प्राविधिकको टाउकोमा विराजको मुक्का

आइतबार, १५ बैशाख २०७६, ०५ : ४२ शुक्रवार
प्राविधिकको टाउकोमा विराजको मुक्का

दिनः सोमबार
समयः राति ९ः४५ बजे 
लोकेसनः नयाँ बानेश्वरस्थित बेकरी क्याफे 
दृश्यः एक्सन हिरो विराज भट्ट कसैलाई आफ्नो पैसा फिर्ता गर्न अनुरोध गरिरहेका हुन्छन् तर ती व्यक्ति कुनै पनि हालतमा पैसा फिर्ता नगर्ने अड्डी कस्छन् । विराजलाई झनक्क रिस उठ्छ । अचानक उनको एक्सन रुप ब्युँतिन्छ । त्यसपछि ती व्यक्तिको टाउकोका पछाडिको भागमा लगातार मुक्का बर्साउन थाल्छन् । मुक्काको बलले व्यक्ति भुइँमा पछारिन्छन् । माहोल एकाएक तनावग्रस्त हुन्छ । 

छैन् त दृश्य फिल्मी ? झट्ट पढ्दा यो कुनै फिल्मको सुटिङजस्तो पनि लाग्न सक्छ किनभने पर्दामा यस्ता एक्सन त विराजले आफ्नो जिन्दगीमा कति दिए, गनेर साध्य छैन । बलियो एक्सन छविकै कारण उनी नेपाली फिल्म हुँदै भोजपुरी फिल्मको स्टारसम्म कहलिए । 

तर माथि उल्लेख गरिएको दृश्य उनले ‘रिल’ लाइफका लागि नभएर ‘रियल’ लाइफमा घटाएका हुन् । मुक्का खाने पात्र फिल्मका भिलेन होइनन्, लामो समयदेखि निर्माण नियन्त्रकका रुपमा काम गरिरहेका फिल्म प्राविधिक शंकर पाण्डे हुन् । 

घटना कसरी घट्यो ?
विराज नयाँ नेपाली फिल्म ‘साङ्लो’को तयारीमा छन् । उनले यो फिल्मको सुटिङ गत वर्षको फागुनमै गर्ने बताएका थिए । त्यसैअनुरुप फिल्मका लागि शंकरलाई गत पुसमा निर्माण नियन्त्रकका रुपमा अनुबन्धित गरिएको थियो । ७५ हजार रुपैयाँ एडभान्स पनि पाएका थिए । 

शंकरका अनुसार उनी फिल्मको निर्माण नियन्त्रक भए पनि विराजले धेरैजसो निर्णय एकलौटी ढंगले गर्दै आइरहेका थिए । यस कारण दुवैबीच असन्तुष्टि बढिरहेको थियो । 

तैपनि शंकर लगातार चार महिनादेखि फिल्मको कास्ट एन्ड क्रुको अनुबन्धनमा सक्रिय नै थिए । सुटिङ सुरु हुन भने सकिरहेको थिएन । सोमबार साँझ शंकरले विराजसँग व्यावसायिक हिसाबले काम हुन नसकिरहेको गुनासो राख्दै यसरी काम गर्न गाह्रो हुने आशयको भनाइ राखे । विराज झनक्क रिसाए । त्यसो भए आफ्नो पैसा फिर्ता गर्न भने । शंकरले आफूले चार महिना काम गरेको बताउँदै किन फिर्ता गर्ने भनेर उल्टै प्रश्न गरे ।

भनाभन शुरु भयो र चर्कियो । ‘त्यसपछि मलाई विराजले पछाडिबाट मुक्का बर्साए,’ शंकरले शुक्रवारसँग भने, ‘पछि मैले पनि एक–दुईपल्ट त हिर्काउन भ्याए तर म उहाँको व्यवहारबाट एकदमै दुःखी छु । आफू एक्सन हिरो भएँ भन्दैमा एउटा कलाकारले प्राविधिकमाथि यस्तो गर्नु पक्कै राम्रो संकेत होइन । म यो फिल्ममा अब काम नगर्ने निर्णयमा पुगिसकेको छु ।’

झगडा भइरहेका बेला नजिकै रहेका फिल्म प्राविधिक केशव घिमिरे त्यहाँ आइपुगेका थिए । घिमिरेलै नै दुवैलाई छुट्याएर त्यहाँबाट घर पठाएका थिए । 

‘गल्ती भयो, सरी’
घटनालगत्तै यसको खबर प्राविधिकहरुको हकहितका लागि स्थापित संस्था चलचित्र प्राविधिक संघसम्म पुग्यो । संघका अध्यक्ष पुष्कर लामाले सोमबार नै घटनाको निन्दा गरे । प्राविधिकमाथि एउटा कलाकारले हातपात गर्नु शोभनीय नभएको टिप्पणी गरे । मंगलबार उनले विराज र शंकर दुवैलाई छलफलका लागि बोलाए । पुष्करका अनुसार छलफलका क्रममा विराजले हात हाल्नु आफ्नो गल्ती भएको स्वीकार गरे । 
‘विराजजीले सरी भनेपछि घटनालाई प्रहरीसम्म नपु¥याई अब आइन्दा यस्तो नगर्ने सर्तमा यहीँ टुंग्याउने निर्णय भयो,’ अध्यक्ष लामाले भने । 

घटनाका विषयमा विराजसँग सम्पर्क गर्दा उनले बोल्ने इच्छा देखाएनन् । ‘म अहिले बिजी छु, भोलि फोन गर्नुस्,’ यति भनेर फोन राखे । पछिल्लो समय भोजपुरी फिल्ममा सक्रिय विराजको पछिल्लो नेपाली फिल्म ‘जय पर्शुराम’ हो ।

यो फिल्म फ्लप भएपछि पुनः उनी ‘साङ्लो’ निर्माणको तयारीमा जुटेको महिनौँ भइसक्यो । फिल्मका लागि पूर्व मिस नेपाल निकिता चण्डक अनुबन्धित समेत भइसकिन् । तर, यो फिल्म सुटिङ भने अझै अन्यौलमै छ । फिल्मको सुटिङ समयमा गर्न नसकेर तनावमा रहेका विराज अहिले प्राविधिक पाण्डेलाई पिटेपछि अझ विवादमा तानिएका छन् । यससँगै उनको फिल्म सुटिङ पनि अझ धकेलिने सम्भावना बढेर गएको छ । 

घटना चर्केला भनेर उनी मिडियासँग तर्किरहेका छन् ।

‘अनमोलले पनि मुख छाडेका थिए’
फिल्म क्षेत्रमा प्रष्ट र हक्की स्वभावका प्राविधिकका रुपमा चिनिएका शंकरको यो विवाद पहिलो भने होइन । यसअघि ‘कृ’ फिल्मको सुटिङका बेला अभिनेता अनमोल केसीले समेत उनीमाथि दुव्र्यव्यहार गरेको खुलेको छ । 

‘त्यतिबेला अनमोलले विराजले जसरी हात नै हालेका त थिएनन्,’ शंकरले भने, ‘गाडी किन छिटो नआएको भनेर मुख छाडेका थिए । पछि माफी पनि मागे तर फिल्मलाई असर पुग्छ भनेर घटना बाहिर नल्याइएको हो ।’

शंकरलाई ‘शासन’ फिल्मका निर्माणका बेला निर्माता सम्राट सापकोटाले समेत कुटपिट गरेका थिए । पटक–पटक तपाई नै किन यसरी विवादमा भनी प्रश्न गर्दा उनले भने, ‘किनभने म कसैसँग झुकेर काम गर्दिनँ । प्राविधिक भनेर कसैले हेपेर काम अह्राउँछ म त्यसलाई मान्दिनँ ।

इमान्दारीसाथ काम गर्छु तर चाकडी गर्दिनँ । मसँग काम गर्ने प्राविधिकको एक पैसा बाँकी राख्दिनँ । मेरो यही स्वभावका कारण काम पाइरहन्छु । विराजको फिल्म छाड्नेबित्तिकै ‘कबड््डी ३’ पाइसकेँ । अहिले यसमै बिजी छु ।’
 

Leave A Comment