साहसी रंगकर्मीलाई सलाम

आइतबार, १५ बैशाख २०७६, ०५ : १० शुक्रवार
साहसी रंगकर्मीलाई सलाम

हलिउडको मनोरञ्जन क्षेत्रमा विभिन्न बहानामा हुने यौन दुव्र्यवहारको खुलासाबाट शुरु भएको झिल्को एक्कासि फैलँदै अफ्रिका, युरोप हुँदै दक्षिण एसियामा प्रवेश पायो । भारतको मनोरञ्जन क्षेत्रमा मीटू अभियानको रुपमा फैलिएको झिल्को बिस्तारै फैलँदै गर्दा त्यसको प्रभाव नेपालमा पनि नपरेको हैन । तर यो आगोले डढेलेको रुप लिन सकेको थिएन ।

एक नायिकाले फोटो सुटको बेलामा आफूमाथि भएको दुव्र्यवहारको घटना खुलाइन् तर फिल्मी क्षेत्रको मौनताको कारण त्यो झिल्कोले डढेलोको रुप लिन सकेन । सांगीतिक क्षेत्रमा सक्रिय केही साहसी महिला गायिकाहरुले खुलाएको तीता अनुभवले तरंग त ल्यायो तर आरोपितको नाम नखुल्दा कोही कार्बाहीको भागिदार भएनन् ।

जब बौद्धिक कलाकार सक्रिय रहने रङ्गमञ्चको पर्दाभित्र फैलिरहेको यौन दुव्र्यवहारको घटना आरोपितको नामै किटेर सार्वजनिक भयो, बल्ल त्यो आक्रोशको झिल्कोले डढेलोको आकार लियो र त्यो डढेलोले नाट्य क्षेत्रमा सक्रिय तीन हस्तीको असली चरित्र छर्लङ्ग बनायो । साहसी महिला रङ्गकर्मीको साहसको राप त्यत्तिमै रोकिएन । 

उनीहरुले जुन बुलन्द तरिकाले आफूमाथि भएको अकल्पनीय घटनाको विवरण खुलाएका थिए, त्यसको प्रभावले नाट्य क्षेत्रका हस्तीका रुपमा स्थापित सुनिल पोखरेल, राजकुमार पुडासैनी र राजन खतिवडाको रङ्गयात्रा डाम्यो । केही नाट्यकर्मीबारे लागेको आरोपमा पीडितको नाम नखुलेको बहानामा पोलिएकाहरुलाई उन्मुक्ति दिने प्रयास नभएको हैन तर यौन दुव्र्यवहारको खुलासाको राप पहिलाझैँ धिपिक्क थिएन ।

जति बहानाबाजी गरे पनि तीन आरोपीमध्ये दुई जना घटना स्वीकार गर्न बाध्य भए । अन्तर्राष्ट्रिय नाट्य संस्थामा आबद्ध राजकुमारको चरित्रगत समस्या रहेको उनी आबद्ध संस्थाले समेत स्वीकार गर्दै एक वर्षका लागि निलम्बन गर्यो । खतिवडा आफैँले आत्मालोचना गर्दै आबद्ध संस्थाको महासचिव पदबाट राजीनामा दिए, सो स्वीकृत भइसकेको छ । 

विभिन्न आवरणमा यौन दुव्र्यवहारमा संलग्नहरुको मुटुको धड्कन बढाउन र पीडितलाई आफूमाथि भएको पीडादायी घटना गुम्स्याएर राख्नु हुन्न, बोल्नुपर्ने रहेछ भन्ने सकारात्मक सन्देश दिएको छ । 

यसअघि पनि त्रिभुवन विश्वविद्यालय, संगीत क्षेत्र, विद्यालय र राजनीतिक क्षेत्रमा भएका यौन दुव्र्यवहारका घटना सार्वजनिक भए पनि त्यसले आत्मालोचनाको तहसम्म पनि पु¥याउन सकेन तर रंगमञ्चको अवस्था त्यो रहेन । आरोपीले आरोप स्वीकार गरेसँगै सम्बन्धित संस्था कार्बाहीमा समेत सक्रिय हुँदा यसले सकारात्मक सन्देश प्रवाह गरेको छ । यो वातावरण बनाउन पहल गर्ने सबै रङ्गकर्मीलाई धन्यवादका पात्र छन् ।

यौन दुव्र्यवहारका घटना पक्कै पनि रङ्गमञ्च क्षेत्रको मात्रै समस्या हैन । विश्वविद्यालय, विद्यालय, फिल्म, बैंकिङ, निजी तथा सरकारी संस्थान, सुरक्षा निकाय लगायतका क्षेत्रमा कार्यरत महिलाले पनि कुनै न कुनै रुपमा यसको सामना गरेकै छन् । पक्कै पीडित त्यहाँ पनि छन् तर पेशागत, सामाजिक र व्यक्तिगत भय लगायतका समस्याले ती क्षेत्रका घटना सार्वजनिक हुन नसकेका मात्र हुन् । 

रङ्गमञ्चको खुलासाले बोल्न नसकेका अन्य क्षेत्रका महिलाको पक्कै आत्मबल बढाउने काम गरेको छ । रङ्गमञ्चको प्रतिक्रियापछि यौन दुव्र्यवहारविरुद्ध बोल्नुपर्ने पक्षमा सकारात्मक वातावरण बनेको छ । सकारात्मक वातावरण बन्नुमा रङ्गमञ्चका तीनै साहसी रङ्गकर्मीको जोखिम मोल्ने निर्णय क्षमता नै प्रमुख हो । 

ती सबै रङ्गकर्मीलाई सलाम, जसले यौन दुव्र्यवहारविरुद्ध बोले । हरेक क्षेत्रमा भएका यौन दुव्र्यवहारविरुद्ध हाम्रो निगरानी जारी छ । आशा छ, अन्य क्षेत्रमा पनि यस्तै साहसीहरु पक्कै भेटिने छन् ।
 

Leave A Comment