कमजाेर पटकथा, बलिया कलाकार

सोमबार, ०४ चैत २०७५, ०८ : ५५ अनिल यादव
कमजाेर पटकथा, बलिया कलाकार

सिनेमा त्यस्तो हुनुपर्छ, जसले दर्शकलाई थिएटरमा छु भन्ने नै बिर्साइदियोस् । यस्तो त्यतिबेला मात्रै सम्भव हुन्छ, जतिबेला दर्शक सिनेमाको कथा र पात्रसँग आफैँ जोडिन पुग्छन् । पर्दामा आउने हरेक दृश्य  स्वाभाविक लागे मात्र यस्तो सम्भव हुन्छ । 

नेपालको पहिलो ग्लोबल (अंग्रेजी) फिल्म दाबी गरिएको ‘द म्यान फ्रम काठमाडौं’सँग यस्तो ल्याकत देखिएन । अघिल्लो साता मनोज पण्डितको ‘खाग’ हेर्दा जे समस्या देखिएको थियो, यसमा पनि उही समस्या दोहोरियो ‘अपरिपक्व पटकथा र झर्को लाग्ने द्वन्द्वका दृश्य’ ।

सत्य घटनाबाट प्रभावित भनिएको यो फिल्म सुरु हुनुअघि स्क्रिनमै आउँछ– विश्वभरबाट युवा इराक र सिरियाको केही क्षेत्र कब्जा गरेको अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसआइएसमा भर्ना  भइरहेको तथ्यांक तर त्यो द्वन्द्वमा अहिलेसम्म नेपालबाट उपस्थिति नदेखिएको तर्कसहित निर्देशकले फिल्मको कथा सुरु गरेका छन् । 

फिल्ममा फैजल मुस्तफा (अमेरिकी कलाकार जोसे म्यानुएल) प्रमुख भूमिकामा छन्, जो अमेरिकाको लस एन्जल्समा बस्छन् । उनका बुबा मुस्लिम हुन्, आमा हिन्दु । मुस्लिम भएकै कारण अमेरिकी समाजले उनलाई रुचाएको छैन । सडकदेखि कार्यालयसम्म सहकर्मीको हेपाई खपिनसक्नु छ । 

एकातिर अपमान अर्कोतिर बेपत्ता भएका बाबुलाई भेट्ने आकाङ्क्षा । मनोवैज्ञानिक दृष्टिले फैजल तनावग्रस्त छन् । उनी आइएसआइएसका एक सूत्रसँग नियमित सम्पर्कमा छन् । सम्पर्कमा रहेका एजेन्टले उनका बाबु आफूहरुको संगठनमा योद्धाका रुपमा आबद्ध रहेको र भेट्टाइदिने आश्वासन दिइरहेका छन् ।

फैजल बाबु भेट्न आतुर छन् । उनी परिआए आइएसआइएसमा भर्ना हुन समेत तयार छन् । उनलाई मुस्लिम अतिवादले गाँजिसकेको देखिन्छ ।

अमेरिकाको माहोल राम्रो नदेखिएपछि आइएसआइएसकै एजेन्टको सल्लाह बमोजिम फैजल काठमाडौं आइपुग्छन् । यता उनका हजुरबुबा सुरेश भण्डारी (नीर शाह) छन्, जो एक भूकम्पपीडित शिविरको  सेवामा खटिइरहेका हुन्छन् । बाल्यकालकी प्रेमिका नम्रता (आना शर्मा) पनि यतै छिन् । 

उनका हजुरबुबा फैजल ‘बाउ खोज्ने ह्याङ’बाट बाहिरियोस् भन्ने चाहन्छन् । तर, उनी आफ्नो बाबु कुनै आतंककारी नभएर योद्धा भएकोमा विश्वस्त देखिन्छन् र भेट्न सिरिया जाने तयारी गर्छन् । आमा हिन्दु भए पनि उनमा हिन्दु धर्म प्रतिको प्रेम देखिदैन । सधैँ मुस्लिम पहिरन मात्रै लगाइरहन्छन्, नमाज पढिरहन्छन् । 

काठमाडौंमा अब्बु मिया (गुल्सन ग्रोबर) पनि छन्, जो गुण्डागर्दी गर्छन् । राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेका उनी चुनाव लड्ने तर्खरमा छन् । तर, हिन्दु अतिवादले ग्रस्त पण्डित हर्भसदम (हमिद शेख) मुस्लिम धर्मका अब्बुलाई सफल भएको देख्न चाहँदैनन् । 

यता गुण्डा अब्बु मियाँ फैजलका हजुरबुबाले रेखदेख गरिरहेको भूकम्पपीडितको शिविर हडप्ने दाउमा छन् । तर, हजुरबुबा सुरेश त्यसो गर्न दिइरहेका छैनन् । अब्बु फैजलका हजुरबुबालाई जे गरेर भए पनि रोक्ने तयारीमा छन् । 

उता अब्बुको इमान्दार कार्यकर्ता शेर थापा (कर्मा शाक्य) सानो गल्तीको ठूलो सजाय भोगेपछि अब्बुसँग रिसाएका छन् । नम्रतालाई दुव्र्यवहार गर्दा उनले फैजलको धुलाई पनि भेटेका छन् । 
यही परिस्थितिको फाइदा उठाउँछन्, पण्डित हर्भसदम । आफ्नो मन्त्रको शक्तिमा शेरलाई जे भन्यो त्यही गराउने बनाउँछन् । अन्ततः शेरले फैजलको हजुरबुबाको विभत्स हत्या गर्छन् र त्यसको भिडियो चारैतिर पठाउँछ । 

यसपछि फैजलको बुबा खोज्ने मिसन र आइएसआइएसमा भर्ती हुने तयारी के हुन्छ ? फैजलले हजुरबुबा हत्याको बदला कसरी लिन्छन् ? उनको जिन्दगीको रङ अचानक कसरी बदलिन्छ ? निर्देशक पेमा ढोन्डुपले एक घन्टा ४७ मिनेटमा यही कथा पस्केका छन् । तर, उनको पटकथा दर्शकलाई फुस्स लाग्छ । 
फिल्ममा उनले विश्वका अधिकांश देश प्रभावित भएको सिरिया द्वन्द्वलाई परिवेशमा राखेर गम्भीर विषय उठाउन खोजेका छन्, तर त्यसको गहिराईमा पुग्न असफल छन् । 

सिरिया द्वन्द्व धर्म उन्मादको एउटा यस्तो कुरुप दृश्य हो, जुन पश्चिमा शक्ति र मध्यपूर्वका देशको कोलाज बन्न पुगेको छ ।

छिमेकी भारत र चीनमा समेत त्यसको बाछिटा देखिए पनि पहिचान मेटाएर भागेर नेपाल आएका शरणार्थीको व्यवस्थापनबाहेक अन्य समस्या नेपालले खेप्नु परेको छैन । फिल्मको कथा नेपालसम्म ल्याउँदा यी समस्याभित्र प्रवेश गर्न निर्देशक पूरै चुकेका छन् । 

पटकथा अपरिपक्व र अस्पष्ट छ । पात्रहरु स्थापित हुनै सकेका छैनन् । केन्द्रीय द्वन्द्व नै स्थापित भएको छैन फिल्ममा । फिल्ममा घटना दर्शकलाई बुझाउन हैन, बिझाउन र मनोरञ्जन दिलाउन होइन अल्मलाउन आइरहेझैँ देखिन्छन् । 

फिल्मका पात्रहरु जे घटना घटाइरहेका छन्, त्यो किन गरिरहेका छन् ? दर्शकले जवाफ पाउँदैनन् । फिल्ममा निर्देशकले धार्मिक अतिवादबाट निम्तने चरम हिंसात्मक अवस्था देखाउन खोजेका छन् । 
धर्मनिरपेक्ष राष्ट्र बनेसँगै नेपालमा पनि हिन्दू राज्य फर्काउन केही दल सक्रिय छन् । केही हिन्दु अतिवादी संगठन सक्रिय हुने प्रयासमा पनि छन् । निर्देशकले यो फिल्मबाट धार्मिक अतिवादलाई नत्यागे नेपालमा पनि धार्मिक द्वन्द्व निम्तन सक्ने संकेत गरेजस्तो देखिन्छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राज्यका लागि जनमत संग्रह गराउन आन्दोलनको घोषणा गरेको अवस्थामा उनले गरेको संकेत नकार्न सकिन्न । तर त्यतातिर त्यत्ति धेरै चासो राखेका छैनन् निर्देशकले । फिल्ममा नेपाल जोडिनुको कारण फैजल सिरिया जान यता आउनु मात्र देखिन्छ ।

फिल्ममा निर्देशकले फैजल पात्रमार्फत् अतिवाद भन्दा ठूलो मानवीयता हो भन्ने देखाउने प्रयास पनि नगरेका हैनन् । तर सहज दृश्यको अभावमा प्रयास सफल देखिन्न । पर्याप्त मिहिनेतबिना पस्किएका दृश्यले फिल्मलाई कमजोर बनाएको छ ।

फिल्मको अर्को कमजोरी हो– डबिङ । धेरै ठाउँमा कलाकारको लिपसिंक नै मिलेको छैन । यसले फिल्म हेर्दा दर्शकलाई स्वाभाविक महसुस हुँदैन । 

निर्देशकले बोल्ने भाषा अंग्रेजी अनि धेरैजसो कलाकार विदेशी भएका कारण यस्तो भएको हुनसक्छ तर यो व्यवहारिक भन्दा प्राविधिक समस्या हो । यही आधार देखाएर निर्देशक उम्कने अवस्था छैन किनभने विदेशी मात्रै होइन नेपाली कलाकारकै लिपसिंकसमेत मिलेको छैन । 

निर्देशकले फिल्ममार्फत् काठमाडौंको सुन्दरता र प्राचीन सम्पदालाई भरपुर देखाएका छन् । विदेशी दर्शकका लागि सायद यो रुचिकर हुनसक्छ । थुप्रै देशमा रिलिज तयारी रहेको यो फिल्मले विश्वमाझ नेपालको सुन्दरता झल्काउन पक्कै सहयोग गर्छ । यसका लागि फिल्मका सिनेमाटोग्राफर कार्लोस मेडिना धन्यवादका पात्र बनेका छन् । 

फिल्ममा अमेरिकी कलाकार जोसे म्यानुएलको अभिनय स्वाभाविकै छ । उनी फिल्मका फाइट कोरियोग्राफरसमेत हुन् । त्यही भएर होला फिल्ममा उनका फाइट धेरै छन् । आफू हावी हुने बहानामा उनले उस्तै देखिने फाइटका दृश्य बग्रेल्ती राख्दा दर्शक ‘बोर’ हुन्छन् । 

आना शर्मा अभिनेत्री कम, सुन्दरी ज्यादा देखिएकी छन् । अभिनयमा कर्मा शाक्य बुलन्द छन् । कर्माका प्रशंसक उनको शक्तिशाली अभिनयबाट पक्कै सन्तुष्ट हुने नै छन् । पाकिस्तानी कलाकार हमिद शेख आफ्नो क्यारेक्टरमा फिट देखिन्छन् । लिप सिंक नमिलेर होला बलिउडका गुल्सन ग्रोबरको अभिनय अपेक्षित राम्रो देखिएको छैन । शिशिर वाङ्देल इन्सपेक्टर प्रवीण कुमारको भूमिकामा पृथक् देखिएका छन् । 

कथा र पात्रको मुडअनुसार फिल्मको ध्वनि स्वाभाविक नै सुनिन्छ । ‘मानिस मानिसमा किन भिन्नता भयो’ गीतले पात्रको मनस्थिति बोल्छ । ‘आकाशै घुमेर’ उस्तै श्रुतिमधुर सुनिन्छ । 

फिल्म ‘द म्यान फ्रम काठमाडौं’ प्राविधिक हिसाबले धेरै हदसम्म अब्बल देखिन सक्छ तर अब्बल सूचीमा दरिन सक्दैन । कमजोर पटकथाले फिल्मका राम्रा पक्षलाई ओझेलमा पारिदिएको छ । कलाकारको छनोटमा निर्देशक जति बलियो देखिए, कथा भन्न उत्तिकै कमजोर ।
 
 

Leave A Comment