर्शुराम’बाट उनी नेपाली फिल्ममा कमब्याक भएका छन् । उनीसँग अम्मर जिसी र अनिल यादवले गरेको अन्तरंग कुराकानीः
पाँच वर्षपछि नेपाली फिल्ममा फर्किनुभयो ? के फरक पाउनुभयो ?
फरक पाउनेभन्दा पनि फरक दिने कुरा रहेछ । हामीले हिजोको जस्तै सिनेमा दिने हो भने त्यसको केही महŒव भएन । समयअनुसार कसरी फरक सिनेमा दिने भन्ने चिन्ता सबैमा हुनुपर्छ ।
फिल्म मेकिङमा केही फरक पाउनुभयो कि भन्न खोजेको ?
हो । एकदमै बदलिएको छ । प्रविधिमा धेरै परिवर्तन भएको छ । अहिले यो इन्डस्ट्री विस्तार भएको छ । डिजिटलले गर्दा धेरै सजिलो छ ।
झन् एक्सनमा काम गर्नेलाई प्रविधिले सजिलो बनाउने नै होला ?
अवश्य सहज हुन्छ । जस्तो, बमको बीचमा दौडन पर्नेछ भने ग्राफिक्समार्फत अगाडिपछाडि धेरैवटा बम ब्लास्ट गर्न सक्छौँ, विनाक्षति ।
नेपाली दर्शकले माया गर्दागर्दै नेपाली फिल्म चटक्क छाडेर भोजपुरीतिर लाग्नुभयो । यसलाई दर्शकले कसरी बुझ्ने ?
उहाँहरूले माया बढी दिनुभयो । त्यो माया छचल्किएर उता पनि पुग्यो । यहाँ एउटा उचाइमा पुगेपछि भोजपुरीबाट अफर आयो । जसरी मैले यता चल्दाचल्दै छाडेर उता गएँ । त्यसरी नै उता चल्दाचल्दै फेरि यता आएँ । उता बिजी छु । एकपछि अर्को फिल्म पाइराछु । त्यति हुँदाहुँदै नेपाली फिल्मका लागि पनि केही गर्छु भन्ने लागिरहन्छ ।
तर, नेपाली दर्शकले विराट भट्टलाई पाँच वर्ष त मिस गरे नि ।
मैले खेलेका फिल्म यहाँ अस्तिअस्तिसम्म पनि चलिरहेकै थिए । पालो कुरेका फिल्म बिस्तारै आइरहेकै थिए । बीचको डेढ वर्ष जति मात्र मेरो कुनै पनि नेपाली फिल्म आएन ।
नेपाली दर्शकको चित्त दुखाएँ जस्तो लाग्दैन ?
हैन, मैले कसरी चित्त दुखाएँ ? म त प्राउड फिल गर्छु । त्योभन्दा बढी प्राउड फिल नेपाली दर्शकले गर्नुहुन्छ भन्ठान्छु । भोजपुरीमा यत्रो मार्केट बनाएँ । बाहिरको हिरो नचल्ने ठाउँमा नेपालबाट गएर आफूलाई स्थापित गर्न सकेँ । नेपालमा फिल्म उद्योग छ र ? भन्ने ठाउँमा गएर नेपालबाटै आएर सुपरस्टार बनेको अवस्थामा हाम्रै लागि राम्रो होला । नेपाली सुपरस्टार भन्ने चिजको महŒव त्यहाँनिर बेग्लै भयो । मुम्बई, लखनऊ, दिल्लीतिर नेपाली दर्शक भेटिनुहुन्छ । पोस्टर देख्नुहुन्छ । खुशी लाग्यो भन्नुहुन्छ ।
भोजपुरी फिल्मसँग कसरी जोडिनुभयो ?
सिनेमा गर्दागर्दै अफर आयो । निर्माता रमाकान्त प्रसादले सुरुमा प्रस्ताव गर्नुभयो । त्यतिबेला म वीरगञ्जमा ‘अग्निज्वाला’ फिल्मको सुटिङ गर्दै थिएँ । लगत्तै उहाँले मेरो भूमिका सहितको फिल्मको खाका दिनुभयो । भूमिका र कथावस्तु ठीक लाग्यो । खेलेँ । सुरुमै हिट भयो ।
रमाकान्तले तपाईंमा के देखेर प्रस्ताव गरेछन् ?
खै के देख्नुभयो ? मन पराउनुमा केही हुँदैन रैछ । किन हो किन कोही मान्छे यसै मन पर्छ । हरेकको हेर्ने आफ्नै दृष्टिकोण हुन्छ । नेपाली फिल्ममा मेरो सफलता देख्नुभयो होला । मेरो पृष्ठभूमि हेर्नुभयो होला ।
एक्सन छविबाटै प्रभावित हुनुभयो कि ?
त्यो पनि होला । म मेहनत पनि गर्छु । जस्तो, जोन इब्राहिमले पछिल्लोपटक ‘फोर्स’मा बाइक उठाए । त्यो मैले भोजपुरीको पहिलो फिल्ममै गरिसकेको थिएँ । त्यहाँ भनिँदै छ, विराजले २००८ मै गरेको काम जोनले कपी ग¥यो । चलेका निर्देशक राजकुमार पाण्डेको उत्कृष्ट सेटअप थियो । यो कामको प्रशंसा भएपछि फोन आउन थाले । आउजाउ बढ्यो । मुम्बई गएर फिल्म सकेर यतै आउथेँ । हिट बढ्न थालेपछि उतै बस्नुपर्ने भयो । त्यसपछि रेगुलर भएँ ।
भोजपुरी र नेपाली फिल्मबीच के फरक छ ?
भाषा त भइहाल्यो । त्यसपछि यहाँका हिरोइन स्लिम हुन्छन् । त्यहाँका मोटाघाटा हुन्छन् । उठाउनका लागि गाह्रो हुने भएर तगडा हिरो चाहिन्छ । हाहाहा...। यसलाई रमाइलोका रूपमा बुझिदिनुस् । अरू फरक गानाहरू छ । यहाँ गाना कम हुन्छ । त्यहाँ छिटोछिटो गाना आउँछ । त्यसमै दर्शकहरू रमाउँछन् । सिटी बजाउँछन् । ताली बजाँउदै हलमै नाचिदिन्छन् । मेकिङ उस्तैउस्तै हो । संस्कृति, लोकेसन, कथावस्तु त फरक हुने नै भए ।
तपाईंलाई भोजपुरी फिल्मको सुपरस्टार भन्ने कि नेपाली सुपरस्टार ?
सर्वप्रथम नेपालको सुपरस्टार हुँ म । त्यसपछि भोजपुरीमा गएर पनि सुपरस्टार भएँ । हाम्रो मान्छे भोजपुरीमा पनि सुपरस्टार छ भनेर प्राउड फिल गर्नुपर्ला नि ! विराज भट्ट डेफिनेट्ली नेपाली सुपरस्टार हो । नेपालबाट भोजपुरीमा गएर पनि त्यहाँका सुपरस्टारहरूका बीच पनि सुपरस्टार भयो ।
यो माटोप्रति प्रेम छ भनिरहनुपरेन । उदितनारायण, मनिषाहरू जस्तो त्यहीँ काम गरेर सुपरस्टार भएको होइन म । म त नेपालकै स्टार उता गएको मात्र हुँ । त्यहाँ मलाई ‘नेपाली सुपरस्टार विराज भट्ट’ भनेर प्रचार गरिन्छ । पत्रपत्रिकाले पनि लेख्छन् । पोस्टर त्यस्तै बन्छन् । त्यहाँका सबैलाई थाहा छ, यो नेपालको हिरो हो भनेर ।
त्यहाँ सुरुमा गाह्रो भयो होला ?
भाषा त गाह्रो भइहाल्यो । भाषाले पर्फमेन्समा पनि फरक पार्छ । हाम्रो दिमाग डाइलग याद गर्नतिर हुन्छ । सुरुमै भाषा गाह्रो परे समस्या भइहाल्छ । अलिकति सजिलो म देहरादूनमा पढेकाले हिन्दी राम्रो थियो । स्क्रिप्ट बेलुकाबेलुका पढेर याद गर्थें ।
भोजपुरी संस्कार, संस्कृतिप्रति कतिको जानकार हुनुहुन्छ ?
भोजपुरी संस्कार अनौठो होइन । सबै परिचित छन् । यहाँ र त्यहाँको संस्कार, संस्कृतिमा सामान्य भिन्नता हुन्छ । त्यहाँ भिज्दै जाँदा बानी परेर आफ्नै जस्तो लागिहाल्दो रहेछ ।
त्यहाँका कलाकार कस्ता हुन्छन् ? कहाँकहाँबाट आउँछन् ?
मेहनत गरेर आउँछन् । त्यहाँ कलाकार धेरै छन् । नेपाल र बंगालबाट पनि आउँछन् । अमिताभ, मिथुन, शक्ति, ज्याकी श्रोफ, अजय देवगन, साउथका चलेकै हिरोहरू सबैलाई खेलाइरहेका हुन्छन् । हामीलाई पो यहाँ बाहिरबाट ल्याउन गाह्रो छ । उनीहरूलाई सजिलै छ ।
यो पर्याप्तता हुँदाहुँदै पनि तपाईं हिट हुनुभयो है ?
यसमै गर्व गर्छु । कलाकारको सीमा हुँदैन भन्ने लाग्छ । भोजपुरीको मेन हब मुम्बई हो । हिन्दीसँग कम्पिटिसन गर्नुपर्छ । धेरै सुट हुने पनि त्यहीँ हो । त्यसबाहेक गुजराज, युपी, बिहार र नेपालकै केही ठाउँमा पनि सुट हुन्छन् । नियमकानुन सबै हिन्दीकै समान हो ।
पारिश्रमिक गज्जब होला है ?
यो डिपेन्ड गर्ने लगानीकर्तामा हो । फेरि त्यहाँ र यहाँ तुलना गरेर हुँदैन । यहाँको मलाई दिने पारिश्रमिक पनि ठीकै लाग्छ । यहाँको अवस्था हेरेर । त्यहाँ आफ्नै प्रकारको छ ।
सुरुदेखि नै एक्सनमा जम्नुभयो ? तपाईंको जुनी एक्सनमै जाने हो ?
त्यो त जान्छ नि । धेरै कलाकारलाई हेर्नुस् । जसमा जे क्वालिटी छ । त्यही दिने हो । एक्सन सजिलो काम होइन । जसलाई जे सुहाउँछ, त्यही अफर बढी आउने हो । मलाई एक्सनै सुहाउँदो रहेछ ।
दर्शकलाई फरक दिऊँ जस्तो लाग्दैन ?
हामी त सबै किसिमको काम गर्न खोजिरहेका हुन्छौँ नि । एक्सन मात्र मेरो च्वाइस होइन । दर्शकको हो । मलाई त कम गाह्रो हुन्छ र ? कहिले कुकुरसँग, कहिले भालुसँग लड्नुपर्ने । एक पटक भालुले चिथोरेर जम्मै छियाछिया पा¥यो । कहिले लडिन्छ । ‘जय पर्शुराम’मा हर्स राइडिङ छ । १५ दिन लगातार घोडा दौडाइयो । घोडा बिमार भएर कुद्न नसक्ने भइसक्थ्यो । हरेक पल गाह्रो थियो । एक हातले घोडा दौडाउने, अर्को हातमा बञ्चरो । क्यामेराको छेउमा पुग्नुपर्ने । जम्प पनि गर्नुपर्ने । अझ नयाँ पनि केही दिऊँ भनेर घोडालाई नै उठाउनुपर्ने । यस्ता स्टन्ट गर्दा सुरक्षित कसरी हुने ? ठूलो कुरा त्यो हो । आजसम्म धेरैजसो सेफ नै छु ।
पछिल्लो समय दर्शकमा एक्सनप्रतिको रुचि घटेको हो ?
कहाँ घट्नु ? एक्सनप्रतिको रुचि संसारमा कतै घटेको छैन । झन् बढ्छ ।
तर, यहाँ थुप्रै एक्सन फिल्महरू फ्लप भए । विराज भट्ट नभएर क्रेज घट्यो त ?
हो । त्यो पक्का हो । मैले जे गरेँ । त्यो कसैले दिन सकेन । मेरो एक्सन मिस भयो । ट्रेन्ड नै चेन्ज भएर अर्को प्रकारको सिनेमा बन्यो । दर्शकले जे पाए, त्यही खाए । मलाई विश्वास छ, फेरि एक पटक एक्सनमा रुचि बढ्छ ।
तपाईंलाई एक्सनबाहेक कुनै भूमिका गर्न मन छ ?
मलाई त एकदम रमाइलो लभस्टोरी फिल्म गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । ‘आई लभ यू’ भन्यो, ‘किस खायो’, केही नगरी ठूस्स प¥यो । यसो ‘ग्लिसिरिन’ लाएर रोइदियो । एकछिन पछि ‘आई हेट यू’ भन्यो । ओहो कति मज्जा ! त्यस्तो गर्न कहाँ पाउँछु र म ? मेरो केसमा त घोडा बिमार भइसक्छ । म बिमार हुनुहुँदैन ।
अहिलसम्मको कामदेखि खुशी हुनुहुन्छ ?
काम गर्दा बहुत दुःख हुन्छ । बाहिर भन्ने बेला खुशी नै छु भन्नुपर्छ । आफूमा भएका क्वालिटी र सम्भावनाबीच पनि प्रतिस्पर्धा भइरहेको हुन्छ । ब्रुस्लीको पनि एक्सनका कारण एक्टिङ पक्ष छायांमा प¥यो । ममा पनि एक्सन हाबी भयो ।
‘जय पर्शुराम’मा ट्रेलर हेर्दा त दोहोरो चरित्र छ जस्तो लाग्छ । खासमा कस्तो भूमिका हो ?
भूमिकाबारे अहिले नै नभनी हालौँ । दोहोरो चरित्रबारे पनि अहिले सेक्रेट राखौँ । जे होस् फिल्म एक्सन हो । स्टाइलिस पनि छ ।
अभिनयमा रुचिले आउनुभयो वा हिँड्दै गर्दा भेटिएको बाटो हो ?
सानैदेखिको रुचि हो । कसैले भनेर आएको होइन । धेरै संघर्ष गरेँ । मार्सल आर्ट खेल्दै जाँदा एक्सन रोलहरू फिट ग¥यो । ‘यसले जोडले हान्छ’ भनेर डराउँथे पनि । मलाई एक्सन स्क्रिनमा सुरुदेखि नै रुचाइयो ।
सुटिङमा फाइट सिनका बेला त फाइटरहरू नै तपाईंसँग डराउँछन् रे !
पावरबाट डराउने छुट्टै कुरा हो । बरु सुरक्षित हुन्छन् । कसैको हड्डी भाँचिदियो, दाँत झारिदियो कतै सुन्नुभाछ ? स्पटमा धेरै सेभ गर्न सक्छु । सन्तुलित हुन्छु । पहिलापहिला डराउँछन् पनि । काम गर्दागर्दा सजिलो मान्छन् ।
सुरुमा तपाईंलाई नेपाली फिल्ममा हिरोका रूपमा स्वीकार्न नचाहनेहरू पनि थिए है ?
संघर्षका बेला त्यस्तो हुन्छ । हिरोबारे परम्परागत सोच छ । एकै पटक हिरोमा काम पाउन गाह्रो भयो । त्यो आज पनि छ । जग्गा बेच्ने, आफँै फिल्म बनाउने, आफैँ हिरो बन्ने हो भने त के गाह्रो र ! त्यस्ता फिल्म पनि आफैँ हेर्नुपर्छ । नत्र भने हिरो बन्न गाह्रै छ । फेरि, दुःखको मज्जा पनि बेग्लै हुँदो रहेछ । सहजै पाएको चिज कम स्वादिलो हुन्छ ।
सुरुसुरुमा कसैले तपाईंलाई ‘हिरो बन्ने अनुहार छैन’ भनेको सुन्दा कस्तो लाग्थ्यो ?
सामान्य लाग्थ्यो । ममा हिरो बनेरै छाड्छु भन्ने आत्मविश्वास थियो । मलाई नजिकबाट चिन्नेहरू हिरोमा बबाल गर्न सक्छौँ भनेर हौस्याउँथे । रफ लुक, हाइट, जीउडाल देखेर नेगेटिभ अफर पनि धेरैले गरे । तर, मैले गरिनँ । सानै भए पनि पोजेटिभ रोल गर्न चाहेँ । पछि त्यही मान्छेले डेट नपाउने भयो । विराजको डेट पाइदिए हुन्थ्यो भनेर पछि लागेर साइन पनि उनीहरूले नै गराए । भाग्य, मेहनत, भगवान, दर्शक सबैको कुरा हो ।
तपाईंको बलिउडमा प्रवेशको सम्भावना छ ?
त्यो गाह्रो कुरा होइन । नचाहेको मात्र हो । किनभने, जता राम्रो प्रभाव पार्न सकिएको छ, उतै राम्रो गर्न खोज्दा शिखरमा पुग्न सजिलो हुन्छ ।
Leave A Comment