अवार्डः मनोनयनमै मनपरी

शुक्रबार, १४ साउन २०७३, ०२ : ०५ अनिल यादव , Kathmandu
अवार्डः मनोनयनमै मनपरी

अघिल्लो साता आठौँ डी–सिने अवार्डको उत्कृष्ट पाँच मनोनयन पोखराबाट सार्वजनिक भयो । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय अध्यक्ष रहेको छायांछवि क्रिएसनले आयोजना गर्ने यो अवार्ड नबाँडिदै विवादमा पर्यो । कारण, मनोनयनमा मनपरी निर्णय ।
०००
अघिल्लो महिना चलचित्र कलाकार संघले कलाकारलाई सम्मान गर्ने हेतु यही वर्षबाट ‘फान अवार्ड’को थालनी ग¥यो । त्यो अवार्ड पनि ‘टप फाइभ नोमिनेसन’ सार्वजनिक हुनासाथ विवादित बन्यो । कारण, उही मनोनयनमा मनपरी निर्णय ।
०००
अघिल्लो वर्ष चलचित्र प्राविधिक संघले कतारमा नेफ्टा अवार्डको आयोजना ग¥यो । त्यो अवार्ड पनि कतारमा पुग्नुअघि नै चर्को विवादमा तानियो । कारण, उही मनोनयनमा मनपरी निर्णय ।

सबैलाई थाहै छ, संसारभर अवार्ड विवादमा पर्छन् । तर, नेपाली मनोरञ्जन जगत्मा बाँडिने अवार्डहरूमा यतिसम्म मनपरी हुन थाल्यो कि, ती अवार्ड मनोनयनमै विवादित बन्न थालेका छन् । यसको ताजा उदाहरण हो– डी–सिने अवार्ड ।
गत वर्ष दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘पशुपतिप्रसाद’ले दर्शक, समीक्षक र फिल्मकर्मी सबैबाट सर्वाधिक प्रशंसा बटुल्यो । फिल्ममा गरेको जीवन्त अभिनयका कारण अभिनेता खगेन्द्र लामिछानेको खूब प्रशंसा भयो । उनलाई राष्ट्रिय अवार्डको हकदार नै भन्नेहरू पनि प्रशस्त थिए । भलै, त्यो अवार्ड अरूले नै पाए । तर, डी–सिने अवार्डको त उत्कृष्ट पाँच अभिनेताको मनोनयनमा पनि अटाएनन् खगेन्द्र । आर्यन सिग्देल (क्लासिक), दयाहाङ राई (कबड्डी कबड्डी), सौगात मल्ल (फन्को), प्रदीप खड्का (प्रेम गीत) र निखिल उप्रेती (भैरव)उक्त विधामा परेका छन् । त्यस्तै, मौलिक स्वादका कारण दर्शकले निकै रुचाएको फिल्म ‘कबड्डी कबड्डी’ पनि उत्कृष्ट पाँचभित्र पर्न सकेन । जबकि, सोही फिल्मबाट प्रमुख विधा मानिएको निर्देशन, पटकथा र अभिनयसँगै पाँचवटा विधा मनोनयनमा परेको छ । यो विधामा ‘क्लासिक’, ‘ड्रिम्स’, ‘पशुपतिप्रसाद’, ‘प्रेमगीत’ र ‘वडा नम्बर ६’ मनोनयनमा परेका छन् । तर, ‘ड्रिम्स’ कथा र पटकथा दुवै विधाको मनोनयनमा भने छैन । फिल्म समीक्षक यज्ञशले भनेका थिए, ‘नेपालको सन्दर्भमा अवार्डले मौलिक स्वाद बोकेको नेपाली फिल्मलाई त्यति प्राथमिकता नदिएको पाइन्छ । हामीकहाँ अवार्डले त्यस्तो फिल्मलाई पनि प्राथमिकता दिने गर्छ, जसको अरू कुनै भाषामा उल्था गर्दा त्यो नेपाली फिल्म हो भन्ने महसुस हुँदैन ।’ यज्ञशले भनेजस्तै प्रवृत्तिलाई डी–सिने अवार्डले निरन्तरता दिएजस्तो लाग्छ ।
दर्शक र समीक्षक दुवैको नजरमा ‘नोटिस्ड’ भएका अभिनेता नाजिर हुसेन पनि अवार्डको सह–अभिनेता र अभिनेता कुनै पनि विधामा परेका छैनन् । सह–अभिनेतामा कामेश्वर चौरशिया (रेशम फिलिली), जीतु नेपाल (वडा नम्बर६), प्रमोद अग्रहरि (चंखे शंखे पंखे), सलोन बस्नेत(लभसब) र सुशान्त कार्की (सपना तिम्रो मेरो) मनोनयनको सूचीमा छन् । संसारभर आइटम डान्सलाई कुनै विधा मानिँदैन । तर, यो अवार्डबाट यस पल्टबाट आइटम डान्सको विधासमेत थपिएको छ ।
यो अवार्डमा कुनकुन फिल्म सहभागी थिए ? कोको जुरी थिए ? भन्ने पनि खुलाइएको छैन । स्रोतका अनुसार मनोनयनका लागि निर्णायक समूहका कुनै सदस्यले ०७२ सालभर रिलिज भएका सबै फिल्म हेरेका छैनन् । आयोजकले मनलाग्दी सूची तयार गरेको हो ।

नेपालमा बर्सेनि ६०–७० को हारहारीमा फिल्म बनेको पाइन्छ । तर, अहिलेसम्म स्तरीय र दर्शकले स्विकारेका फिल्म भने औँलामा गन्न सकिने नै हुन्छन् । यस्तो अवस्थामा अवार्डको मनोनयन नै विवाद आउनु लज्जास्पद विषय हो । खगेन्द्र उत्कृष्ट पाँचमा नपरेपछि ‘उहाँकै आग्रहमा नराखिएको’ भन्ने हास्यास्पद अफवाह पनि यदाकदा सुन्न थालिएको छ । तर, मनोनयनको सूचीमा खगेन्द्रको नाम पटकथा र संवाद विधामा भने छ । त्यसैले यो तर्कको कुनै तुकै छैन ।

त्यसो त खगेन्द्र कुनै पनि अवार्ड समारोहमा सहभागी हुँदैनन् । यस वर्षको राष्ट्रिय अवार्डमा पाएको उत्कृष्ट पटकथाको अवार्ड पनि उनकी श्रीमतीले थापेकी थिइन् । उनी अवार्डप्रति रुचि राख्दैनन् । शुक्रवारसँगको कुराकानीमा उनले भनेका थिए, ‘अवार्ड पाउनु मेरो जीवनको लक्ष्य होइन । म यसलाई इन्जोय गर्दिनँ ।’ त्यही कारण हुन सक्छ ‘पशुपतिप्रसाद’बाट कुनै पनि विधामा उनले निजी अवार्ड पाएका छैन । उनी अभिनेताको मनोनयनमा सम्म नपर्नुलाई त्यसरी पनि हेर्न सकिन्छ ।

यतिखेर बलिउड अभिनेता अजय देवगनलाई सम्झन सकिन्छ । उनी पनि कुनै निजी अवार्ड समारोहमा सहभागी हुँदैनन् । भारतमा दुई पटक राष्ट्रिय अवार्ड पाइसकेका उनी कुनै निजी फिल्म अवार्डमा विश्वास राख्दैनन् । उनले भनेका थिए, ‘त्यसैले मैले ती अवार्डहरू नलिने निर्णय गरेको हुँ । निजी फिल्म अवार्ड आयोजकलाई उनीहरूको अवार्ड कार्यक्रममा धेरै संख्यामा स्टारहरू आइदिउन् भन्ने लाग्छ । त्यसैले उनीहरू तिनीहरूलाई बोलाउँछन् र भन्छन्, ‘यदि तपाईं आइदिनुहुन्छ भने हामी तपाईंलाई अवार्ड दिन्छौँ’ त्यसोभए कार्यक्रममा सहभागी हुँदा मात्र पाइने अवार्ड थाप्नुको अर्थ के ? प्रतिभा र क्षमताभन्दा पनि सहभागिताले प्राथमिकता राख्ने अवार्ड लिन जानुको महŒव के ? त्यसैले यस्ता अवार्डले मबाट विश्वसनीयता र निष्पक्षता गुमाइसके ।’

अजयले भनेजस्तै अवस्था यहाँ पनि छ । अवार्ड कसैलाई खुशी बनाउनका लागि दिइने ‘सम्मान’ होइन । यो त योग्यताका आधारमा दिइनुपर्ने सम्मान हो । हुनुपर्ने त उसको क्षमता र प्रतिभाको कदरका लागि हो । ऊ स्टेजमा आउँछ या आउँदैन भन्ने सोचेर अवार्डको निर्णय हुनुहुँदैन । तर, यहाँ त अवार्ड पाउनुपर्ने मान्छेले पाउनु त कता हो कता, उनीहरूको नाम उत्कृष्ट पाँचको सूचीमा समेत अट्दैन । कुनै पनि अवार्डमा सहभागी नहुने भनेर घोषणा गरेकी रेखा थापा, प्रायः अवार्ड समारोहमा नदेखिने राजेश हमालको पछिल्लो हर्कतले पनि  यो प्रवृत्तिलाई पुष्टी गर्छ । किनकि, रेखा र राजेश दुवै फान अवार्डमा सहभागी भएका थिए । सुरुमा त त्यो सहभागितालाई सबैले आश्चर्यको दृष्टिले हेरे । पछि थाहा भयो– उनीहरू त दशकको लोकप्रिय अभिनेत्री र अभिनेताको अवार्ड थाप्न पो आएका रहेछन् । ‘नेपालमा चिनजान, आफन्त र सोर्स फोर्समा अवार्ड दिने परम्परा व्यापक भएको हुँदा त्यस्तो प्रकारको अवार्डको कुनै मूल्य र मान्यता नरहने ठहर गर्दै रेखा फिल्म्सले अब उप्रान्त आफ्नो फिल्म कुनै पनि अवार्ड आयोजक संस्थालाई प्रतिस्पर्धाको निम्ति प्रदान नगर्ने कुरा सार्वजनिक जानकारी गराउन चाहन्छु’ रेखाले अघिल्लो वर्ष यस्तो घोषणा गरेकी थिइन् ।

नेपालमा त अवार्ड फेसनकै रूपमा विकास भइरहेको छ । फिल्म र संगीतमा गरी तीन दर्जन बढी अवार्ड भइरहेका छन् । तर, विवादित नबनेको अवार्ड कार्यक्रम भेट्न मुश्किल पर्छ । अवार्डलाई कलाकारको ‘कदर’को रूपमा हेरिएको भने पाइँदैन । ‘कदर’को ‘क’ हटिसकेजस्तो छ, ‘दर’ले प्राथमिकता पाइरहेको छ । अवार्ड आयोजक यतिसम्म नैतिकहीन देखिएका छन् कि आफैँले निर्माण गरेको फिल्मलाई पनि अवार्डमा सहभागी गराइरहेका छन्, अवार्ड दिइरहेका छन् । जस्तो, डी–सिने अवार्डका कार्यक्रम निर्देशक प्रदिप कुमार उदयले निर्माण गरेको फिल्म ‘अधकट्टी’ यही अवार्डको सात विधामा मनोनयनमा परेको छ । फान अवार्डमा पनि अभिनेत्री अशिष्मा नकर्मी र सविन श्रेष्ठ मनोनयनमा परेका थिए । जबकि, उनीहरू दुवै आयोजक चलचित्र कलाकार संघको कार्यसमितिमा थिए ।

अहिले भइरहेका अवार्डका नाम फरकफरक देखिए पनि  धेरैजसो अवार्ड उही व्यक्तिहरू सञ्चालित देखिन्छन्  । जस्तो, फान अवार्डमा जुरी संयोजक रहेको प्रकाश सुवेदी सिक्किममा हुन लागिरहेका इनास अवार्डको नेपाल संयोजक हुन् । फान अवार्डमै जुरी बसेका शान्तिप्रिय डी–सिने अवार्डका अध्यक्ष हुन् । उनको म्युजिक खबर म्युजिक अवार्ड र तीज अवार्डमा समेत सहभागिता देखिन्छ ।

आफ्नो फिल्म ‘वडा नम्बर ६’ फान अवार्डको उत्कृष्ट पाँच फिल्मको मनोनयनमा समेत नपरेपछि कलाकार दीपकराज गिरीले त आक्रोश नै पोखेका थिए । उनले ‘एउटा सिखन्डीलाई जब महाभारतको जिम्मा दिइन्छ, त्यहाँ पाण्डवप्रति अन्याय भयो भनेर कुर्लिनुको कुनै अर्थ हुँदैन । हामीलाई वास्तविक अवार्ड जनताले दिइसके’ भन्दै  फेसबुकमा लेखेका थिए । यसको अर्थ निर्णायक नै सही थिएनन् भन्ने थियो । यतिबेला डी–सिने अवार्डको हास्य विधामा उनी मनोनयनमा परेका छन् । तर, आफूले फिल्ममा हँसाउन नसेकेको भन्दै आफूलाई नै यो निर्णय चित्त नबुझेको बताइरहेका छन् ।

गत वर्ष भित्रिएका नयाँ अनुहारमध्ये सर्वाधिक चर्चा कमाउनेमा पर्छन्, अभिनेता कामेश्वर चौरसिया । उनले ‘रेशम फिलिली’मा गरेको अभिनयको धेरैले प्रशंसा गरेका थिए । तर, फान अवार्डको उत्कृष्ट पाँचमा पनि उनको नाम नदेखिएपछि थुप्रै मिडियाले खुलेरै मनोनयन विवादस्पद भएको भन्दै लेखेका थिए । त्यतिबेला नवअभिनेतामा आमेश भण्डारी, पल शाह, सुशील श्रेष्ठ, नाजिर हुसेन र प्रदीप बास्तोला परेका थिए । जबकि, नाजिर नवअभिनेता थिएनन्, उनले अघिल्लो वर्ष नै ‘पुन्टे परेड’ भन्ने फिल्ममा अभिनय गरिसकेका थिए ।
भनिरहनुनपर्ला– जुरीले फिल्मलाई विभिन्न क्राइटेरियाका आधारमा मूल्यांकन गर्छन् । फिल्मको मौलिकता, सिर्जनशीलता, प्लट, पेसिङ, स्ट्रक्चर, क्यारेक्टर, सिनेमाटोग्राफी, निर्देशन, लेखन, मनोरञ्जन मूल्य र सम्पूर्ण ‘प्रोडक्सन क्वालिटी’का आधारमा अवार्डको मूल्यांकन हुनुपर्ने हो । अमेरिकन फिल्म अवार्डहरू यही क्राइटेरियाका आधारमा हुने गरेका छन् । तर, नेपालमा हुने अवार्डमा यस्ता ‘क्राइटेरिया’ को कुरा गर्नु नै बेकार छ । यहाँ आयोजकको स्वार्थ हाबी हुने गरेको छ । अवार्ड कमाइ खाने भाँडोमात्र भइरहेको मात्र देखिन्छ । गत वर्ष एउटा म्युजिक अवार्डमा उत्कृष्ट संगीतकारको पुरस्कार जित्नका लागि एकजना संगीतकारले २० हजार रुपैयाँ तिरेका रहेछन् । नाम नखोल्ने शर्तमा उनले शुक्रवारकर्मीलाई भने, ‘यहाँ त अवार्ड भनेको ट्रफी किन्ने खेल हो, अरू केही होइन । मलाई ४० हजार मागिएको थियो, मैले २० हजार तिरे, प्रोफाइल बनाउन र विदेश जान सजिलो होस् भनेर ।’
बलिउडका चर्चित अभिनेता आमिर खान पनि कुनै अवार्ड समारोहमा सहभागी हुँदैनन् । उनको मान्यता छ, ‘भारतीय निजी अवार्डहरूले आफ्नो निष्पक्षता गुमाइसके । राष्ट्रिय अवार्डबाहेक अन्य कुनै पनि मान्यता दिनुपर्ने खालको अवार्ड म देख्दिनँ,’ उनले भनेका थिए, ‘यी अवार्डप्रतिको मेरो व्यक्तिगत अनुभवले के भन्छ भने यी विश्वसनीय छैनन् । यिनीहरूप्रति मेरो कुनै विश्वास छैन, त्यसैले म टाढै रहन रुचाउँछु ।’ अहिलेसम्म नेपाली कलाकारले यस्तो निर्णय गरिसकेका छैनन् । तर, यस्तै मनपरी भइरहने हो भने त्यो दिन पनि नआउला भन्न सकिन्न ।
नेपालमा दिइने अवार्डहरूले आफ्नो गरिमा र महŒव स्थापित गर्न सकेका छैनन् । नपाउनेले गर्ने रोइलो र व्यक्त गर्ने आक्रोश आफ्ना ठाउँमा होलान्, पाउनेले पनि मन फुकाएर गर्व गर्न सक्दैनन् । नेपाली मनोरञ्जन जगत् जस्तो छ, अवार्ड पनि त्यस्तै छ अर्थात् भद्रगोल ।

Leave A Comment