रङगमञ्चमा यौन दुर्व्यवहार : तीन रंगकर्मीविरुद्ध गम्भिर आरोप

आइतबार, ०१ बैशाख २०७६, ०४ : ४९ स्मृति ढुंगाना
रङगमञ्चमा यौन दुर्व्यवहार : तीन रंगकर्मीविरुद्ध गम्भिर आरोप

कलाकारको खोजीमा फिल्म निर्माता र निर्देशकको आँखा जब रंगमञ्चतिर डुल्न थाल्यो, अभिनयको भोक भएका युवापुस्तामाझ नेपाली रङ्गमञ्चको आकर्षण उत्कर्षमा पुग्यो ।

प्रतिभाशाली निर्देशक, नयाँ–नयाँ डबली, उम्दा प्रशिक्षणको अवसरसँगै नेपाली रङ्गमञ्च उज्यालिँदै गयो । नयाँ कलाकार मरिहत्ते गर्न थाले नाटकमा अभिनय गर्न । 

तर उम्दा मानिएका केही निर्देशकका कारण उज्यालिँदै गइरहेको रङ्गमञ्चभित्र शारीरिक र मानसिक शोषणका घटनाले भित्रभित्रै कालो हुँदै गइरहेको थियो ।

रङ्गमञ्चका रङ केलाउने क्रममा त्यहाँभित्र मौलाइरहेको शोषणको डरलाग्दा पाटाहरुको संकेत पाएसँगै शुक्रवारको निगरानी शुरु भयो । करिब चार महिनाको निगरानीका क्रममा नेपाली रङ्गमञ्च र रङ्गमञ्चका भगवान्झैँ मानिनेहरुबाट भएका दर्जनौँ शारीरिक र मानसिक शोषणका दर्जनौँ घटना फेला परे ।
चार महिनाको अवधिमा शुक्रवारले भेटेका डेढ दर्जन महिला कलाकारबाट जे जस्ता घटना विवरण आए, त्यो यौन शोषणविरुद्ध शुरु भएको मीटू अभियानका क्रममा हलिउड र बलिउडका कलाकारबाट सार्वजनिक भएका घटना भन्दा कम डरलाग्दा छैनन् । 

रङ्गमञ्चको रङ्गीन पर्दाभित्र भइरहेका काला कतुर्त खोतल्ने क्रममा भेट भएका केही कलाकार अझै त्रासमै थिए । उनीहरु आफूमाथि भएको यौन शोषणका घटना खुलाउन राजी भए तर आफू सार्वजनिक हुन तयार भएनन् । केहीले प्रारम्भमा शुक्रवारसँग आफूले भागेको कहालीलाग्दो क्षण बाँड्न त तयार भए तर पछि आफ्नो घटना उल्लेख नगर्न आग्रह गरे । जसले यस्तो आग्रह गरेका थिए, उनीहरुले सामान्य यौन दुव्र्यवहार मात्रै हैन, बलात्कार प्रयाससम्मका कहालीलाग्दा क्षण पार गरेका थिए ।

यसैबीच केही साहसी पनि भेटिए, जसले पात्र र घटनाक्रम नामसहित सार्वजनिक गर्न राजी भए । त्यस्तै एक साहसी कलाकार हुन्, अनु दाहाल ।

‘नेपाली थिएटरमा राम्रा भनिने निर्देशकहरु नै नाटकको रिहर्सलको बहानामा महिला कलाकारहरुको विभिन्न अंग नै छुन्छन्,’ उनले शुक्रवारसँग भनिन् ।

उनले शुक्रवारसँग नाटक निर्देशक राजकुमार पुडासैनीले उनीमाथि गरेको मानसिक प्रताडनाको घटनाक्रम खुलाइन् ।

एक्टर्स स्टुडियोबाट अभिनयको प्रशिक्षण लिएकी उनी नेपाली रङ्गमञ्चमा सक्रिय भएको दुई वर्ष मात्र भयो । यस बीचमा उनले एक्टर्स स्टुडियो र वन वल्र्ड थिएटरको नाटक र ब्याक स्टेजमा काम गरिन् । यसअघिका नाटकमा कलाकारको रुपमा देखिएकी उनले पहिलो पटक मुख्य भूमिकाको अफर पाइन् ‘बुधबारेमा फ्लप, मंगलबारेमा हिट’ नामक नाटकमा । निर्देशक थिए, पुडासैनी । उनलाई सो नाटक गर्न नेपाल सरकारले समेत सहयोग गरेको थियो ।

दाहाल सो नाटकमा मुख्य भूमिकाको अवसर पाएपछि नाटकमा अनुबन्धित भइन् । नाटकको मुख्य थिम नै नेपाली थिएटरमा अभिनेत्री बन्न खोज्दा भोग्नु परेको समस्यामा आधारित थियो । तर उनले मञ्चमा सो समस्या अभिनयमार्फत् देखाउनु अगाडि आफैँले निर्देशक पुडासैनीबाट भोग्नु पर्यो ।

नाटकको रिहर्सलका बेला निर्देशक पुडासैनीबाट शारीरिक र मानसिक रुपमा शोषित भएको दाबी गर्दै उनले भनिन्, ‘निर्देशकले नाटक रिहर्सलका लागि मलाई अरु कलाकारभन्दा चाँडै बोलाउँथे र विभिन्न बहानामा शरीरमा छुने खोन्थे । उनले गर्ने व्यवहारले मलाई असहज महसुस भइरहन्थ्यो ।’ 

दाहालका अनुसार, रिहर्सलका लागि वन वल्र्ड थिएटर र अन्य कलाकारसँग काम गर्न तालिका नै बनाइएको थियो तर निर्देशक पुडासैनीले उनलाई प्रायः अन्य कलाकारभन्दा घण्टाअघि नै रिहर्सलमा बोलाउँथे । 
‘रिहर्सलमा अन्य कलाकार हुन्थेनन्, नाटकको निर्देशकसँग मात्रै रिहर्सल गर्दा कत्तिपटक नचाहिने कुरा धेरै भइरहेको महसुस हुन्थ्यो,’ उनले सुनाइन् । 

रिहर्सलमा नाटकको संवाद बोल्न सहज बनाउन ‘फिल इन द ग्याप’ अभ्यास गराइन्छ । अभ्यासको दौरानमा निर्देशक पुडासैनीले ‘खेल खेलाउने भन्दै सर्त राखे, ‘संवाद बोल्दै भाग्नुपर्ने नत्र निर्देशकले समातेर किस गर्ने’ ।

‘स–सानो कुराले असहज महसुस हुन्थ्यो,’ उनले भनिन्, ‘मैले त्यस्तो गर्न सक्दिनँ भनेकी थिएँ । मैले केही गर्दा राम्रो गर्यौ भनेर अँगालो मार्ने, किस गर्न खोज्ने र छुन खोजी हाल्थे ।’
उनका अनुसार तत्कालीन अवस्थामा जस्ता कुराहरु उनले गर्थे, त्यो राम्रो गरिएकाले गरेका हुन् कि कामको बहानामा शोषण गर्न खोजेको भन्ने कुरा भने बुझ्न सकिन्नथ्यो ।

‘बुधबारेमा फ्लप, मंगलबारेमा हिट’ नामक प्रोजेक्टको रिहर्सल र अन्य कामले गर्दा बिहानदेखि बेलुकासम्म व्यस्त भएकी उनलाई तनाव भइरहेको थियो ।  निर्देशकले उनलाई विशेष अटेन्सन दिइरहे । अन्य कलाकारभन्दा उनलाई निर्देशकले गर्ने फरक व्यवहार सहकलाकारहरुले समेत महसुस गरेपछि थप पीडा हुन थाल्यो ।

‘रिहर्सल सकिएर घर पुग्दा निर्देशकले अनेक म्यासेज पठाउँथे,’ उनले खुलाइन्, ‘मैले बेवास्ता गरे पनि अनावश्यक निकट हुन खोज्ने उनको व्यवहारले मलाई मानसिक तनाव दिइरह्यो ।’

व्यावसायिक रुपमा काम गरिरहेकी उनका अधिकांश कुरा निर्देशकले  व्यक्तिगत रुपमा लिएको उनको अनुभव छ । 

‘दुई जना बिहान ब्रेकफास्ट खाने गरेर गोदावरी जाउँ र त्यहीँ बसेर काम निकालौँ भन्थे,’ उनले भनिन्, ‘मैले तिम्रोबाट काम निकाल्न बाँकी छ भन्थे । यो सुन्दा मलाई असहज हुन्थ्यो । छुन खोजिहाल्ने उनको स्वभाव थियो ।’

उनका अनुसार दुई जना मात्र भएर रिहर्सल गर्दाको दौरान बडी रिल्याक्सेसनको अभ्यासको बहानामा एकअर्कालाई मसाज दिने कुरा गर्थे । उनले हुन्न भन्ने आँटै गर्न सकिनन् ।

‘उनले मेरो हात र खुट्टामा मसाज गर्थे,’ दाहालले भनिन्, ‘मैले भने रिल्याक्सेसनको कुरा टार्दै गएँ । साह्रै असहज भएपछि नाटक मञ्चनमा जानुअघि निर्देशकलाई बानी ठीक लागेन है भनिदिएँ ।’

करिब दुई महिनाको अवधिमा उनले धेरै समस्या भोगिन् तर उनले अन्य कलाकारहरुलाई आफूले भोगेका तीतो कुरा भन्ने आँट गरिन् । 

‘अब त म पुडासैनीले निर्देशन गरेको नाटकमा काम गर्र्नै सक्दिनँ,’ उनले कुराकानीको बिट मारिन् ।
आरोपबारे पुडासैनीसँग जिज्ञासा राख्दा उनले भने, ‘ममाथि लगाइएको आरोपमा कुनै सत्यता  छैन । खुट्टा तान्ने महिला कलाकारहरुले ममाथि राजनीति गरिरहेका छन् ।’

अनुसँगको सम्बन्धबारे उनको दाबी थियो, ‘म अनुलाई एकदमै माया गर्छु, अहिले पनि गर्छु, भोलि पनि गर्छु र जिन्दगीभरि गर्छु ।’

सुनील र राजनमाथि लाग्यो आरोप
खोजीका क्रममा शुक्रवारले भेटेकामध्ये अधिकांश महिला कलाकार उनै राजकुमारको यौन हिंसामा परेको देखियो । भर्खरै थिएटरमा प्रवेश गरेका कलाकार हुन् या पुराना, पुडासैनीसँग उनीहरुको सम्बन्ध तीतो नै रहेछ ।

अर्की महिला कलाकार पनि भेटिइन्, जो राजकुमारबाट प्रताडित थिइन् । तर उनले आफ्नो नाम उल्लेख नगर्न आग्रह गरिन् । उनका अनुसार, करिब ६ वर्षअघि थिएटर भिलेजको वर्कसपमा सहभागी हुँदा पुडासैनी प्रशिक्षण दिन आएका थिए । 

‘नाटक करियरको लागि वर्कसपमा गएर प्रशिक्षकले सिकाएका कुराहरु जतिसक्दो सिक्न रुचि हुन्थ्यो,’ उनले ती क्षण सम्झँदै भनिन्, ‘उनका लागि त त्यो मौका छोप्ने अवसर पो भएछ ! उनले मेरो शरीरका विभिन्न अंगमा छुँदा मलाई असहज महसुस भयो । रातोपीरो भएँ ।’ 

ती महिला कलाकार केही दिन प्रशिक्षणमा पनि गइन् । पछि अन्य महिला कलाकारहरुसँग कुरा हुँदा राजकुमारबारे उनीहरुको अनुभव पनि उस्तै रहेछ । त्यसपछि उनलाई थिएटरप्रति नै वितृष्णा भयो र छाडिन् । 

करिब पाँच वर्षअघि मण्डला थिएटरको संयोजनमा सुनील पोखरेलले तीन महिने अभिनय प्रशिक्षण दिए । उनी त्यही प्रशिक्षणमा सहभागी भइन् । 

वर्कसपलगत्तै मञ्चन भएको ‘एक’ शीर्षकको नाटकबाट अभिनय यात्रा सुरु गरेकी उनको सुरुवाती अनुभव भने तीतो रह्यो । 

करिअरको सुरुवाती दिनमा सुनील पोखरेल लगायतका अग्रजहरुबाट प्रशिक्षण लिने र काम गर्ने अवसर पाइन् । 

वर्कसपको दौरान पुडासैनी योग कक्षामा सहभागी हुँदाको क्षण सम्झँदा उनका आँखा अहिले पनि रसाउँछन् । प्रशिक्षणको दौरान नराम्रो अनुभव सँगालेका उनीसहित अन्य महिला कलाकारसँग समेत शुक्रवारकर्मीको भेट भयो । उनीहरुको कुरा सुन्दा राजकुमारका लागि बिना स्वीकृति कसैको शरीरमा छुनु सामान्य नै थियो । 

‘त्यो तीतो अनुभव मैले आजसम्म भुल्न सकेकी छैन,’ उनी भन्छिन्, ‘त्यो बेला मलाई मात्र असहज भएको हो कि जस्तो लागेको थियो । केही दिनको प्रशिक्षणपछि उनको नराम्रो पाराको छुवाईबाट बच्न मिलेसम्म चिया खान निस्किन्थे ।’

रङ्गमञ्चको रङ्गीन पर्दाको आवरणमा गलत काम गर्ने केही व्यक्तिको खोजीको क्रममा भेटिएकी एक अभिनेत्रीबाट नेपाली रङ्गमञ्चका गडफादरका रुपमा परिचित सुनील पोखरेलका गलत कामबारे समेत खुल्यो ।

उनी प्रारम्भमा शुक्रवारसँग नाम छाप्ने सर्तमा कुराकानी गर्न राजी भएकी थिइन् तर पछि उनी डराइन् । पोखरेल जत्तिको हस्तीको खराब चरित्र सार्वजनिक गर्न ठूलै हिम्मत चाहिन्छ नै ! 

शुक्रवारले भेटेका रङमञ्चकी ती कलाकारका अनुसार, पोखरेल प्राय उनको हात सुम्सुम्याउँथे, त्यो उनलाई मन पर्दैनथ्यो । वर्कसप  रिहर्सलको समयमा पोखरेल मदिरापान गरेरै आइदिन्थे । 

‘ड्रिङ्क्स गरेको बहानामा होस भए पनि पोखरेल सरको व्यवहारले असहज महसुस भइरहेको हुन्थ्यो तर भन्न सक्दिनथेँ,’ उनले भनिन् ।

यसबीच अर्की कलाकार पनि भेटिइन्, जसले पोखरेलको असहज व्यवहार भोगेकी थिइन् । उनी नाम खुलाउन भने तयार भइनन् । 

‘शिल्पी थिएटरमा नाटक मञ्चनपछि नाटक हेर्न आउने दर्शकहरुसँग प्रतिक्रिया लिने अवधिमा गुरु सुनील पोखरेलले मलाई सार्वजनिक रुपमा नै ओठमा किस गरे,’ उनले त्यो तीतो क्षण खुलाउँदै शुक्रवारसँग भनिन्, ‘मलाई छोरी मान्ने उनले यस्तो हर्कत गर्छन् भन्ने कल्पनासमेत गरेको थिइनँ । अब, मैले उनलाई कसरी गुरु भनेर सम्मान गर्न सक्छु ?’

अन्य केही कलाकारले मदिरा पिएर सँगै बस्न खोज्ने, काखमा सुत्ने गरेको अनुभव बाँडेका थिए सुनीलबारे ।
उनीबारे लागेको आरोपबारे निर्देशक सुनील पोखरेलेसँग जिज्ञासा राख्दा उनले प्रारम्भमा आश्चर्य भाव देखाए ।
‘लामो समय नेपाली थिएटरमा काम गर्दा अधिकांश कलाकारहरुसँग काम गर्ने अवसर मिल्यो,’ पोखरेलले भने, ‘कोही महिला कलाकारहरुलाई मैले नराम्रो नियत राखेर दुव्र्यवहार गरेको भने छैन ।’ उनले थिएटरमा आबद्ध महिला कलाकार हुन् या प्रशिक्षण दिने विद्याथीहरु, कसैसँग पनि नराम्रो नियत नराखेको दाबी गर्दै भने, ‘आजसम्म मलाई यस विषयमा गुनासो पनि आएका छैनन् ।’ 

उनले मदिरा पिएको अवस्थामा धेरैसँग अनावश्यक कुरा गरेर हैरान  पार्ने गरेको भने स्वीकार गरे । 
‘नेपाली थिएटरमा काम गर्ने महिला कलाकारहरुले दुव्र्यवहार भोग्दै भोगेनन् भनेर म भन्न सक्दिनँ,’ उनले भने, ‘यसमा व्यक्तिगत रुपमा कलाकारहरुले कतिखेर शोषण भएको महसुस गरे भन्ने कुरा मुख्य हो ।’
लामो समय मण्डला थिएटरमा काम गरेकी एक महिला कलाकारले सुरुवाती दिनमा नाटक निर्देशक राजन खतिवडाबाट भोग्नु परेको शोषणबारे बोलिन् । 

‘सुरुमा मण्डलामा नयाँ थिएँ,’ उनले खुलाउँदै भनिन्, ‘त्यस्तो नराम्रो हुन्छ भन्ने कल्पना पनि गरेकी थिइनँ । मलाई घर पुर्याउने बहानामा उनले सुनसान बाटोमा एक्लै पारेर किस गरे । म रातोपीरो भएर विरोध गर्नै सकिनँ ।’

उनका अनुसार, त्यही घटनापछि राजनसँग निकट भएर काम गर्न एकदम गाह्रो भयो । ‘तर, बाध्यता काम दिने उनी नै हुन्थे,’ उनले भनिन् ।

राजनमाथि लागेको आरोपबारे उनीसँग बुझ्न सम्पर्क गर्ने प्रयास सफल भएन । उनी विदेशमा रहेकाले फेसबुक म्यासेन्जरमा सम्पर्क गर्ने प्रयास समेत सफल भएन । 

शिल्पी थिएटरको सुरुवाती दिनमा आबद्ध दुर्गा विश्वकर्माका  अुनसार नेपाली रंगाञ्चमा महिला कलाकार स्वतन्त्र रुपमा काम गर्न सक्ने अवस्था छैन । 

‘नाटकको दौरान प्रायः विभिन्न थिएटरका अग्रज कलाकारसँग काम गर्ने अवसर पाएँ,’ उनले भनिन्, ‘कोही महिला कलाकार पुरुषसँग काम गरिरहेको बेला दुई जनाको नाम जोडेर आँखा लगाउने प्रवृत्ति अधिकांश पुरुष कलाकारमा देखेँ ।’

रङ्गमञ्चमा महिलालाई कठिन
यी त भए नयाँ कलाकारको तीतो अनुभव तर पुराना कलाकारको अनुभव पनि यो भन्दा भिन्न भने छैन । उनीहरुले नाम खुलाउन चाहेनन् तर नाट्य क्षेत्रको वरिष्ठ कलाकार सरिता गिरीले आफ्नो समयको केही तीतो अनुभव भने बाँडिन् ।

उनी त्यो बेलामा आरोहण गुरुकुलमा काम गर्थिन् । उनले जब भित्री कपडाहरु सुकाउँथिन्, लिन जाँदा कहिले हराइरहेका हुन्थे भने कतिपय अवस्थामा ती वस्त्र काटिएको अवस्थामा फेला पथ्र्यो ।

‘भित्री कपडाहरु धोएर सुकाएकी हुन्थेँ,’ उनले भनिन्, ‘पछि लिन जाँदा कि ती हुँदैन थिए, भेटिए पनि काटिएको अवस्थामा फेला पथ्र्यो । अहिले महसुस हुँदैछ, त्यो पनि शोषणको एउटा पाटो रहेछ ।’
नेपाली रङ्गमञ्चमा अहिले नयाँ महिला कलाकार बढेको उनको अनुभव छ । उनको अनुभवले भन्छ, पुरुष कलाकारको तुलनामा महिला कलाकारलाई अहिले पनि काम गर्न उत्तिकै कठिन छ ।


‘सहकर्मीको स्वीकृतिबिना सेक्स र किस गर्दिनँ’
राजकुमार पुडासैनी
ममाथि लगाएको आरोपमा कुनै सत्यता छैन । मलाई खुट्टा तान्ने महिला कलाकारहरुले ममाथि राजनीति गरिरहेका छन् । आजसम्म कोही पनि महिला कलाकारहरुलाई शोषण र जबर्जस्ती गरेको छैन । म कलाकार भएकाले मलाई दिइएको भूमिकामा आधारित रहेर अभिनय गर्छु । सहकर्मीको स्वीकृतिबिना पिट्ने, सेक्स र किस गर्दिनँ । 

नेपाली थिएटरमा महिला र पुरुष दुवैलाई टिक्न गाह्रो छ । नाचघरमा अभिनय सिक्दा भेटिएका केही महिला कलाकारहरु कर्कलाको पानीजस्तो केटीको जिन्दगी भन्ने सोचबाट ग्रसित भएर थिएटर छाडेर पलायन भए । अहिले नाटकको दौरान काम गर्दा एकअर्कासँग सहज महसुस हुन्छ । नाटकको अभ्यासको दौरान महिला–पुरुष हात समातेर ध्यान गर्छाैं । यसले एकअर्कालाई सहज महसुस गराउँछ ।

फिजिकल थिएटरमा काम गर्दा केही क्रियाकलापहरु सेक्ससँग सम्बन्धित हुन्छन् । नयाँ कलाकारहरुरुलाई यसप्रति सहज बनाउन हामीले न्युड फोटोहरु देखाउनु पर्ने हुन्छ । यसले उनीहरुलाई आफ्नो भूमिकाबारे बुझ्न सजिलो हुन्छ ।

नाटकको प्रशिक्षणको अवधिमा गरिने क्रियाकलापलाई आधार रहेर एकअर्कालाई छुनुपर्ने स्थिति हुन्छ । कलाकारहरुले सम्बन्धित नााटकको भूमिकामा आधारित रहेर अभिनयको भाव प्रस्तुत गर्नुपर्ने हुन्छ । कसैलाई मैले माया गर्ने अधिकार छ । म पनि मान्छे भएकाले मेरा ज्ञानेन्द्रियहरु छन् । मैले कसैलाई शोषण र जबर्जस्ती गर्ने अधिकार भने छैन । 

कोही कलाकारले मबाट नराम्रो अनुभव बटुले भन्दैमा म नै मर्नु होइन । मभित्र मुटु भएकाले कुनै मान्छेको केही कुराहरु मन पराउँछु । त्यो शोषण र लभ अफेयर होइन ।

नेपाली रङ्गमञ्चमा पछिल्लो समय आएका कलाकारहरुमध्ये अनु दाहाल बुझ्झकी र उत्कृष्ट अभिनेत्री भएको अनुभव मेरो छ । उनका सहकर्मीहरुले नयाँ कलाकारलाई नाटकको मुख्य भूमिकामा प्रस्तुति गर्दा नाटक बिग्रने भनेपछि अनुलाई नाटक खेलाएको हो । मैले निर्देशन गरेको नाटक अनुको लागि थिएन । उनीसँग एक्लै धेरै समय बिताएपछि बुझ्झकी अभिनेत्रीको रुपमा पाएको थिएँ । 

निर्देशकले भनेको अनुसार अभिनय गर्ने हुँदा रिहर्सलका लागि अरु कलाकारभन्दा दुई घण्टाअघि नै बोलाएर अभिनय सिकाउँथेँ । अनुलाई एकदमै माया गर्छु, अहिले पनि गर्छु, भोलि पनि गर्छु र जिन्दगीभरि गर्छु । ऊ मेरो मिल्ने साथी हो । तर, मेरो सेक्सुअल इन्टेन्सन भने होइन । मैले शोषण गरेको छैन । मैले माया गरेको छु । तर, कसैको लागि त्यही कुरा शोषण हुन्छ भने हुन्छ ।

Leave A Comment