आऊ, अनुमतिबिना मलाई स्पर्श गर्ने आँट गर !

बिहिबार, ०२ जेठ २०७६, ०५ : ५३ शुक्रवार
आऊ, अनुमतिबिना मलाई स्पर्श गर्ने आँट गर !

शिक्षकलाई पूर्वाग्रही हुने छूट् हुँदैन । उसले सबैलाई समान स्थान दिन जानेको हुनुपर्छ । सक्दैन भने त्यसको परिणाम भयंकर हुन जान्छ । 

हाम्रो समाजका शिक्षकहरु हजारौँ वर्षदेखि नारीमाथि पूर्वाग्रही भइराखेका छन् । उनीहरुले पढाउने हरेक शब्दमा पूर्वाग्रह छ । समाज मानव सभ्यताको ठूलो विद्यालय हो र यहाँका शिक्षकहरुले हामीलाई सधैँ गलत पढाइराखे ।

हामीलाई लाज सिकाए, गुलामी सिकाए । पृथ्वीसँग दाँजिदिए र पृथ्वीले जस्तै हामीलाई हरेक कुरा सहन सिकाए । कसैले हाम्रो शरीरमा हात लगेको हाम्रा बा–आमालाई सुनाउँदा यस्तो कुरा कसैलाई भन्नु हुँदैन भनेर सिकाए ।

लोग्नेले कुट्दा प्रतिरोध गर्न हुन्न भनेर सिकाए । हाम्रो अस्तित्व कुमारीत्वसँग जोडिदिए, मानौँ कुमारीत्व नभए त्यो नारीको शरीरमा आत्मा नै हुँदैन । ऊ मुर्दा लासजस्ती हुन्छे । 

हाम्रा शिक्षकले कुमारीत्वको जन्मसिद्ध अधिकार पुरुषहरुसँग हुन्छ भनेर सिकाए । हाम्रो समाजमा हाम्रो भविष्य कोर्ने शिक्षकहरु नै पूर्वाग्रही भए । जब शिक्षकहरुले दिने पाठ नै त्यस्तो छ भने हाम्रो समाजका कथाहरु कस्ता होलान् ?

मेरो पात्र त्यो शिरिशको फूल होइन, जो एक स्पर्शमा ओइलिई झर्छ । मेरो पात्र त्यति कमजोर हुन सक्दैन । बरु मेरो पात्रले एउटा भिन्न प्रजातिको शिरिषको फूल फुलाउन सक्छ, जसको एक स्पर्शमा तिमी ओइली झर्ने छौ ।

अबका शिरिषका फूलहरु त्यति कमजोर छैनन् । अब लेखिने कथाहरु त्यति कमजोर लेखिने पनि छैनन् । 
रावणले सीतालाई हरेर लग्यो, रामलाई बडो पीर पर्यो । उनले सीताको प्रेमका लागि युद्ध लडे, रावणको वध पनि गरे र सीतालाई फिर्ता लिएर आफ्नो राज्य फर्किए । 

अब कसैले सीताको चरित्रमाथि शंका व्यक्त गर्छ । राजा सजग हुन्छन् र सीताले अग्निपरीक्षा दिनुपर्ने माग राख्छन् । सीताले अग्निपरीक्षा पनि दिन्छिन् । यतिले नपुगेर राम राज्य स्थापित गर्न उनी सीतालाई एक्लै ‘तिमी जङ्गल जाऊ’ भनेर पठाउँछन् । सीता पनि जान्छिन् ।

के रामराज्य स्थापित गर्न  रामसँग अरु उपाय थिएन ? रामले सीतालाई अपनाएर आफ्नो राज्य भरतलाई दिएको भए हुँदैन थियो ? लक्ष्मणलाई दिएको भए हुँदैनथ्यो ? के यसो गर्दा रामराज्य अझ उदारणीय हुने थिएन र ?  

तर रामले त्यसो गरेनन् । 

पाँच भाइ जुवा खेल्छन् । भएको सबै हार्छन् र अन्तिममा आफ्नै श्रीमती द्रौपदीलाई दाउमा राख्छन् । त्यो पनि हार्छन् । सबैका अगाडि दुस्साशनले द्रौपदीलाई नाङ्गो पार्दा चुप लागेर बस्छन् । यो कस्तो समाज हो ? यो कस्तो न्याय हो ? यहाँ किन यी पाँच भाइ दोषी देखिँदैनन् ? द्रोपदीले किन दुस्साशनको मात्र रगत माग्छिन् ? द्रोपदीले किन पाँच भाइलाई दोषी देख्दिनन् ? 
के यसको कारण यी कथाहरुका लेखक पुरुष भएर हो ? 

हाम्रा कथाहरु कमजोर भए, जस कारण हामीले कहिले पनि प्रश्न गर्न नै जनेनौ । किन ?
यो शब्द बोल्न हामीलाई कहिले पनि आएन । यस्तो ‘हुनु हुँदैन’ भन्न  हामीलाई कहिल्यै आएन । आजको समाजमा पनि आमा बुबाहरु छोरीलाई गुडिया खेल्न दिन्छन् । भाँडाकुटी खेल्न दिन्छन् । किन  बन्दुक, फुटबल, गुलेली दिँदैनन् ? 

यस पछाडिको मनोविज्ञान के हो ? के हाम्रो समाजले सधैँ नारीहरुलाई कमजोर मात्र बनाउन खोजेको हो ? के हामी सधैँ आँशुमै बिताइराख्ने हो ? हामीलाई कहिलेसम्म रावणले हरण गर्ने, कहिलेसम्म दुस्शासनले नाङ्गो बनाउने अनि कहिलेसम्म हामी चुप लाग्ने ?

हामीमाथि अत्याचार गर्नेहरुले नै हाम्रो उद्दार गरे हुन्थ्यो भनेर कहिलेसम्म आँशु झार्ने ? 
कस्तो उदाहरणीय व्याख्या छ, हाम्रो समाजको । एउटा केटाले दुइटी बिहे गरेर एउटै घरमा राख्दा पुरुषत्व देख्ने समाजले एउटी केटीले दुइटा केटालाई त्यसैगरी राख्न खोज्यो भने नारीत्व देख्न सक्ला त ? 

मानव सभ्यताको लामो इतिहासमा आज पहिलो चोटि पुरुषहरुमाथि, उनीहरुको चरित्रमाथि औँला उठेको छ । आज पहिलो चोटि सीताले रामसँग अग्निपरीक्षाको माग राख्दै छे । 

किन आजका रामहरु आत्तिएका छन्, बौलाएका छन् ? कथा नलेखिँदै किन कथा मेट्न आतुर छन् ? अग्निपरीक्षा हामी मात्र दिन सक्दैनौँ, तिमीहरुले पनि दिनु पर्छ । यौन दुव्र्यवहारमा नाम आउँदा त्यसै भाग्न पाउँदैनौ किनभने अबका शिरिषका फूलहरु एक स्पर्शमा ओइली झर्ने छैनन् । 
आऊ, मेरो अनुमतिबिना मलाई स्पर्श गर्ने आँट गर ।
 

Leave A Comment