नोत्रेड्यामको यत्रो हल्लीखल्ली किन ?

आइतबार, ०८ बैशाख २०७६, ०८ : २० शुक्रवार
नोत्रेड्यामको यत्रो हल्लीखल्ली किन ?

युरोपको पुनर्जागरणकाल, नेपोलियनको उदय र पतन अनि दुई वटा विश्वयुद्धसमेतको साक्षी रहेको नोत्रेड्याम क्याथड्रलमा दनदनी आगो लाग्दा कसैको पनि मन बाँध्न सकेन । 

सकोस् पनि कसरी ? मानौँ हाम्रो पशुपतिनाथको मन्दिरमा आगो लाग्यो भने हाम्रो मन थामिन्छ ? त्यस्तै आठ सय वर्षयता कयौँको आस्थाको मन्दिर रहेको यो चर्चमा आगो लाग्दा त्यसरी नै मन नथामिनु स्वाभाविक हो ।

इतिहासकारका अनुसार ११६३ मा पेरिसको बीचमा नोत्रेड्याम क्याथड्रल शिलान्यास गरिएको थियो । यसको नक्सा गोथिक वास्तुकलामा आधारित थियो । क्याथड्रल बनाउन स्यान्डस्टोन प्रयोग गरिएको थियो । दुई सय वर्षसम्म निर्माण क्रम जारीरहेको यो क्याथड्रलका भित्तामा पत्थरका मूर्तिहरु बनाइएका थिए । त्यस्तै कयौँ रङ्गीबिरङ्गी डिजाइन थिए भने रङ्गीन कलाकृतियुक्त शिशा हालिएको थियो । यसरी सन् १३४५ मा पेरिसमा पश्चिम युरोपकै सबैभन्दा भव्यतम क्याथड्रल गर्वका साथ उभिएको थियो ।

तर १५ अप्रिल २०१९ को साँझ यो क्याथड्रललाई आगोको लपेटाले घेर्यो मात्र होइन, ध्वस्त नै बनायो । यसलाई फ्रान्सकै पहिचानका रुपमा हेरिन्थ्यो । त्यसैले त, फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँले भने, ‘हाम्रो इतिहास, हाम्रो साहित्य, हाम्रो कल्पना सबै ध्वस्त भयो । यो त्यही ठाउँ थियो, जहाँ हामीले अद्भूत क्षण महसुस गर्ने गरेका थियौँ ।’

म्याक्रोँले यो क्याथड्रललाई पुनर्निर्माण गर्नका लागि अन्तर्राष्ट्रिय सहयोग कोष बनाएका छन् । राष्ट्रपतिको घोषणा सकिनेबित्तिकै फ्रान्सेली अर्बपति फ्रान्को हेनरी पिनाले यो कोषमा १० करोड डलर दान गरिसकेका छन् ।

मध्यकालीन इतिहासका विशेषज्ञ क्लोद गाव भन्छन्, ‘यो क्याथड्रल पेरिसको पहिचान हो, शान्ति, भाइचारा र मैत्रीको पहिचान हो र सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ यो शहरको ठीक बीचमा छ । यहीँबाट फ्रान्सको जिरो किलोमिटर सुरु हुन्छ र यहीँबाट सारा राजमार्गको दुरी नाप्ने गरिन्छ ।

निरपेक्षताको प्रतीक
फ्रान्सको इतिहासको सुरुवात नोत्रेड्यामसँगै शुरु हुन्छ । यो क्याथड्रल फ्रान्सेली क्याथोलिक समुदायको प्यारो ठाउँ हो । फ्रान्सका अधिकांश सम्राटहरु जब जब गद्दीमा राज भए, उनीहरुले यहीँ आफ्नो शीर झुकाएर आफ्नो शासनको सुरुवात गरेका थिए ।

सन् १७८९ मा भएको फ्रान्सेली क्रान्तिका बेलामा दरबार र चर्चलाई छानीछानी आक्रमण गरिएको थियो । त्यो बेला पहिलो पटक यो क्याथड्रलमा पनि आक्रमण भएको थियो । त्यो आक्रमणमा त्यहाँ रहेको ठूलो स्तम्भ ढालिएको थियो । त्यस्तै क्याथड्रलको सम्पत्तिसमेत लुटिएको थियो क्याथड्रलमा प्रवेश गरिने ठूलो आँगनमा रहेका कयौँ मूर्ति ध्वस्त पारिएको थियो ।

फ्रान्सेली महान् शासकका रुपमा चिनिने नेपोलियन बोनापार्टले सन् १८०४ मा नोत्रेड्याममा नै आफ्नो ताज पहिरिएका थिए । त्यसअघि चर्चले शासनसत्तामा दख्खल दिने गथ्र्यो । नेपोलियन यहाँ छिरेपछि उनले स्पष्ट रुपमा अब दख्खल चल्दैन भन्ने सन्देश दिएका थिए । यही क्षणलाई फ्रान्स र युरोपेली इतिहासको नयाँ अवधिका रुपमा चिनिन्छ । सन् १८६० मा क्याथड्रलको छतमा पुनः नयाँ स्तम्भ जोडिएको थियो ।

विश्वयुद्ध झेल्ने नोत्रेड्याम
सन् १९३९ मा सुरु भएको दोस्रो विश्वयुद्धका बेला वर्षैभरि एडल्फ हिटलरका नाजी सेनाले पेरिससमेत फ्रान्सको ठूलो क्षेत्रमा कब्जा जमाएका थिए । त्यो बेलासम्म पेरिसको विरासतका रुपमा नोट्रेड्याम चर्चित भइसकेको थियो । त्यसैले हिटलरले पनि यसलाई कुनै हानि पुर्याउने काम गरेनन् ।

२४ अगस्त १९४४ मा नाजीबाट स्वतन्त्र भएको घोषणा यसैको घण्टीले गरेको थियो । नाजीविरुद्धको फ्रान्सेली संघर्षलाई जारी राख्न चाल्र्स द गउलको शोकसभा यसै भवनमा आयोजन गरिएको थियो ।

सेन नदीको किनारामा रहेको यो क्याथड्रलले गएका आठ शताब्दीमा फ्रान्स, युरोप र मानवजातिका बद्लिएका कयौँ आयामहरु देखेको थियो ।

के रह्यो, के ध्वस्त भयो ?
गएको सोमबार राति करिब साढे ६ बजे आगो लागेको थियो । तुरुन्तै यो आगो फैलिएर चपेटामा पा¥यो । चार सय दमकलकर्मीले आठ घण्टासम्म नियन्त्रणका लागि निरन्तर प्रयास गरिरहे । मंगलबार बिहान मात्र आगो नियन्त्रणमा लिन सकिएको थियो । कसरी यहाँ आगो लाग्यो भन्ने अझै पत्तो लगाउन सकिएको छैन ।
क्याथड्रलको छत ध्वस्त भएको छ । सयौँ वर्षसम्म टिकेको यो छतको तलको ढाँचामा आगो लागेपछि छत पनि ध्वस्त भएको थियो ।
नोत्रेड्यामको पहिचानयुक्त उत्तरी र दक्षिणी टावर बचाउन भने दमकलकर्मी सफल भए । मुख्य भवनको आगो निभाउने क्रममा टावरहरु चिस्याउनका लागि धेरै मात्रामा पानी हालिएको थियो । 
हरेक वर्ष करिब १ करोड ३० लाख पर्यटकहरु नोत्रेड्याम हेर्नका लागि मात्र आउँथे । 

यहाँका कतिपय दुर्लभ मूर्तिहरु ध्वस्त हुनबाट जोगिएका छन् । 
यो क्याथड्रलको उचाइ ९३ मिटर अग्लो थियो । छतमा कयौँ मूर्तिहरु थिए । यी मूर्ति चारै दिशामा फर्किएर बसेका थिए । आगोले छत ध्वस्त भएपछि ती मूर्ति पनि ध्वस्त भएका छन् ।

 

Leave A Comment