स्विमिङको सुत्र

बिहिबार, २८ चैत २०७५, ०६ : ४० शुक्रवार
स्विमिङको सुत्र

शंकर कार्की
प्रमुख पौडी प्रशिक्षक 

स्विमिङ व्यायामको राम्रो उपाय हो । पौडिदा शरीरको अधिकांश भागको व्यायाम हुन्छ । शारीरिक फिटनेसका लागि पौडी उपयोगी हुने भएकाले गर्मी सुरु भएसँगै स्विमिङ गर्नेको संख्या पनि बढ्छ । 
ग्रामिण भेगमा खोला पोखरीमा पौडिने गरिन्छ । सहरी क्षेत्रमा यसका लागि आधुनिक पौडी पोखरी खुलिरहेका छन् । 

अन्तर्राष्ट्रिय मापदण्डअनुसार २५ मिटर लम्बाई र २५ मिटर चौडाइको छोटो दूरीको पौडी पोखरी हुन्छ भने अर्को ५० मिटर लम्बाई २५ मिटर चौडाइ भएको लामो दूरीको पौडी पोखरी हुन्छ ।  गहिराइ भने दुवैमा एक मिटरदेखि दुई मिटरसम्मको हुन्छन् ।  

मापदण्डअनुसार स्विमिङ पुलको पानीको तापक्रम २४ देखि २८ डिग्रि सेल्सियसको हुन्छ । २४ देखि २८ डिग्री सेल्सियस तापक्रम भएको पानीमा स्विमिङ खेल्नु उपयुक्त हुन्छ । धेरै चिसो पानीमा स्विमिङ गर्दा स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ । 

स्विमिङ गर्नु पूर्व साधारण व्यायाम गर्नु उत्तम हुन्छ । व्यायाम नगरी स्विमिङ खेल्दा मांशपेशी बटारिने लगायतका समस्या हुन्न । 

पहिलो पटकको स्विमिङ 
भर्खर स्विमिङ खेल्न थालेका व्यक्तिले एकै पटकमा लामो समय खेल्नु हुँदैन । बिस्तारै खेल्दै समय बढाउँदै लैजान सकिन्छ । 

सुरुकै अवस्थामा जथाभावी खेल्नु हुँदैन । बिस्तारै बानी पार्दै खेल्न सिक्दै जानु पर्छ । पहिलोपटक पौडिदा प्रशिक्षकको सहायता लिनुपर्छ । पौडिदा खेलाडीलाई डर लागेको अवस्थामा प्रशिक्षकले नडराउने वातावरण बनाइदिनु पर्छ । 

पौडी खेल्नेको तीक्ष्ण बुद्धि 
जुनसुकै उमेर समूहका व्यक्तिले स्विमिङ गर्न सकिन्छ । स्विमिङ गर्न उमेरले छेक्दैन । साना बालबालिकाले स्विमिङ गर्दा बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्छ । नियमित स्विमिङ गर्ने बालबालिका तीक्ष्ण बुद्धिका हुन्छन् । त्यसैले बालबालिकाका लागि पनि स्विमिङ उपयोगी छ । स्विमिङले बालबालिकाको वृद्धिविकासमा समेत सघाउ पुर्याउँछ । 
 
स्विमिङका फाइदा 
स्विमिङ गर्दा हात, खुट्टा, पेट लगायत शरीरका अधिकांश भागको व्यायाम हुन्छ । हात खुट्टा र शरीरका अन्य अंगसमेत पानीमा चल्ने भएकाले शरीर लचकदार हुन्छ । पानीमा तैरिँदा शरीरका मांशपेशी साथै हड्डीसमेत सक्रिय भई मजबुत हुनुका साथै शरीरको तौल सन्तुलनमा आउँछ । 

थकान मेट्न र तनावबाट मुक्त हुन स्विमिङ लाभदायक छ । पानीमा खेल्दा आनन्द हुनुका साथै शारीरिक व्यायाम हुने भएकाले राम्रोसँग निद्रा लाग्छ । जसको कारण शारीरिक मात्रै नभएर मानसिक रुपमा पनि स्वस्थ हुन सहयोग गर्छ । 

नियमित ३० मिनेट स्विमिङ गर्ने व्यक्तिको मुटु दह्रो हुनुको साथै दमको समस्याबाट छुट्कारा पाउन सकिन्छ । त्यति मात्रै हैन स्विमिङ गर्न जानेको खण्डमा भेल, बाढीजस्तो प्राकृतिक प्रकोपबाट पनि बच्न सकिन्छ । 

कस्ता व्यक्ति पौडी नखेल्ने ?
कहिल्यै पनि एक्लै स्विमिङ गर्नु हुँदैन । लाइफ गार्ड वा कोचको निगरानीमा मात्रै स्विमिङ गर्नुपर्छ । लाईफ गार्ड वा कोचको निगरानीमा स्विमिङ गर्दा डुब्नेलगायतका सम्भावित जोखिमबाट बच्न सकिन्छ । 
छालामा घाउ, खटिरा आदि समस्या भएका व्यक्तिले पौडी पोखरिमा स्विमिङ गर्दा अन्य व्यक्तिलाई सर्ने जोखिम हुन्छ । छारे रोग भएका व्यक्तिले पनि स्विमिङ नगर्नु नै उचित हुन्छ ।

छारे रोगको समस्या भएका व्यक्ति स्विमिङ गरिरहेको अवस्थामा रोगले च्यापे पानीमा डुबेर ज्यान जान सक्छ । त्यसैले यस्तो समस्या भएका व्यक्ति स्विमिङ गर्दा  सतर्क हुन आवश्यक छ । मादक पदार्थ, नशालु पदार्थ सेवन गरेर स्विमिङ गर्दा दुर्घटना हुने जोखिम भएकाले त्यस्ता नशालु पदार्थ सेवन गरेर स्विमिङ गर्नु हुँदैन । 

स्विमिङ गर्दा ध्यान दिने 
पौडी पोखरीमा स्विमिङ गर्न पस्नुअघि नुहाउनु पर्छ । जसले शरीर र पानीको तापक्रम सन्तुलित हुन्छ । शरीरको तापक्रम नमिलेर असर हुन सक्छ । पानी कम भएको ठाउँमा हाम फाल्ने तथा डाइफ गर्नु हुँदैन । भुँइमा टाउको ठोकिने डर हुन्छ । 

पौडी खेल्दा स्विमिङ कस्टम अनिवार्य लगाउनु पर्छ । जुन आफ्नो मात्रै प्रयोग गर्नुपर्छ । अरुको स्विमिङ कस्टम प्रयोग गर्दा रोग सर्ने जोखिम हुन्छ । 

आकाश गड्याङ– गुडुङ गरेको अवस्थामा स्विमिङ गर्नु हुँदैन । यदि खेल्दा खेल्दै गड्याङ– गुडुङ गर्यो वा बिजुली चम्कियो भने तुरुन्त पौडी पोखरीबाट बाहिर निस्कनु पर्छ । गड्याङ– गुडुङ गरेको तथा बिजुली चम्किएको समयमा पौडी पोखरीमा करेन्ट प्रवाह हुने भएकाले ज्यान जान सक्छ । त्यसैले यस्तो समयमा पौडी खेल्नु हुँदैन । पौडी पोखरीका नियमहरु पालन गर्नुपर्छ । खेल्नुअघि पौडी पोखरी कति गहिरो छ अवलोकनका साथै बनावटको बारेमा बुझ्नु पर्छ । साथीहरुको आग्रहमा गहिराइमा जानु हुँदैन । जोसिएर गहिराइमा जाँदा डुब्ने जोखिम हुन्छ ।

स्विमिङ गर्दा दौडिने, धकेल्ने, घोडाचढी गर्नु हुँदैन । यसो गर्दा दुर्घटनाको जोखिम हुन्छ । कुनै व्यक्ति खेल्नेक्रममा पानीमा डुबेको खण्डमा सिधै बचाउन जानु हुँदैन । बचाउने साधनको प्रयोग गरेर बचाउनु पर्छ । 

दुई घण्टा अघि खाना
सामान्यतः पौडी खेल्न जानुभन्दा करिब दुईतीन घण्टा अघि खाना खानु उपयुक्त हुन्छ । जसले पाचन प्रक्रियामा सहज भई खेल्न सजिलो हुन्छ । फलफूल, जुुुस पानी जस्ता हल्का किसिमका खाद्य पदार्थ भने स्विमिङ गर्न पोखरीमा छिर्नु अगाडि पनि खान सकिन्छ । 

स्विमिङ गर्नु भन्दा ठ्याक्कै अगाडि कडा किसिमका खाना खाँदा पाचन प्रक्रियामा गडबढी हुन सक्छ । खाना पच्न असहज हुन्छ । जसको कारण स्विमिङ गर्न असहज हुन्छ । स्विमिङ गर्ने समयमा कडा किसिमका खाना खाँदा भमिटसमेत हुने जोखिम हुन्छ । 

सामान्य तथा कम समय स्विमिङ गर्ने व्यक्तिले सामान्य किसिमका खानपान गर्न सकिन्छ । दैनिक रुपमा खेलै खेल्ने खेलाडीका लागि भने कडा किसिमको स्विमिङ व्यायाम हुन्छ । कडा व्यायाम गर्ने खेलाडीले भने पोषण तत्वमा पनि त्यतिकै ध्यान दिनु पर्छ । त्यसैले स्विमिङ गर्ने व्यक्तिले पोषण विज्ञको सल्लाहमा खानपान गर्नु उचित हुन्छ । 
प्रस्तुतिः उपेन्द्र खड्का


 

Leave A Comment