चौकीदार माथिको भारतीय राजनीति

बुधबार, २० चैत २०७५, ०६ : ३७ शुक्रवार
चौकीदार माथिको भारतीय राजनीति

चुनाव मुखैमा आइरहँदा अहिले भारतमा चौकीदार र पकौडावाला ‘काम’ ट्रेन्डिङमा छन् । स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूलाई ‘प्रमुख चौकीदार’का रुपमा उभ्याइरहेका छन् । यसमा निहित अर्थ बुझ्न सकिन्छ, उनी देशको रक्षकका रुपमा यसलाई अथ्र्याइरहेका छन् तर देखासिकी गर्दै सर्वसाधारणले प्रधानमन्त्री मोदीको नक्कलमा आफूलाई ‘चौकीदार’ र ‘पकौडावाला’का रुपमा देखाउन खोजिरहेका छन् । हुँदाहुँदा पछिल्लो समय त केसम्म देखियो भने पढेलेखेका युवाले आफूले पकौडा बेच्नुलाई गर्वका साथ प्रस्तुत गरिरहेका छन् ।

पढेलेखी काम छैन भन्ने किसिमको सन्देश यसले घुमाउरो तरिकाले प्रस्तुत गरिरहेको कसैले ध्यान नदिएको जस्तो प्रतीत हुन्छ । अहिलेको युवा भनेको संसारसँग प्रतिस्पर्धा गर्ने हो, आफूले गरेका सानातिना समय व्यतित गर्ने व्यवसायलाई ‘ग्लोरिफाई’ गर्ने होइन ।

हुन त यस किसिमका स–साना ‘जुम्ला’ (चुट्किला) चुनावका बेला  हँसिमजाकका लागि यस्ता कुरा रमाइलै हुँदो हो तर यसको कुप्रभाव हामीले सोचेभन्दा गम्भीर किसिमको हुन्छ भन्ने बुझ्न जरुरी हुन्छ ।

चौकीदार हुने र पकौडा फुराउने त कसैको पनि जीवनको सपना नहुँदो हो । अहिलेका युवाले ती कामका लागि आफूलाई तयार पनि नपार्लान् ! जसले ती काम गरिरहेका छन्, उनीहरु एउटा सफल व्यवसायीभन्दा कम भाग्यशाली पक्कै हुन् । चौकीदारी र पकौडा फुराउनैमा उनीहरु चित्त बुझाएर बसेका छन् भने तिनले आफ्नो भाग्यलाई पक्कै पनि गाली गरिरहेका छन् । तिनले पक्कै पनि आफ्ना सन्तानलाई गर्वका साथ म भोलिका दिनमा चौकीदारी गराउँछु भन्दैनन् न त पकौडा फुराउन सिकाउँछु नै भन्लान् ।

चौकीदारी सबैभन्दा गएगुज्रेको सीप हो । यसका लागि तपाईंमा कुनै खुबी आवश्यक पर्दैन । जसले चौकीदारी गर्छ, उसको भविष्यको सुरक्षा हुँदैन न त उसमा कुनै विशेष किसिमको खुबी नै हुन्छ र यसका लागि उसले कुनै लाइसेन्स नै बनाउनु पर्छ । यस्तो प्रभावहीन कामलाई कसैले पनि गर्वका साथ प्रस्तुत गर्नु भनेको उसले आफ्नो मूर्खता प्रस्तुत गर्नुबाहेक अरु केही होइन ।

भारतीय प्रधानमन्त्री मोदीले सुरुमा देशकै चौकीदारका रुपमा प्रस्तुत गर्नु भनेको आफूलाई जनधनको रक्षा गर्छु वा म उनीहरुको अभिभावक हुँ सम्म भनेका हुन् । त्यसभन्दा पर यसको कुनै अर्थ छैन । यसमा चौकीदारीको महिमामण्डप देखिँदैन । चौकीदारीलाई उनले नम्रता र उदात्ततापूर्वक अभिव्यक्ति दिएका हुन् । उनको जीवनको पृष्ठभूमि चियावाला हो भन्ने थाहा पाउनेहरुका लागि यसलाई सहज रुपमै पचाउँछ । एउटा चियावाला प्रधानमन्त्री भएको छ र ऊ अब प्रधान चौकीदार भयो भन्नुको अर्थ उसले जनसेवामा मौलाएको भ्रष्टाचार, भाइभतिजावाद र घोर पुँजीवादी अवस्थालाई थोरबहुत र सक्दो घटाउँछु वा घटाउन भूमिका खेल्छु भन्ने अर्थ दिन उनी सक्षम भएका हुन् ।

तर जब चौकीदार नरेन्द्र मोदी ‘हिट’ हुन थाले, अरुले पनि त्यसको नक्कलमा आफूलाई चौकीदारका रुपमा प्रस्तुत गर्न खोजे । यो कदापि असल कर्मका रुपमा लिन सकिन्न । खासगरी जब चुनावका बेला यस्ता ससाना कुराहरुलाई बढाई चढाई प्रस्तुत गरिन्छ, त्यसले ठूला सपना पाल्ने सपनाको हत्या गरिन्छ । यस्तो सपनाको हत्या गर्ने कृत्य कतैबाट पनि प्रशंसित हुनु हुँदैन । खासगरी भारतीय जनता पार्टीले त यसमा अझै बढी सचेत हुनुपर्छ । उसले बारम्बार चियावाला, पकौडावाला र अहिले आएर चौकीदारीमाथि राजनीति गर्न थाल्नु कदापि असल मान्न सकिन्न ।

हामीले सबै किसिमको कामलाई सम्मान गर्नुपर्छ तर कतिपय अवस्थामा तिनलाई बढी महत्व दिइनु हुँदैन । नयाँ पुस्तालाई प्रेरित गर्नका लागि हामीले त चौकीदारी, चियावाला वा पकौडावालाजस्ता कुरालाई त झनै हतोत्साही गर्नुपर्छ । नयाँ प्रविधिको युगमा, सुरक्षाका नयाँ नयाँ चुनौती र सुरक्षा चुनौतीलाई सहज बनाउने कयौँ राम्रा पक्षहरुलाई अँगाल्न प्रेरित गर्नुको साटो चौकीदारीलाई ठूलो मान्नु हुँदैन । स्टारबक्स, केएफसी वा म्याक्डोनाल्डको युगमा हामीले पकौडाजस्तो एउटै मात्र व्यक्ति व्यस्त हुने सानो काममा सपनालाई साँघु¥याउनु हुँदैन । देशको आर्थिक विकासका लागि यस्ता चौवन्नी कामले कुनै ठूलो योगदान दिँदैनन् भन्ने तथ्य हामीले बिर्सनु हुँदैन ।

म कुनै घगडान राजनीतिक विश्लेषक त होइन तर मलाई के लाग्छ भने यस्ता कुरालाई गर्वका साथ प्रस्तुत गरिँदा विपक्षी पार्टीलाई धुलो त चटाइएला तर यसले मतदानका दिन खासै ठूलो योगदान देला भन्ने लाग्दैन ।

अर्कोतर्फ हिजोआज जताततै चौकीदार देखिन्छन् । हरकोहीले र ससाना पसले र उद्यमीले पनि चौकीदार राख्ने गरेको पाइन्छ । मैले जुन दिनदेखि बुझ्न थालेँ, त्यही दिनदेखि चौकीदारी र पानीको बोतल मेरो मस्तिष्कमा गहिरो गरी गढेको छ । हामी सानो छँदा म थोरै चौकीदार देख्थेँ । ती चौकीदारले हामीलाई सुरक्षित साथ गाडी चढाइदिन्थे । तिनको संख्या त्यो बेला निकै थोरै थियो । अहिले ह्वात्तै बढेको छ । सुरक्षा अवस्थामा सुधार नआउनु नै तिनको संख्या बढ्नु हो भन्ने मलाई लाग्छ ।

म मुम्बईमा जन्मिएँ र सानामा पानीका भाँडाहरु जताततै र लामो लाम देख्थेँ । अहिले पनि यो लम्बाईमा कुनै कमी देखिएको छैन ।

यी दुवै दृश्य भारत सरकारको घोर असफलताका नमूना हुन् । खानेपानी र सुरक्षामा सरकारी तर्फबाट भएको घोर उपेक्षाका कारण आज सुरक्षा खोज्न हरेकले चौकीदार राख्नुपर्ने बाध्यता छ । त्यस्तै खानेपानीजस्तो अत्यावश्यक वस्तुका लागि अहिले पनि घण्टौँ लाइनमा बसेर समय व्यतित गर्नु वा खानेपानीको किल्लत झेल्नु लज्जास्पद पक्ष हो । म बाल्यकालमा पनि त्यही लाम देख्थेँ, अहिले पनि त्यही देखिरहेको छु ।

हुन त यी सारा व्यवस्थामा आजको सरकारको दोष नहोला, यसअघिका सरकार र त्योभन्दा अघिका सरकारको कमजोरीको एकमुष्ठ रुप पनि हो । हाम्रो घर वरपर सुरक्षित वातावरण छ भने हामीलाई चौकीदार नभए पनि हुन्छ । भए पनि कम राखे पुग्छ । यी चौकीदार सजावटका लागि राखिएका होइनन् । यिनीहरु निजी रुपमा राखिएका हुन्छन्, तिनलाई कम पैसामा राखिएको हुन्छ, तिनलाई उचित हतियार दिइएको हुँदैन, कम पढेलेखेका हुन्छन् । हाउजिङ सोसाइटी, रेस्टुराँ, पब्लिक पार्कजस्ता कुरामा तिनलाई काममा खटाइएको हुन्छ ।

घटना घटेको केही मिनेटमा सुरक्षाकर्मी तु. आइपुग्ने स्थितिमा तिनको कामै पर्दैनथ्यो । यहाँ सुरक्षा छ है भन्ने अनुभूति दिलाउनका लागि मात्र तिनलाई राखिएको हुन्छ र सुरक्षाका लागि राखिएका यी चौकीदार आफैँमा असुरक्षित हुन्छन् । उनीहरुलाई नै बेलाबेलामा ग्राहकहरु, नजिकका आफन्त र अन्यले गाला पड्काइदिरहेका हुन्छन् ।

यस्तोमा उनीहरुको काम झिँगा धपाउने वा लामखुट्टेसँग जोरी खोज्नेबाहेक अरु केही हुँदैन । बरु गर्मीले हपहपी भएर, चिसोले काँपिरहेका उनीहरुको दयनियता नै अभिव्यक्त भइरहेको हुन्छ । उनीहरु चौकीदारी यत्ति एउटा कारणले अल्झिरहेका हुन्छन् कि अर्को कुनै कामका लागि उनीहरु उपयुक्त हुँदैनन् ।

भारतभर यस्ता चौकीदारको संख्या ७० हजार छ र यस्तै कामबाट अर्बौं डलर कमाउने कम्पनी पनि छन् तर चौकीदारको अवस्था भने दयनीय छ । त्यसैले यस्ता निम्छरा कामलाई गर्वका साथ प्रस्तुत गर्ने पार्टीका हनुमानहरुले अबका दिनमा गम्भीर भएर सोच्न जरुरी छ ।
(बिजनेस स्टान्डर्डमा प्रकाशित आलेखको सम्पादित अंश । लेखक सिएमआइईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी हुन् ।)
 

Leave A Comment