सत्तामा कमेडियन !

आइतबार, १५ बैशाख २०७६, ०५ : १६ अच्युत काेइराला
सत्तामा कमेडियन !

गएको आइतबार दोस्रो तथा अन्तिम चरणको चुनावमा टेलिभिजनका कलाकार तथा कमेडियन भोलोदिमिर जेलेन्स्कीले आश्चर्यजनक रुपमा ९८ प्रतिशत चुनावी मत खस्दा ७३ प्रतिशतभन्दा बढी मत ल्याउँदै राष्ट्रपति बन्ने बाटो खुलेसँग युक्रेनी राष्ट्रपतीय चुनावको नतिजाले संसारलाई चकित पा¥यो । 
अर्को आश्चर्य अनुभवी राजनीतिज्ञ पेत्रो पोरोसेन्कोले पाएको मत प्रतिशत समेत रह्यो जम्मा २५ । चुनावी परिणामपछि युक्रेनी जनतामा राजनीतिज्ञप्रतिको आक्रोशको लेखाजोखा शुरु भइसकेको छ । 

यत्रो आक्रोश किन ? राजनीतिका सबै खेलाडीलाई पाखा लगाएर एउटा कलाकारलाई जनताले किन पत्याए ? यो सुझबुझपूर्ण निर्णय हो कि आक्रोशको प्रतिबिम्ब ? राजनीतिका धुरन्धर विज्ञहरु विश्लेषणमा व्यस्त छन् अहिले । 

हुन पनि युक्रेनी जनताले त्यस्ता व्यक्तिलाई सिंहासनमा पुर्याइदिए, जसलाई राजनीतिको त्यत्ति बलियो ज्ञान देखिन्न । उनमा न त कूटनीतिक ज्ञान नै देखिएको थियो । उनी हास्य क्षेत्रका उम्दा कलाकार थिए, जो कलाकारितामा आफू राष्ट्रपति भएको अभिनय गर्थे । कानुन पढेका उनी कलाकारिताअघि कानुन व्यवसायी बन्ने लक्ष्य लिएका थिए तर भइदिए राष्ट्र प्रमुख । 

गरिबी र बेरोजगारी चर्को

सन् २०१६ मा संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी)ले जारी गरेको एक रिपोर्टअनुसार युक्रेन युरोपकै सबैभन्दा गरिब मुलुकमध्ये एक हो । यहाँका ६० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन् । 
गरिब झन् गरिब हुने र धनीहरु अर्बपति हुने क्रम ह्वात्तै बढेको छ । सन् २०१७ मा देशकै सबैभन्दा १०० धनीहरुको संयुक्त सम्पत्ति एक वर्षमै ४३ प्रतिशत बढेर ३७ अर्ब डलरसम्म पुगेको थियो ।
विगत पाँच वर्षमा यहाँ ३२ लाख जनता रोजगारीका लागि विदेशिनु पर्यो । देशका १० मध्ये एक युक्रेनी देश छाडेर भाग्न चाहन्छन् ।

युक्रेनका नागरिकले एक से एक राजनीतिज्ञलाई किनारा लगाउँदै यी कमेडियनलाई किन महŒव दिए यी नै तथ्यांकले पनि देखाउँछ ‘देशमा व्याप्त गरिबी, बेरोजगारी र भ्रष्टाचार ।’

युक्रेनको नतिजाले अर्को सन्देश पनि दियो, जब नेताले जनताको विश्वास गुमाउँछन्, उनीहरु यति क्रुर हुन्छन् कि उठ्नै नसक्ने गरी जमिनमा बजारिदिन्छन् । यस्तै अवस्था व्यहोरे पेत्रोले ।

पेत्रोको उदय
सन् २०१३ अघि नै युक्रेनको अवस्था खराब हुँदै जान थालेको थियो । रुसप्रति नरम भावना राख्ने राष्ट्रपति भिक्टर यानुकोभिचको शासन सर्वसाधारणले रुचाएनन् । भिक्टरप्रतिको अरुचि बढ्दै गर्दा रुसले क्रिमियामा सेना पठाएर कब्जा मात्र गरेन, जनमत संग्रहमार्फत् आफूमा गाभ्यो पनि । यसले यानुकोभिचको शिर नै झुकाइदियो । सर्वसाधारण पनि उत्तिकै आक्रोशित भए । रुसविरुद्ध हरेक दिन आन्दोलन चर्कन थाल्यो । भिक्टरले यो असन्तोषलाई साम्य पार्न सकेनन् ।

अर्थव्यवस्थामा महत्वपूर्ण भूमिका खेल्ने ऊर्जा, कृषि र प्राकृतिक संशाधनतर्फ कुलीन वर्गको चर्को प्रभाव छ । त्यसमाथि मिडिया त उनीहरुको औँलामा नाच्नु स्वाभाविक भइहाल्यो । उनीहरुको मनपर्दीविरुद्ध कसैले मुख खोल्न सकिरहेका थिएनन् र सरकारी एजेन्सीले पनि उनीहरुविरुद्ध केही ठोस काम गर्न डराइरहेका थिए ।

असन्तोषमाझ उद्यमी अर्बपति पेत्रो पेरोसेन्को उदाए । उनले रुसविरोधी भावनालाई मलजल गरेर भिक्टरका गलत क्रियाकलापलाई सपार्ने सपना देखाए । उनले रुस सँगको सम्बन्ध कडा पार्ने, शक्तिशाली कुलीन वर्गको पहुँच खुकुल्याउने र स्वतन्त्र रुपमा सरकार चलाउने, भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने वाचा गरे । 
पेत्रोले जब जनताको आकांक्षा सम्बोधन गर्ने भनी सपना देखाए, जनताले उनीमाथि विश्वास गरे । त्यसो त पेत्रो आफैँमा बियर फ्याक्ट्रीका अर्बपति मालिक भएकाले उनी आफैँले भ्रष्टाचार नगर्लान् भन्ने अपेक्षा सर्वसाधारणको थियो । 

पेत्रोले पनि चुनाव मुखैमा रहँदा धनीहरुविरुद्ध खरो आलोचना गरे र यो आलोचनाका कारण उनीमाथि सर्वसाधारणको विश्वास बढ्यो । उनको सात वर्षे शासनकालमा परिस्थिति सुध्रनुको साटो अझ बिग्रियो । उनले न रुससँगको तनाव कम गर्न सके न त कुलीन वर्गको दबदबालाई घटाउन नै सफल भए ।

भ्रष्टाचार न्यूनीकरण त एउटा ठट्टाजस्तो भयो । उनकै शासनकालमा भ्रष्टाचारका कयौँ ठूला काण्ड सार्वजनिक भए ।

पछिल्लो समय युक्रेनको एउटा मिडियाले राष्ट्रपतिका नजिकका साथी तथा राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुख ओलेह ह्लादकोवस्कीले रक्षा संयन्त्रका लागि हतियार खरिद प्रकरणमा ठूलो भ्रष्टाचार गरेको खुलासा गर्यो । 

राष्ट्रपति पेत्रोले आफ्नो कार्यकालमा न्यायिक प्रक्रियामा भइरहेको भ्रष्टाचार अन्त्य गर्ने सपना देखाएका थिए तर केही महिना पहिले नै न्यायपालिकामा ठूला धाँधली भएका विवरण सतहमा आए । 

युक्रेनको उच्च अदालतले यस्ता न्यायाधीश नियुक्त गर्यो, जसमाथि भ्रष्टाचारका कयौँ आरोप थिए । देशका एक मात्र इमान्दार न्यायाधीश तथा चर्चित मानव अधिकार कार्यकर्ता पाउलो पार्कहोमेन्कोलाई प्रधान न्यायाधीश बनाउन सरकारले अस्वीकार ग¥यो । त्यसपछि त जनताको आक्रोश चुलिा थाल्यो । 

युक्रेनी चर्चित पत्रकार कात्या गोरचिन्स्की टिप्पणी गर्दै लेख्छिन्, ‘युक्रेनमा कयौँ पटक सरकारविरोधी आन्दोलन भयो । त्यस्ता आन्दोलनले सधैँ विपक्षी पार्टीले फाइदा उठायो । तर युक्रेनको अवस्था कतै कहीँ परिवर्तन हुन सकेन । पटक पटक यस्तो वाहियात परिवर्तन देखेका जनताले यस पटक भने राजनीतिक पार्टीलाई पूरै पाखा लगाउने निर्णय गरिदिए ।’

र, कमेडियनलाई जिम्मेवारी
टेलिभिजनमा हास्य कलाकारिता गरेर चर्चामा आएका भोलोदिमिर जेलेन्स्कीले सन् २०१५ मा युक्रेनको चर्चित टेलिभिजन शृंखला ‘सर्भेन्ट अफ पिपुल’मा मुख्य भूमिका निभाएका थिए । शृंखलामा उनले भसिली होलबोरोडको नामक इमान्दार शिक्षकको भूमिकामा थिए जो परिस्थितिका कारण राष्ट्रपतिमा निर्वाचित हुन्छन् । यो शृंखला बजारमा आउनेबित्तिकै चर्चाको विषय मात्र भएन, सानोतिनो भूमिकामा दर्शकलाई हँसाइरहेका भेलोदिमिरको भूमिकाले जनतालाई गम्भीर भएर राजनीतिबारे सोच्न बाध्य बनाए । 

राष्ट्रपतीय चुनावमा उनी आबद्ध पार्टीले उनको टिभी शृंखलावाला इमान्दार शिक्षकको छविलाई राम्रैसँग उपयोग गर्यो । पार्टीले प्रचारका लागि भोलोदिमिर जेलेन्स्कीका तिनै तस्बिर उपयोग गरिएको थियो, जुन सिरियल प्रसारण हुँदाका बखत अखबारहरुमा छापिन्थ्यो वा टेलिभिजन तथा युट्युबमा देखाइन्थ्यो । उनले चुनावमा शृंखलाका पात्र भसिली होलबोरोड्कोकै भाषण गर्थे भने आफू भसिलीझैँ इमान्दार रहेको भनी जनतालाई आश्वस्त तुल्याउँथे ।

युक्रेनी मिडियाले भलै भोलोदिमिरले निभाएको त्यही इमान्दार चरित्रका कारण तीव्र गतिमा चर्चा बटुलेको बताए पनि त्यही लोकप्रियताका कारण उनलाई भोट दिएका भने होइनन् । 
हालै भएको एउटा सर्भेमा ५४ प्रतिशतले ४१ वर्षीय जेलेन्स्कीलाई उनी नयाँ भएको, अन्य राजनीतिज्ञजस्तो भ्रष्ट नरहेको कारणले भोट दिएको बताएका थिए । 

त्यसो त जेलेन्स्की आफैँमा एक करोडपति व्यक्ति हुन् । उनको आफ्नो टेलिभिजन प्रोडक्सन कम्पनी छ । मिडियाबाटै उनी करोडपति भएका कारण भ्रष्टाचार नगर्लान् कि भन्ने सर्वसाधारणको धारणा पनि देखियो । कंगाललाई सत्तामा पुर्याउँदा झनै बढी भ्रष्टाचार बढाएको जनताको बुझाइ थियो ।

सर्भेमा ६ प्रतिशत सर्वसाधारणले मात्रै टेलिभिजनमा निभाएको चरित्रजस्तो ठानेर उनलाई भोट दिएको टिप्पणी गरेका थिए । सर्भेक्षणमा सहभागिता जनाएकी विशेषज्ञ एन्ड्री बिन्चे भन्छन्, ‘टेलिभिजनको चरित्रले उनलाई यो भोट दिलाएको होइन । सर्वसाधारणमा ‘राजनीतिक प्राणीप्रति’ यति बढी घृणा पलाएको छ कि उनीहरु तिनीहरुबाट मुक्त हुन चाहन्छन् ।’

राजनीतिज्ञ र पूरै प्रणालीप्रति सर्वसाधारणलाई यति धेरै वितृष्णा थियो कि यस्तो अवस्थामा उनीहरुले बेदाग र गैरराजनीतिक व्यक्ति फेला पारे । त्यही घृणा र अविश्वासविरुद्ध सर्वसाधारणले उनलाई मत दिए ।
चुनाव जितेपछि भोलोदिमिरले भनेका छन्, ‘युक्रेनी जनतामा संसारलाई चकित पार्ने इच्छाशक्ति छ र अहिले त्यो प्रतिविम्बित भएको छ । सत्ता सञ्चालनमा पनि त्यो देखिनेछ ।’

के उनले भनेजस्तै शासनसत्ता यति सजिलो होला त ? युक्रेनी जनताले चकित पार्ने शासन देख्न पाउलान् या उनको अवस्था पनि पेत्रोकै हुनेछ ? यसका लागि अब केही वर्ष कुर्नैपर्छ ।
(एजेन्सीको सहयोगमा)
 

Leave A Comment