जस्तो रसायन त्यस्तै स्वभाव

आइतबार, ०८ बैशाख २०७६, ०८ : ४० उपेन्द्र खड्का
जस्तो रसायन त्यस्तै स्वभाव

चैतमा खोला, खोल्सा सुक्ने र अन्न भण्डार पनि रित्तिँदै जाने भएकाले उराठिलो मौसम मानिन्छ । तर वैशाख लाग्दा मौसम बदलिसकेको हुन्छ । काफल, ऐसेलु पाक्छन् । रंगिबिरंगि फूल फुल्छन् । वातावरण नै उल्लासमय बन्छ । 

वातावरण मात्रै हैन मौसम परिवर्तनसँगै व्यक्तिका शारीरिक तथा मानसिक अवस्थासमेत परिवर्तन हुन्छन् । वसन्त ऋतुको उमंगमा व्यक्ति खुसी तथा आनन्दित हुने चिकित्सक बताउँछन् । 

मनोचिकित्सक डा. रवि शाक्य मौसम परिवर्तनसँगै व्यक्तिको मानसिक अवस्था पनि परिवर्तन हुने बताउँछन् । मौसमसँगै व्यक्तिको मन परिवर्तन हुने र डिप्रेसनको पनि जोखिम हुने उनले बताए । ‘सिजनअनुसार हुने डिप्रेसनलाई सिजनल एफेक्टिभ डिसअर्डर भनिन्छ,’ शाक्यले भने । धेरै गर्मीको अवस्थामा व्यक्ति बढी उत्तेजित हुन सक्ने डा. शाक्ले बताए । 
मनोविद् गोपाल ढकाल सामान्यतः जाडो मौसममा डिप्रेसनको समस्या बढ्ने जोखिम हुने र दिन तात्दै गएपछि डिप्रेसनको जोखिम कम हुने बताउँछन् । 


वातावरण जस्तै मन 
वातावरण परिवर्तन भएजस्तै मन परिवर्तन हुने मनोचिकित्सकको तर्क छ । फूल फुलेको देख्दा मन खुसी हुने र फोहोर देख्दा मन दुःखी हुन्छ । मनलाई वातावरण, मौसम, हावापानी, सूर्य र चन्द्रमाको अवस्थाले फरक पार्ने मनोविद् ढकालले बताए । 

मनोचिकित्सकका अनुसार सामान्यतया गर्मी ठाउँमा बसोबास गर्ने व्यक्ति छिटो उत्तेजित हुने र चिसो ठाउँमा बसोबास गर्ने व्यक्ति तुलनात्मकरुपमा ढिलो उत्तेजित हुने स्वभावको हुन्छन् ।
‘तातो ठाउँमा बसोबास गर्ने व्यक्तिलाई सूर्यको तेजिलो प्रकाशले छिटो उत्तेजित बनाउँछ,’ ढकालले भने, ‘सूर्यको चर्को तापले सेरोटोनिन मस्तिष्क रसायन बढी उत्पादन हुने भएकाले व्यक्ति छिटो उत्तेजित हुन्छन् ।’ 

जति धेरै चर्को घाम लाग्छ व्यक्ति पनि त्यति नै धेरै उत्तेजित हुने, चिढचिढाउने व्यवहार देखिन्छ । सेरोटोनिन बढी उत्पादन भएको खण्डमा व्यक्तिलाई छिटो रिस उठ्छ । 
चिसो ठाउँमा बसोबास गर्ने व्यक्तिमा सेरोटोनिन नामक मस्तिष्क रसायन उत्पादन कम हुँदा उनीहरुको रिसको मात्रा पनि कमै हुन्छ । सेरोटोनिन मस्तिष्क रसायनको कमी हुँदा भने व्यक्ति निरास तथा दुःखी हुने र व्यक्तिले एक्लो अनुभूति गर्नसक्ने जोखिम हुने डा. शाक्यले बताए । 

विशेषगरी प्रकाशसँग सेरोटोनिन मस्तिष्क रसायन सम्बन्धित हुने भएकाले जाडोमा यो रसायनको मात्रा शरीरमा कम हुने र व्यक्ति दुःखी हुन सक्ने ढकाल पनि बताउँछन् । तर वसन्त ऋतुको प्रारम्भसँगै सेरोटोनिन रसायनको मात्रा बढ्ने र व्यक्ति खुसी हुने तर्कमा डा. शाक्य र ढकाल एक मत देखिए । 
चिकित्सक डा. सुशील मोहन भट्टराई मौसमअनुसार व्यक्तिको शारीरिक तथा मानसिक अवस्थामा परिवर्तन आउने बताउँछन् । 

जाडो, गर्मी मात्रै नभएर अँध्यारो तथा उज्यालोका कारणले समेत व्यक्तिको शारीरिक तथा मानसिक अवस्थामा परिवर्तन आउँछ । 
‘शरीरको पिट्युटरी ग्रन्थीले शरीरको उज्यालो, अँध्यारो तथा मौसमको ग्रहण गर्छ,’ उनले भने, ‘जसले शारीरिक परिवर्तन हुन्छ ।’ 

वसन्तमा खुसीका रसायन
नेपालको सन्दर्भमा वसन्त ऋतु अघि हरियाली कम हुने तथा वातावरण उजाड हुन्छ । धेरै रुखका पात झरेका हुन्छन् ।  वसन्त ऋतु अघिको जाडो मौसममा घामको प्रकाश पनि कम हुने भएकाले सेरोटोनिन् जस्तो खुसी दिने रसायनको उत्पादन कम हुन्छ । 
डोपामिन, अक्सिटोसिन, सेरोटोनिन्जस्ता मस्तिष्क रसायनले मन परिवर्तनमा महŒवपूर्ण भूमिका खेल्ने मनोचिकित्सक बताउँछन् । 

फूल फुलेको रंगिबिरंगी वातावरण देख्दा यी खुसी दिने मस्तिष्क रसायन बढ्छ । डोपामिन मस्तिष्क रसायन बढ्दा प्रेरणा, उमंग, शारीरिक र मानसिक खुसी बढ्ने ढकालले बताए । 
डा. शाक्य पनि रमाइलो हुँदा डोपामिनको मात्रा बढ्ने बताउँछन् । धेरै गर्मी हुँदा भने डोपामिनको मात्रा बढी भई व्यक्ति छिटो आवेगमा  आउन सक्ने उनको तर्क छ । 

अक्सिटोसिन मस्तिष्क रसायनलाई लव हर्मन पनि भनिन्छ । वसन्त ऋतुको मौसममा रंगीचंगी फूल र उल्लासमय वातावरण देख्दा इन्डोरफिन मस्तिष्क रसायनको मात्रा बढेर प्रेम भाव प्रकट हुने मनोचिकित्सकको तर्क छ । 

इन्डोरफिन, अक्सिटोसिन र सेरोटोनिनजस्ता खुसी दिने मस्तिष्क रसायन बढ्दा मस्तिष्क स्वस्थ हुने र शरीरको रोगसँग लड्ने क्षमतामा वृद्धि हुने भएकाले व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुने डा.भट्टराईको तर्क छ । 

वसन्त ऋतु प्रारम्भ भएसँगै सूर्यको प्रकाश बढ्छ । हरियाली वातावरण तथा वसन्त ऋतुको रंगिबिरंगी फूल फुलेको देख्दा मनलाई आनन्दित बनाउँछ । 
वसन्तको प्रारम्भसँगै व्यक्तिको सक्रियता बढ्दै जाँदा खुसी दिने सेरोटोनिन हर्मनको मात्रा पनि बढ्दै जान्छ । व्यक्ति खुसी हुन्छ ।  विशेषगरी वसन्तको उमंगसँगै इन्डोरफिन नामक खुसी दिने मस्तिष्क रसायनको

मात्रा बढ्नाले व्यक्ति यो मौसममा अन्य मौसममा भन्दा बढी खुसी हुन्छ । 
जाडो तथा धुम्म परेको मौसममा व्यक्तिको शरीर सिथिल हुने डा. भट्टराईले बताए । जाडो मौसम भन्दा दिन तात्न थालेपछि व्यक्ति शारीरिक तथा मानसिक रुपमा सक्रिय हुने चिकित्सकले बताए । 
‘जाडो सकिएर वसन्त ऋतु सुरु हुँदा सुसुप्त शरीर सक्रिय हुन्छ’, डा. भट्टराईले भने, ‘शरीरको ऊर्जा उत्पादन गर्ने प्रक्रिया बढ्छ ।’ 

जस्तो रसायन त्यस्तै स्वभाव
मनोचिकित्सकका अनुसार घाम बढ्दै जाँदा सेरेटोनिन बढ्दै जान्छ, जसले खुसी ल्याउँछ । व्यक्तिको शारीरिक व्यायाम तथा गतिविधि बढ्दा इन्डोरफिन बढ्छ । 

वातावरण रंगिचंगी देख्दा अक्सिटोसिन अर्थात् प्रेम रसायन बढ्छ, जसका कारण प्रेम भाव प्रकट हुन्छ । माया, प्रेम बढ्दै जाँदा डोपामिन रसायन बढ्छ ।  
शरीरमा मस्तिष्क रसायनको अवस्था जस्तो छ, व्यक्तिको स्वभाव पनि त्यहीअनुसारको हुने ढकालले

बताए । नकारात्मक सोच्दा सेरोटोनिनको उत्पादन कम हुने भएकाले व्यक्ति दुखी हुने र सकारात्मक सोच बनाउँदा सेरोटोनिन, अक्सिटोसिन जस्ता मस्तिष्क रसायनको  उत्पादन बढ्ने भएकाले व्यक्ति खुसी हुने ढकालले बताए । 
अक्सिटोसिन हर्मन बढ्दा आत्मियता बढ्ने र सम्बन्ध राम्रो तथा सुभधुर हुने मनोचिकित्सकको धारणा छ । 


 

Leave A Comment