बजारअनुसार चल्ने कि बजारलाई डो¥याउने ? बजारमा जे बिकिरहेको छ, त्यही बेच्ने कि बजारमा जे आवश्यक छ, त्यो दिन खोज्ने ?
अहिले नेपाली फिल्ममा देखिएको ठूलो दुविधा यहीँ हो । दुई उद्देश्यमध्ये एकमा स्पष्ट भएर सिनेमा बनाउनेहरु यहाँ सफल पनि देखिन्छन् तर दुवै हातमा लड्डु खोज्नेहरु नराम्रोसँग चिप्लिइरहेका छन् ।
हलमा प्रदर्शनरत ‘कागजपत्र’ पनि दुवै हातमा लड्डु खोज्दाको परिणाम हो । एकातिर निर्देशकलाई फरक र सिर्जनात्मक ढंगबाट कथा भन्नु पनि छ, अर्कोतिर बजारमा अहिले बिकिरहेको भद्दा र द्विअर्थी कमेडी घुसाउनु पनि छ । अन्ततः निर्देशकको बजारिया लोभ र लालसाका कारण ‘कागजपत्र’ सुन्दर बन्नबाट चुकेको देखियो ।
निर्देशक त सर्जक हो । सर्जकमा नयाँ–नयाँ सिर्जनाको लोभ हुनुपर्छ नकि बजारमा बिकिरहेको वस्तुको । तर, फिल्म निर्देशक अपिल विष्टको ‘कागजपत्र’मा यस्तो चेतना देखिएन नत्र आज फिल्मको चित्र र नतिजै फरक हुन्थ्यो ।
यो फिल्म निम्न मध्यम वर्गीय परिवारमा जन्मिएकी बुनु (शिल्पा मास्के)को कथा हो । उनले नर्सिङमा स्नात्तक गरेकी छन् । आफ्नो भविष्य सुन्दर बनाउन,अनी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहन्छिन् ।
अहिलेसम्म त परिवारले जसोतसो पढायो तर विदेश पठाउने हैसियत छैन परिवारको । त्यसैले उनका बुबा उनलाई यतै सरकारी जागिर खाएको देख्न चाहन्छन् । तर, बुनुको मन यता छैन, उतै अष्ट्रेलियामा छ । त्यहाँ पुग्नलाई सबै योग्यता पुगिसक्यो, नपुगेकै एउटै हो– पैसा ।
यो समस्याबारे जानकार छिन्, बुनुकी दिदी देवी (सरिता गिरी) । जसरी बुनु अष्ट्रेलिया कसरी पुग्नेमा चिन्तित छिन्, उसैगरी देवी आफ्नो पारिवारिक हैसियत कसरी बढाउनेमा चिन्तित । दुई छोरा–छोरीको भविष्यको चिन्ताले उनलाई गिजोलेको छ । उनी चाहन्छिन्, हुलाक कार्यलयमा पिउनको काम गरिरहेका उनका श्रीमान् राजकुमार (भोलाराज सापकोटा) पनि विदेश जाऊन् र परिवारको कमजोर हैसियतलाई छिट्टै बद्िलउन ।
दुवैको सपना साकार हुने लोभमा देवी आफ्नो श्रीमान्लाई बहिनी बुनुसँग नक्कली बिहे गराएर ‘डिपेन्डेन्ड’मा अष्ट्रेलिया पठाउन तयार हुन्छिन् । श्रीमान् राजकुमार पटकपटक अस्वीकार गर्छन् तर श्रीमतीको जिद्दीअगाडि उनको केही लाग्दैन । त्यसपछि सुरु हुन्छ, नक्कली कागजपत्र बनाउने शिलशिला ।
यस प्रक्रियामा सघाउँछन्, बुनु भनेपछि मरिहत्ते गर्ने उनका ‘जग्गा दलाल’ प्रेमी केशव (नाजिर हुसेन)ले । अष्ट्रेलिया पुग्ने चक्करमा साली–भेना के–केसम्म गर्न तयार हुन्छन् ? अन्त्यमा, के हुन्छ उनीहरुको अष्ट्रेलिया सपना ? फिल्म यही जवाफ वरपर घुमेको छ ।
केही वर्षयता ‘डिपेन्डेन्ट’ भिषामा अष्ट्रेलिया पुगिने लोभका कारण नक्कली बिहे गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । यो समस्याप्रति कुनै शंकै छैन । तर ‘कागजपत्र’मा उठाइएको यही विषय नेपाली फिल्मका लागि भने नौलो होइन । दीपाश्री निरौला र दीपकराज गिरीको टिमले बनाएको ‘६क्कापञ्जा–२’ले उठाएको विषय पनि यही नै थियो । फरक यति हो, त्यो फिल्ममा अष्ट्रेलिया जाने सपना स्वस्तिमा खड्का र स्वरुपपुरुष ढकालको थियो, यहाँ शिल्पा मास्केलाई छ ।
‘६क्कापञ्जा–२’ हेर्नेलाई ‘कागजपत्र’ ताजा लाग्दैन । पात्रको अष्ट्रेलिया जाने सपनादेखि पैसाको अभाव, नक्कली बिहे, कागजातको झन्झटलगायत सबै दृश्य ‘६क्कापञ्जा–२’मै देखाइएकै छ । यति मात्र होइन, फिल्ममा जबर्जस्ती दर्शक हँसाउन बग्रेल्ती राखिएका द्विअर्थी र भद्दा संवादको प्रयोग पनि ‘६क्कापञ्जा–२’कै ‘फर्मुला’ हो । द्विअर्थी र भद्दा संवादको प्रयोगकै कारण त्यतिबेला ‘६क्कापञ्जा–२’ले खुब आलोचना खेप्नु परेको थियो ।
विषयको सहारा लिनुसम्म त ठीकै हो तर आलोचित विषयमा पनि निर्देशक सचेत नहुनु भने विडम्बना हो ।
संवाद भद्दा सुनिए पनि पात्रको पहिरनमा ‘ग्ल्यामर’ झल्किन दिएका छैनन्, निर्देशकले । विषयको गम्भिरताअनुसार यो तारिफयोग्य पक्ष हो तर पटकथा मिहिनेतमा भने उनको प्रयास फितलो देखिन्छ ।
पहिलो हाफमा सुस्त गतिमै भए पनि अघि बढिरहेको फिल्म दोस्रो हाफमा पुगेपछि अन्तै अल्मलिन्छ । मूल बाटो बिराएर उपकथाको सहारामा दर्शक अड्याउन खोज्दा निर्देशक मूल कथाको गतिबाट पुरै बतासिएका छन् । फिल्मको केन्द्रीय द्वन्द्व स्थापनामै उनको अलमल प्रस्ट झल्किन्छ ।
यो फिल्ममा नाजिर हुसेनले निर्वाह गरेको केशव पात्रले बोलिरहने ‘जसले दिन्छ खिरै खिर, यो ज्यान उतै तिर’ले फिल्मको मनस्थिति मात्रै होइन नेपाली समाजको यथार्थ पनि बोलेजस्तो लाग्छ ।
पछिल्लो समय नेपाली सिनेमामा महिलाको चरित्र चित्रणलाई लिएर गम्भीर बहस चलिरहेका बेला फिल्मका निर्देशक त्यतातिर गम्भीर देखिएका छैनन् । फिल्ममा महिलाको चरित्र चित्रण कमजोर लाग्छ । विदेशका लागि मरिहत्ते गर्ने पात्र पनि महिला नै, श्रीमान्लाई विदेश पठाउनका लागि आफ्नै बहिनीसँग नक्कली बिहे गराउन तयार पात्र पनि महिला नै । यस्तो चरित्र चित्रणले समाजमा कस्तो प्रभाव पार्छ ? बहस आवश्यक छ ।
फिल्म दृश्यभाषाको माध्यम भएकाले दृश्यकै माध्यमबाट कथा भन्न रुचाइन्छ । तर ‘कागजपत्र’का निर्देशक आफ्नै दृश्यभाषाप्रति विश्वस्त देखिएनन् । दर्शकलाई फिल्म बुझाउन उनले बीचबीचमा राखेको ‘कथावाचक’को स्वरले दर्शक चिढ्याउने काम गरेको छ ।
कमजोर र बासी पटकथाका बाबजुद पनि यो फिल्मले दर्शक ‘होल्ड’ गर्छ भने त्यसको प्रमुख कारण हो– कलाकारको अभिनय । राजकुमारजस्तो सोझो श्रीमान्को चरित्रमा भोलाराज सापकोटा जीवन्त लाग्छन् । देवीको चरित्रमा सरिता गिरी पनि फिट छिन् । नाजिर हुसेन र शिल्पा मास्केको अभिनय पनि पात्रअनुसार स्वाभाविक छ । दृश्य कम भए पनि लक्ष्मी बर्देवाको अभिनय दर्शकले सम्झिरहन्छन् । जीवन भट्टराईको ‘कन्सल्टेन्ट’को चरित्र पनि दर्शकले रुचाउँछन् ।
फिल्ममा क्यामेराको प्रयोग पनि पात्र र घटनाको मुडअनुसार स्वाभाविक लाग्छ । बुनु र राजकुमारको हनिमुन सुट अनि अगाडिबाट आइरहेको जिपका कारण दुई छोराछोरीसँगै साइकलमा घर गइरहेका राजकुमार धानबारीमा लड्दाको दृश्य कलात्मक लाग्छन् । यद्यपि विषयको गम्भिरताअनुसार यस्तै कलात्मक र प्रतीकात्मक दृश्यहरु अझै खिच्न सकेको भए झन सुनमा सुगन्ध हुनेथियो । त्यस्तै, फिल्मको ध्वनि पनि कथाको मुडअनुसार फिट नै सुनिन्छ ।
निर्देशक अपिल विष्टले बजार नपछ्याई सिनेमा बनाउने जमर्को गरेको भए सायद उनको यो ‘कागजपत्र’ कहिल्यै नओसिने यादगार फिल्म बन्न सक्थ्यो तर अपर्याप्त मिहिनेतका कारण उनको यो फिल्म पातलो मसीले कोरिएको ‘कागजपत्र’जस्तै फिक्का देखियो ।
Leave A Comment