पछिल्लो समयका भाइरल -यापर हुन्, मिस्टर डी. । वास्तविक नाम भने सन्दिप विष्ट हो । युवाहरुले मात्रै होइन, बुढाहरुले पनि -याप सुन्नुपर्छ भन्ने पक्षमा छन् उनी । त्यसैले उनले गाउने गीतका शब्दहरु भद्दा सुनिँदैनन् । नेपालीहरुको विदेशिने बाध्यतालाई विषय बनाएर उनले गाएको पछिल्लो ‘खाडी’ बोलको गीत युट्युब ट्रेन्डिङमा अझै छाइरहेको छ । यसअघि ‘शनिवार’, ‘गोबलल्याठ्’, ‘बन्दै छ नेपाल’ पनि भाइरल भएका थिए । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :
तपाईंको पछिल्लो गीत ‘खाडी’ बाटै सुरु गरौँ । युट्युबको ट्रेन्डिङमा छायो । मन त फुरुङ्ग होला, हैन ?
युट्युबको ट्रेन्डिङमा आउनु, भाइरल हुनु त खासै ठूलो कुरा लाग्दैन तर गीतले कसैको जीवनमा गहिरो प्रभाव पारेको सुन्न पाइयो भने खुसी लाग्छ । अहिले ‘खाडी’ गीत सुनेर विदेशमा रहनु भएका एक–दुईजना दाइहरुले ‘अब नेपाल फर्किन्छु’ भनेर म्यासेज पठाइरहनुभएको छ । गीतकै कारण कसैको सोच परिवर्तन हुन्छ भने त्यो पो ठूलो कुरा हो त, हैन ?
भनेपछि तपार्इंको गीत सुनेर स्वदेश फर्किन्छु भन्नेहरु धेरै भए ?
हजुर । तपार्इंको गीत सुनेर म रोएँ, अब आफ्नै देश फर्किन चाहन्छु । यो पालिको छुट्टीमा घर आउँदा फेरि विदेश जाँदिनँ भन्ने जस्ता कमेन्ट आइरहेका छन् ।
गीतको उद्देश्य नै विदेश पुगेका नेपालीलाई घर फर्काउने हो र ?
त्यस्तो त होइन । सबै आ–आफ्नो बाध्यताले नै विदेश पुग्ने हो । तर यत्ति हो, मेरो गीतले गर्दा कसैको सोच परिवर्तन हुन्छ र उसले आफ्नै देश फर्केर केही गर्छु भन्छ भने त्यो मेरो लागि उपलब्धि हो । अनि हामी यहाँ बस्नेहरुको अर्को ठूलो समस्या के छ भने हामी हाम्रो विदेश पुगेका साथीभाइहरुले छुट्टीको दिन खिचेको रमाइलो गरेको फोटो हेरेर उनीहरुको जिन्दगी भव्य र सुखी तरिकाले कटिरहेको होला भन्ने अड्कल काट्छौं । त्यही सोचका कारण हामी उनीहरुलाई पैसा पठाइदे, घडी पठाइदे, मोबाइल पठाइदे, यो पठाइदे, त्यो पठाइदे भन्दै माग्नुसम्म माग्छौँ । तर, उनीहरुको जिन्दगी त्यहाँ कम्ती दुःखले चलिरहेको हुँदैन । यही कुरालाई मैले -यापमार्फत् उठाउन खोजेको छु । म चाहन्छु, विदेशमा पसिना बगाइरहेका कसैलाई पनि नेपालबाट कसैले यसरी नचिढ्याओस् ।
यो गीत कसरी फुरेको हो ?
एकजना हुनुहुन्थ्यो म काम गर्ने कम्पनीमा । उहाँकै कहानी सुनेर फुरेको गीत हो ।
भनेपछि तपार्इं पनि विदेश पुगेर फर्किनुभएको हो ?
विदेश त गएको होइन तर कतार जानलाई भनेर अर्जेन्ट पासपोर्ट बनाएको केटो भने हो । दुई वर्षअगाडि त्यही पार्सपोर्ट बनाउन झोला बोकेर काठमाडौं आएको थिएँ ।
किन जानुभएन त ?
भाग्यमै -याप हान्न लेखेको रैछ, त्यही भएर होला ।
केले रोक्यो विदेश जान ?
संसारमा सबैभन्दा ठूलो कुरा पैसै त रैछ । त्यही पैसाले नै रोकेको हो । मसँग म्यानपावरलाई तिर्न पैसा थिएन । अरुले जसरी जति भने त्यही तिर्न सक्दिनँ किनभने म साधारण परिवारबाट आएको व्यक्ति हो । कतार एयरवेजको पोटर्स भन्ने कुनै दर्जाको कामका लागि भनिएको थियो । सायद प्लेनको सिसा पुछ्ने, त्यस्तै केही काम थियो । तर भएन के गर्ने ! भाग्यमा त ‘तँ -याप हान्’ भन्या रैछ, अनि कसरी जुर्नु विदेश !
अनि तपाईंले काम गर्नुभएको कम्पनी कहाँको, कुन हो ?
विदेश जान नपाएपछि म हेटौँडा, आफ्नै घरतिर फर्किएँ । स्टिलको कम्पनी जोइन गरेँ । भूकम्प प्रतिरोधात्मक घरहरु बनाउँछ यसले ।
अहिले पनि गर्नुहुन्छ ?
दुई महिनाजति भयो, काम छोडेको । कन्सर्टहरुले गर्दा नियमित अफिस जान भ्याइनँ ।
त्यहाँ के काम गर्नुहुन्थ्यो ?
सानोतिनो लेबर दर्जा । जे आइपर्छ, त्यही गरिन्थ्यो । त्यही कम्पनीमा काम गर्ने एकजना दाजु विदेश पुगेर फर्किनुभएको रहेछ । उहाँले नै सुनाउनुहुन्थ्यो, विदेशमा रहँदाको दुःख । उहाँहरुको कुराले मलाई छोएपछि मैले ¥याप लेखेर गाएको हुँ ।
भनेपछि लाइफमा दुःख एकदमै गरियो, अझै गरिँदै छ ?
मेरो हिसाबमा मैले दुःख गरेजस्तो लाग्छ । तर, अरुको हिसाबले अरुले पनि दुःख गरेकै हुन्छन् । बाटोमा हिँड्ने हरेक मान्छेका आ–आफ्नै दुःख हुन्छन्, आ–आफ्नै संघर्षका कथा हुन्छन् । दुःख नगरी त जिन्दगी चल्दैन नि, हैन र !
अनि, -याप हान्न कसरी थालियो त ?
ममीको जागिर वीरगञ्जमा थियो । सानोतिनो कार्यालय सहायकमा काम गर्नुहुन्थ्यो । उहाँ सरुवा भएर वीरगञ्ज पुगेपछि म पनि उहाँसँगै गएको थिएँ । त्यतिबेला चार–पाँच कक्षातिर पढ्थेँ । एक त, त्यहाँ हामीले बोल्ने भाषा मिल्थेन । अर्को सेतो अनुहार देख्नेबित्तिकै पहाडी भनेर हेप्थे । मेरो कोही पनि साथी थिएन । त्यसैले घरभित्रै बस्थेँ । खेल्ने साधन पनि केही थिएन । त्यसैले कापी झिकेर मनका भावना लेख्नतिर लाग्थेँ । त्यसरी लेख्नतिर लागिएछ । त्यही लेख्दालेख्दै -याप हान्न थालियो ।
-याप सानैदेखि सुनिन्थ्यो ?
अँ, सुन्थेँ । नेप साइडिजका -यापहरु एकदमै सुन्थेँ । तर, मलाई लेखेको कुरा पोख्न सकिन्छ अथवा भावना -यापमा निकाल्न सकिन्छ भनेर सिकाको यम बुद्धका ¥यापले हो ।
एउटा कौतहुलता मेटिहालौँ, तपाईंको नाम अनौठो छ नि, ‘मिस्टर डी’ ?
त्यस्तो अनौठो केही छैन (हाँस्दै)। नेप साइडिजको मास्टर सुब्बा दाइले मेरो नाम राख्दिनुभएको थियो, ‘डिपीबी’ । त्यो भनेको ‘डेड्ली पेन बियरर’ रे ! खतरा कलम होल्ड गर्न सक्ने मान्छेलाई त्यस्तो भन्छ रे ! मेरो अंग्रेजी त्यस्तो खतरा पनि छैन कि त्यस्तो गाह्रागाह्रो शब्द बोल्न सकुँ । पछि मैले ‘डिपीबी’ अलि गाह्रो भयो भनेर छोट्याएर ‘मिस्टर डी’ राखेको हुँ । योभन्दा ठूलो अर्को कारण छैन । बरु म आफैँ खोज्दैछु त्यो डीको अर्थ । कुनै दिन भेटिएला नि ! (हाँस्दै)
अधिकांश -यापरहरु आफ्नो गीतमा अश्लील र भद्दा सुनिने शब्द खुब प्रयोग गर्छन् तर तपाईंका गीत अलि सभ्य सुनिन्छ । किन हो ?
त्यस्तो सभ्य पनि छैन हो । ‘घण्टा’ त भनेको छु (हाँस्दै) ।
तैपनि भल्गर सुनिँदैन, स्वाभाविक लाग्छ नि त ?
भल्गर वर्ड्सहरु बोल्नैपर्छ भन्ने जरुरी पनि छैन । तर, कतिपयले बोल्नैपर्छ भन्ने सोच्नुहुँदोरैछ । मलाई ‘न स्वाग छ, न मुख छाडेको छ, यसलाई कसरी -याप भन्ने’ भनेर पनि कमेन्ट गर्नुहुन्छ । तर, त्यो सही होइन । किनभने -याप भनेको भावना हो । र, भावना पोख्न मुख छाड्नैपर्छ भन्ने जरुरी छैन । सायद मेरो जिन्दगीमा मुख छाड्ने त्यस्तो पार्ट नै नभएर पो हो कि !
भनेपछि रियल लाइफमा त्यति मुख छाडिदैन ?
अचेल मुख नछाड्ने त को नै हुन्छ र ? अलि अलि त छाडिएला तर गीतमै मुख छाड्नुपर्छ भन्ने लाग्दैन । म बूढा मान्छेहरुलाई पनि -याप सुनाउँछु भनेर हिँडिरहेको व्यक्ति अनि मुख छाडँे भने बूढाले त के बच्चाले पनि सुन्दैन । हैन र ?
त्यही त -याप संगीत सबै उमेर समूहका श्रोतामाझ कहिल्यै प्रिय देखिएन । एउटै समूहले मात्र यसलाई रुचाएको पाइन्छ । यस्तो बेलामा तपाईं उमेरले पाकाहरुलाई सुनाउँछु भनेर लाग्नुभएको छ, गज्जब लाग्यो !
कारण, मुख छाडेर नै हो । मुख छाडेर गाएको सुनीसुनी कुन बाउआमाले आफ्नो छोराछोरीलाई त्यसरी मुख छाड् भनेर अनुमति दिन्छ हौँ ? हो, त्यसैले मेरो सोच के हो भने मुख नछाडीकन पनि गरौँ ताकि भोलि -यापर बन्न चाहने नयाँ पुस्तालाई तिनका बाउआमाले नरोकून् ।
तपाईं बेरोगजार संघको अध्यक्ष पनि हो ? (हाँस्दै)
(लामो हाँसोपछि) अँ, गीतमा हो ।
गीतमा भए पनि आफ्नै व्यथा पोखेजस्तो लाग्यो, त्यही भएर सोधेको क्या ?
संघको अध्यक्ष त होइन तर त्यो मेरो आफ्नै भावना हो । जे होस्, बेरोजगारहरुलाई जित्न सक्छु क्या मैले । त्यतिसम्मको बेरोजगार हुँ म (हाँस्दै) ।
यसको अर्थ लामो समय जागिरको चक्करमा भौँतारिनुप-यो ?
हो नि ! भौतारिएको त हो तर काम नपाएको भने होइन । मान्छेसँग सर्टिफिकेटको घमन्ड भयो भने बढी भौँतारिनुपर्छ । आफूसँग पढाइको घमण्ड भएन भने त्यति भौँतारिनु पर्दैन । मान्छेसँग मात्र मिहिनेतको घमन्ड छ भने काम त जहाँ पनि पाइन्छ, त्यति चक्कर लाउनुपर्दैन । आइप-यो भने जस्तो पनि काम गर्न तयार हुनुपर्छ ।
तपाईंले कस्तो–कस्तो काम गर्नुप-यो त ?
काम त धेरै गरियो ।
कस्तो–कस्तो त ?
खुलस्त रुपले भन्नुपर्दा त सिमेन्टी र टाइल लोडिङ–अनलोडिङदेखि होटलको भाँडा माझ्नेसम्म अनेक काम गरियो हौ ! जिन्दगी बाँच्नलाई अनेक गरियो । खासमा आफूसँग बुबा नभएर पनि हो (अचानक भावुक देखिए) ।
के भयो र बुबालाई ?
म सानोछँदै अर्को बिहे गरेर जानुभयो । उहाँले छाडेर गएपछि ममी र म मात्रै भयौँ घरमा । घरको एक्लो छोरो भएपछि काम त गर्नुप-यो, जसोतसो जीवन त चलाउनुप¥यो !
कति पढ्नुभयो ?
प्लस टु क्लियर गरेँ । त्योभन्दा बढी पढ्न सकिएन ।
तपाईंका अधिकांश -यापमा निरासा सुनिन्छन् । नेपालीहरुको परदेसिनुपर्ने बाध्यता र बेरोजगारीको विषयलाई त झन् धेरैजसो गीतमा उठाउनुभएको छ । यस्तो किन ?
सायद धेरै समय बेरोजगारीको बीचबाट हुर्किएको भएर पनि होला कि ! सायद जिन्दगीको धेरै समय निराशैनिराशाबाट ग्रुजिएर पनि होला कि ! जे होस्, मैले जे गाइरहेको छु कि त्यो आफ्नै भावना गाइरहेको छु, कि नजिकबाट नियालिरहेकाहरुका बारे गाइरहेको छु ।
एउटा कुरा सोधिहालौं । -यापरको कथामाथि बनेको हिन्दी फिल्म ‘गल्ली ब्वाई’ हेर्नुभयो ?
अँ, हेरेँ ।
कस्तो लाग्यो ?
राम्रो लाग्यो । पहिलो भागसम्म त मेरै कथाजस्तो लाग्यो । रेकर्डिङ गर्नलाई पैसा नभएकोदेखि घरको झगडा सबै आफ्नैजस्तो लाग्दैथियो (स्मरणरहोस्, यो फिल्ममा पनि -यापरका बुबाले पहिलो हुँदाहुँदै घरमा दोस्रो श्रीमती ल्याउँछन्) । त्यसपछि -याप ब्याटलमा भाग लिन गएको कुरा भने मेरो जिन्दगीमा घटेको छैन ।
तर फिल्ममा जस्तै सफल त बन्दै हुुनुहुन्छ नि ! सेलिब्रिटी पनि भइसक्नुभयो क्यार, हैन र ?
सेलिब्रेटी त भन्नै मिल्दैन । ममा त्यस्तो शब्द नै लागू हुँदैन । त्यही भएर त मेरा गीतहरुको टाइटल पनि त्यस्तै हुन्छ :
म त मान्छे परे गोबरल्याँठ्..
त्यसैले त भाग्यले पनि हान्यो ओभरट्याक...। ’
त्यो गीतमार्फत् तपाईंले आफैँलाई भनेको हो ‘गोबरल्याँठ्’ ?
आफैँलाई त हो नि, अरु कसलाई भन्नु (हाँस्दै) ! मैले गीतमा पनि भनेकै छु त :
कोही साथी खाडीमा त, कोही साथी जापानमा
जुठो भाँडा माझी’रा..
मचाँही यहाँ बाउसँग बाझी’रा.. ।
म सय वटा राम्रो कमेन्ट्स सुन्न सक्छु तर एउटा नराम्रो कमेन्ट सुनेँ भने रातभर निद्रा लाग्दैन । त्यही भएर पनि म सेलिब्रटी नै बन्न चाहन्नँ ।
भनेपछि बाउसँग खुब बाझिन्थ्यो ?
कहाँ बाज्नु ! बाज्ने बेलामा त उहाँ मसँग हुनुहुन्थेन । त्यहाँ आमा त लेख्ने कुरै भएन किनभने आमा भनेको त धेरै ठूलो शब्द हो । बुबा पनि हो तर आमा भनेको बुबाभन्दा पनि ठूलो हो ।
कस्तो बेलामा लेखेको गीत हो त्यो ?
त्यही काम नपाएर हल्लीराको बेलामा लेखेको गीत हो ।
अहिले कन्सर्टहरु कत्तिको पाइँदैछ ?
पाइराछु । अफरहरु आइरहेको छ ।
एउटा कार्यक्रमका कति पारिश्रमिक लिनुहुन्छ, भन्न मिल्छ ?
नभनौँ होला । जे होस्, बाँचिरहेको छु । फेरि पुराना दिनमा फर्किनुपरेको छैन । फेरि सिमेन्ट उठाउनुपरेको छैन, आफ्नो सन्तुष्टिको काम गरेर बाँचिरहेको छु । सन्तुष्ट नै ठूलो कुरा हो । टेन्सन त बिल गेट्सदेखि बाटोमा हिँड्ने भरियाले पनि लिइरहेकै हुन्छ । टेन्सन त सबैको उही हो, मात्रै उनीहरुको कमाउने पैसा फरक हो ।
तपाईं -यापर, त्यो पनि राजधानीबाट होइन, हेटौँडाबाटै संघर्ष गरिरहेको -यापर । समाजको -यापरलाई हेर्ने दृष्टिकोण अहिले के छ ?
सत्य कुरा भन्दा -यापरहरुले नै बिगारेको हो यो सब । -याप भन्दैमा :
‘गरेर हिँड्छ जे मन छ,
गाँजाबिना स्टेज चढ्न सक्दिनँ भन्छ
अनि -यापरलाई ट्यापे नभने के भन्छ ?’
जवाफ पनि -यापमै दिनुभएको ?
नढाँटी भन्दा यथार्थ नै यही हो ।
रेडिमेड -याप हो कि भर्खरै फुरेको लाइन ?
(एकछिन घोरिएर) फेरि दो-याएर त मै भन्न सक्दिनँ होला । कुरै कुरामा आएको लाइन हो (हाँस्दै) ।
‘शनिबार’ बोलको अर्को एउटा -याप छ, जहाँ तपाईले शनिबार आउनेबित्तिकै बुबालाई पैसा माग्नुपर्ने, गाँजा खानुपर्ने, राति घर ढिला फर्किनुपर्ने, पिटाइ खानुपर्नेजस्तो बाध्यता झल्काउनुभएको छ । यो कथा कसको हो ?
म त गाँजा,चुरोट केही खाँदिनँ त्यसैले मेरो त हुने कुरै भएन ।
त्यही भएर तपाईंको -याप पनि शुद्ध हुन्छ त (हाँस्दै) ?
नखाको भएर शुद्ध भन्न त नमिल्ला ! म आफैँ शुद्ध भन्दिनँ है, हजुरहरुले मूल्यांकन गर्ने हो ।
यो त ठट्टा भयो, अब त्यो गीत कसरी फु-यो त्यो भन्दिनुस् न ?
देखेसुनेको कथा हो । गाँजा खाने केटाहरुलाई पुलिसले १–२ प्याकेट भेटेको हुुन्छ तर यति किलो, उति किलो भनेर हल्ला फिँजाइदिन्छ । यस्तै यथार्थमाथि यो -याप बनाएको हुँ ।
मैले सोध्नै लागेको थिएँ– पुलिसलाई पनि तपाईंले त खुब ठोक्नुभएको छ !
आन्दोलन हुन पाको हुँदैन, पुलिसले ठोक्छ नि त फेरि छानीछानी (हाँस्दै) ।
आफू थुनामा परिएको छ कि क्या हो ?
अहिलेसम्म छैन । भगवानको कानमा नपरोस्, फेरि घिसारेर लग्ला पुलिसले (हाँस्दै) ।
-याप हानेर जिन्दगी चल्लाजस्तो लाग्छ ?
जिन्दगी -याप हानेर नचल्ला तर जिन्दगी चल्नका लागि मलाई -याप हान्नुपर्छ के ! किनभने म -यापको ‘एडिक्ट’ भइसकेँ । बरु भोकै बस्न सकिन्छ तर -याप हान्नैपर्छ ।
तपाईंको विचारमा तपाईंलाई अलि धेरै दर्शकमाझ चिनाएको -याप कुन हो ?
(एकछिन सोचेर मुस्कुराउँदै) अहिले पनि मान्छेहरुले मलाई चिन्छन् जस्तो लाग्दैन के ! अलिकति मैले कन्सर्ट पाउन थालेको ‘बन्दै छ नेपाल’ गीतबाट हो ।
‘खाडी’भन्दा अघि तपाईको ‘गोबरल्याँठ्’ र ‘शनिबार’ पनि भाइरल नै भएको थियो । ट्रोल पनि खुब बनेको थियो । कस्तो लाग्छ आफू भाइरल हुँदा ?
सबैले सोध्थे, ‘बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो ?’ मैले ‘नाच वसन्ती’ गीतको अन्तिममा, ‘बिर्कोमा लाको चिनीमा कान्छी, मैले नै कमिला पसाको’ भनेर जवाफ दिएको थिएँ । पछि त्यो ट्रोल बनेर खुब हिट भयो । भाइरल त मै भइरहन्छु (हाँस्दै) ।
अब हल्का रमाइलो गफ गरौँ । तपाईंको ससुराली कहाँ हो ?
लौ, बिहे नै भाको छैन, कहाँबाट ससुराली हुनु (हाँस्दै) !
हो, त्यही त बुझ्न खोजेको नि ?
(हाँस्दै) ल, टेक्निक त गज्जब रैछ त !
भनेपछि अहिले सिंगल हो ?
होइन, डब्बल नै हो ।
ए, भनेपछि गर्लफ्रेन्ड छ ?
अहिले त -यापसँगै मेरो सम्बन्ध छ । त्यसैले डबल भनेको (हाँस्दै) ।
उल्टै मलाई प्राङ्केको ?
त्यस्तो पनि होइन । अहिले त्यतातिर ध्यान छैन हो ।
युवती फ्यान त टन्नै होलान् ?
कहाँ फ्यान नै भन्न मिल्दैन नि ! गीत सुन्दिनुहुन्छ, त्यही ठूलो कुरा हो ।
अहिलेसम्म गर्लफ्रेन्ड बनाइएन ?
उम्रिन पाको हुँदैन, गलफ्रेन्ड बनाउने बेलामा बनाइनँ त कसरी भन्नु ! कुनैबेला थियो ।
तर ब्रेकअप भइसक्यो ?
अब धेरै नबोलौँ होला । यो कुरा गोप्य नै राखौँ (हाँस्दै) ।
Leave A Comment