सम्पदा जोगाउन लक्ष्मीभक्तको ७३ वर्षीय जोस

आइतबार, ०३ चैत २०७५, ०२ : ३० शिशिर वैद्य
सम्पदा जोगाउन लक्ष्मीभक्तको ७३ वर्षीय जोस


भारत, वनारसको ललिताघाटमा नेपालका राजा रणबहादुर शाहले पशुपतिको प्रतिकात्मक एक मन्दिर निर्माण गराएका थिए ‘साम्राज्येश्वर महादेव ।’ वनारसका स्थानीय यसलाई काठको मन्दिर भन्छन् । दुई तला र चार कोठा रहेको यो मन्दिर जीर्ण भयो । ढोकाहरू धमिराले खाएर मक्किए । पुरातात्विक महŒवको सो मन्दिर जीर्णोद्धारको जिम्मेवारी नेपालले लियो र पुरातŒव विभागले चयन ग¥यो सिकर्मी लक्ष्मीभक्त राजचललाई ।

जिम्मेवारीअनुसार उनी वनारस पुगेर मन्दिरलाई पुरानै स्वरुपमा चिटिक्क बनाएर फर्किए । उनै राजचल यतिखेर भूकम्पले ढलेको नेपालको महतवपूर्ण सम्पदा काष्ठमण्डपलाई पुरानै अवस्थामा फर्काउन कस्सिएका छन् सहयोगी समूह लिएर । 

उनी दिनरात काण्ठमण्डप क्षेत्रमै भेटिन्छन् । कहिले काठ नाप्छन्, कहिले पुराना काठ सुम्सुम्याउँछन् उनी । काठसँग अलग्गै लगाव छ उनमा । ७३ वर्षका भइसके उनी । उमेर त बुढ्यौली नै हो । तर जोस युवाको भन्दा कम छैन ।

लक्ष्मीभक्त पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माण कार्यमा पोख्त कालिगढ हुन् । ७३ वर्षमा पनि लक्ष्मीभक्त जोस र जाँगरमा युवाहरु भन्दा कम छैनन् । बडो जोसका साथ काष्ठमण्डप पुनर्निर्माणमा खटिएका छन् उनी अहिले । पुरातत्व विभागले पनि उनैलाई विश्वास गरेको छ ढलेको काष्ठमण्डप उठाउन ।
९ वर्षको उमेरमा बुवासँग काम गर्दागर्दै काठको काम सिकेका थिए उनले । ९ वर्षको उमेरमा हातमा आइपुगेको ज्यावल उनले अझै छाडेका छैनन् । घर भक्तपुर भए पनि उनी २०२१ देखि निरन्तर काठमाडौंमै काम गरिरहेका छन् । 

काष्ठमण्डपको पुनर्निर्माण हेर्न पुग्दा उनी पुरानो काठको नापजाँच गर्नमा व्यस्त थिए । अर्कोतिर ताछेको नयाँ काठका चाङ थिए, उनी सहयोगीहरुलाई कुन काठ कसरी मिलाउने भन्ने सिकाइरहेका थिए ।
नयाँ घरका फर्निचर पनि बनाउँछन् उनी । तर उनको सीप पुरातात्विक सामग्रीमा राम्रो खारिएको छ । उनको सीपले संकटमा परेका धेरै पुरातात्विक सम्पदा पुनः ठडिएको छ । पनौती त्रीवेणी घाटमा रहेको सत्तल, पशुपतिको महतपूर्ण दक्षिणामूर्ति सत्तल, काठमाडौंको लाखे छें (लाखे घर), पचपन्न झ्याले दरबार उनकै सिपले पुरातात्विक शैलीमै ठडिएका छन् ।

‘गरेको काम सम्झेर साध्यै छैन,’ उनले शुक्रवारसँग भने ‘पुराना मठ, मन्दिर जीर्णोद्धार गर्दा ज्यादै ध्यान पुर्याउनु पर्छ । नत्र पछि ढल्किने, टेढो हुने सम्भावना हुन्छ ।’ 

उनको अनुभवमा अहिलेको पुस्तासँग नयाँ प्राविधिक ज्ञान प्रशस्त छ तर पुरानो प्रविधिको ज्ञान छैन । पुरातात्विक सम्पदा जीर्णोद्धार गर्न पुरानो प्रविधिको ज्ञान नभई हुन्न । यसका लागि अनुभव र ज्ञान दुवै चाहिन्छ, जुनबारे अहिलेका पुस्ता त्यत्ति जानकार छैनन् । 

पनौतीको त्रीवेणी घाटमा रहेको सत्तल पुनर्निर्माण गर्दाको अनुभव सम्झिए उनले ।

सत्तलको तल्लो तलाका थाम सबै मक्किएका थिए । माथिल्लो तलामा ऐतिहासिक भित्ते चित्रहरु थिए । थाम चलाए भित्ता चर्किन सक्थ्यो । ती केही नबिगारिकन बनाउनुपर्ने चुनौती थियो । अन्य थाम तलको ढुंगा निकालेर थाम फेर्ने पक्षमा थिए । तर उनलाई चित्त बुझेन । उनले पुरानो थाम निकाल्दा माथिल्लो तला हल्लनै दिएनन् । थाम पनि फेरियो, माथिल्लो तलाको भित्तामा रहेको पुरातात्विक चित्रकला पनि जोगियो । त्यो बेला उनको अनुभवले साथ दिएको थियो ।

‘इल्वँह (थाममुनि बस्ने ढुँगा) निकालेर थाम फेर्ने पक्षमा थिए वहाँहरु,’ उनले भने, ‘तर मैले सशक्त विरोध गरेँ । यदि इल्वँह निकालेको भए न पाटी सहि बन्थ्यो न माथ्लो तलाका ऐतिहासिक चित्रकला बच्थे ।’ 
उनले अनुभवको प्रयोग गर्दै थाममुनिको ढुंगा पूरा ननिकाली आधा काटेर निकाले । चारवटै थाममा उही विधि प्रयोग गरे अनि नयाँ थाम राखेपछि काटिएको ढुंगा जोडिदिए । ढुंगा जोड्न उनीसँग विशेष प्रकृतिको रसायन रहेछ जुन एक जर्मनले दिएका थिए । ‘यो रसायनले ढुंगा जोडेपछि पुरानै अवस्थामा फर्कने उनले बताए । 

काण्ठमण्डप ठडाउने चुनौती
भूकम्पले ध्वस्त बनाएको काष्ठमण्डप पुरानै अवस्थामा फर्काउने चुनौती छ । अहिले काष्ठमण्डपमको जगको काम भइरहेको छ । जगका लागि छुट्टै डकर्मीको टोलीले काम गरिरहेका छन् । जगको काम सकिएपछि उनको काम सुरु हुन्छ ।

काष्ठमण्डप पुरानै अवस्थामा ठडिन अन्य काठका भाग त छँदैछ, थाम मात्रै सयवटा चाहिन्छ, ४ मूल थाम, ९६ वटा सहयोगी थाम । यी सबै कामका लागि बर्दिबास, वीरगञ्ज, बाराबाट १२ हजार क्विुफिट काठ ल्याएको छ ।

काम सक्काउन २५ जना जति सिकर्मी चाहिन्छ रे । अहिले उनलाई भाइ कृष्णप्रसाद र छोरा लक्ष्मीप्रसादसँगै अन्य सिकर्मीले साथ दिइरहेका छन् उनलाई काष्ठमण्डप ठड्याउन । आवश्यकताअनुसार सिकर्मी थप्दै लैजाने उनको योजना छ ।

‘कुनै पनि काम एक्लैले गरेर सकिन्न तर मिलेर गरे असम्भव केही छैन,’ जोस देखाउँदै उनले भने ।
काष्ठमण्डपका लागि नयाँ मेथमा सिंह, शंखका बुट्टा जस्ताको तस्तै कुद्नु चुनौती हैन उनका लागि । यस्ता काम धेरै गरिसकेका छन् । काठै काठ मात्र प्रयोग गरेर पुरानो इन्जिनियरिङ अपनाउँदै काण्ठमण्डपलाई पुरानै शैलीमा ठड्याउनु नै मुख्य चुनौती हो उनको । यो सहज नभएको उनी स्विकार्छन् । उनको अनुमानमा थोरैमा पनि तीन वर्ष लाग्छ रे काष्ठमण्डप ठडिन । 
किन ?
‘यो हतारमा गरिने काम होइन । सानो गल्ती भयो भने पनि काण्ठमण्डप पुरानो अवस्थामा उठाउन सकिन्न ।’ 
 

Leave A Comment