'हिट र फ्लप गन्नुभन्दा गुणात्मकताको चर्चा राम्रो' : नवीन सुब्बा

शुक्रबार, ०३ जेठ २०७६, ०६ : २९ अनिल यादव
'हिट र फ्लप गन्नुभन्दा गुणात्मकताको चर्चा राम्रो' : नवीन सुब्बा

नवीन सुब्बालाई नेपाली फिल्मका गम्भीर चिन्तक भन्दा फरक नपर्ला । अहिलेसम्म उनले दुई वटा फिल्म निर्देशन गरेका छन्, ‘नुमाफुङ’ र ‘गुडबाई काठमाडौं’ । ‘गुडबाई काठमाडौं’ अझै सार्वजनिक प्रदर्शनमा आउन सकेको छैन । तर नविनले ‘नुमाफुङ’बाट कमाएको राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्याति अझै उस्तै छ । जातीय छुवाछूतविरुद्ध उनले बनाएको टेलिसिरियल ‘दलन’लाई दर्शकले अझै बिर्सन सकेका छैनन् । नेपाली फिल्मको वर्तमान परिस्थिति र विविध आयाममाथि उनीसँग अनिल यादवले गरेको कुराकानी :


दर्शकले ‘नुमाफुङ’पछि तपाईंको अर्को फिल्म हेर्न पाएका छैनन् । ‘गुडबाई काठमाडौं’ निर्देशन त गर्नुभयो तर दर्शकले कहिले हेर्न पाउने हो ? 
बनेको त धेरै भयो । प्रवासी नेपाली र विदेशी फिल्म फेस्टिभलहरुमा त प्रदर्शन भइरहेकै छ । नेपालमा मात्रै प्रदर्शन बाँकी हो । तयारी हुँदैछ । 

फिल्म निर्देशनमा तपाईंको निकै ठूलो ग्याप किन ?
मैले कामै नगरेको त होइन । लामो लामो सिरियलहरु निर्देशन गरेको छु । फिल्ममा अलिकति टाइम लागेकै हो । मलाई फेरि फिल्मका लागि फिल्म गर्न मन छैन । अब ‘नुमाफुङ’ जस्तै अर्को फिल्म बनाउनुको कुनै अर्थ छैन । पृथक् केही गर्न सकियोस् । पहिलो त आफैँलाई ‘एक्स्प्लोर’ गर्न खोज्दाखेरी टाइम लाग्यो । दोस्रो हाम्रोजस्तो विषयमा काम गर्दा स्रोत जुटाउन पनि गाह्रो हुन्छ । तेस्रो हामीकहाँ टेक्निकल समस्या पनि छ । प्राविधिक उपलब्धता छैन । 

जस्तो ? 
जस्तो, राम्रा स्टुडियोहरु छैनन् । साउन्ड, कलर करेक्सनका लागि उपयुक्त स्टुडियोहरु छैनन् । जस्तो, ‘फुली’ नै गर्नका लागि ‘फुली आर्टिस्ट’हरु छैनन् । राम्रो जनशक्ति अभाव छ । 

बजारमा अहिले जस्ता फिल्म चलिरहेका छन्, तपार्इंको फिल्म तीभन्दा फरक भएका कारण प्रदर्शन गर्न डराइरहेको त होइन ?   
त्यस्तो होइन । विदेशमा रहेका नेपाली समाजतिर त प्रदर्शन भइरहेको छ । हङकङ, अस्ट्रेलिया लगायतका थुप्रै देशतिर भइसक्यो । मलाई यहाँ हलमा प्रदर्शन हुनु/नहुनुले खासै अर्थ राख्छ जस्तो लाग्दैन । दर्शकमाझ पुग्नु मुख्य कुरा हो । पुगिरहेको छ, पुग्ने क्रममै छ । म स्वयं दर्शकहरुसँग निरन्तर अन्तरक्रियामै छु । त्यसैले दर्शकसँग फेस गर्न डराएर या एक प्रकारको भयका कारण प्रदर्शन नगरेको भन्ने हुँदै होइन । 

फिल्मवृत्तमा तपाईंबारे अर्को एउटा टिप्पणी पनि छ । त्यो के भने तपाईं आफैँ नेपाली फिल्ममा यो भएन, त्यो भएन भन्दै खरो टिप्पणी र चिन्ता व्यक्त गरिरहनुहुन्छ तर आफैँ भने फिल्म निर्देशनमा आउन डराउनुहुन्छ । सत्य हो ?
आलोचना र टिप्पणी त गर्न पाइन्छ । तर मेरो हकमा किन ढिलो भएको त्यो मैले अघि भनिसकेँ । बजारले फिल्म मन पराउनु/मन नपराउनु, स्वीकार गर्नु या नगर्नु मेरा लागि सेकेन्डरी हो । प्राइमरी कुरा भने नेपाली फिल्मको स्तरोन्नति नै हो । त्यसलाई भाषिक रुपमा समृद्ध र शक्तिशाली बनाउने भन्ने हो ताकि विदेशी सिनेमाहरुसँग पनि प्रतिस्पर्धा गर्न सकियोस् । कम्तीमा यो हिसाबले प्रयास त हुनुप-यो । सफल हुनु/नहुनु अर्कै कुरा ! 

ठीकै छ, अब थोरै नेपाली फिल्मको ट्रेन्डबारे कुरा गरौँ । यहाँ वर्षेनी सय जति फिल्म बनिरहेका छन्, तर मुस्किलले पाँच वटा फिल्मले लगानी उठाइराछन् । कारण के होला ? 
त्यसलाई त्यसरी हेर्नुहुँदैन होला भन्ने लाग्छ । बलिउडलाई नै हेर्ने हो भने त्यहाँ वर्षेनी सयौँको संख्यामा फिल्महरु बन्छन् । प्रतिशतमा हिसाब गर्ने हो भने त्यहाँ लगानी उठाउने फिल्म त यहाँको भन्दा कम हुन्छ होला । खासमा फिल्म कति चल्यो, कति चलेन भनेर बहस गर्नु नै मलाई ठीक लाग्दैन । मिडियाले पनि खासमा चर्चा गर्नुपर्ने त फिल्मको गुणात्मकता माथि हो । बजारले स्वीकार ग-यो कि गरेन भनेर बजारको पछि दगुर्नु खासमा ठूलो समस्या हो । नेपाली फिल्महरु कत्तिको गुणात्मक बने, बरु त्यो भने चिन्ता र चासोको विषय हुनुपर्छ । धेरै बन्ने, थोरैले लगानी उठाउने ट्रेन्ड त विश्वव्यापी नै हो । चाइनिज, कोरियन सबैतिर त्यस्तै हो । कुनैकुनै भने साँच्चिकै उदाहरणीय देश छन् । जस्तो, पोर्चुगल वर्षमा २५ वटा जति फिल्म बनाउँछ अनि २५ वटै अन्तर्राष्ट्रियस्तरमा प्रशंसित बनाउँछ, बजारमा चल्छ पनि । फेरि पनि भन्छु, हिट र फ्लपको संख्या गन्नुभन्दा पनि गुणात्मक सिनेमाहरुको चर्चा गर्दा फाइदा हुन्छ ।

कस्ता सिनेमाहरुलाई गुणात्मक मान्ने ? 
ठ्याक्कै यो भन्ने त हुन्न । तपाईं कस्तो साहित्यलाई राम्रो मान्नुहुन्छ ? कस्तो संगीतलाई राम्रो ठान्नुहुन्छ ? कस्तो पेन्टिङलाई क्रिएटिभ मान्नुहुन्छ ? चलचित्रलाई पनि त्यस्तै दृष्टिले हेर्नुपर्छ । यसलाई रमाइलो गर्ने माध्यम मात्रै ठानियो भने त्यो यो माध्यम प्रतिकै ठूलो अन्याय हुन्छ । चलचित्र त हामीले मात्रै बनाइरहेका छैनौँ, संसारभर बनिरहेका छन् । संसारभर कस्ता चलचित्र गुणात्मकको सूचीमा छन्, त्यो अध्ययन गर्न सकिन्छ । राम्रा चलचित्रले त सधैँ समाजसँग अन्तरसंवाद गरिरहेका हुन्छन्, इतिहाससँग अन्तरसंवाद गरिरहेका हुन्छन्, भविष्य पनि कल्पना गरिरहेका हुन्छन् । मानवीय व्यवहारलाई नै प्रस्तुत गरिरहेका छन् । भाषिक रुपमा कति स्तरीय बन्यो, त्यसको कलात्मक उचाइ कति छ, त्यसको आधारमा फिल्मको गुणात्मक मापन गरिन्छ । अमेरिकामा कति फिल्म फ्लप भयो भनेर चर्चै हुँदैन । बरु स्पिलवर्गले कस्तो फिल्म बनाए, ड्यानियल डे–लेविसको एक्टिङ कस्तो थियो भने छलफल गर्छन् । तर हामी यहाँ यस्तो छलफल गरिरहेका छैनौँ, कुन फिल्म फ्लप भयो, कुन हिट संख्या गन्नमै मख्ख छौँ । यो सुखद् संकेत होइन । 


तर, विश्वभर ‘एभेन्जर्सः इन्डगेम’ले कति कमायो, त्यसको पनि चर्चा भइरहेको छ, होइन र ? 
एभेन्जर्सले कति कमायो त्यसको चर्चा त भइरहेको छ तर त्यसको कमाइको आधारमा हलिउडको गुणात्मकताको मापन भने भइरहेको छैन । हलिउडमा यति पैसा कमायो भनेर चर्चा गरिनुलाई गौरवान्वित विषय भने  मान्दैन । पछि अस्कर अवार्डमै हेर्नुहोला, यो फिल्मले मुस्किलले कुनै विधामा उपस्थिति जनाउला । 

हामी यहाँ जस्ता सिनेमालाई राम्रा र गुणात्मक भनिरहेका छौँ, त्यस्तो सिनेमा हाम्रो बजारले किन रुचाइरहेको छैन । यसमा कस्तो मनोविज्ञानले काम गरिरहेको हो ? 
फेरि हामी बजारमै पुग्यौँ है (हाँस्दै) ! हाम्रो नेपाली राजनीति, नेपाली मिडिया, नेपाली प्राज्ञिक क्षेत्र जस्तो छ, हाम्रो बजार त्यसकै प्रतिविम्ब हो । अमेरिकी बजारमा त अलेजान्द्रो गोन्जालेज इनारितु, अल्फान्सो कुरान जस्ता कलात्मकतामा विश्वास राख्ने मेकर्सका फिल्म आउँदा भव्य चर्चा हुन्छ त, भव्य रुचाइन्छ पनि । हाम्रो मिडियाको समस्या के छ भने अल्फान्सोको फिल्म ‘रोमा’माथि लेख्दाधरी फिल्म चलेन भनेर लेखियो । तर, ‘रोमा’कस्तो थियो भनेर छलफल नै गरेनौँ । भाषिक रुपमा त्यसले के उपलब्धता हासिल ग-यो, जान्नै खोजेनौँ । फिल्मको स्तर अघि बढाउन त्यसले के योगदान पु-यायो, छलफल नै गरेनौँ । मात्रै बजारमा चलेन भन्यौँ । तर यो खासमा बजारमा पनि चलेकै हो । स्पेनी भाषामा बनेको यो फिल्म संसारभर एकदमै धेरै हलमा रिलिज भएको थियो । पैसा पनि राम्रै कमाएको थियो । अमेरिका बाहेकको भाषाको फिल्मले पनि यसरी धुम मच्चाउनु चानचुने कुरा होइन । तर विडम्बना हामीले यसरी हेरेनौँ । खासमा यो हाम्रो रुचिको स्तरको समस्या हो । नत्र हामीकहाँ किन सस्ता कमेडी चलचित्रहरु चलिरहेका छन् ? अत्यन्तै भद्दा संवाद बोकेका चलचित्रहरु किन चलिरहेका छन् ? के गर्ने, यो हाम्रो रुचिको स्तर हो । हामी जे मन पराइरहेका छौँ, त्यो हामी बसेकै समाजको रिफ्लेक्सन हो । हामीले राम्रो फिल्म बनाउन नसक्नुको कारण पनि हाम्रो समाजकै रिफ्लेक्सन हो । हाम्रो समाज राम्रो साहित्य पढ्न थाल्यो, राम्रो संगीत सुन्न थाल्यो, राम्रो पेन्टिङ हेर्न थाल्यो भने स्वाभाविक रुपमा राम्रो फिल्म हेर्न थाल्छ । त्यसको बोध पनि गर्छ । सिनेमामा कलात्मकता खोज्न पनि थाल्छ । 

हामीकहाँ दर्शकको रुचि भने ‘६क्कापञ्जा’, ‘शत्रुगते’, ‘ए मेरो हजुर–३’जस्ता फिल्ममा देखिन्छ । ‘६क्कापञ्जा’सिरिजले त अप्रत्यासित व्यापार गरिरहेको छ । यस्ता फिल्ममा दर्शकको यतिविघ्न रुचि किन छ ? 
अहिले हाम्रो साक्षरता दर कति छ ? त्यही ६५–७० को हाराहारी होला । यसको अर्थ, शिक्षामा हामीले सोचेजस्तो फड्को मार्न सकेनौँ । त्यस्तै, हामीकहाँ सिनेमा चल्न थालेको नै कति वर्ष भयो र ? त्यही ५० वर्षजति भयो । त्यसमा पनि कुल जनसंख्याको कति प्रतिशतले सिनेमा हेर्न हल जालान् ? तीन प्रतिशतभन्दा बढी छैनन् । त्यो पनि शहरमा धेरै छन् ।  यसको अर्थ हामीकहाँ सिनेमा हेर्ने जनसंख्या नै कम छ, अनुभव पनि कमै छ । त्यसमाथि हामी सिनेमा हेर्नलाई प्रशिक्षित पनि हाम्रै फिल्मबाट भएका होइनौँ, बलिउडबाट भयौँ । फिल्म भनेको कस्तो हुनुपर्छ ? बलिउडको जस्तो हुनुपर्छ । फिल्ममा के के हुनुपर्छ भन्दा बलिउडको जस्तो चार पाँचवटा गीत, फाइट, रोनाधोना र कमेडी हुनुपर्छ भन्ने प्रशिक्षणबाट हाम्रा दर्शकहरु तयार भएका हुन् । अझ त्यतिबेला नेपाल टेलिभिजन नै सस्तोमा हिन्दी फिल्म ल्याएर देखाउँथ्यो । सस्तो खोज्ने बहानामा उसले पनि स्तरीय हिन्दी फिल्म देखाएन । २०–२५ हजार आइसीमा जसले फिल्म दिन्छ, त्यो ल्याएर देखाइयो । यसको अर्थ त्यहाँका पनि खराब चलचित्र यहाँ ल्याएर देखाइयो । हलहरुमा पनि हिन्दी फिल्म नै देखाइन्थ्यो । अनि त्यस्ता चलचित्र हेरेर प्रशिक्षित भएका हाम्रा दर्शकले ‘६क्कापञ्जा’ जस्ता फिल्म किन नहेरुन् ! रुचिको स्तर यस्ता फिल्महरुमा हुनुको मुख्य कारण भने यही हो । यहाँ त अहिले पनि हाम्रा धेरै दर्शकमाझ फिल्म भनेको मद्रासी फिल्मजस्तो हुनुपर्छ भन्ने छाप बसिरहेको छ । हुन त साहित्य पनि त्यही त हो नि ! मान्छेले सुरुमा पढ्ने भनेकोे सजिलो साहित्य नै त हो । एकैचोटी पारिजात, इन्द्रबहादुर राई, ध्रुवचन्द्र गौतम पढ्न थाल्यो भने त गाह्रो भइहाल्छ । फिल्ममा पनि यस्तै हो, बिस्तारै रुचिको स्तर बढ्ला भन्ने आशा गरौँ । बजारले स्वीकारोस्/नस्वीकारोस् राम्रा फिल्म बनाउन भने छाड्नुहुन्न । 


नेपाली फिल्मको स्तरोन्नति हुन नसक्नुको खास कारण भने के देख्नुहुन्छ ?
खासमा हामी सतहीमा मात्रै चर्चा गरिरहेका छौँ, खासगरी फिल्मको नीति निर्माणमै समस्या छ । परिचयात्मक अन्तरक्रियाहरु भएका छैनन् । प्राज्ञिकहरुले फिल्मलाई हेर्ने दृष्टिकोण राम्रो छैन । म आफैँले प्रज्ञा प्रतिष्ठानमा फिल्म फेस्टिभलका लागि ठाउँ माग्न जाँदा फिल्मका लागि ठाउँ छैन भन्ने जवाफ पाइयो । उनीहरुका लागि फिल्म त प्राज्ञिक विषय नै होइन । जब एउटा समाजशास्त्रीले चलचित्रलाई लिएर बहस गर्न थाल्छन्, अहिले खुब चलेको छ नि महिलावाद, महिलावादीहरुले जब चलचित्रमा हस्तक्षेप गर्न थाल्छन्, जब प्राज्ञिकहरुले चलचित्रलाई लिएर प्राज्ञिक रुपमा बहस गर्न थाल्छन्, त्यसपछि कहाँबाट टिक्छ मनोरञ्जन ? त्यसपछि फिल्मलाई हेर्ने दृष्टिकोणमा आफसेआफ परिवर्तन हुन्थ्यो । एक त हामीकहाँ फिल्मप्रति गहिरो बुझाइ हुने प्राज्ञिकहरु पनि भएनन् ।

त्रिभुवन विश्वविद्यालयले आफ्नो कोर्समै फिल्म विषय राखेर छुट्टै पढाउन थाल्ने हो, राज्यले फिल्मसम्बन्धी पाठ्यक्रम बनाउने हो, फिल्म स्कुलहरु खोल्ने हो भने अवस्था यस्तो हुन्थेन । बजारबाट निर्देशित चलचित्रहरुले आफूलाई सुधार्न, आफूलाई मानवीयकरण गर्न आवश्यक छ । बजारकै लागि चलचित्र बनाउनेहरु पनि त्यो खालको चलचित्रहरुमा कलात्मक उचाइ प्राप्त गर्न सक्नुपर्छ । हामीकहाँ त्यो प्रयाससम्म नगर्नु समस्या हो । कम्तीमा फिल्म टेक्निकल्ली त राम्रो हुनुपर्यो नि ! क्यामेरा राम्रो चल्नुपर्यो । कलर राम्रो हुनुपर्यो । क्यामेरा चलाइको अर्थ थाहा हुनुपर्यो । पटकथा बलियो र मौलिक हुनुपर्यो । प्राविधिक रुपमा त अब्बल हुनुपर्यो नि ! एक्सन फिल्म नै बनाउँदा पनि साउन्डमा खोज गर्न सकिन्छ नि ! बक्सिङको आवाज ढिच्क्याउँ हुन्छ कि प्याट्ट हुन्छ या के हुन्छ ? खोज त गर्नुपर्यो । सबै सिनमा हेभी म्युजिक राखेर त भएन नि ! 

समीक्षकले फिल्मप्रति आलोचना गरेपछि हामीकहाँ त फिल्मकर्मीको सधैँ  पुरानै रटान सुनिन्छ, ‘फिल्म भनेको मनोरञ्जनका लागि हो’, ‘दर्शक नै मेरा भगवान हुन्’ । यसमा तपाईंको राय ? 
अल्पज्ञानको कुनै उपचार हुँदैन । मान्छेले जति आफ्नो क्षितिज देख्छ, त्यति नै भन्ने हो । पछिल्लो समय फिल्मलाई लिएर नेपाली फिल्मकर्मीको जस्तो प्रतिक्रिया आइरहेको छ, त्यो त्यसकै परिणाम हो । 

त्यही त हामीकहाँ फिल्म समीक्षकहरु फिल्मकर्मीको तारो मात्रै बनिरहेका छन् । झरना थापाले फिल्म समीक्षालाई लिएर हालै एक इन्टरभ्युमा करिब १५ मिनेट जति सत्तोसराप गरिन् । उता प्रदीप खड्काले समीक्षकले फिल्म निर्मातासँग सल्लाह गरेर एक हप्तापछि समीक्षा गर्नुपर्ने सुझाव दिए । यसलाई कसरी लिनुहुन्छ ? 
साँच्चै यदि कसैले इमान्दारीका साथ चलचित्र क्षेत्रको विकास चाहन्छ भने त्यसलाई समीक्षकलाई गाली गर्नु पर्दैन । लामो समयदेखि जसरी नेपाली समीक्षकले नेपाली फिल्मप्रति आलोचना गरिरहेका छन्, त्यसको कारणले नै हो यहाँ अहिले ‘हरि’ र ‘बुलबुल’जस्तो चलचित्र बनिरहेका छन् । ‘६क्कापञ्जा–३’ अघिल्ला सिरिजभन्दा सुधारिएर आउनुको कारण पनि यही नै हो । हामीले समीक्षाको शक्ति, महत्व र आवश्यकतालाई बुझेनाैँ भने इन्डस्ट्री अघि बढ्ला भन्ने मलाई भने लाग्दैन । र, अहिले जो साथीहरु कराइरहनुभएको छ, समीक्षकहरुलाई गाली गरिरहनुभएको छ म लेखेर भन्छु १५ वर्षपछि उहाँहरु इतिहासको गर्तमा कहाँ बिलाउनुहुन्छ, थाहा हुने छैन । समीक्षकहरुको आलोचना आत्मसात गर्न सक्नुभयो भने तपार्इंको विकास नै हुन्छ । निमिट्यान्न भएर जाने अवस्था हुन्न । समीक्षकको आलोचना सुन्यो भने पनि के सुधार्नुपर्ने रहेछ, थाहा हुन्छ नि ! जस्तो तपार्इंले मलाई इन्टरभ्युको सुरुवातमै अहिलेसम्म फिल्म बनाउन नसकेको भन्दै आलोचनात्मक प्रश्न गरिरहनुभएको थियो । त्यस्ता प्रश्नले त मलाई सोच्न बाँध्य बनाउँछ नि, साँच्चै हो कि क्या हो ! भलै मैले तपार्इंलाई ‘होइन, यो है’ भनेर प्रतिवाद गरे पनि कम्तीमा मलाई मैले नियमित काम गर्नुपर्ने रहेछ भन्ने बोध त गराउँछ नि ! 

पछिल्लो समय महजोडी (हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ) जस्ता कुनै समय समाजप्रति निकै जिम्मेवार देखिएका कलाकार पनि सस्ता कमेडी फिल्म निर्माणमा सक्रिय देखिएका छन् । यसलाई कसरी लिइरहनुभएको छ ? 
वर्गोत्थान भएर हो कि ! वर्गोत्थान भएपछि मान्छेको दृष्टिकोणमा पनि परिवर्तन हुनु स्वाभाविक मानिन्छ । केही चलचित्रकर्मीको वर्गोत्थान भएको छ । उहाँहरु जुन समाजमा जुन वर्गका रुपमा रुपमा हुनुहुन्छ, चलचित्रमा त्यसकै रिफ्लेक्सन भइरहेको छ । यसको अर्थ त्यो वर्ग खराब भन्न खोजेको भने होइन है । हिजो उहाँहरुले जुन रुपले समाजप्रति उत्तरदायी भएर समाजलाई अघि बढाउने काम गरिरहनुभएको थियो, त्यो प्रशंसनीय थियो । अहिले के संकट आइपरेको हो, मलाई थाहा भएन । अहिले फेरि बजारका लागि किन कुद्नु परेको हो, थाहा भएन ।  

केही अपवादलाई छाड्ने हो भने अहिले नेपाली सिनेमाको एक्टिङ भित्तामा टाँसिएको पोस्टरजस्तै भइरहेको छ । कलाकारको अभिनयमा कुनै जीवन पाइँदैन । सहमत हुनुहुन्छ ?
अहिले फिल्ममा एक्टिङ गरिरहेका धेरैजसो थिएटरका छन्, दुई चारजना हिरो–हिरोइनका छोराछोरीहरु छन् । कोही सिकेर आका छन्, कोही अनुभव लिएर । कोही वंशानुगत लिएर आएका होलान्, यदि त्यस्तो हुन्छ भने । खासमा अभिनय सिक्ने कुरा हो । अभिनयमा सिकाइको लामो अभ्यासहरु भएको छ । त्यो अभ्यास हाम्रोमा छ । अभिनय सिकाउने नाममा दुई चारवटा नाङ्लो पसल छ । प्रत्येक थिएटरवालाले एउटा–एउटा नाङ्लो पसल खोलेका छन् । एउटा राम्रो थिएटर स्कुल किन छैन त ? नाटकसम्बन्धी कलेज किन छैन ? हाम्रा थिएटरवालाहरुले किन पहल गर्दैनन् ? अथवा, स–साना पसल चलाउनेहरुले संयुक्त मिलेर एउटा स्कुल किन खोल्दैनन् ? स्कुल खोल्यो भने आफ्नो पर्सनल बिजेनस सुक्छ । सायद समाजकै प्रतिविम्ब भएर होला, हामी यति स्वार्थी हुँदै गयौँ कि आफूबाहेक अरु देखिरहेका छैनाैँ । जस्तो, एउटा मास्टरको फिल्म स्कुल खोल्यौँ भने त सारा इन्डस्ट्री उठ्न सक्छ नि ! धेरैजसो अधकल्चो ज्ञान लिएर एक्टिङमा आइरहेका छन् । केही समय कोर्स गरेर आएको भरमा एक्टिङ गर्न सकिने होइन नि ! भूमिकाअनुसार नियमित प्रशिक्षण गर्नुपर्ने हुनसक्छ । अध्ययन–अनुसन्धान गर्नुपर्ने हुनसक्छ । बाहिरतिर हेर्ने हो भने ठूल्ठूला प्रयोगहरु भइरहेका छन् । नेदरल्यान्डको फिल्म स्कुलले शरीरको अंगहरुको माध्यमबाट आफूलाई अभिव्यक्ति गर्ने भनेर नयाँ अभ्यासहरु थालिरहेका छन् । अभिनयका मामिलामा बाहिर निकै गम्भीर र कलात्मक प्रयोगहरु सुनिन्छ । रोल तयारीका लागि कलाकारले धेरै मिहिनेत र थप अध्ययन–अनुसन्धान गरिरहेको खबर बाहिर खुब सुनिन्छ । यहाँ त्यस्तो केही छैन । सायद अभिनयमा जीवन नहुनुको कारण पनि यही हो । 
तस्बिर : कृष्पा श्रेष्ठ

Leave A Comment