नेपाली रंगमञ्चको सक्रिय र पुरानो नाम हो– पशुपति राई । उनी १४ वर्षदेखि नाटकमा निरन्तर लागिरहेकी छन् । तीन दर्जन बढी नाटकमा अभिनय गरेकी उनले ‘कबड्डी’ शृंखला लगायतका फिल्ममा काम गरेकी छन् । ‘गुरुकुल थिएटर’मा नाटक सिक्ने छात्रवृत्ति पाएपछि धरानबाट काठमाडौंको यात्रा तय गरेकी पशुपतिसँग अनिल यादवले गरेको अन्तरङ्ग कुराकानीः
१४ वर्षको रङ्गमञ्च यात्रालाई कसरी समीक्षा गर्नुहुन्छ ?
आफूलाई एकदमै भाग्यमानी मान्छु । नाटकमा आउँदै भर्खरै गुरुकूल स्थापना भएको थियो । नाट्य क्षेत्र त्यतिबेला सुस्ताएको अवस्था थियो । त्यही बेलामा म आउन पाएँ । संघर्ष गर्न पाइयो । विभिन्न उतारचढावलाई प्रत्यक्ष भोग्न पाइयो । यसै बीचमा देशमा पनि धेरै परिवर्तनहरु भए । मेरो करिअरकै बीचहरुमा राजनीतिदेखि फिल्मसम्म धेरै परिवर्तन देखिए । र, म यो सब कालखण्ड हुँदै गुज्रिन पाएँ ।
अहिलेसम्म तपाईको नाटक संख्या कति पुग्यो ?
तीन दर्जन जति पुग्यो होला ।
फिल्म त आधा दर्जन पनि पुगेको छैन है ?
हो नि !
किन हो ?
मेरोजस्तो लुक्स र हाम्रो समुदाय (जनजाति) । कुरा गर्ने शैली बदलिएको हो, सोच बदलिएको छैन । मैले काम नपाएर भनेको होइन । उहाँहरुले सोच्नुभएको महिला क्यारेक्टर, कहीँ पनि अटाउँदिनँ । भयङ्कर अफर त आउँदैन । एक्कादुक्का आउँछ तर त्यही रिपिट । लुंगी लगा, श्रीमान्लाई कुट्, जँड्याहा बूढा । बूढालाई गाली गर्ने खालकै रोल मात्र त कति गर्नु ! नगर्ने भनेरै बसेकी हुँ ।
तपाईंको भनाइको अर्थ नेपाली फिल्ममा महिलाको चरित्र चित्रण अझै कमजोर र रुढीवादी छ ?
हो । धेरै पर जानै पर्दैन, ०७५ सालकै फिल्मलाई फर्केर हेर्नुभयो भने पनि थाहा हुन्छ, कति फिल्मले महिलालाई बलियो र राम्रोसँग चरित्र चित्रण गरे ? मलाई मनपरेको ‘बुलबुल’ हो । ‘साइँली’मा पनि महिलाको मुद्दा उठाउन त खोजेको छ तर अलिअलि चिप्लिएको छ । मुखले जति नै ठूलो गरे पनि महिलाको विषयलाई लिएर कोही गम्भीर नै छैन । मैले चिनेकै मान्छेहरु जो फिल्म निर्माणमा हुनुहुन्छ, उहाँहरुकै कुरा सुन्दा पनि दिक्क लागेर आउँछ । हिरोइन अथवा महिला क्यारेक्टर थपना मात्रै हो, केमेस्ट्री मिलाउनलाई या राम्री को छ भन्ने हिसाबले मात्रै राखिने गरिन्छ अझै ।
शंकै छैन, तपाई राम्रो अभिनेत्री हो । तैपनि फिल्म संख्या कम हुनुको कारण एक त अफरै कम आउनु, अर्को आए पनि चित्तबुझ्दो नआउनु नै हो त ?
हो । उदाहरण नै ‘कबड्डी कबड्डी’जस्तो तपाईंलाई ठ्याक्कै सुहाउने रोल भनेर अफर गर्न आउँछन् अनि मैले त्यस्तै रोल फेरि किन गर्ने ? अवसरको बहानामा महिलालाई मजाकका रुपमा उतारिने फिल्ममा म काम गर्दिनँ ।
अब अहिलेको तातो विषयमा प्रवेश गरौँ । हालै केही हिम्मतिला महिला रङ्गकर्मीले रङ्गमञ्चका तीनजना धुरन्धर नाट्यकर्मीले कुनै समय आफूहरुमाथि गरेको यौन दुव्र्यवहारको घटना सार्वजनिक गरे । यसमा तपाईंको धारणा ?
महिला भएका नाताले सार्वजनिक यातायातदेखि हरेक ठाउँमा हामीले ससाना दुव्र्यवहारका घटना भोग्दै आइरहेकै हौँ तर मलाई सधैँ सुरक्षित लाग्ने ठाउँ थियो, थिएटर । घरजस्तै लाग्थ्यो । जसरी हामीले घरभित्र आफन्तबाटै दुव्र्यवहार हुने घटनाहरु सुन्दै र देख्दै आइरहेका थियौँ, त्यसैगरी अहिले हाम्रै घरभित्र पनि यस्तो भएको घटना बाहिर आयो । ज–जसले बोल्नुभयो, उहाँहरुले केही नभइकन त पक्कै बोल्नुभएन । ज–जसको नाम आयो, ती तीनैजना मेरा नजिकका पात्रहरु हुनुहुन्छ । यो १४ वर्षमा मैले आफैँले कहिल्यै त्यस्तो भोग्नु परेन तर मैले भोगिनँ भन्दैमा कसैले भोगेन भनेर दाबी गर्न मिल्दैन । अहिले दुव्र्यवहारको घटना जसरी बाहिर आयो, अब यो त्यसै सेलाउनु हुँदैन । बहस हुनुपर्छ । पीडित र पीडकबीच छलफल पनि हुनुपर्छ । गलत गर्नेले आत्मालोचना गर्न सक्नुपर्छ । अनि एउटा कुरा, यदि कुनै पनि महिलालाई असहज लाग्ने गरी तपाईंले छुनुहुन्छ या जबर्जस्ती गर्न खोज्नुहुन्छ भने त्यो यौन दुव्र्यवहार नै हो । थाहा नभएर सहने महिलाले पनि यो थाहा पाउन जरुरी छ ।
अर्को समस्या यहाँ के पनि देखियो भने धेरैजसो महिला कलाकारहरु यहाँ दुव्र्यवहार हुन्छ भन्ने कुरामा प्रस्ट हुुनुहुन्छ । उहाँहरु भन्नुहुन्छ, ‘मैले त भोगेको छैन तर साथीहरुले भोगेको सुनेको छु’ । यस्तो किन ?
हो, मैले पनि त्यस्तो सुन्छु । तपाईंले मैले पनि आफ्नो भोगाई लुकाएको ठान्नुभयो होला तर त्यसो होइन । मलाई अरु धेरै भाइहरुले पनि सोध्थे, ‘सबैलाई हुँदा तपाईंलाई किन भएन ?’ तर म के भन्छु भने मलाई भाको छैन, मैले त्यस्तो फिल गरेकै छैन भने अरुले फिल गरेर के हुन्छ त ? फेरि अहिले सुनिएका धेरै घटनाहरु ‘गुरुकुल’ बन्द भएपछिको हो । गुरुकुलमा हुँदा यस्तो माहोल नै थिएन । त्यहाँ राम्रो अनुशासन थियो । कसैले त्यसरी सोच्थेन जस्तो लाग्छ ।
अहिले थिएटरका ‘लिडिङ’ नाट्यकर्मीमाथि यस्तो आरोप लाग्दा पनि तपाईंजस्तो सिनियर नाट्यकर्मीहरु मौन देखिनुहुन्छ । नबोल्नुको कारण के ?
त्यस्तो हुँदैहोइन । कि सामाजिक सञ्जालमा लेखेपछि मान्छेले बोलेको भन्छ, कि पत्रपत्रिकामा इन्टरभ्यु दिएपछि । तर, यो विषय बाहिर आएपछि नाटक क्षेत्रमा व्यापक बहस भइरहेको छ, छलफल जारी छ । जो–जोले बोल्नुभयो, हामीहरु उनीहरुको पक्षमा उभिएका छौँ । ‘आई बिलिभ यु’ भनेर ह्यासट्याग नै सुरु भइसकेको छ । नबोलेको होइन, हामी यो विषयमा एकदमै गम्भीर छाँै । हामी त भनिरहेका छौँ, अरु पनि त्यस्तो घटना कसैले भोगेको छ भने बाहिर आओस् । यही बेला सबैले हिम्मत गरेर बोल्नुपर्छ ।
तर यहाँ त हिम्मत गरेर बोल्नेहरुलाई बहिष्कार गर्ने, करिअर धरापमा पारिदिनेसम्मका धम्कीहरु आइरहेको सुनिन्छ त ?
त्यो त हुनै सक्दैन । कसैको करिअर नै धरापमा पार्दिन सक्ने तागत यो रङ्गमञ्चमा कसैको छैन । कोही पनि कसैको कारण टिकिरहेको छैन । सबै आफ्नै क्षमता र बलबुता टिकिरहेका छन् । त्यसैले मेरो १४ वर्षको अनुभवका आधारमा म सबै महिला कलाकारलाई अनुरोध गर्छु, मेरो करिअर नै सकिएला भन्ने डरले तपाईं आफूमाथि भएको दुव्र्यवहार लुकाउँदै हुनुुहुन्छ भने त्यो डर आफ्नो मनबाट आजै हटाउनुस् । यहाँ तपाईं–हाम्रो करिअर सिध्याउने कसैको त्यत्रो ल्याकत छैन । बरु तपाईंले बोल्नुभयो भने सबैको सपोर्ट हुन्छ । यहाँ कसैले त्यस्तो धम्की दिइरहेको छ भने त्यो पुरुष मानसिकता मात्रै हो, बोल्नेहरुको बोली रोक्ने षड्यन्त्रबाहेक यो केही होइन ।
यस्तो कुरा भित्रभित्रै मिलाउनुपर्छ, घरको झगडा बाहिर ल्याउनु हुँदैन भन्ने खालका तर्क पनि चलिरहेका रहेछन्, यस विषयमा के भन्नुहुन्छ ?
यही सोचले बिगारिरहेको छ । जब यस्ता घटनाहरु बाहिर आउँछन्, तब न मान्छे सजग हुन थाल्छ । हामी त यो विषय अब त्यसै सेलाउनु हुँदैन, बहसमा आउनुपर्छ, एउटा निष्कर्ष निस्किुनपर्छ भनेर निरन्तर आवाज उठाइरहेका छौँ । म त के भन्छु भने नाम नखोलीकन बोल्ने पीडितले पनि अब खुलेरै बाहिर आउनुपर्छ, हामी सबै साथ दिन तयार छौँ ।
यो कला क्षेत्रमा चान्स मार्न खोज्ने मान्छेहरुको कुनै कमी छैन । तपाईंले कहिल्यै पनि त्यस्ता मान्छेहरुको सामना गर्नु परेन ?
अँह, पर्दै परेन । सायद मेरो हक्की स्वभावले गर्दा पनि होला । मेरो बोलीलाई लिएर पहिलेदेखि मान्छेहरुले ‘तिमी त मान्छे कुट्लाजसरी बोल्छौँ’ भन्थे । ‘गुरुकूल’मा हुँदा सुनील (पोखरेल)सरले सुरुमा तिमीहरुले फिल्ममा काम गर्न पाउँदैनौँ भन्नुहुन्थ्यो । पहिलो प्राथमिकता थिएटर नै भनिन्थ्यो । कसैले काम देला र गरौँला भन्ने लोभ थिएन । कला क्षेत्रकै मान्छेबाट दुव्र्यवहार नभोगे पनि बरु एकपल्ट बाहिरबाट भएको छ । गुरुकूलमा हुँदा गोपीकृष्ण हलमा फिल्म हेर्न जाँदा पछाडिबाट एउटा केटाले मेरो पाइन्टको गोजीमा हात लगायो । म त मेरो साथीले लाएको होला भन्ने ठानेको थिएँ । तर, पछाडि फर्केर हेर्दा अर्कै रहेछ । चार झापड हानेर मैले त्यहीँ लडाएर त्यसलाई कुटेकी छु । गाडीतिर चढ्दा पनि म त थर्काउने मान्छे हो । दुव्र्यवहार त सहनै सक्दिनँ । सहनु पनि हुँदैन ।
अहिले आफ्नै गुरु (सुनिल पोखरेल)माथि यौन दुव्र्यवहारको आरोप पढ्दा कस्तो लाग्यो ?
एकदमै नरमाइलो लाग्यो । घरबाट फोन नै आयो, ‘तेरो गुरुमाथि यस्तो आरोप आयो, तँलाई पनि त्यस्तो गरेको थियो कि ?’ बाहिरबाट पनि धेरैले त्यस्तै भने । त्यस्तो प्रश्न सामना गर्नु पर्दा नरमाइलो लाग्ने रहेछ । उहाँले अरुलाई गर्नुभयो होला, गर्नुभएन भन्दिनँ तर त्यसको अर्थ मलाई पनि गर्नुभयो भन्ने हुन्न । ‘गुरुकूल’ हुँदा उहाँको त्यस्तो स्वभाव सुनिएन । पछि उहाँ चेञ्ज हुँदै जानुभएको हो । सरको हात समाउने बानी चाहिँ छ । मेरो नानी के छ भन्दै जसलाई पनि हात समाएको देखेको हो । त्यस्तो बानी पनि ‘गुरुकूल’मा हुँदा थिएन क्या ! सरसँग आँखा जुधाएर हेर्न पनि डर लाग्थ्यो । पछि धेरैपल्ट सुनियो । सुन्दा त नरमाइलो लाग्थ्यो, अहिले पत्रिकामै छापिँदा त झन् नरमाइलो लागिहाल्छ नि !
Leave A Comment