रणवीर कपुरले फोनमा सोधे ‘तँ जिउँदै छस् नि’

बिहिबार, २३ फागुन २०७५, ०६ : ३४ शुक्रवार
रणवीर कपुरले फोनमा सोधे ‘तँ जिउँदै छस् नि’

भोलाराज सापकोटाले ६ वर्षअघि अनुराग वसुको फिल्म ‘बर्फी’मा बलिउडका ठूला स्टार रणवीर कपुर र प्रियंका चोपडासँगै स्क्रिन सेयर गरे । त्यसपछि उनी यतै छन् । नेपालमा ‘ताराबाजी लै लै’, ‘अग्ली डक्लिन’ लगायत ४० भन्दा बढी नाटक अनी ‘सानो संसार’, ‘झुम्की’, ‘गोपी’, ‘जात्रा’ लगायत फिल्ममा उनको अभिनय छ । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी : 

सञ्चै हुनुहुन्छ ?
हजुर, सञ्चै छु । 

चिया-कफी के लिनुहुन्छ ? 
केही नलिऊँ । मैले चिया÷कफी लिन छाडेको धेरै भइसक्यो । 

किन नि ? 
आमा बितेपछि १ वर्ष दूध चिया बार्नु पर्दोरहेछ । खोइ किन हो, त्यसपछि खानै मन लागेन । 

‘गोपी’मा तपाइको भूमिका गोठालाको छ । सिन एकदमै थोरै छ तैपनि अभिनयका हिसाबले तपाईंको तारिफ नै भयो है ?
हो । फिल्ममा आफ्नो काम देखाउनलाई सिन धेरै हुनुपर्छ भन्ने मलाई लाग्दैन, अभिनयमा दम भयो भने एउटै सिनले पनि दर्शकमाझ छाप छोड्न सक्छ । फिल्ममा काम गर्दा सधैँ यही कुराको ख्याल गर्ने हो । मैले अभिनय गरेका दुई फिल्म ‘गोपी’ र ‘रणवीर’ हलमा एकै हप्ता चलेका हुन् । सिनका हिसाबले दुवैमा मेरो उस्तैउस्तै हो तर अभिनयका हिसाबले धेरै दर्शकले ‘गोपी’को ‘गोठालो’लाई मन पराइदिनुभयो । कतिले यति सानो रोलमा किन काम गरेको भनेर गाली पनि गर्नुभयो तर मैले त्यसलाई सिरियस्ली लिइनँ । लिन्नँ पनि । 

एउटा कलाकारका लागि आफूले अभिनय गरेका दुई फिल्म सँगै रिलिज हुुनु ठीक हो त ?  
होइन नि ! यसले कलाकारलाई त घाटा हुन्छ÷हुन्छ, प्रोड्युसरलाई पनि झन् घाटा हुन्छ । पालैपालो रिलिज भएको भए राम्रो हुन्थ्यो । एकै पल्ट रिलिज हुँदा दर्शक हन्ड्रेड पर्सेन्ट बाँडिन्छन् । 

सँगै रिलिज भएका ‘गोपी’ र ‘रणवीर’ दुवै व्यावसायिक हिसाबले हलमा असफल देखिए । यस्तो नतिजाले एउटा कलाकारलाई कत्तिको प्रभाव पार्छ ?
प्रभाव त पारिहाल्छ । हलमा दर्शक आए भने न हो, हाम्रो पनि काम नोटिस्ड हुने । नत्र त हामीलाई पनि कसले चिन्थ्यो र ! 

अब एकछिन फ्ल्यासब्याकमा जाऊँ है । कलाकारिता तपाईंको पुरानै गन्तव्य हो ?
बच्चैदेखिको रुचि हो– अभिनय । सात कक्षा पढ्दादेखि मैले नाटक गर्न सुरु गरेको हुँ । मेरो घर हेटौँडा हो । हेटौँडा हुँदै मैले ‘मूर्ख बिरामी’ नामको पहिलो नाटकमा झाँक्रीको रोल गरेको थिएँ । निर्देशन पनि मेरै, कथा पनि मेरै थियो । बाल मस्तिष्कले जस्तो सकेको थियो, त्यस्तै गरेको थिएँ । यदि त्यो नाटक हेरेका दर्शक, सर, सिनियरहरुले ‘तेरो राम्रो छ’ भनेर तारिफ नगरेको भए म आज कलाकार हुन्थिनँ होला । 

हेटौँडादेखि काठमाडौंसम्मको यात्रा कसरी तय भयो ?
हेटौँडा हुँदा तहतहमा नाटक गरियो । पहिला स्कुलमा गरियो । त्यसपछि क्लबहरुमा गरियो अनि जिल्लास्तरीय कार्यक्रमहरुमा गरियो । सडक–सडकमा नाटक गर्दै पनि हिँडियो । यसरी काम गर्दागर्दै काठमाडौंको नाचघरमा फ्रिमा एक्टिङ कोर्स खुलेको थाहा पाइयो । ट्राई गरौँ न त भनेर गरेको, सेलेक्ट भइयो । त्यसपछि काठमाडौंको यात्रा सुरु भयो । 

दुई दशकको तपाइको अभिनय यात्रालाई आफैँले समीक्षा गर्नुपर्यो भने कसरी गर्नुहुन्छ ? 
धेरै थोक पाएँ, केही कुरा गुमाएँ पनि होला । घरपरिवारलाई पनि राम्रोसँग हेर्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ । गाउँमा (हेटौँडा) रहनुभएको बुबालाई पनि सँगै राख्न पाको भए हुन्थ्यो भन्ने लाग्छ । अहिले म, श्रीमती र छोरी यहाँ सँगै बस्छौँ । म हिजो पनि नाटक गर्थेँ, आज पनि गर्छु । फरक यत्ति हो, हिजो नबुझेर गर्थेँ होला, आज बुझेर गर्छु । 

तपाइको दुई दशक अनुभवमा यहाँ कलाकारिता गरेर बाँच्न कति सजिलो छ ?
आजको दिनसम्म मैले अभिनयबाहेक अरु केही गरेको छैन । तैपनि बाँचिरहेको छु । सायद सोचाइमा भर पर्छ होला । कलाकारिता गरेर ठूलो गाडी चढ्छु, महँगो रेष्टुरेन्टमा गएर खाना खान्छु, आलिसान महलमा बस्छु भन्ने सपना देख्यो भने त पूरा नहुनसक्छ तर अरु मान्छे जसरी सामान्य जीवन जिउँदै आफ्नो यात्रालाई अघि बढाउँछु भन्यो भने सम्भव छ । हुन त रंगकर्ममा काम गरेरै गाडी चढ्नेहरु पनि देख्या छु तर मैले भने सकेको छैन । 

तपाईंको सक्रियता फिल्मभन्दा बढी नाटकमै देखिन्छ । नाटक गरेको एक दशकपछि मात्रै तपाईं फिल्ममा देखिनुभयो, त्यो पनि सक्रिय रुपमा होइन । किन होला ?
खोइ किन हो, नाटक गर्दाको जस्तो मज्जा म सिनेमामा पाउँदिन । सुरुदेखि नै नाटकमा लागेको भएर पनि त्यस्तो लागेको हुन सक्छ । यसको अर्थ सिनेमा गर्दा नरमाइलो हुन्छ भन्न खोजेको होइन, रमाइलै हुन्छ । अर्को कुरा, म सुरुमा काठमाडौं आउँदा रंगमञ्चभन्दा बढी हास्य प्रहसन गरेर हिँड्थे । 
रामशरण दुलाल मेरो जोडी थिए । ‘मामा भाञ्जा’ भनेर हामी ठाउँठाउँमा प्रहसन गर्दै हिड्थ्यौँ । जब एक्टिङमा तीन वर्षको डिप्लोमा कोर्स गरियो त्यसपछि रंगकर्ममा लागिरहेकाहरुसँग बढी संगत बढ्यो । रंगकर्म अलि गहन काम हो जस्तो लाग्न थाल्यो । त्यसपछि म नाटक नै गर्छु, नाटकमै जीवन व्यतित गर्छु भनेर फिल्म नगरी बसेको हुँ । 

अफर आउँदा पनि नगरी बसेको ?
हो, केही काम भने अफर आउँदा पनि नगरेको हो । 

त्यसो भए ‘सानो संसार’ चाहिँ के कारणले खेल्न तयार हुनुभयो ? 
सबैभन्दा ठूलो कुरो संगत रहेछ ! त्यो बेला कर्मा, महेशहरुसँग बाक्लो संगत थियो । उनीहरुले ‘यो फिल्म जसरी पनि गर्नुपर्छ, तपाइ हामी एकै ठाउँको’ भन्न थाले । ‘नाइँ’ भनेर उम्किनै सकिनँ । 

अहिले फिल्म त खेलिरहनुभएको छ तर धेरै फिल्ममा तपाईंको भूमिका छोटोछोटो देखिन्छ । बलिउड फिल्म खेलिसकेको कलाकारलाई यसरी छोटोछोटो रोल मात्रै अफर आउँदा नगरौँ भन्ने लाग्दैन ? 
कहिलेकाहीँ त हेपेरै यस्तो अफर आएको हो कि भन्ने पनि लाग्छ । कुनै त क्यारेक्टर मन परेर पनि गरियो । कति त काठमाडौंमा बाँच्नु पनि पर्यो, त्यसकै लागि पनि मनसँग सम्झौता गरेर गरियो । अहिले त ठीकै छ, कुनैबेला त यस्तो समय पनि थियो जतिबेला मेरो होचो शरीर देखेर मान्छेहरु ‘जोकर रोल चाहिँ यसलाई’ भन्दै जिस्काउँथे । त्यस्ता मान्छेदेखि मलाई साँच्चै रिस उठ्थ्यो । मलाई ‘बर्फी’को अडिसनका बेला अनुराग बासुले पनि एकपल्ट सोध्नुभएको थियो, तँलाई तेरो शरीरदेखि केही दुःख छ ? मैले त्यतिबेला मेरो हाइट सानो भयो, यसमा भने दुःख लाग्छ भनेको थिएँ । त्यतिबेला उहाँले ‘दुःख नमान, तेरो फरक कुरा यही नै हो’ भन्दै सम्झाउनुभएको थियो । म गुरुकुलको पहिलो ब्याचको विद्यार्थी हो । गुरुकुलमा नाटक हुँदा मैले गर्न चाहेको एउटा क्यारेक्टर हाइटकै कारण गर्न नपाएको म कहिल्यै भुल्दिनँ । त्यस बखत मलाई खुब चित्त दुखेको थियो । हामीकहाँ हाइट सानो हुनासाथ कमेडी रोल मात्रै सुहाउँछ भन्ने मानसिकता थियो । अझै पनि यदाकदा छ । तर, मैले मेरो हकमा भने काम गरेरै त्यसलाई गलत साबित गरिदिएँ भन्ने लाग्छ । 

नेपाली फिल्ममा सक्रिय नभइरहेका बेला तपाईंलाई अचानक नेपाली दर्शकले बलिउडको ठूलो फिल्म ‘बर्फी’मा देख्न पाए । त्यो पनि रणवीर कपुर र प्रियंका चोपडासँग । यस्तो कसरी सम्भव भयो ? 
अनुराग बासु (बलिउड निर्देशक) ले ‘बर्फी’का लागि नेपाली टोनमा हिन्दी बोल्ने एउटा नेपाली क्यारेक्टर खोजिरहनुभएको रहेछ । प्रशान्तजीले मेरो नाम लिनुभयो । मैले त्यतिबेलासम्म कहिल्यै अडिसन दिएर काम गरेको थिइनँ । मन भने थियो । कोलकातामा अडिसन हुने भयो । त्यतिबेला मेरो भर्खर बिहे भएको थियो । बिहे गरेको तीन दिनमै म कोलकाता अडिसन दिन पुगेँ । अढाई घण्टा लाइनमा पर्खिएपछि पालो आयो । अहिलेसम्म गरेकोमध्ये तीनवटा मन परेको क्यारेक्टरको सिन  गर्न भनियो । मैले तीनवटा नाटकको सिन गरेर देखाइदिएँ र घर फर्किएँ । १० दिनपछि फेरि अर्को अडिसनका लागि फोन आयो र मुम्बई गएँ । अडिसन दिएँ । स्क्रिन टेस्ट गरियो । त्यसपछि त अडिसन दिन गा’को, एकैचोटी भोलिबाट सुटिङ भनियो । म त ट्वाँ ...। खुसीले गद्गद् भएँ नि ! 

बिहे गरेको तीन दिनमा हनिमुन मनाउन छाडेर अडिसन दिन जानुभएछ । श्रीमती रिसाइनन् ?
रिसाउन त रिसाइहाल्छिन् तर फकाएँ नि ! यो मेरो पहिलेदेखिको रहर हो भनेर सम्झाएँ । 

‘बर्फी’मा काम गर्दा रणवीर कपुरलाई कसरी बुझ्नुभयो ?
प्रियंका चोपडासँग त्यत्ति गफ भएन तर रणवीरसँग खुब दोस्ती भयो त्यतिबेला । जोक्स गथ्र्याँै, खुब रमाइलो गथ्र्यौँ हामी । पहिलो दिन पहिलो सट नै मेरो रणवीर र प्रियंकासँग थियो । निकै डर लागेको थियो । उनीहरु ठूलो देशको ठूलो स्टार थिए । तर, मनको खुला र मिजासिला रहेछन् । काम गर्न एकदमै सजिलो भयो । 

रणवीरसँग अहिले पनि कुराकानी हुन्छ ?
धेरै भयो, भएको छैन । उसको नम्बरमा पहिला उसले सिधै फोन उठाउँथ्यो, अहिले अर्कै मान्छेले उठाउँछ । त्यही भएर गर्न छाडिदिएँ । भूकम्पका बेला भने ‘तँ जिउँदै छस् नि’ भनेर फोन गरेको थियो । मलाई अहिले पनि विश्वास छ, कुनै दिन भेट भयो भने हामी पहिले जसरी खुलेर रमाइलो गर्न सक्छौँ ।

बलिउड र यहाँ काम गर्ने शैलीमा के फरक पाउनुभयो ?
अरु त त्यस्तै हो तर त्यहाँ हरेक काम सिस्टमेटिक तरिकाले हुने रै’छ । सबै कलाकार उस्तै सम्मान हुने रै’छ । रोल जतिसुकै होस् मतलब भएन । हामीकहाँ व्यावसायिक ढंगले कमै काम हुन्छ । सिनेमा बनाउनेहरु त्यत्ति सिरियस देखिँदैनन् । कलाकारहरु पनि हावा भइदिने ! प्राविधिक पनि त्यस्तै ! सबैले गफ मात्रै गरेर पनि काम बिग्रिएको जस्तो लाग्छ ।  

मुम्बई धेरै नेपाली कलाकारको सपना हो । बलिउडमा डेब्यु मौका हुने धेरैले कुरिरहेका छन् । तर, तपार्इंले त नोटिस्ड हुने मौका नै पाउँदा पनि बलिउडमा जम्न सक्नुभएन । किन होला ? 
एक त जतिखेर ‘बर्फी’ चलिरहेको थियो, त्यतिबेला म मुम्बई जान पाइनँ । किनभने त्यतिबेलै मेरो भर्खर बच्चा जन्मिएको थियो । डाक्टरले त अवस्था क्रिटिकल छ भन्दै कि बच्चा, कि आमालाई माया मार्नुस् भनिसकेको थियो । तर, भगवान्को कृपाले दुवैजना बाँचे । तैपनि श्रीमती बिरामी थिइन् । हिँड्नै नसक्ने अवस्थामा पुगेकी थिइन् । त्यसैले त्यतिबेला मलाई बिरामी श्रीमती चटक्कै छाडेर मुम्बई जान मनै लागेन । त्यतिबेलै म मुम्बई पुगेको भए राम्रै हुन्थ्यो होला । अर्को कुरा ‘बर्फी’ हिट हुनुअघि म मुम्बई गएर संघर्ष गरेको भए हुन्थ्यो होला तर हिट भइसकेपछि गाह्रो भयो । जब म मुम्बई गएँ, निर्देशक वसुले नै सुझाउनुभयो, ‘अब तँ हिट फिल्मको कलाकार होस्, तैँले एउटा फ्ल्याट र गाडी नलिई यहाँ बसिस् भने कसैले पत्याउदैनन् ।’ त्यसरी त्यहाँ बस्दा त मेरो महिनाको ७०–८० हजार खर्च नै हुने देखियो । मेरो हैसियतले भ्याउलाजस्तो लागेन । अनि, म नेपाल नै फर्किएँ । 

‘बर्फी’पछि कुनै हिन्दी फिल्ममा अफर आएन ? 
सौरभ शुक्लाको ‘यात्रा’ भन्ने फिल्ममा आ’को थियो तर फिल्म नै बनेन । 

हामीकहाँ वर्षमा ७० को हाराहारीमा फिल्म बन्दा पनि मुश्किलले ३–४ वटाले तारिफ पाउँछन्, ३–४ वटा हिट हुन्छन् । तपाईंको विचारमा नेपाली फिल्म राम्रो बन्न नसक्नुको खास समस्या के हो ?
फिल्मको मेरुदण्ड भनेको स्क्रिप्ट हो । पहिलो समस्या यहीँ छ । आम दर्शकलाई छुने कथा नभएर नै नचलेको हो । दोस्रो कुरा, दर्शकले के खोजिरहेका छन् भन्ने कुरा मेकरहरुले थाहा नपाएको पनि हुन सक्छ । 

नेपाली रंगमञ्चमा तपाइको यात्रा लामो भइसक्यो । यहाँ के समस्या देख्नुभएको छ ?
पछिल्लो समय नाटक पैसामुखी भएजस्तो लाग्छ । अर्को कुरा, बजारभन्दा बढी कलाकारहरुको उत्पादन भइरा’छ । त्यसैले काम नपाएर धेरै कलाकार ‘फ्रस्टेड’ भएको अवस्था छ । थिएटर क्लासमा ‘तिमीले परिश्रम गर्नुपर्छ, तिमीसँग धैर्य चाहिन्छ’ भनेर नसिकाइने रहेछ । त्यसैले त तीन महिना एक्टिङ सिक्नेबित्तिकै नयाँ नयाँ कलाकारहरु अब फाँडिन्छ भन्ने सोच लिएर निस्किन्छन् । अनि, पछि केही नभएपछि निराश । गुरुकुलमा अभिनय सिक्दा सुनिल सर (पोखरेल) सधैँ भन्नुहुन्थ्यो, ‘सबैभन्दा पहिला तिमीहरु मान्छे बन्नू ।’ म सधैँ त्यही मान्छे बन्ने प्रयासमा हुन्छु । आम मान्छेसरह सामान्य जीवन जिउनुजस्तो मज्जा अरु केहीमा हुन्न । आखिर कलाकारिता गर्दा पनि बाँच्ने भनेको त अरुकै (पात्र) जीवन हो नि !  

आफ्ना संघर्षका दिनलाई अहिले कसरी सम्झिनुहुन्छ ?
एउटा समय थियो जतिबेला नाटक गर्दा सबैले गिज्याउँथे । के काम गर्छस् भनेर सोध्थे, नाटक गर्छु भनेर जवाफ फर्काउँथेँ । अनि उनीहरु ‘ए, नाटक’ भन्दै मुख बिगार्थे । अरु त अरु आफन्तहरु पनि टाढिन्थे । साथीसँग मिलेर डेरामा बसिन्थ्यो । मलाई अझै सम्झना छ, मैले मैजुबहालमा बस्दा कोठाको नाम नै माइक्रोबस राखेको थिएँ । किनभने कोठा नै माइक्रोजस्तो लामो थियो । खाट अटाउनै गाह्रो हुन्थ्यो । ग्यास जोड्ने सपना छोड्दिनुस्, मट्टितेलले काम चलाउनुपथ्र्यो । हिटरबाट भात पकाउँथ्यौँ । त्यो पनि बत्ती चोरेर । साँझ सात बजेपछि घरबेटी कोठामा आइपुग्थे । गफ गर्ने बहाना हुन्थ्यो तर खास कारण भने भाइहरुले हिटर जोडेर भात नपकाऊन् भन्ने थियो । अनि, हामी भने घरबेटीलाई बाहिर कसरी पठाउने भनेर संघर्ष गथ्र्यौँ । ५–५ रुपैयाँको लखामरी खाएर सुतेको दिन पनि थियो । अहिले ती दिन खुब मिस हुन्छ । 

मनोरञ्जन क्षेत्रको के कुराले चित्त दुख्छ ?
मान्छेहरु बढी हावा भएको देख्दा चित्त दुख्छ । हावाको भरमा काम गरेको देख्दा विरक्त लाग्छ । मिहिनेत गर्न चाहने जमात नै कम छ । मान्छेहरु तीन महिना एक्टिङ सिक्छन् अनि म हिरो हुन्छु भन्दै हिँड्छन् । यसरी लहडमा लागेर त भएन नि ! 
 

Leave A Comment