कृषि प्रविधि सिक्न इजरायल

बिहिबार, २३ फागुन २०७५, ०६ : २३ दिलीप पौडेल
कृषि प्रविधि सिक्न इजरायल

प्रायः युवा रोजगारीका लागि विदेशिन्छन् । विदेश जानुपूर्व सीप सिक्छन् । तर, केही युवा कृषि खेती गर्ने सीप सिक्न इजरायल गएका छन् । कामदारको रुपमा विदेश गैरहेको अवस्थामा केही युवा इजरायलमा आधुनिक कृषि खेती तालिम लिइरहेका छन् सीप सिकेर स्वदेशमा फर्केर कृषिमा आधुनिकीकरण गर्न तल्लिन् छन् ।

धादिङको धुनीबेसी नगरपालिका–१ का युवा विजय तामाङ कृषि खेतीसम्बन्धी  सीप सिक्न इजरायल पुगेका छन् । व्यावसायिक कृषि खेती गर्ने योजनासहित तामाङ प्रविधि सिक्न इजरायल गएका हुन् । वैदेशिक रोजगारीका लागि इजरायलको मापदण्डअनुसार सरकारले ‘केयर गिभर’ नेपाली कामदार पठाउन नसके पनि कृषि प्रविधि सिक्ने नेपाली युवा धमाधम इजरायल जाने आउने क्रम चलिरहेको छ । 

साना किसान विकास बैंकले इजरायलका विभिन्न कृषि कलेजसँग द्विपक्षीय सम्झौता गरेर यहाँका युवायुवती निःशुल्क इजरायल पठाएको छ । बैंकले कृषि सहकारी केन्द्रीय संघसँग समन्वय गरेर विभिन्न जिल्लाका कृषि सहकारीमा आबद्ध प्स टू पास गरेका २० देखि ३० वर्षसम्मका युवायुवतीलाई पठाउने गरेको छ ।
प्लेन टिकट बाहेक निःशुल्क रुपमा इजरायल पुगेका नेपाली १० महिनादेखि एक वर्षसम्म कृषि सम्बन्धि तालिम लिन्छन् । सीपसँगै मासिक डेढ लाख रुपैयाँ आम्दानी गर्छन् ।

युवालाई कृषिमा आकर्षित गर्न सीप सिक्न इजरायल पठाउने गरेको साना किसान विकास बैंकका अध्यक्ष खेमप्रसाद पाठकले बताए । ‘सीप सिकेर फर्केपछि कृषि पेसा नै अँगाल्नेलाई तालिम लिन पठाउँछौं,’ पाठकले भने, ‘सीप सिक्न जाँदा पैसा पनि कमाइ हुन्छ ।’ इजरायल सरकारसँगको सहकार्यमा बैंकले ‘सिकाइ र कमाइ’ कार्यक्रमअन्तर्गत अहिलेसम्म २७ सय युवा तालिम लिन इजरायल पुगेका छन् । यो वर्ष थप ६ सय युवालाई इजरायल पठाउने तयारी रहेको बैंकले जनाएको छ । ‘एउटा कलेजबाट माग आएको छ,’ पाठकले भने, ‘चैतसम्म थप ६ सय युवा इजरायल पठाउँछौं ।’

सीप सिकेर स्वदेश फर्केपछि व्यावसायिक कृषि गर्नुपर्ने हुन्छ । विदेश गएर भाँडा माझ्न र कठिन श्रम गर्न तयार युवा पछिल्लो समय तालिम लिएर स्वदेशमा फर्किएपछि कृषि फार्म सञ्चालन गर्न उत्सुक छन् । 
इजरायलले आधुनिक कृषिमा फड्को मारेकाले तालिम लिएर फर्केका युवाले कृषिमा व्यावसायीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  इजरायलमा तरकारी, फलफूल, कुखुरा, पशुपालनमा आवश्यक पर्ने तालिम लिन्छन् । इजरायल पुगेकामध्ये करिब २२ सय युवायुवती स्वदेश फर्केर कृषि व्यवसायमा आबद्ध भएको बैंकले जनाएको छ ।

कृषि प्रविधि सिक्न इजरायल पुगेका चितवनका भुवन विष्ट सीपसँगै पुँजी लिएर फर्किए । फर्केपछि विष्टले १८ लाख लगानीमा व्यावसायिक कृषि खेती सुरु गरेका छन् । विष्ट साना किसान सहकारी संस्था पदमपुर मार्फत इजरायल गएका थिए । ‘इजरायलमा टनेलमा टमाटर खेती गर्ने सीप सिकेँ’ उनले भने, ‘त्यहाँ सिकेको सीप यहाँ प्रयोग गरेको छु ।’

इजरायल पठाएर आम्दानीसँगै सीप सिक्न प्रोत्साहन गरिएको हो । कृषि सहकारीले युवालाई पुँजीसहित सीप दिँदा कृषिलाई आयआर्जनको माध्यम बनाएका छन् । उत्पादन वृद्धि, गरिबी न्यूनीकरण, आयात प्रतिस्थापन, निर्यात प्रबद्र्धन, रोजगारी सृजनामा सघाउने योजना हो । 

युवा मात्र भएर युवती पनि इजरायल पुगेर तालिम लिएर पर्केका छन् । काभ्रेकी प्रमिला थापाले सीप सिकेर फर्केपछि व्यावसायिक रुपमा गोलभेँडा खेती गरेकी छिन् । १० महिना इजरायलमा कृषि तालिम लिँदा सीपसँगै पुँजी लिएर आएको बताइन् । ‘आधुनिक खेती प्रणालीको बारेमा सिक्ने अवसर पाएँ,’ थापाले भनिन्, ‘त्यहाँ कमाएको पैसा कृषि फार्ममा लगानी गरेको छु ।’

कृषि सहकारीले रोजगारी सृजना, पशु तथा कृषिजन्य वस्तुको उत्पादन वृद्धि मात्र गरेका छैनन् । निम्न आर्थिक अवस्था भएका किसान सदस्यको जीविकोपार्जनमा आमूल सुधार ल्याउन सहयोग पु¥याएका छन् । कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान २७.६ प्रतिशत छ । कृषि क्षेत्रले कुल राष्ट्रिय रोजगारीमा ६१.५ प्रतिशत योगदान पुयाएको छ । 

कृषि सहकारीले करिब ५४ अर्ब रुपैयाँ लगानी गरेको नेपाल कृषि सहकारी केन्द्रीय संघले जनाएको छ । कृषि सहकारीले ९० प्रतिशत कृषि क्षेत्रमै लगानी गरेका छन् । वार्षिक रुपमा अर्बौं रुपैयाँका कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भइरहेको बेला आयात प्रतिस्थापन गर्न कृषिमा लगानी बढाएका हुन् । तरकारी, खाद्यान्न, पशु सुरक्षा कार्यक्रम, गाईभैंसीपालन, धान, अदुवा, तरकारीखेतीमा ऋण लगानी गरेका छन् । सहकारीले व्यक्तिगत रुपमा मात्र नभएर सामूहिक रुपमा पनि कृषि क्षेत्रमा लगानी गरिरहेका छन् । कृषि सहकारीले युवालाई पुँजीसहित सीप दिँदा कृषि आयआर्जनको माध्यम बनेको छ । 


 

Leave A Comment