एउटा असफल व्यवसायीको आत्मवृत्तान्त

आइतबार, ०८ बैशाख २०७६, ०८ : २७ प्रकाश जंग थापा
एउटा असफल व्यवसायीको आत्मवृत्तान्त

व्यवसायी हुने मेरो ठूलो रहर थियो । त्यही रहर पछ्याउँदै २०६८ मा साथीहरु मिलेर एउटा संस्था खोल्यौँ । फरक पृष्ठभूमिका हामी ३५ जनाको युवा बाहुल्य थियो र सबैमा केही गर्ने जोश–जाँगर थियो । 
संस्था खोलेर मात्र भएन, चलाउन पनि जान्नुपर्छ । तर तीन चार महिना के गर्ने र के नगर्नेमै बित्यो । यस अवधिमा कयौँ बैठक भए, साझेदार साथीबीच अन्तरक्रिया भए । कसैले पनि संस्थालाई नाफामा लैजान सक्ने ठोस कुरा बताउन सकेनन् ।

एक दिन एक जना मित्र अफिसमा आए । हामीलाई एउटा प्रविधिको बारेमा बताए । औंठा छाप अध्ययन गरेर मान्छेको व्यक्तित्व पत्ता लगाउन सकिने डिएमआइटी प्रविधिको नेपालको वितरक हुने भइयो । तालिम र परामर्श लिएपछि केही महिना द्रुतगतिमा यसको मार्केटिङ पनि गरियो । बजारमा सहजै स्वीकृत हुने कुरा पनि थिएन । 

नाफाका लागि डिएमआइटी प्रविधिसँगै व्यवहार कौशल तालिम सञ्चालन गर्ने, मासिक पत्रिका पनि छाप्ने निर्णय भयो । बजेट हुञ्जेल पत्रिका छापिन समस्या थिएन, मुख्य जटिलता त तालिम व्यवस्थापन थियो ।
तालिम त दिने तर कस्तो दिने ? कसले दिने ? कसरी दिने ? कसलाई दिने ? हामी कोही पनि तालिमका विषयमा अनुभवी थिएनौँ । आफ्नै संस्थाले तालिम सञ्चालन गरेर व्यवसाय अगाडि बढाउने भएपछि सर्वप्रथम हामी नै योग्य हुनुपथ्र्यो ।

बाहिरी ट्रेनरबाट तालिम गराउन सक्ने हैसियत थिएन । बाहिरी ट्रेनरबाट गराए पनि आखिर कति दिन ? ट्रेनरको योग्यता हामीमा थिएन । यद्यपि स्कुल र कलेजमा तालिमको मार्केटिङ गर्न जाँदा आफूलाई अनुभवी ट्रेनरको रुपमा प्रस्तुत गर्यौँ । त्यसैगरी पुस्तक पढ्ने गति पहिलेको भन्दा तीव्र बनायौँ । आफूलाई ट्रेनरको रुपमा तयार बनाउन हर प्रयास ग¥यौँ । सँगसँगै म्यागेजिनको काम पनि अघि बढायौँ ।

केही अंक म्यागेजिन छापिसकेका थियौँ । एक हिसाबले म्यागेजिनको काममा केही हदसम्म सफलता पायौँ तर ट्रेनिङको मार्केटिङ गरेको तीन महिनासम्म पनि एउटा तालिम कार्यक्रम गराउन सकेका थिएनौँ । त्यस बेला स्कुल–कलेजमा ट्रेनिङ गराउने चलन थिएन । हामी प्रशासनलाई तालिम गराउन भन्थ्यौँ जुन उनीहरुले कहिल्यै गराएका थिएनन् । धेरै जसो प्रिन्सिपल हामीप्रति विश्वस्त हुन सकेनन् ।

उहाँहरूको एकैखाले भनाइ हुन्थ्यो– विद्यार्थीलाई तालिमको आवश्यकता छैन, हाम्रै शिक्षक पर्याप्त छन् । कुनै पनि विद्यार्थीलाई मार्गनिर्देशन गर्न योग्य छन् । यति हुँदाहुँदै पनि आत्मविश्वासमा आँच आउन दिएनौँ । डटेर परिस्थितिको सामना गर्यौँ । अन्ततः वर्ष २०७० को पहिलो क्वार्टरमा एउटा कलेजले तालिम गराउने भयो । महिनौँको मिहिनेत खेर जान दिएनौँ । अफिसको आफ्नै सेमिनार हलमा पहिलो तालिम गरायौँ । प्रतिक्रिया सोचेभन्दा राम्रो आयो, हौसला बढ्यो ।

तालिमलाई फोटो र भिडियोमा कैद ग¥यौँ । यसले थप मार्केटिङमा सजिलो पार्यो । त्यसपछि अन्य तालिम पनि क्रमशः गराउँदै गयौँ । नयाँ ट्रेनर थप्दै गयौँ । प्रत्येक सफल तालिमले हामीलाई परिपक्व बनाउँदै गयो । वर्ष भरिमा सयौँ तालिम भए । संस्थाको सञ्चालन घाटा सन्तुलित हुन थाल्यो । २०७० को तेस्रो क्वार्टरसम्म आइपुग्दा तालिम व्यापक भए पनि म्यागेजिनको काम ओझेलमा पर्न गयो ।

२०७१ को पहिलो क्वार्टरसम्म आइपुग्दा म्यागेजिनको काम बन्द भइसकेको थियो । तालिममा बढी नाफा हुन थालेकाले एक मात्र ध्यान त्यता केन्द्रित भयो तर संस्थामा बाह्रै महिना तालिम सञ्चालन हुन सकेन । तालिम मात्र व्यावसायिक गतिविधि भएपछि यसैमा अत्यधिक समय र ऊर्जा दिन सक्नुपथ्र्यो । अफसोच, त्यसो हुन सकेन । तालिम दिएपछि ट्रेनर साथीहरुले समयमा पैसा पाएनन् ।

तालिमबाट आएको पैसा अफिस भाडामा सकिन्थ्यो । वर्षको तेस्रो क्वार्टरसम्म आइपुग्दा साथीहरुमा पहिले जस्तो जोस थिएन । उनीहरु संस्थाप्रति असन्तुष्ट थिए । संस्था टिक्ने कुरामा आशवान हुन सकेनन् । बिस्तारै अफिस आउनै छाडे । केही साथीहरु एकलौटी तालिम गरेर पैसा कमाउनतिर लागे, टिमवर्क हुन सकेन । कसैले कसैलाई विश्वास गर्न सक्ने वातावरण भएन । संवादले ठाउँ पाएन । यस्तोमा तालिम अतिरिक्त बिजनेस आइडिया फुराउन सकिने सम्भावना रहेन ।

यसले संस्था असन्तुलित बन्दै गयो । त्यसमाथि वैशाख १२, २०७२ मा भूकम्प गयो । अफिसको भवन क्षतिग्रस्त भयो । अफिसका पूर्वाधार तहसनहस भए । हामी थप घाटा व्यहोर्ने पक्षमा थिएनौँ । कुनै पनि संस्था स्थापना पछिको पाँच वर्षलाई परीक्षणकाल मानिन्छ । हामी त्यसमा खरो उत्रन सकेनौँ । त्यसैले चार वर्ष संस्था चलाएर बन्द गर्नुपर्ने निर्णयमा पुग्यौँ ।

कहिलेकाहीँ सोच्छु त्यो संस्था किन बन्द गर्नुपर्यो ? आफैँले देखेको सपना किन पूरा हुन सकेन ? कहाँ गल्ती हुन गयो ? पाँच सय हाराहारी स्कुल–कलेजमा तालिम गराए पनि, बीस लाख माथिको कारोबार गरे पनि निरन्तरता दिन किन सकेनौँ ? यस क्रममा मैले सयौँ पुस्तक र हजारौँ लेख रचना पढेँ । दर्जनौँ बिजनेस सेमिनारमा भाग लिएँ । हजारौँ भिडियोहरू पनि हेरेँ । अनि बल्ल थाहा भयो संस्थागत त्रुटिहरू र म आफैँले गरेका त्रुटिहरू ।

त्रुटि एकः वास्तविक बजार व्यवस्थाबारे अव्यवहारिक
रिसर्च बिना हामीले संस्था खोल्यौँ । बजारमा के अवस्था चलिरहेको छ ? कुन नयाँ व्यवसाय सुरु गर्न सकिन्छ ? कस्ता संस्था स्थापित छन् ? कस्तो सेवा सुविधा चल्तीमा छन् ? केही अनुभव थिएन र सधैँ दुविधामा परिरह्यौँ । सेल्स र मार्केटिङमा उचित ध्यान दिन सकेनौँ । प्रभावकारी रणनीति अनुशरण गर्न सकेनौँ । प्रत्येक तालिमको पच्चीस हजार भनेका थियौँ । यो मूल्य त्यो समय अलि अव्यवहारिक थियो । स्कुल कलेज त्यति पैसा लगानी गर्न तयार थिएनन् । कतिपय त तालिम गराउनु समयको बर्बादी मान्थे । बजारको अवस्था यस्तो थियो । नयाँ क्लाइन्ट बढाउँदै लान नसक्नु र भएकालाई पनि आवश्यक फलोअप गर्न नसक्नु गल्ती भयो ।

त्रुटि दुईः व्यवसायप्रति पर्याप्त प्रयोगात्मक हुन नसक्नु
व्यवसायमा जटिल समस्या आइरहन्छन् । हाम्रो व्यवसाय पनि अछुतो थिएन । प्रत्येक समस्या हल गर्न दर्जन समाधान ल्याउन सक्नुपर्छ । त्यसका लागि क्रियटिभ हुनु जरुरी छ, लचिलो हुन सक्नुपर्छ । दुर्भाग्य हामीमा सिर्जनशीलताको खडेरी नै पर्यो ।

एउटै रणनीतिबाट टसमस भएनौँ । बजारमा प्रतिस्पर्धा गर्न नयाँ–नयाँ रणनीतिको खोजी गर्न जानेनौँ । नयाँ संरचनाको तालिम आयोजना गर्न सकेनौँ । यसका लागि अन्तर्राष्ट्रिय ट्रेनर भित्र्याउन सकिन्थ्यो तर यो वास्तविकतामा परिणत हुन पाएन । यति मात्र होइन, सकारात्मक प्रतिक्रिया आएको म्यागेजिनलाई पनि राम्रो बजारीकरण गर्न असफल भयौँ । फलस्वरुप, संस्थाको लिभरेज प्वाइन्ट समयमै भेट्न सकिएन ।

त्रुटि तीनः यथेष्ट कार्य नगर्नु
सफल मान्छे ढिलासुस्ती गर्दैनन्, तत्काल निर्णय लिन्छन् । हामीमा यस्तो लक्षण थिएन । केही साथी जागरुक देखिए पनि सधैँ अल्पमतमा पर्थे । यसकारण संस्थाले परिस्थितिअनुसार निर्णय लिन सकेन । सुस्त गतिमा कार्य गरिन्थ्यो । तालिमलाई व्यावसायिक बनाउने भनेर निर्णय गर्नु हामीलाई ६ महिना बढी लागेको थियो । टिम ठूलै भए पनि सक्रिय कम थिए । तिनको प्रयास संस्था चलायमान राख्न पर्याप्त थिएन ।

त्रुटि चारः आत्म सन्तुलनको कमी 
व्यावसायिक सफलताका लागि आत्मसन्तुलन (सेल्फ गभर्नेन्स) महत्वपूर्ण हुन्छ । सञ्चालकले आत्मसन्तुलन राख्न सक्नुपर्छ । ऊ एउटै प्रोजेक्टमा उत्साहित भएर काम गर्नुपर्छ । प्रोजेक्ट सफल नहुञ्जेल कयौँ समय एक्लै पनि बिताउनुपर्ने हुन्छ । उसमा बिजनेस आइडियालाई यथार्थमा बदल्ने जिम्मेवारी हुन्छ । यही कारण संस्थाका प्रमुखलाई धेरै पारिश्रमिक दिइन्छ ।

तर हाम्रो कम्पनीमा बिलकुलै फरक अवस्था थियो । संस्था प्रमुख फेरबदल भइरहन्थ्यो । मुख्य जिम्मेवारी सम्हाल्ने कसैको पनि तलब थिएन, उल्टो गोजीको खर्च हुन्थ्यो । सबैले कामलाई जीवन र मृत्यु रुपमा ग्रहण गरेका थिएनन् । नाफा हुन्छ कि भनेर लगानी गर्ने धेरै थिए । केही समस्या आइपर्दा सबै हतोत्साहित हुन्थे । 

यिनै चार त्रुटिका कारण एउटा सम्भावनायुक्त व्यवसाय हामीले डुबायौँ । कतै तपाईं पनि त्यही त्रुटि त दोहोर्याउँदै हुनुहुन्न ?
 

Leave A Comment