मीटू मुभमेन्टमा गायिका एन्जिलाको अनुभव ः' नबोलेर पो हेपिएका रहेछौँ'

बुधबार, ०४ बैशाख २०७६, ०५ : ०२ अनिल यादव
मीटू मुभमेन्टमा गायिका एन्जिलाको अनुभव ः' नबोलेर पो हेपिएका रहेछौँ'

‘त्यो अनुभव सुनाएपछि कुनै पनि संगीतकार खराब नियतले प्रस्तुत हुने हिम्मत गर्दैनन्, पोल खोल्दिएला कि भनेर डराउने गरेका छन् । यहाँ त हामी नबोलेर पो हेपिएका रहेछौँ, बोलेपछि सबै ठेगानमा आउने रहेछन् !’

२०७४ को अन्त्यतिर सांगितिक क्षेत्रको यौन दुब्र्यवहारको पोल खोलेकी गायिका एन्जिला रेग्मीको अहिलेको अनुभव हो यो । 

चैतको अंकमा रेग्मी सहित मीना सिंह, सुशीला पाठक, सरु गौतम र प्रविशा अधिकारीले शुक्रवारमार्फत नेपाली संगीत जगत्मा गायिकामाथि संगीतकारबाट हुने दुव्र्यवहारको फेहरिस्त सार्वजनिक गरेका थिए । 
उनीहरुले आफुमाथी भएको यौन दुब्र्यबहारको घटना घटनाक्रम सहित खुलाए पनि सम्बन्धित ब्यक्तिको नाम खुलाएका थिएनन् । दुब्र्यबहारको घटनाक्रम निक्कै डरलाग्दो थियो । बाहिरबाट हेर्दा नेपाली संगीत जगत् जति सुरिलो भए पनि भित्रबाट कति रुखो रहेछ, उनीहरुको डरलाग्दो भोगाइले छर्लङ्गै भयो ।

खबर बाहिरिएपछि संगीत जगत्मा ठूलै तरंग आयो । सामाजिक सञ्जालमा शुक्रवारको कभर स्टोरीले बहस सिर्जना गर्यो । कतिपयले संगीतकारको नाम नलिएको निहुँमा उल्टै गायिकालाई गाली गरे तर धेरैजसोले गायिकाहरुको साहसलाई सलाम ठोके ।

कलाको आवरणमा मौलाएका यौन पिपासुको जालो सार्वजनिकहुँदा अन्यत्र झै नेपालमा पनि कलाकारले संगठित रुपमा आवाज उठाउन सक्थे । केहीले प्रतिकृया जनाए पनि अधिकांश मौन बसिदिए, केही नभएझै ।

संगीतकारहरुको संगठन गम्भीर हुनुको साटो उल्टो गायीकामाथि खनियो । संगीतकारहरु गायिकालाई बहिष्कार गर्नतिर लागे । दुव्र्यवहारविरुद्ध बोलेपछि उनीहरुलाई मानसिक रुपमा कमजोर बनाउन संगीतकारहरुको गुटै  सक्रिय देखियो । 

खरावहरुको गठजोडले केही समय प्रभाव देखाए पनि त्यसको प्रभाव लामो समय रहेन । जे–जस्तो धम्की आए पनि त्यो घटनापछि पाँच गायिकाहरु संगीत क्षेत्रबाट हराएनन्, बरु झन् सक्रिय रुपमा देखा परिरहेका छन् । एन्जिलाका थुप्रै गीतले युट्युबमा करोड भ्युज पाइरहेका छन् । 

ब्लकबस्टर हिट फिल्म ‘६क्कापन्जा ३’मा समेत उनले गाउने अवसर पाइसकिन् ।  प्रविशा पनि पाश्र्व गायनमा निकै सक्रिय देखिन्छिन् । सरु गौतम, सुशीला पाठकका गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् । 
.........................
सन् २००६ मा हलिउडबाट शुरु भएको मीटू मुभमेन्ट नेपाल भित्रिन झण्डै १२ वर्ष लाग्यो । अमेरिकी अभियन्ता टुराना बर्कले आफूले भोगेको यौनजन्य दुव्र्यवहारबारे खुलेर बोल्न नसक्नेहरुका निमित्त यो अभियान २०१८ मा नेपाल छिर्यो । यत्रो वर्षपछि अभियान त छिर्र्यो तर प्रभाव जमाउन सकेन ।

अमेरिकामै यो अभियानले गति लिन सन् २०१७ कुर्नुपर्यो, त्यो पनि हलिउड अभिनेत्री एलिसा मिलानोले आफ्नो मीटू अनुभव सार्वजनिक रुपमा अभिव्यक्त गरेपछि । 

उनले जसै आफ्नो ट्वीटरमा, ‘तपाईँहरू कुनै पनि किसिमको यौनजन्य दुव्र्यवहारमा पर्नुभएको छ भने ‘मीटू’ लेखेर आफ्नो अनुभवलाई रिप्लाई गर्नुस्’ भनेर आह्वान गरिन्, त्यसपछि संसारभर यो अभियानले चर्चा पायो । 

त्यसपछि अमेरिकाको राजनीतिक, शैक्षिकदेखि व्यापारिक जगत्सम्म यो अभियान डढेलोसरी फैलियो । कतिसम्म भने हार्भे वाइन्स्टिनजस्ता कहलिएका हलिउड फिल्म निर्माताले आफु कंगाल भएको घोषणै गर्नुपर्र्यो । 

भारतीय फिल्म नगरी बलिउडमा फाट्टफुट्ट घटना आए पनि प्रभाव देखिएको थिएन । सन् २०१८ मा अभिनेत्री तनुश्री दत्तले जव मुख खोलिन् हंगामा भयो । उनले चर्चित अभिनेता नाना पाटेकरले यौन दुव्र्यवहार गरेको रहस्योद्घाटन गरेकी थिइन् । त्यो डढेलो बढ्दा बलिउडका धेरै हस्तीको ‘स्वच्छ छवी’ धमिलो भयो । अनु मलिकले इन्डियन आइडलको निर्णायकको भुमिका छाड्न बाध्य भए ।

नेपालमा फाट्टफुट्ट यसबारे चर्चा हुने गरे पनि दमदार रुपमा शुक्रवारले यो विषयको उठान गरेको थियो । शुक्रवारले विषयको उठान मात्र गरेन २०७५ भर ‘मीटू’ मुभमेन्ट पछ्याइरह्यो ।

स्टेज सो दिलाइदिने प्रलोभनमा हुने शोषणमाथि अर्को एउटा कभरस्टोरी प्रकाशित भयो । स्टेज कार्यक्रममा बोलाउने बहानामा आयोजकले कलाकारलाई के–कसरी दुव्र्यवहार गरिरहेका छन् ? त्यसको नालीबेली खोतलिएको थियो त्यसमा । 

मोडल प्रमिला न्यौपानेको अनुभव निक्कै तितो थियो । उनलाई मलेसियाको कार्यक्रममा लगेबापत सेक्स प्रस्ताव राखिएको खुलासा गरेकी थिइन् । त्यस्तै, अमेरिकाको क्यालिफोर्नियामा रहेकी गायिका निक्की कार्कीले आयोजक मध्येका एक सदस्यबाट दुव्र्यवहारमा परेको घटना डरलाग्दो थियो । 

रिपोर्टिङका क्रममा थाहा भयो, स्टेज सोको बहानामा हुने दुव्र्यवहार र शोषणबारे कलाकार खुलेर बोल्न डराउँछन् । कारण– स्टेज कार्यक्रम नपाइने डर । आयोजकहरुले ठाडै प्रस्ताव राख्ने, जबरजस्ती गर्न खोज्नेलाई झेल्दा पनि मिडियामा यी कुरा सार्वजनिक गर्दा अर्कोपल्टदेखि कार्यक्रममा नबोलाउने डरका कारण यस्ता शोषण भित्रभित्रै लुक्ने गरेको देखियो । 

शुक्रवारले ‘मीटू’ एजेन्डा स्टोरीमार्फत् मात्रै सम्बोधन गरेन, अन्तरंग कुराकानीमा उठाइरह्यो । प्रायः अन्तरंग कुराकानीका पात्रसँग उनीहरुको दुव्र्यवहार भोगाइबारे सोध्दा कतिपय नउधिनिएका कुरा छर्लङ्ग भए । 

रंगकर्मी आकांक्षा कार्कीले रगमञ्चमा यौन शोषणको डरलाग्दो अवस्था  दर्शाएकी थिइन् । अभिनेत्री लक्ष्मी बर्देवाले शुक्रवारसँग पाँच वर्षअघिको  तीतो अनुभव सुनाइन् । जुन घटनाका पात्र थिए नेपाली फिल्मका चल्तीका एक निर्देशक जसले अडिसनको बहानामा होटलमा बोलाएर ठाडै यौन प्रस्ताव राखेका थिए ।

राजनीतिमा ‘मीटू’ 

शुक्रवार मात्र्र हैन अन्य सञ्चारमाध्यमले पनि विस्तारै मिटु अभियानबारे समाचार सम्प्रेशण शुरु गरे । प्रदेश नम्बर ३ का तत्कालीन मन्त्री केशवकुमार स्थापित मेयरहुँदाको घटना खुलाइन पत्रकार रश्मिला प्रजापतिले । 

उनले काठमाडौं महानगरपालिकाका पूर्व मेयरले आफूमाथि यौन दुव्र्यवहार गरेको रहस्य खोलिन्  । उनले मेयरको प्रस्ताव अस्वीकार गर्दा आफूले जागिरसमेत गुमाउनु परेको तीतो अनुभव मात्रै सार्वजनिक गरिनन्, अरु थुप्रै महिलाले उनीबाट प्रताडित हुनुपरेको दाबीसमेत गरेकी थिइन् । 

३४ वर्षदेखि प्राध्यापनमा संलग्न डा. कृष्णबहादुर भट्टचनमाथि विश्वविद्यालयमा अध्ययनरत तीन युवतीले यौन शोषण गरेको आरोप लगाए । 

तर न्युन प्रभाव
मिटु अभियानले हलिउडमा असली अनुहार सार्वजनिक गरिदिँदा धेरैको धन्दा चौपट भयो । भारतमा पनि दुव्र्यवहारको आरोप खेपेका अभिनेता नाना पाटेकरदेखि फिल्म निर्देशक राजकुमार हिरानीसम्मले अनुबन्धित भइसकेको फिल्मबाट निकालिनुपर्यो । अनु मलिकले इन्डियन आइडलको निर्णायकको भुमिका छाड्नपर्र्यो ।

तर नेपालमा जो जो माथि आरोप लागे तीनिहरुमाथि नैतिक प्रश्न उठ्ने बाहेकको कारवाही प्रकृया अगाडि बढ्न सकेन । स्थापित मन्त्रीबाट बर्खास्त भए तर मुल कारण १५ वर्ष अगाडिको यौन दुब्र्यबहारको घटना सार्वजनिक हुनुभन्दा पनि मुख्यमन्त्रीसँग गालीगलौचमा उत्रिनु थियो । प्राध्यापक भट्टचनबारे त्रिभुवन विश्वविद्यालय मौन बस्यो ।

ब्यक्ति नतोके पनि कला क्षेत्रमा भइरहेको यस्ता काला कामबारे पोल खुले पनि त्यो प्रयासले संगठित आकारै लिन सकेन । आफ्नो करिअरनै दाउमा राखेर पोल खोल्नेको पक्षमा सम्बन्धित पेशाकर्मी र नागरिक समाज उभिनुपर्नेमा उल्टो औला ठड्याउने काम भयो । जसले यस्तो अपराधमा पिडितहुँदा पनि बोल्न नसकेकाहरुको साहस बढ्नुको साटो उल्टो कुकर्ममा लिप्तहरु नै बलिया देखिए । 

यद्यपि मीटू अभियान जागरणको एउटा यस्तो तहमा पुगेको छ, जसले मनोरञ्जन, प्राज्ञिक र राजनीतिक क्षेत्रमा समेत हलचल मच्चाउन सफल भने भएको छ । 

जो जसले यौन दुब्र्यबहारबारे जे जतिले बोल्ने हिम्मत गरे ती सबैको साहस सलाम योग्य छ । पोल खोल्नेमध्ये केहीले यस्तो नीच काममा सक्रियहरुको नाम शुक्रवारसँग खोलेका पनि छन् जोबारे शुक्रवार निरन्तर निगरानीमा छ ।

‘मीटु सामाजिक हिसाबले प्रभावकारी’
डा. मीना उप्रेती,समाजशास्त्री

नेपालमा यौन दुव्र्यवहारविरुद्धको मीटू मुभमेन्ट कार्बाहीका हिसाबले प्रभावकारी नदेखिए पनि सामाजिक हिसाबले प्रभावकारी बन्यो । यो गम्भीर मुद्दा रहेछ भन्ने चेतना जनमानसमा परेको छ । जो–कसैलाई अब बोल्दा कसरी, के बोल्ने, के गर्ने–के नगर्नेमा सचेत र सजग गराएको छ । 
जुनसुकै क्षेत्रमा यसको चर्चा छ । हरेक व्यक्तिलाई यसले झस्काइदिएको छ । महिलालाई पनि यो बोल्नुपर्ने विषय रहेछ भन्ने आत्मविश्वास बढेको छ । पुरुषमा पनि मैले केही बिगारेछु भने पोल खोल्दिन्छन् भन्ने भय बढेको छ ।

यौन दुव्र्यवहारबाट प्रताडितको आवाजलाई मिडियाले पनि प्रभावकारी रुपमा उठाएको छ । कतै त सामाजिक कारबाहीसम्म भएका छन् । कानुनी कार्बाही भने कतै देखिएन । हुन त, यस्ता इस्युमा कानुनीभन्दा सामाजिक कार्बाही र बहिष्कार नै बलियो हुन्छ । 

कतिपयको धारणा छ, आरोप लगाइएकामाथि कार्बाही किन भएन ? यसमा भरपर्दो प्रमाणको अभाव नै हो । यस्ता विषयमा कानुनले  बलियो प्रमाण भेट्न मुस्किल हुन्छ । कोही आफू दुव्र्यवहारमा पर्छु भनेर हिँडिरहेको हुँदैन । बाटोमा कसैले अचानक दुव्र्यवहार गर्छ भने त्यसको प्रमाण कसरी जुटाउने ? यसको जटिल पाटो नै यही हो ।

उदाहरणका लागि प्रा.डा. कृष्णबहादुर भट्टचनको केसलाई हेर्न सकिन्छ । तीन विद्यार्थीले उनीमाथि दुव्र्यवहारको आरोप लगाए । एकातिर पीडित र पीडितका समर्थकको कुरा आयो, अर्कोतिर भट्टचनका समर्थक । हो र होइन बीच बहस चल्यो । हो भने कारबाही हुनप¥यो, होइन भने सफाई हुनुपथ्र्यो तर केही निष्कर्ष ननिस्की कुरा सेलायो । यस्ता मुद्दालाई हो भने कार्बाही र होइन भने सफाईका लागि सम्बन्धित संस्थाहरुले भूमिका खेल्नु पथ्र्यो ।

मिडियाले पनि मुद्दा उठाउने र निष्कर्षमा नआई छाड्नु हुँदैन । फेरि रेप र दुव्र्यवहारको केसमा सत्ता र शक्तिमा रहेकाहरुले सकभर कार्बाही नगर्न नै खोज्छन् किनभने हाम्रो सत्ता र शक्ति पुरुषकै हातमा छ । उनीहरुलाई पछि आफू पनि पर्ने डर हुँदोरहेछ । कार्बाही गर्दा पछि  ‘आफ्नै खुट्टोमा बञ्चरो’ पर्ने डरले पनि मौन बस्दारहेछन् । अर्कोतर्फ, हामीमा नैतिकता र विवेकको खडेरी पनि छ । त्यसैले हामीकहाँ नैतिक कार्बाहीको अपेक्षा बेकार हो ।

यसको अर्को पाटो पनि छ । मन मिलुञ्जेल राम्रो अनि सम्बन्धमा दरार आएपछि ‘मीटू’ भन्ने परिपाटी पनि छ । यसबाट सचेत हुनुपर्ने अवस्था छ । त्यसैले मीटूको विषय उठाउँदा स–सानो तहबाट विश्लेषण आवश्यक देखिन्छ ।

हामीकहाँ पीडितले आवाज उठाउँदा पीडकको नाम खोल्न चाहेनन् । कतिले पीडा भए पनि साट्न चाहेनन् । कारण, पोल खोल्दा बहिष्कारमा परिने डर । बोल्नासाथ उल्टै नानाथरी आरोप खेप्नुपर्छ । सहानुभूति दिने र समर्थन गर्ने कमै भेटिन्छन् । जसको परिवार बुझ्ने छ, यस्ता विषयलाई सहज रुपमा लिन्छ, तिनीहरुले नडराई बोल्न सक्छन् । त्यसैले मीटू अभियानलाई सफल पार्न पारिवारिक समर्थन पनि अनिवार्य छ । 

Leave A Comment