किन चाहिन्छ इन्जोय जोन ?

शुक्रबार, ०३ जेठ २०७६, ०६ : ४३ शुक्रवार
किन चाहिन्छ इन्जोय जोन ?

पोखरामा वैधानिक रेडलाइटको पक्षमा अभिव्यक्ति सार्वजनिक गरेलगत्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आफ्नै अभिव्यक्ति टोक्नु न बोक्नु भयो । 

उनले पर्यटकीय क्षेत्रमा अघोषित रुपमा भइरहेका जे दृश्य देखे, त्यसलाई व्यवस्थित गर्ने प्रयास गर्दा पक्कै साथ र सहयोग पाइन्छ भनेर नै बिना कुनै हिच्किचाहट पोखरामा रेडलाइट क्षेत्र स्थापनाको परिकल्पना सार्वजनिक गरेका थिए । 

तर समाजको बौद्धिक वर्गलाई उनको धारणा स्वीकार्य भएन । समाजमा विकृति फैलाउने प्रयास, पोखराको नाम बदनाम गराउने योजना, समाज भाँड्ने दुष्प्रयासजस्ता एक से एक आलोचनापछि उनी मौन रहे ।
हालै सोही प्रदेशको पर्यटन मन्त्रालयले इन्जोय जोनको रुपमा मनोरञ्जनको पकेट क्षेत्र बनाउने अवधारणा सार्वजनिक गर्यो । अवधारणामा पोखरा आउने पर्यटकको रुचिअनुसार उनीहरुले खोज्ने सुविधा एकै छातामुनि ल्याउने उद्देश्य देखिए पनि यसलाई केवल यौन र लागुऔषधसँग मात्र जोडेर आलोचना शुरु भइरहेको छ ।

आलोचकहरुको तर्क भने उही पुरातन नै देखिन्छ । पोखरा आफैंमा प्राकृतिक रुपमा सुन्दर भएको र अधिकांश पर्यटक ट्रेकिङका लागि यस क्षेत्रमा आउने भएकाले इन्जोय जोन आवश्यक नभएको उनीहरुको तर्क देखिन्छ । 

अचम्म के भने आफ्नो लेखनमा खुला समाजको वकालत गर्ने बौद्धिक वर्ग समेत पोखरेली समाज विकसित मुलुकमा परीक्षण सफल भएको रेड लाइट एरिया र गाँजा फ्रि क्षेत्रबारे विभाजित देखिए तर यो गान्धीको तीन बाँदर नीति नराम्रो नहेर्ने, नराम्रो नसुन्ने र नराम्रो नबोल्नेझैँ मात्र हो । 

पर्यटन क्षेत्र, त्यो पोखरा होस् या काठमाडौंको ठमेल, ललितपुरको झमेल, भक्तपुरको नगरकोट, चितवनको सौराहा लगायतका क्षेत्र हुन्, त्यहाँ पुग्ने पर्यटक केवल नेपालको डाँडापाखा, हरियाली मात्र हेर्न पक्कै आउँदैनन् । प्राकृतिक दृश्यमा मात्र रमाउने मात्र पनि हुन्छन् तर मनोरञ्जनका विविध आयामको उपभोग गर्नेहरु पनि हुन्छन् । 

त्यसमा पनि राज्यले अवैध भनेर सामाजिक सदाचारमा टेक्दै यौनकर्मीको आरोपमा पक्राउको श्रृंखला चलाए पनि यौन व्यापार पूर्ण नियन्त्रण सम्भव छैन । गाँजालाई लागुऔषधको कोटामा राखे पनि नियन्त्रण हुन सकेको छैन ।

पोखराकै कुरा गरौं न । बाग्लुङ बसपार्क होस् या पृथ्वीचोक अघोषित रेडलाइट एरियाको रुपमा विकसित भएको पोखरेली आफैंले अनुभव गरेकै छन् । काठमाडौंमै प्रहरी जति सक्रिय भए पनि पर्यटकीय क्षेत्र ठमेलमा हुने देह व्यापार नियन्त्रण हुन सकेको छैन । 

गाँजा तथा यौन व्यापारमा संलग्न हुन राज्य आफैँ प्रोत्साहित गर्न संलग्न हुनुहुँदैन तर नियन्त्रण सम्भव नदेखिएको र विश्वका अन्य मुलुकले सहर्ष अपनाएको विधि अपनाउनु सकारात्मक प्रयास नै हो तर निश्चितमापदण्ड भने बन्नै पर्छ र कडाइका साथ पालना हुनैपर्छ ।

जसरी जुवा खेल्नु अवैध हो तर फाइभ स्टार होटल लगायतमा सरकारले जुवा खेलाउन लाइसेन्स जारी गर्दै आएको छ । यसरी नेपालमा दर्जनौँ वैध जुवाघर चलेका छन् तर यसका निश्चित मापदण्ड छन् । पहिलो मापदण्ड, यस्ता जुवाघरमा नेपाली नागरिक प्रवेश गर्नै पाउँदैनन् । 

त्यस्तै गण्डकी प्रदेशले अगाडि सारेको इन्जोय जोनबारे निश्चित मापदण्ड तोक्न सक्छ । सो क्षेत्रमा प्रवेश गर्नेको उमेर, अनुगमन र व्यवस्थापनबारे नीति बनाएर कडाईका साथ लागू गर्न सक्छ तर समाज भाँडिन्छ, पोखराको बदनाम मात्र हुन्छ भन्ने तर्कमा दम छैन ।

पोखराको त्रिभुवन चोक र बाग्लुङ बसपार्क अघोषित रेडलाइट जोन बन्दा जोगिएको पोखराको शाख घोषित रेडलाइट एरिया बन्यो भने पनि जोगिन्छ नै । पोखरा पुग्ने सबैको लक्ष्य फेवातालको डुंगा शयर र माछापुच्छ्रेको दर्शन मात्र हुन्थ्यो भने सयौं संख्याका लाउन्ज, पब, डिस्को र बार पक्कै खुल्दैनथे र मज्जाले चल्दैनथे पनि ।

त्यसैले पोखराबासी आलोचक हुनुभन्दा इन्जोय जोन व्यवस्थित गर्न प्रदेश सरकारलाई रचनात्मक सुझाव दिन सक्रिय हुनु राम्रो हो । 
 

Leave A Comment