राजकुमार ह्यारी : प्लेब्वाईदेखि बाबुसम्म

बिहिबार, २६ बैशाख २०७६, ०९ : ०६ शुक्रवार
राजकुमार ह्यारी : प्लेब्वाईदेखि बाबुसम्म

गएको मंगलबार बेलायती राजकुमार ह्यारी ‘अति स्वस्थ बालक’का पिता बने । यससँगै एक एङ्ग्री योङ म्यानको छवियुक्त यी राजकुमार बेलायती दरबारका गज्जबकै ‘एसेट’मा परिणत भएका छन् ।

उनको पृष्ठभुमी भने अली भिन्न थियो । राजकुमार चाल्र्स र स्वर्गीय राजकुमारी डायनाका कान्छा छोरा उनी  रसाहा युवाका रुपमा चिनिन्थे । उनी जसरी हुन्छ, आफ्नो दरबारिया परिवेश त्याग्न चाहन्थे ।
जसै उनी मेगन मर्केलसँग विवाहित जीवनमा प्रवेश गरे, उनका लागि नयाँ सन्तान र नयाँ घरको मोहले तानेको देखिन्छ । अहिले भने उनी भाग्न होइन, सहज व्यवस्थापन चाहन्छन् । एउटा सहज पारिवारिक जीवनका लागि तयार देखिन्छन् । 

‘आमा र सन्तानको स्वास्थ्य गज्जबकै छ,’ टेलिभिजन क्यामेरासँगै चहकिला ह्यारीले आफ्नो मन्तव्य राख्दै भनेका छन्, ‘यस्तो गज्जबको अनुभूति मैले विरलै कल्पेको थिएँ ।’

ससेक्सका ड्युकको पहिचान बोकेका र १० वर्ष बेलायती सेनामा काम गरेका, अफगानिस्तानमा दुई पटकसम्म यात्रा गरेका ह्यारी पहिला मिडियाप्रति अति आलोचक देखिन्थे ।

उनी क्रमशः बद्लिँदै जान थाले । उनले बेलायती सेनाका भेटरानका लागि सामाजिक सेवामा जोडिए, मानसिक स्वास्थ्यका बारेमा खुलेर कुरा गर्न थाले र हजुरआमा महारानी एलिजाबेथ द्वितीयाको सेवा टहलमा देखिन थाले ।

यति मात्र होइन, दिवंगत आमाको जस्तै बानी बोकेर आए, समाज र भुइँमान्छेसँग जोडिने कला । कहिलेकाहीँ ठट्टा गर्दै गरेको उनी फेला पर्न थाले । पत्नी मेगन, दाजु राजकुमार विलियम्स र भाउजू केटको मिल्तीले बेलायती दरबारमा एउटा ताजा हावाको झोँका महसुस गर्न थालियो ।

ह्यारी बेलायती दरबारको रोलक्रममा छैटौँ नम्बरमा पर्छन् । उनले आफ्नो जीवनमा आफ्नी आमा डायनाका विचारले ठूलो भूमिका खेलेको बताउने गरेका छन् । उनले हालै आफूलाई एचआइभी परीक्षण गर्नुको पछाडि यसप्रतिको चासो बढाउन थियो । उनको समाजसेवाप्रतिको चाह आमाकै विरासत धान्ने एउटा कडी पनि हो ।

सन् १९९७ मा पेरिसमा कार दुर्घटनामा उनकी आमाको मृत्युपछि त्यो पीडाबाट निस्कन उनलाई निकै लामो समय लाग्यो । कतिसम्म भने उनले मनोरोग विशेषज्ञको सहयोगसमेत केही वर्षअघिसम्म लिइरहेका थिए ।

एक पटक यी राजकुमारले भनेका थिए, ‘म यतिसम्म मनोरोगी भएको थिएँ कि कयौँ अवस्थामा म मुर्छा नै परेको छु ।’

सन् २०१६ को जुलाईमा जसै टेलिभिजन शृंखलाकी अभिनेत्री मेगन मर्केलसँग ह्यारीको भेट भयो, उनलाई मनोरोगबाट निकाल्ने एउटा कडी बन्न पुग्यो । यी दुवैको प्रेम ‘अन्तर एटलान्टिक महासागरको प्रेम’का रुपमा प्रख्यात बन्न पुग्यो ।

वास्तविक नाम राजकुमारी हेनरी चाल्र्स अल्बर्ट डेभिड अफ वेल्स रहेका ह्यारी सन् १९८४ को सेप्टेम्बर १५ मा जन्मिएका हुन् ।

बेलायतको इटन स्कुलमा यिनको बालापन बित्यो । बाउआमाको दाम्पत्य उति राम्रो नहुनाले बाल्यकालमा मातापिताको दोहोरो मायाबाट उनी वञ्चित रहे । झन् आमाको मृत्युपछि त उनका लागि मातृ वात्सल्य स्वप्नमै परिणत हुन पुग्यो ।

डायनालाई पेरिसबाट कफिनमा ल्याइँदा ह्यारीको उमेर जम्मा १२ वर्षको थियो भने दाजु विलियम्स १५ वर्षका थिए । चिहानघारीमा यी दुःखी दाजुभाइको त्यो बेलाको तस्बिर सबैभन्दा कारुणिक तस्बिरमध्येमा गनिन्छ ।

‘१२ वर्षको उमेरमा आमालाई गुमाएपछिका २० वर्ष मेरालागि सबै किसिमका भावुकता र भावना गुमाएका क्षणमा पर्छ,’ ह्यारीले आफ्नो स्वीकारोक्तिमा भनेका छन्, ‘यस्तो अवस्थाले मेरो निजी जीवनमा मात्र होइन, कतिपय अन्य गम्भीर काममा समेत नराम्रो असर पुर्याएको थियो ।’

मातृ वात्सल्यको अभावले नै लाई ह्यारीस्त्री लम्पट बनाएको केहीको धारणा छ । कतिसम्म भने मिडियामा उनको छवि ‘प्ले ब्वाई प्रिन्स’को थियो । राम्रा युवतीलाई अघिपछि लगाएर हिँडेका उनका तस्बिरले उनको छविलाई बल पुर्याउँथ्यो ।

राजकुमार भए पनि उनलाई आफ्नो सार्वजनिक छवि ध्वस्त भएकामा कुनै मतलब थिएन । सन् २००५ मा त हद पार भयो, जब उनले ‘नाजी अफ्रिका कर्प’ शीर्षकको पहिरन लगाए । उनको यो पहिरन मिडियामा पहिलो पृष्ठको सनसनीखेज समाचारका रुपमा छापिएको थियो ।

उनी त्यो बेला भर्खरै बेलायती सेनामा भर्ती भएका थिए । राजकुमार भएका नाताले उनको सेना प्रवेशलाई स्वाभाविक रुपमा लिइयो भने उनी स्वयंका लागि यो जत्तिको गज्जबको दरबार छाड्ने बहाना अन्य कुनै नभएको समेत स्वीकारेका थिए ।

सन् २००८ मा बेलायतले अफगानिस्तानबाट उनलाई फिर्ता ल्यायो किनभने उनी अफगानिस्तानको युद्धभूमिमा छन् भन्ने खबर चुहिएको थियो । कतै राजकुमारलाई तालिबानले निशानामा नपारोस् भन्ने बेलायती सेनाको चाहना थियो । सेनाले फिर्ता बोलाएपछि उनी दरबारमै फर्किए ।

सन् २०१५ मा उनले सेनाको जागिर छाडेर दरबारिया जागिर सुरु गरिसकेका थिए । यस क्रममा उनको काम दैनिक अफिस जाने र बेलुकी घर फर्कने हुन थाल्यो ।

सन् २०१६ को जुलाईमा उनले न्युयोर्क भ्रमणका क्रममा मेगनलाई भेटेका थिए । खासमा न्युयोर्कमा रहँदा उनले मानसिक स्वास्थ्य तथा युवा सशक्तीकरणको कार्यक्रममा उनलाई भेटेका थिए ।

सिड्नी, टोरन्टो, ओल्र्यान्डो र लन्डनमा आयोजना गरिएको घाइते सेनाबीचको खेलकुद कार्यक्रम ‘इन्भिक्टस गेम्स’को सिलसिलामा मेगनलाई भेटेका थिए । यो भेटले उनीहरुलाई नजिक मात्र ल्याएन, वैवाहिक बन्धनमा समेत गाँस्यो ।

सन् २०१८ मे १९ मा यिनले बेलायतको विन्डसोर क्यासलस्थित सेन्ट जर्ज च्यापलमा विवाह गरे भने लगत्तै अक्टोबरमा ‘इन्भिक्टस गेम्स’मा सक्रिय भएर लागिपरे ।

अहिले सन्तान प्राप्तिपछि एउटा सानो कटेजपछि लन्डनको केसिङ्टन दरबारमा सरेका छन् । यो सुन्दर तथा शान्त ठाउँमा एउटा अभिभावकका रुपमा राजकुमार ह्यारीले बाँकीको जीवन तय गर्नेछन् ।
यसरी एउटा राजकुमारको उतारचढावपूर्ण जीवनमा सन्तानले स्थायित्व ल्याउने अपेक्षा सबैले गरेका छन् ।

एलिस रिची-एएफपी

Leave A Comment