इन्टरनेनसल न्युजमेकर्स

शुक्रबार, २९ चैत २०७५, ०२ : २२ अच्युत काेइराला
इन्टरनेनसल न्युजमेकर्स

गएको एक वर्षमा विश्व परिवेशमा केही बिर्सन नसकिने घटना घटे । तिनले अन्तर्राष्ट्रिय स्तरमा समाचार निर्माता जन्माएका छन् । प्रमुख पाँच समाचार निर्मातामाथि टिप्पणीः

मार्क जुकरबर्ग
फेसबुक अहिले हरेकको आवश्यकताको विषय बन्न पुगेको छ । समस्या के छ भने जति बढी मानिस यो सञ्जालमा आबद्ध हुँदै जान्छन्, सञ्जालको दुरुपयोगको सम्भावना पनि उत्तिकै बढिरहेको छ । त्यसैले त हालै फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले एउटा अपिल गरेका छन्, जसमा फेसबुकमाथि सरकारी नियमन बढ्नुपर्ने उनको तर्क छ । 

फेसबुकमा राखिने हानिकारक सामग्री, चुनावलाई निष्पक्ष बनाउन यसको उपयोगिता, सर्वसाधारणको गोपनीयताको रक्षा र तथ्याङ्कको संरक्षणजस्ता कुरामा सरकारी सहभागिताको अपेक्षा जुकरबर्गको छ ।

यसअघि उनले फेसबुकजस्ता सामाजिक सञ्जालमा पोस्ट गरिने जस्तासुकै कुरामा पनि सरकारी अंकुश लगाउनु हुन्न भन्ने धारणा राख्थे । अहिले उनको सो धारणा परिवर्तन भइसकेको छ । उनले कतिपय युरोपेली मुलुकका सरकारसँग कसरी फेसबुकलाई आफैँले मात्र नियमन नगरी सरकारी पक्षको पनि सहयोग लिन सकिन्छ भन्नेबारे सहकार्य गरिरहेको छ ।

खासगरी न्युजिल्यान्डमा गएको महिना भएको क्राइस्टचर्च हमलामा लाइभ ब्रोडकास्ट कयौँ मिनेटसम्म जारी रहेको र फेसबुकले त्यसलाई रोक्न नसकेको सन्दर्भमा फेसबुकको कडा आलोचना भएको थियो । त्यसयता जुकरबर्गले फेसबुकलाई बढी नै जिम्मेवार बनाउन आफू सहमत भएको बताएका थिए ।

ज्यासिन्डा एडर्न
न्युजिल्यान्डको राजधानी क्राइस्टचर्चमा रहेको एउटा मस्जिदमा एक जना गोरा आतंकवादीले गोली प्रहार गर्दा चैत १ गते ५० जनाको ज्यान गयो । यस्तो आतंकवादी आक्रमणपछि सामान्यतः पश्चिमा सरकारको प्रतिक्रिया सुस्त हुन्थ्यो । तर न्युजिल्यान्डमा यस पटक अर्कै दृश्य देखियो ।

प्रधानमन्त्री ज्याकिन्डा अर्डेनले पीडितमाझ गएर उनीका पीडा मात्र बुझिनन्, उनीहरुसँग अँगालो हालेर रोइन् पनि । हुन त पीडाका बखत रुने राजनीतिककर्मीको कुनै कमी छैन, कमी छ त पीडाको तहसम्म पुगेर वास्तविकता पत्ता लगाई त्यसलाई निरुपण गर्ने इच्छाशक्ति । यही कुराले प्रधानमनत्री अर्डेनले जथाभावी हातहतियार राख्न पाइने नियमलाई नियमन मात्र गर्ने प्रक्रिया अघि बढाइनन्, पीडितलाई तत्काल राहतका लागि तत्परतासमेत देखाइन् ।

उनले यस क्रममा गरेका केही महत्वपूर्ण कदमले उनलाई अन्य राजनीतिक नेताभन्दा फरक रुपमा प्रस्तुत गरेको छ । उनले आक्रमणकारीलाई ‘आतंकवादी’ करार दिइन्, जुन यसअघिका सरकारले गोराहरुलाई ‘अतिवादी’ मात्र भन्ने गर्थे । यस्तो दुःख र विपद्का बेला पीडकभन्दा पीडित बढी हाइलाइटमा रहनुपर्छ भन्ने उनको मान्यता थियो र अधिकांश समय उनी पीडितसँगै रहिन् । जसका कारण मिडिया कभरेज पनि पीडितमै बढी केन्द्रित हुन पुग्यो । हातहतियार नियन्त्रण गर्ने विधेयक उनको कार्यको सबैभन्दा महŒवपूर्ण पक्ष रह्यो ।

समाजका लागि घातक र खतरनाक सामग्री पस्किएर नाफा कमाइरहेका सामाजिक सञ्जालले कमाइरहेको सन्दर्भलाई पनि यस घटनाले विश्वको ध्यानाकृष्ट ग¥यो र यसै सन्दर्भमा उनले सामाजिक सञ्जालले नाफा मात्र कुम्ल्याउनु हुँदैन, जिम्मेवारी पनि उत्तिकै हुन्छ भन्ने पाठ पढाउन उनी सफल भएकी छन् । यसले उनको नेतृत्वको चौतर्फी वाहवाहीसमेत भएको छ ।

नरेन्द्र मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यो वर्ष चर्चामा रहे । त्यसो त उनी प्रधानमन्त्री भएदेखि नै विगतका पाँच वर्षमा नियमित रुपमा चर्चामा नै छन् । कहिले नोटबन्दी त कहिले नेपालमाथि नाकाबन्दीका कारण उनी समाचारको केन्द्रमा रहिरहे । 

पछिल्लो समय भने उनलाई विपक्षी पार्टी कंग्रेसका अध्यक्ष राहुल गान्धीले ‘चौकीदार चोर है’ भन्ने आरोप लगाएपछि भाजपाले त्यसैलाई भजाउने प्रयास गर्यो । प्रधानमन्त्री मोदीले ‘मैं देशका चौकीदार’ अभियान नै चलाए । जसअन्तर्गत अन्य मन्त्रीहरुले पनि उनलाई पछ्याउँदै आफू पनि जनताको चौकीदार रहेको जनाउ दिए ।

यही कारण देशभरि चौकीदारीमाथि चर्को बहस सुरु मात्र भएन, बहसमा कंग्रेस पछि पर्न गयो । कमजोर दलिल र नयाँ पुस्ताका सञ्चार माध्यममा कमजोर पकडका कारण अन्य नेताभन्दा मोदी निकै अगाडि देखिएका छन् ।

त्यसो त ‘जमिनी हकिकत’को हवाला दिँदै विपक्षीले मोदी कमजोर भएको, उनले गरेका वाचा पूरा हुन नसकेको, जनताको जीवनस्तर उठ्न नसकेको आदि आरोपका बीच जनताले मोदी फ्याँक्न जोडबल गरिरहेको तर्क गरिरहे पनि मोदीको अर्को कार्यकालमा सत्ता पक्षीय नेताहरु ढुक्क देखिन्छन् ।

किम जोङ उन
स्विट्जरल्यान्डमा विद्यालयीय शिक्षा पूरा गरेका उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन गएको वर्षभरि चर्चामा रहे । पहिले उत्तर कोरियाले परीक्षण गर्ने परमाणुयुक्त बम र त्यसको मारक क्षमताका कारणले उनको चर्चा हुन्थ्यो । यस वर्ष भने उनको चर्चा अर्कै कारणले हुन पुग्यो । जसै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग शान्ति वार्ता गर्ने चासो देखाए, एकाएक किम जोङ उनको लक्ष्य आणविक शक्ति सम्पन्न मुलुकलाई विकासोन्मुख बनाउने सपना देख्न थाले ।

शान्तिवार्ता कहाँ गर्ने र कसले पहल गर्ने चर्चाका बीच जसै सिंगापुरमा पहिलो शिखर वार्ता सम्पन्न भयो, यसले संसारभरि नै तरङ्ग उत्पन्न भयो । वार्ता दोस्रो चरणमा आइपुग्दा भने भियतनाम मात्र तरङ्गित हुन पुग्यो किनभने दोस्रो शिखर वार्ता भियतनाममा भए पनि यसले ठोस निष्कर्ष निकाल्न भने सकेन ।

त्यसो त उत्तर कोरियालाई शान्ति प्रक्रियामा ल्याएर आफू नोबेल शान्ति पुरस्कारको हकदाबी प्रस्तुत गर्न खोजिरहेका ट्रम्पका लागि भने निष्कर्षहीन वार्ताले केही धक्का अवश्य पनि पु¥याएको हुनुपर्छ । यति मात्र होइन, स्वयं किमका लागि पनि यो वार्ता संसारमा आफ्नो छवि सफा गर्ने अवसर थियो तर यो वर्ष यत्तिकै रह्यो ।

डोनाल्ड ट्रम्प
श्वेत राष्ट्रवाद र विश्व भूमण्डलीकरणविरुद्धको नारा उरालेर सत्तामा पुगेका डोनाल्ड ट्रम्प पनि यो वर्ष चर्चामा रहे । यो वर्ष उनी चर्चामा आउनुमा उनको नयाँ काण्ड सार्वजनिक भएर भने होइन । उनका पुरानै बानी, नारा र मुद्दाले यो वर्ष पनि उनी चर्चामा रहे ।

उनलाई चर्चामा ल्याउने काम गरिन्, पोर्न उद्योगकी चर्चित नायिका ड्यानियल स्टोर्मले । उनले ‘फुल डिस्क्लोजर’ नामक आत्मकथामा कसरी अमेरिकी राष्ट्रपति हुनुअघि डोनाल्ड ट्रम्पसँग यौन सम्पर्कका लागि तयार भइन् र उनीसँगको यौन सम्बन्ध कस्तो रह्यो भन्ने बारेमा समेत उल्लेख गरेर किताब बिकाउने प्रपञ्च रचेको ट्रम्प पक्षधरको आरोप रह्यो । उनलाई आत्मकथामा ट्रम्पका पक्ष वा विपक्षमा केही नलेख्न गरेको आग्रहमा एक जना वकिलसमेत मुछिए । 

त्यसो त महिलाका बारेमा कटाक्षपूर्ण टिप्पणी गर्न कहिल्यै पनि नचुक्ने ट्रम्पका बारेमा स्टोर्मको यो खुलासाले कोही पनि चकित भने भएनन् । राम्रा मोडल र हिरोइनलाई ओछ्यानसम्म पु¥याएका ट्रम्पका कयौँ किस्साहरु यसअघि पनि सार्वजनिक भइसकेको हो । उनले बरोबर पत्नीसमेत परिवर्तन गरेका छन् । यस्तोमा उनीमाथि यौन विचलनको मुद्दा फिस्स हुन पुग्यो ।

यही वर्ष बहुचर्चित मुलर प्रतिवेदन बजारमा आयो । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुमा रुसको हात कति छ भनी अनुसन्धान गरिएको थियो तर सो अनुसन्धानमा ट्रम्प सफा देखिए । उनीमाथिको आरोप प्रमाणित हुन सकेन ।

निर्वाचनमा गरिएको प्रतिबद्धताअनुरुप केही मानिसलाई देश फर्काएको पनि कम चर्चा भएन । बालबालिकालाई छुट्याएर बाउआमालाई स्वदेश फर्काएको घटनालाई कतिपयले मानवतारहित कार्यको उपमासमेत दिए । उनले यही वर्ष अमेरिकी इतिहासमा सबैभन्दा लामो संसद अवरुद्ध गराएर कीर्तिमानसमेत कायम गरे । मेक्सिकोसँगको सीमालाई पर्खाल लगाउने कार्यका लागि संसद्ले पैसा नछुट्याएपछि उनले ‘सट्डाउन’ गरेका थिए ।


 

Leave A Comment