‘चलचित्र क्षेत्रका अध्ययनशील छैनन्’

शुक्रबार, २७ बैशाख २०७६, ०७ : ५६ प्रजु पन्त
‘चलचित्र क्षेत्रका अध्ययनशील छैनन्’

अभिनेता निखिल उप्रेतीको पहिचान हो ‘एक्सन हिरो’ अर्थात् मारधाड । उनका अधिकांश फिल्म हिंसात्मक हुन्छन् तर उनको व्यक्तिगत रुचि भने बिल्कुल फरक छ । औधि पुस्तक पढ्न रुचाउने उनको रोजाइका पात्र ओशो, बुद्ध र कृष्ण हुन् । उनी यी तीनले निसृत गरेका सिद्धान्तबाट प्रभावित देखिए । उप्रेतीसँग शुक्रवारकर्मी प्रजु पन्तले गरेको पठन संवादः

तपाईं अध्ययनशील हुनुहुन्छ भन्ने कुरा तपाईंले पुस्तक किनिरहने पसलबाट थाहा पाएँ । कस्ता पुस्तक तपाईंको रोजाइमा पर्छन् ?
अध्ययन गर्न मन पर्छ मलाई । चाहे त्यो समाज होस् या मान्छे । त्यसमा मलाई रमाइलो लाग्छ । रोजाइका पुस्तक भन्दा पनि म लेखक मन पराउँछु । मन परेका व्यक्तिमाथि वा व्यक्तिले लेखेका पुस्तक सकेसम्म छुटाउँदिनँ । ओशोका सबै पुस्तक पढेको छु । बुद्ध अनि कृष्णबारे लेखिएका पुस्तक छुटाउँदिनँ । अन्यमा प्लेटो, सुकुरात र सिग्मन्ड फ्रायडका पुस्तक पढ्न रमाइलो लाग्छ । 

ए, गजबको छनोट रहेछ । पुस्तकमा टक कसरी बस्यो त ?
औपचारिक शिक्षालाई छाडेपछि बल्ल मेरो अध्ययन सुरु भयो । आइए पास गरेपछि  औपचारिक शिक्षाको औचित्य देखिनँ र कोर्स बाहिरको पुस्तक पढ्न थालेँ । प्रारम्भमा कस्ता पुस्तक पढ्ने भन्ने अन्योल भयो । तराईको ब्याकग्राउन्ड भएर होला हिन्दी किताब पढ्न थालेँ । वेदप्रकाश शर्माका उपन्यासहरु पढेँ । उपन्यासबाट दिक्क लाग्न थाल्यो अनि गैरआख्यानतिर ध्यान गयो । 

हाम्रो समाजमा नाच्न, गाउन चाख भएकालाई पढाइमा लगाव हुन्न भनिन्छ । औपचारिक शिक्षा छाड्नुको कारण यो पनि हो कि ?
गलत हो । नाच्ने, गाउने हरेक व्यक्तिलाई पढ्ने मन हुन्छ । नसक्नेले ईष्र्या गरेर त्यस्तो भनेका हुन् । हाम्रो औपचारिक शिक्षा प्रणालीसँग अहिले पनि मेरो असहमति छ । एकै खालको शिक्षा दिएर सर्टिफिकेट र धन कमाउन लोभी जनशक्तिको उत्पादनमा हाम्रो शैक्षिक व्यवस्थाले जोड दिएको देख्छु । किताब, किताब जस्तो त हुन पर्यो नि  पढ्नलाई ! व्यवहारिक जीवन नै पढाउन नसक्ने शिक्षा प्रणाली के काम ?

ओशो, बुद्ध, कृष्ण, सुकरात र सिग्मण्ड फ्रायड दार्शनिक परे । तपाईंको चाख दर्शनतर्फ हो ?
त्यसै भन्नुपर्ला । जब मैले उपन्यास छाडेर यस्ता पुस्तक पढ्न थालेँ अनि बल्ल पढाइमा सन्तुष्ट हुन थालेँ । मैले खोजेजस्तो पुस्तक पाएको अनुभव भयो । 

कस्ता विषयवस्तुले तान्ने रहेछन् ?
सत्य र तथ्यमा आधारित, नन् फिक्सन ।

ओशो, बुद्ध, कृष्ण मन पर्नुको कारण ?
ओशोको मन पर्ने पाटो ऊ नाङ्गो सत्य हो । कसी लगाउन जान्दैनन् । जे हो त्यही बोल्छन् । बुद्धका पुस्तकलाई मैले बिज भन्ने गरेको छु । बिज भनेको सिड अर्थात् बिउ । आफ्नो अनुभवलाई प्राथामिकता देऊ भन्ने उनको सन्देश राम्रो लाग्छ । कृष्णको वचन मानिने गीता त मैले ८ पटक पढेँ । जब गीताको सार बुझेँ, अहिले त्यसैलाई जीवनमा उतार्ने प्रयास गरिरहेको छु । 

(तस्बिर: कृष्पा श्रेष्ठ)

ओशोको कुनै एक पुस्तकको नाम लिनुपर्यो भने कुन लिनुहुन्छ र किन ?
‘सम्भोग से समाधि’ । यौनका कुरा गर्न वर्जित हाम्रो समाजमा उनले सहजताका साथ बुझाइदिएका छन् । जबकि हामी यौनका उपज हौँ भने यसबारे खुलस्त कुरा किन नगर्ने ? भित्रभित्रै कुण्ठा पालेकाले यौनलाई रहस्मयी बनाइदिए तर ओशोले सहज बनाइदिए । 

कुनै पुस्तक पढेपछि पहिलेको विचार र सोचाइहरु ध्वस्त हुन्छन् भनिन्छ । कुनै त्यस्तो पुस्तक छ ?
छ नि, गीता ! गीताले पहिलेको मेरो सोच नै बदल्यो । गीता सर्वाेपरि हो । आज व्यक्तिसँग धन छ, काम गर्छ, उसले चाहेका सम्पूर्ण कुराहरु प्राप्त गर्छ तापनि किन खुसी हुन्न ? यो प्रश्नको उत्तर गीतामा पाइन्छ ।

नेपाली चलचित्र क्षेत्रका अधिकांश अध्ययनशील छैनन् भनिन्छ, हो ?
सही हो । निमार्ता र अभिनय गर्नेहरु पढ्दैनन् तर पुस्तक हातमा बोकेर सान भने देखाउँछन् । 
भनेपछि नेपाली फिल्म नेपाली दर्शकको रोजाइमा नपर्नुको कारण अध्ययनै नगरी बनाइएकाले हो ?
अधिकांश नेपाली फिल्म फ्लप हुनुको कारण ढोंग हो । हामी धेरै ढोंगी छौं ।  । आदर्शवादी कुरा मन पराउने धेरै छन् । ३० करोड भन्दा बढी रकम भारतीय फिल्मले उता लैजान्छ । नेपाली फिल्म हुँदाहुँदै विदेशी हेर्नु उचित हो र ?

विश्वव्यापीकरणको यो युगमा भाषाको ज्ञान छ भने जुनसुकै भाषामा बनेको फिल्म हेर्न सकिन्छ । अगाडि गीताको व्यवहारिक ज्ञानबाट प्रभावित छु भन्ने, अहिले आएर यस्तो अव्यवहारिक कुरा गर्ने ? यो त मिलेन नि ?
त्यो कुरा आफ्नो ठाउँमा होला तर सत्य के हो भने करोडौँ लगाएर बनाएको हिन्दी फिल्म सजिलै भित्रन्छन् । यता चाउचाउ खाएर बनाएको फिल्म उनीहरुसँग कसरी तुलना हुन्छ ?  एकचोटी माधुरी दीक्षितले नेपाललाई भारतको राज्यजस्तै रहेछ भन्दा यहाँ आगो बल्यो । आफ्नो मौलिकता नभएको देशलाई इन्डियाको एक राज्यजस्तै हो भन्नु कुन ठूलो कुरा भयो र ?

अघि आफैँले भन्नुभयो अध्ययन नभएर नेपाली फिल्म नचलेको, फेरि हिन्दी चलचित्रको पनि दोष देखाउनुभयो । आफैं अलमलमा भएको लाग्यो है मलाई त !
निमार्ताका पनि कमीकमजोरी छन् । बजारको पनि छ । डकुड्रामा फिल्म अब चल्दैनन् । एक समय भारतमा पनि डकुड्रामा फिल्म बन्थे । अहिले हरायो । अहिले यहाँ त्यही भइरहेको छ ।

कस्तो फिल्म बन्नुपर्छ त ?
मौलिकतामा आधारित । एक्सन मुभी बनाउनुपर्यो । 
 

Leave A Comment