पहिलो फिल्म सफल भएपछि त्यसैलाई सिक्वेलका नाममा अघि बढाउने प्रचलन हामीकहाँ व्याप्त छ । ‘६क्का पञ्जा’ तेस्रो श्रृंखला र ‘नाइँ नभन्नु ल’ पाँचौं शृंखलासम्म आइपुग्नु यसैको उदाहरण हो ।
संसारभर सिक्वेल निर्माणको मूल उद्देश्य पहिलो फिल्मको सफलताको ब्याज खानु नै देखिन्छ । ‘६क्कापञ्जा’ धेरै ब्याज असुल्ने मूल उद्देश्यमा भने निरन्तर सफल छ ।
गत शुक्रवार दुई फिल्म प्रदर्शनमा आए, ‘जात्रैजात्रा’ र ‘वीरविक्रम–२’ । दुई फिल्ममध्ये ‘वीर विक्रम–२’, ‘वीर विक्रम’भन्दा बिल्कुल फरक छ, पहिलो फिल्मसँग यसको कुनै साइनो छैन ।
तर, ‘जात्रैजात्रा’ भने बजारमा च्याउसरी बनिरहेका ‘नाममात्रैको सिक्वेल’जस्तो छैन । सिक्वेलमार्फत् पैसा असुल्ने योजना त हो तर त्यो मात्रै देखिँदैन । कम्तीमा यो फिल्मले ‘जात्रा’को मूल मर्मलाई मर्न दिएको छैन । जहाँबाट ‘जात्रा’ सकिएको थियो, ‘जात्रैजात्रा’ त्यहीँबाट सुरु भएको छ ।
‘जात्रा’मा फणिन्द्र तिम्सिना (विपिन कार्की)ले पैसा भेट्टाएका हुन्छन्, जोयश पाण्डे (रवीन्द्रसिंह बानिया) र मुन्ना (रवीन्द्र झा) त्यही भेट्टाएको पैसा कुम्ल्याउने क्रममा एक हुन्छन् । भेट्टाएको तीन करोड रुपैयाँलाई आफ्नो बनाउन उनीहरुले गर्ने संघर्षमा यो फिल्म केन्द्रित थियो । यद्यपि फिल्मको क्लाइमेक्समा तीनै जनाले भेट्टाएको पैसा प्रहरीलाई बुझाएर वाहवाही बटुलेका थिए तर पछि प्रहरीलाई बुझाएको पैसा नक्कली निस्किएपछि नक्कली नोट कारोबारको आरोपमा उनीहरु जेल पुगेर फिल्म सक्किएको थियो ।
अहिले ‘जात्रैजात्रा’को कथा तिनै फणिन्द्र, जोयश र मुन्नाको अदालती रिहाईबाट सुरु हुन्छ । तीन वर्षको जेलजीवनपछि उनीहरु अदालतबाट ‘क्लिन चिट’ पाएर रिहा हुन्छन् । जिन्दगीलाई फेरि पुरानै लयमा फर्काउन कामको खोजीमा लाग्छन् । अदालतबाट सफाई पाए पनि समाजबाट सफाई पाएको महसुस गर्दैनन् । काम खोज्न जाँदा जताततै अपराधीको व्यवहार हुन्छ ।
फणिन्द्रको हालत त झन् दयालाग्दो देखिन्छ । दिदीभिनाजुको घरमा नमीठो व्यवहार सहँदै भए पनि तीन वर्ष काटेकी उनकी श्रीमती सम्पदा (वर्षा राउत) उनलाई डिभोर्स गर्ने अवस्थासम्म पुगिसकेकी हुन्छिन् । फणिन्द्रले ट्याक्सी चलाउने काम त पाएका हुन्छन् तर त्यसबाट सम्पदाको परिवार खुशी हुँदैन ।
यही परिस्थितिका बीच फणिन्द्रले एकदिन आफ्नो ट्याक्सीमा १० केजी सुन भेट्छ । जसरी ‘जात्रा’मा पैसा भेट्टाउँदा करोडपति हुने सपना उसले देखेको हुन्छ, त्यस्तै सपना अहिले सुन भेट्टाउँदा पनि देख्छ । उसको सुन पचाउने योजनामा पालैपालो मुन्ना र जोयश पनि सामेल हुन्छन् । सुन तस्करीमा संलग्न दावा (दयाहाङ राई) र उनको समूह उनीहरुको योजनाका बाधक छन् । यसपल्ट उनीहरुको करोडपति सपना पूरा होला ? या, फेरि कमजोर योजनाका कारण जेलको हावा खानुपर्ने हो ? दर्शकको अनुमान विपरीतको क्लाइमेक्ससहित यो फिल्मको कथा सक्किन्छ ।
‘जात्रैजात्रा’को कथा भन्ने शैली ‘जात्रा’भन्दा फरक छैन । पात्रहरु उही छन् (केही नयाँ बाहेक), उनीहरुले बोल्ने शैली र हाउभाउ पनि उस्तै छ । तैपनि यो फिल्मले दर्शकलाई बाँधिरहन्छ । पात्रहरुबीच पैदा हुने परिस्थितिजन्य कमेडीले दर्शकलाई हँसाइरहन्छ । चुस्त पटकथा र कलाकारको बलियो अभिनय यो फिल्मको सबैभन्दा सुन्दर पक्ष हो ।
फिल्ममा दर्शक हँसाउनलाई न भद्दा संवादको ओइरो छ, न कलाकारलाई मुख बंग्याएर अनुप्रास मिलेका संवाद नै वाचन गर्न लगाइएको छ । पात्रहरुको स्वाभाविक अभिनयले नै दर्शक हँसाइरहन्छ । मूल कथा र केन्द्रीय द्वन्द्व स्थापनामा पनि कुनै अलमल छैन । यसका लागि फिल्मका निर्देशक प्रदीप भट्टराई प्रशंसाका हकदार छन् ।
निर्देशक भट्टराईले यसअघि महजोडीको फिल्म ‘शत्रुगते’ निर्देशन गरेका थिए । त्यो फिल्म ‘दर्शक हाँस्छन्, हसाउनुपर्छ’ भन्ने कमजोर मनोविज्ञानबाट निर्देशित थियो । त्यतिबेला उनले दर्शक हँसाउनलाई पात्रको अभिनय र दृश्यको सहाराभन्दा बढी संवादको सहारा लिएका थिए ।
त्यसैले ‘जात्रा’बाट बढेको उनको कद त्यो फिल्मले एक्कासि घटाएको थियो । समीक्षकले त्यतिबेला खुब आलोचना पनि गरेका थिए । सायद त्यसकै प्रतिफल हो, अहिले उनी सुधारिएर आएका छन् । ‘जात्रैजात्रा’मार्फत् पुनः उनले आफ्नो घटेको कद बढाएका छन् ।
नेपालमा ठूलै चर्चा बटुलेको ३३ किलो सुनकाण्डलाई यो फिल्मले पुनः सम्झाउन मद्दत गर्छ । त्यही काण्डबाट प्रभावित भएर निर्देशकले फिल्ममा सुन तस्करीको कथा भित्राएको देखिन्छ । हसाउँदा–हसाउँदै निर्देशक दर्शकको मनमा बसिसक्छन् । श्रीमान्–श्रीमतीको सम्बन्ध, ससुरालाई ज्वाईंलाई हेर्ने दृष्टिकोण, जेलबाट निस्किएको कैदीलाई समाजले गर्ने व्यवहार, गरिबी लगायत विविध पक्षलाई निर्देशकले सुन्दर ढंगले उतारेका छन् ।
कतै–कतै ‘लाउड’ सुनिए पनि धेरै ठाउँमा फिल्मको ध्वनि अर्थपूर्ण नै सुनिन्छ । क्यामेराको प्रयोग कथाको मर्मअनुसार नै छ । दयाहाङ लगायत कलाकारलाई भव्य इन्ट्री गराउने बहानामा फिल्मको सुरुवात अलि लामो महसुस भए पनि यही सिक्वेलबाट थपिएका दयाहाङ फिल्ममा अनावश्यक लाग्दैनन् ।
तारिफ गर्न छुटाउनै नहुने नाम विपिनको हो । उनले फणिन्द्रको निर्दोष चरित्रलाई ‘जात्रा’मा जस्तै सानदार तरिकाले निभाएका छन् । लगातार फरकफरक भूमिकामा आफूलाई उतारेका विपिन साँच्चै नेपाली फिल्म क्षेत्रका सुन्दर फूल हुन् । रवीन्द्र झा र रवीन्द्र सिंह बानिया पनि आफ्नो चरित्रमा फिट छन् ।
वर्षा राउतको अभिनय पात्रअनुसार स्वाभाविक नै छ तर ‘जात्रा’ हेरेका दर्शकलाई उनको चरित्रचित्रणमा थोरै समस्या देखिन सक्छ । जस्तो, ‘जात्रा’मा फणिन्द्रको श्रीमतीको भूमिका निर्वाह गरेकी वर्षाले श्रीमान्ले भेट्टाएको तीन करोड पैसा फिर्ता नगर्न बरु आफैँ कुम्ल्याउन नै उत्प्रेरित गर्छिन् । कारण, कमजोर पारिवारिक अवस्था ।
श्रीमान्लाई त्यसरी उत्प्रेरित गर्ने श्रीमतीले श्रीमान् जेलबाट निस्किएपछि श्रीमान्सँग ‘डिभोर्स’ गर्ने अवस्थासम्म पुग्नु अलि विश्वसनीय लाग्दैन । पैसा भेट्टाउदा त्यसरी सहयोग गरेकी श्रीमतीलाई सुन भेट्टाएको खबर सुनाउन फणिन्द्र डराउनु पनि स्वाभाविक देखिएको छैन ।
फिल्मको शीर्ष गीत ‘जीवन जात्रा हो’ फिल्मको मर्मअनुसार नै राखिएको छ । तर ‘गर्मीलाई फ्यान हजुर, जाडोलाई हिटर’ गीत फिल्ममा आवश्यक लाग्दैन, बरु प्रचार सामग्रीका हिसाबले बनाइएको यो गीतमा महिलाको चरित्र चित्रण कमजोर लाग्छ ।
बलिउडमा आमिर खानले ‘खम्बे जैसे खडी है, लड्की है या छडी है’ जस्तो गीतमा नाचेकोमा र करण जोहरले आफ्नो ब्यानरको फिल्ममा ‘चिक्नी चमेली’जस्तो गीत राखेकोमा पश्चातपुर्ण अभिव्यक्ति दिइरहेका बेला कम्तीमा आफूलाई गम्भिर फिल्ममेकर ठान्नेहरुले यता पनि यस्तो गीत राख्नुअघि सोच्ने कि ? प्रश्न आवश्यक छ ।
‘जात्रैजात्रा’मा कमीकमजोरी नभएका होइनन् तर सबल पक्षले ती कमजोरी छोपिदिएका छन् । फिल्म हेरेपछि भन्न करै लाग्छ, ‘यो नेपालमा बनेको अब्बल दर्जाको कमेडी फिल्म हो ।’
Leave A Comment