‘बिपीलाई खलनायक देखाउनु मेरो उद्देश्य हैन’

शुक्रबार, ०३ जेठ २०७६, ०७ : ०२ प्रजु पन्त
‘बिपीलाई खलनायक देखाउनु मेरो उद्देश्य हैन’

लेखक सुजीत मैनालीले लेखेको ‘शिलान्यास’ पुस्तक बजारमा आएसँगै राजा महाराजाको योगदान जबर्जस्त स्थापित गर्ने मनसायले लेखिएको भन्दै आलोचना भइरहेको छ । पृथ्वीनारायण शाह केन्द्रित भएर लेखिएको उनको पुस्तक र उनले उठाउने प्रयास गरेको दृष्टिकोणमा केन्द्रित भएर शुक्रवारकर्मी प्रजु पन्तले गरेको कुराकानीः

इतिहासमा केन्द्रित भएर लेखिएको बाबुराम आचार्य, महेशचन्द्र रेग्मीको पुस्तक पढिसकेका पाठकले ‘शिलान्यास’मा नयाँ के पाउँछन् ?
अहिलेसम्म खास समुदायको सेरोफेरोमा रहेर इतिहास लेखिएको छ । त्यसरी नै बुझिएको छ र बुझाउने काम भएको छ । इतिहासमा आधारित पुस्तक पढ्दै जाँदा मलाई चित्त बुझेन । प्रचलित इतिहासको धारप्रति असन्तुष्ट भएँ । यस विषयमा खोजी तथा अन्वेषण गर्ने क्रममा नयाँ तथ्य फेला परेपछि पुस्तक लेखेको हुँ । यहाँ मैले खास समुदायबाहिर पनि इतिहास खोज्ने काम गरेको छु ।

पुस्तक पढ्दै जाँदा त खासै नयाँ केही फेला परेन त ! पुरानै पुस्तकका सामग्री धेरै भेटिए । किन ?
हुन सक्छ । पाठकको दृष्टिकोणमा भर पर्ने कुरा भयो यो त ! तर धेरै नयाँ जानकारी पाइयो भन्ने पनि उत्तिकै छन् । मैले यसअघि प्रयोग नभएका वंशावली, शिलालेख, ताम्रपत्र र  त्यतिबेलाको पत्राचार जस्ता प्रारम्भिक कागजपत्रलाई विभिन्न दृष्टिकोणबाट केलाएको हुँ । यो नयाँ भएन र ? 

तपाईंले पृथ्वीनारायण शाहलाई हेर्ने दृष्टिकोण र बाबुराम आचार्यले हेर्ने दृष्टिकोण उस्तै हैन र ?
हैन । उहाँले पृथ्वीनारायणले बाइसे, चौबीसे राज्य एकीकरण गरेको भनेर उल्लेख गर्नुभएको छ । मैले त राज्य विस्तार भनेर लेखेको छु । कसरी उहाँको र मेरो दृष्टिकोण एकै भयो ? समाजशास्त्रको विद्यार्थी भएको नाताले मैले राजनीतिक इतिहासलाई समाजशास्त्रीय दृष्टिकोणबाट लेखेको छु । यो तरिकाले यसअघि लेखिएका थिएनन् । 

पछिल्लो समय केही लेखकले इतिहासप्रति आलोचनात्मक पुस्तक  प्रकाशीत गरे । पृथ्वीनारायण नश्लवादी, जातिवादी थिए भन्ने आए । इतिहासप्रति औँला उठेकै कारण प्रस्टीकरण दिन यो पुस्तक लेख्नुभएको हो ?
यसलाई प्रस्टीकरण दिन लेखिएको भन्दा पनि तथ्यमा रहेर सामाजिकीकरण गरेर लेखिएको भन्न मिल्ला । आलोचना गर्नुको अर्थ तथ्य नै तोडमोड गरेर लेख्नु हैन । यो भनेको इतिहासप्रति बेइमानी हो । 

के उनी नश्लवादी नै हुन् त ?
त्यतिबेलाको पृष्ठभूमिको साङ्गोपाङ्गो अध्ययन गर्दा उनी नश्लवादी तथा धर्मभीरु थिएनन् भन्ने मेरो बुझाइ हो । 

पृथ्वीनारायण जातीय छैनन् भनिदै गर्दा तपाईंकै पुस्तकमा उल्लेख भएअनुसार उनले अरुलाई सल्लाह दिँदा पनि सेनामा गुरुङ र मगरलाई लिनु भनेका छन् । अनि दलितको विषयमा बिसे नगर्चीले आर्थिक संकलन जुटाउने कुरा माने पनि दलित वर्गलाई उनकै कालमा पनि राज्यको महत्वपूर्ण पद दिएको देखिँदैन । यसरी हेर्दा पृथ्वीनारायणलाई जबर्जस्त नश्लवादी थिएनन् भने पनि व्यवहार त त्यस्तै देखिन्छ नि, हैन ?
विभेद त भयो तर नश्लवादी चिन्तनले भयो कि व्यवहार गर्दागर्दै भएको हो भन्ने बुझ्नु पर्यो । मैले पृथ्वीनाराण भयङ्कर प्रगतिशील थिए भनेर कहीँकतै उल्लेख गरेको छैन । त्यतिबेलाको घटनालाई काल सापेक्ष दृष्टिकोण राखेर हेर्नु पर्छ । पृथ्वीनारायणले राज्य विस्तार गर्दा केको जगमा गरेका थिए भन्ने प्रमुख हो । प्रस्ट के हो भने उनले कुनै एक जात, एक भाषाको लागि राज्य विस्तार गरेका हुन् भन्ने अहिलेसम्म उपलब्ध भएको स्रोतले देखाउँदैन । 

नेपाली भाषाबारे तपाईको दृष्टिकोण ?
आधुनिक नेपालको बिस्तार भएपछि अरु भाषा तल परेकै हुन् तर नेपाली राज्यको कुनै उपस्थिति नभएको ठाउँमा पनि नेपाली भाषा फैलिएको छ । सिक्किम, बर्मा र भुटानलाई  लिन सकिन्छ । त्यसबारे लेखाजोखा गरेको छु । नेपाली भाषा उत्तर–पूर्वी भारतमा पनि फैलिएको हो । त्यसैले नेपाली शासकले नेपाली भाषा लादेका हैनन् । जसले नश्लवादी थिए भन्ने कुरा लेख्नुभएको छ, त्यसमा कुनै आधार छैन भन्ने मेरो बुझाइ हो । 
हाम्रा राजाहरु हिन्दू धर्म माने पनि धर्मभीरु थिएनन् भनेर प्रस्ट्याउन जबर्जस्त प्रयास भएको देखेँ तर राजा–महाराजाहरुले अन्य धर्मको पैरवी गरेको देखिन्न । हिन्दू धर्मलाई राजाहरुले छाडेनन् पनि भन्ने अनि धर्मभीरु पनि हैनन् भन्ने तर्क आफैंमा मिल्यो र ? 
तथ्यले त्यही पुष्टि गर्छ । पृथ्वीनारायण कुनै धर्मको अधीनमा बस्न भन्दा पनि उनले राजनीतिक स्वार्थ पूरा नहुने भए धर्मको नियमलाई अँगालेको देखिन्न । काभ्रेमा गोर्खाली सेनाले धोती पाटोसहित खाना खाँदा उपत्यकाले आक्रमण गरेर अप्ठ्यारो परेपछि उनले बुटसहित खाना खान निर्देशन दिएका थिए । यस्ता केही तथ्य पुस्तकमा छन्, जुन कारणले शाह धर्मभीरु देखिन्नन् । ईसाइलाई लखेटेको कारण कतिपयले उनलाई धर्मभीरु थिए भन्ने तर्क गर्छन् तर यो तथ्यले यसलाई गलत साबित गर्छ । जब धर्ममार्फत् राज्यलाई नै कुदृष्टि लगाउने चाल पाए, त्यतिबेला मात्र ईसाइहरु निकालिएका हुन् । 

‘शिलान्यास’मा उनको नायकत्व र दूरदर्शिता स्थापित गर्न कस्सिएर लागेको देखियो । तर ससुरालीमा खटपट भएपछि चन्द्रागिरिको बाटो भएर जाँदा उपत्यकाको सम्पन्नता देखेर यहाँको राजा हुन पाए भन्दै शाहले जुँगामा ताउ लगाए भन्ने पनि उल्लेख छ । यो लालसा दूरदर्शीपन हुनसक्छ र ? किन यस्तो विरोधाभाष ?
उनले कुमारीको प्रसाद ग्रहण गर्नु र लुटपाट मच्चाउने काम नगर्नु र जहाँ जिते त्यहीको संस्कार मान्नु दूरदर्शिता हो । राज्य निर्माणको हिसाबले उनी नायक नै हुन् । तर लैंगिक, आर्थिक विकासका किसमले उनी नायक हैनन् । अहिलेसम्मको स्रोतले त्यो बताउँदैनन् । राज्य विस्तार उनको लहड होइन, अभिलाषा हो । 

‘शिलान्यास’ पढ्दै गर्दा हाम्रो देशको सार्वभौमसत्ता, सीमा राजाले र राणाले मात्र रक्षा गरेका हुन् भनेर प्रमाणित गर्न कडा मिहिनेत गरेको देखियो । भनेपछि राजनीतिक दल सत्तामा आएपछि सार्वभौमसत्ता, सीमा संकटमा परेको निष्कर्ष हो ?
राजा÷महाराजा हैन शासक भन्नुस् । शासक कहिले राणा भए कहिले राजा । राजा र राणाले सार्वभौमसत्ता र सीमा जोगाएको पुष्टिका लागि त्यत्ति धेरै मिहिनेत गर्नु पनि पर्दैन । जगंबहादुरको पालामा चार जिल्ला फिर्ता आएकै हुन् । महेन्द्रको पालामा भारतीय सुरक्षाकर्मीका गणहरु हटेका हुन् । नेपाल उपनिवेश नहुनुको पछाडि नेपाली नेतृत्वको खुबी मूल कारण हो । अब आयो दलहरुको कुरा । १९९० पछि देशमा धेरै वैदेशिक हस्तक्षेप बढेको सबैले अनुभव गरेकै हो । 

भनेपछि हाम्रा दलहरु राजा र राणा जति देशको सिमा र सार्वभौमसत्ताको सुरक्षामा  गम्भीर छैनन् भन्न खोजेको ? 
दोस्रो नाकाबन्दीमा दलहरुले जुन स्ट्यान्ड लिए, त्यसको प्रशंसा गरेको छु । जनआन्दोलनपछि बढेको वैदशिक हस्तक्षेप नाकाबन्दीपछि कम भएको हो । २००७ साल, ०४६, ०६२÷६३ सालमा भएका आन्दोेलनमा भारतको प्रत्यक्ष भूमिका देखिन्छ । ०४६ सालमा भारतीय नेता नेपाल आएर भाषण ठोकेकै हुन् । सहयोग गरेपछि भारतले केही लाभांश खोजेकै हो, खोज्ने नै भए । यसमा दलहरु चुकेकै हुन् । 

भारतको सहयोगकै कारण दलहरुमाथि सार्वभौमसत्ता र देशको राष्ट्रियतामाथि सशंकित हुनु कतिको जायज हो ? एक देशले अर्काे देशलाई क्रान्तिपछि वा अप्ठेरो पर्दा सहयोग गरेकै देखिन्छ । जस्तो जापानको संविधान अमेरिकाको सहयोगमा बनेको त हो नि ! नेपालको सन्दर्भमा छिमेकीले सघाउन कसरी गलत ? किन यत्रो शंका ?
मैले शंका गरेको हैन । वैदेशिक हस्तक्षेप बढेको उल्लेख मात्र गरेको हो । तपाईंले जापानको उदाहरण लिनुभयो, त्यहाँ कोर भ्यालु त्यहाँका शासकले छोडेनन् नि त ! मुख्य विषय आफ्नो देश अनुकूलको पद्दति छोड्न भएन भन्ने नै हो । 

तपाईंले हैन भने पनि पुस्तकमा समेटिएको विषय र विश्लेषणले दलहरुप्रति बढी सशंकित भएको देखिन्छ । यो व्यवस्थाप्रति तपाईंको असुन्तष्टि हो ?
असुन्तुष्ट हैन । हामीले जुनसुकै व्यवस्था अँगाले पनि राष्ट्रहित बाहिर जान हुन्न भन्ने मात्र हो । 

शासकले देशको सार्वभौमसत्ता जोगाए रे तर जनताको आवश्यकतालाई त नजरअन्दाज गरेकै हुन् नि ! कि हैन ?
यो कुरामा म सहमत छु । देश त जोगियो तर जनताको जीवनस्तर खस्किएकै हो । विकाससम्बन्धी लेखेको भए म यस कुरामा फोकस हुन्थेँ तर यो पुस्तक राज्यबारे लेखिएको हो । 

राज्यबारे लेख्दा पनि अर्थाेपार्जनदेखि सामाजिक मूल्य मान्यता, जात, धर्म सबै आउँछन् । त्यता नजाऔँ भन्ने हो भने त यो पुरानै ढर्राको पुस्तक भयो नि हैन ?
एक व्यक्ति निरपेक्ष रुपमो सबै विषयमा विज्ञ हुँदैन । पुस्तक पुरानै ढर्राको किन भनिराख्नुभएको छ ? मैले त समाजशास्त्रीय ढंगबाट केलाएको छु । तपाईंले भन्नुभएको जस्तो सबै केलाएको भए पुस्तक बहकिन्थ्यो । खिचडी बन्थ्यो । 

सात सालको आन्दोलनको श्रेय नेपाली कांग्रेसले पाउँदै आएको छ । विपक्षी दलले पनि यो अस्वीकार गरेका छैनन् । केही ऐतिहासिक दस्तावेजअनुसार पनि प्रजातन्त्रको लागि प्रजा परिषद गठन भएको, ४ सहिदलाई फाँसी दिएको, विराटनगरमा कांग्रेस र कम्युनिस्ट नेताले मजदुर आन्दोलन गरेको, बिपी कोइराला आमरण अनसन बसेको विषयमा पुस्तक पुरै बायस देखियो । अरु कुराहरु दोहो¥याएर लेखे पनि यी पाटो छुटाउनुको कारण ?
कांग्रेसलाई श्रेय नदिएको पाटो मैले भनेको भन्दा पनि प्रमाणले त्यही जनाउँछ । कांग्रेसले देशव्यापी आन्दोलन सुरु गरेको ३÷४ महिनामा प्रजातन्त्र आएको हो । के यत्ति आन्दोलनले प्रजातन्त्र आउन सम्भव थियो ? क्रान्ति गाउँगाउँमा फैलाउने काम त गरेको हो । तर त्यति मात्रै पर्याप्त थियो र ?
प्रजा परिषद गठन भए पनि उसको भूमिका कति थियो ? राजा त्रिभुवन भारतको शरणमा नगएको भए क्रान्ति सम्भव थियो ? थिएन । त्यतिबेला कांग्रेसको भूमिका आलाङ्कारिक मात्र थियो । २००७ सालमा प्रजातन्त्र आउनुमा राजा, राणा र भारतको त्रिपक्षीय भूमिका थियो । बिपीले भनेकै छन् नि, हामीलाई परामर्श गरिएन भन्ने । यसले पनि यो त देखाउँछ ।

२००७ सालको समय र समाजमा बसेर हेर्दा त्यो बेला भएका राजनीतिक गतिविधि सामान्य थियो र ?
नेपाल भारतबाट स्वतन्त्र हुनुमा कूटनीतिज्ञ र अंग्रेजको स्वार्थ छ । जुन कुरा पुस्तकमा उल्लेख छ । कांग्रेसले गरेको संघर्ष क्रान्तिका लागि पर्याप्त थिएन ।

बिपीको राष्ट्रियताको नीतिमाथि औँला उठाउँदै गर्दा उनकै पालामा धेरै देशसँग दौत्य सम्बन्ध गाँसिएको पुस्तकमा स्वीकार गरिएको छ । यो पाटोलाई किन उत्ति महत्व नदिएको त ?
यो पुस्तक बिपीलाई फोकस गरेर लेखिएको हैन । एउटा सानो अंश मात्र आएको छ । त्यसमा पनि बिपीलाई समयकालमा हेर्नुपर्छ । २००७ सालअघि, ०७ सालपछि, ०१७ देखि ०३३ सम्म र ०३३ सालको बिपीको मेलमिलाप नीतिपछि उहाँको अभिव्यक्ति फरक छन् । 

ठीक छ, यो पुस्तक बिपीमाथि लेखिएको हैन । उनको राष्ट्रियतामाथि ०३३ साल अघिको भनाइलाई लिएर त्यसपछिको भनाइलाई लिइएको छैन । यो तरिकाले त राजालाई नायक र उनलाई खलनायक देखाउन खोजिएको पुष्टी भएन र ?
बिपीलाई खलनायक देखाउनु मेरो कुनै ध्येय हैन । दस्तावेजले जे भन्छ, सोही कुरा उल्लेख गरेको हो । बिपीको धारणालाई खण्डखण्ड बनाएर लेख्न सकिन्थ्यो होला, लेखिएन । फेरि यो पुस्तकको केन्द्रविन्दु उहाँ होइन । 

हाम्रो देशमा एकथरि लेखकहरु हिन्दूत्व र शासकको विरोध गरेको पुस्तक आयो भने  डलर खाएर लेखेको, विदेशी शक्तिबाट लेखाइएको भन्ने चलन छ । तपाईंले मानवशास्त्री डोरबहादुर विष्ट र उनको पुस्तक ‘फेटालिजम एन्ड डेभलपमेन्ट’लाई परिचालित पुस्तककै कोटीमा राख्नुभएको छ । यसको कारण ?
यो हावा भरमा लेखेको हैन । उनको कोसँग सङ्गत थियो भन्ने कुरालाई प्रस्ट पारेर लेखेको छु । आलोचनात्मक सबै पुस्तक परिचालित हुन् भनेको पनि छैन ।  
कोही कसैको संगत रहँदैमा, त्यहाँ गएर पढ्दैमा प्रायोजित हुन्छ र ?
उनको केसमा प्रशस्त प्रमाण भेटिन्छन् । 
 

Leave A Comment