छालसँगको मेरो जीवन

आइतबार, १६ साउन २०७३, ११ : २६ अनुवादः बलराम अधिकारी , Kathmandu
छालसँगको मेरो जीवन

ओक्टाभियो पास

समुद्रको किनाराबाट घर फर्कन लागेको थिएँ, एउटा छाल अरूलाई उछिनेर मडारिँदै मैतिर आइरहेको देखेँ । ऊ अग्ली र पातली थिई । अरू छालहरूले उसको तैरिरहेको पहिरन समाते, अनि ठूलो स्वरमा उसलाई हकारे । तर, ऊ भने वेगले मछेउ आइपुगी र मेरो पाखुरा ट्याप्प समाई । फलाङ हान्दै ऊ मसँगै अघि बढ्न थाली । साथीसँगीका सामु  उसलाई लज्जित बनाउन चाहिनँ, त्यसैले केही पनि भनिनँ । तर, पाका छालहरूको क्रोधित हेराइले भने मेरो मासी गलेर आयो ।
शहरमा आइपुगेपछि उसलाई सम्झाउँदै भनेँ, ‘हेर, कहिल्यै समुद्र नछाडेकी तिमी । शहरको जीवन तिमीले सोचेजस्तो छैन । कुनै हालतमा पनि सहज हुँदैन तिमीलाई यहाँ । फर्क तिमी ।’
जवाफमा उसले मलाई निकै घुरेर हेरी, ‘अहँ, मैले निर्णय गरिसकेँ । अब फर्किने कुरा नगर ।’
मैले नरम पाराले सम्झाएँ । कड्किएँ । निकै  घुमाइफिराई कुरा गरेँ । तर, केही लागेन । ऊ रुन थाली । मलाई अँगालो हाली । धम्काई । आखिर मैले माफी माग्नुप¥यो ।
भोलिपल्टदेखि मेरो कष्टकर समय सुरु भयो । कन्डक्टर, यात्रु र पुिलसका आँखा छलेर कसरी उसलाई रेल चढाउने ? रेलमार्गबाट छाल लैजान नपाउने त्यस्तो कुनै नियम त थिएन । तर, त्यसलाई लैजाने त्यस्तो कुनै विशेष व्यवस्था पनि त थिएन ।  अनेकौँ उपाय सोचेँ ।  निकै बेर घोत्लिएपछि रेल छुट्नुभन्दा एक घण्टाअगाडि स्टेसनमा पुगेँ । आफ्नो सिटमा बसेँ । त्यहाँ खानेपानीको एउटा ट्याङ्की थियो । यात्रुहरूका आँखा छलेर त्यसलाई खाली गरेँ । त्यसपछि चाल मारेर मेरो लहरी साथीलाई खन्याएँ ।  
पहिलो विपद् त्यतिखेर आइलाग्यो जब मेरो अगाडि बसेका केटाकेटीले जिब्राले ओठ भिज्याउँदै तिर्खाएको आवाज निकाले । तिर्खाएका ती केटाकेटी ट्याङकी नजिकै पुगे ।  हत्तपत्त तिनलाई रोक्दै खाजा र कागती–पानी खुवाउने बाचा गरेँ । तिनीहरू हुन्छ भन्दै थिए, त्यही बेला तिर्खाएकी अर्की एक महिला यात्रु पानी ट्याङ्कीतिर बढी । उसलाई पनि म त्यस्तै केही खुवाउने बाचा गर्नै लागेको थिएँ, देखेँ– उसको लोग्ने मलाई घुरेर हेर्दै रहेछ । ममा केही बोल्ने आँटै आएन । त्यस महिलाले कागजको कप हातमा लिई, ट्याङ्की नजिकै उभिई र धाराको टुटी खोली । उसको कप आधाजति मात्र के भरिएको थियो म उफ्रिएर ऊतिर गएँ । ऊ मेरो चाला देखेर तीनछक खाई । मैले झटपट माफी मागेँ । एउटा सानो केटाले फेरि धारा खोल्यो । मैले निकै जोडले धारा बन्द गरेँ । त्यस महिलाले हातको कप ओठसम्म पु¥याई ।
‘अहो, कस्तो नुनिलो पानी !’
‘हो त !’  केटोले पनि थप्यो । अधिकांश यात्रुहरू जुरुक्क उठे । त्यस महिलाको लोग्ने चाहिँले रेल कन्डक्टरलाई बोलायो ।
‘यो मान्छेले पानीमा नुन मिसायो ।’
कन्डक्टरले इन्सपेक्टरलाई बोलायो ।
‘ए, त्यसो भए, पानीमा बाहिरी चिज हालेको ?’
इन्सपेक्टरले पुलिसलाई बोलायो ।
‘त्यसो हो भने पानीमा विष हालेको ?’
त्यसपछि इन्सपेक्टरले क्याप्टेनलाई बोलायो ।  
‘ए त्यसो भए विष हाल्ने यही हो ?’
क्याप्टेनले तत्कालै तीन जना एजेन्टलाई बोलायो । सबै यात्रुहरू मलाई एकोहोरो हेरेर खासखुस गर्न थाले । ती एजेन्टले मलाई एउटा खाली कारतिर लिएर गए । अर्को स्टेसनमा तिनीहरूले मलाई कारबाट ओराले । अनि, तान्दै, घिसार्दै जेलतिर लिएर गए । लामो केरकारबाहेक निकै दिनसम्म कोहीसँग पनि मेरो बोली मिसिएन । केरकारका क्रममा मैले आफ्ना सबै कथा बताएँ । तर, अरू त अरू जेलरले पनि पत्याएन । ऊ केवल टाउको हल्लाउँदै भन्थ्यो, ‘यो केस गम्भीर छ । त्यसो भने तिमीले बच्चाहरूलाई विष हालेर मार्न खोजेको होइन ?’
एक दिन मलाई म्याजिस्टे«टसामु उभ्याइयो ।
‘तिम्रो केस जटिल छ ।’ उसले दोहो¥यायो । ‘म यस केसलाई प्यानल जजकोमा पठाउँदै छु ।’  
एक वर्ष बित्यो । अन्ततः मेरो मुद्दाको फैसला हुने भयो । कोही पनि पीडित नभेटिएकाले मलाई सामान्य सजाय मात्र हुने भयो । केही समयपछि म छुट्ने दिन आयो ।
जेल प्रमुखले मलाई भित्र बोलायो ।
‘ल, अब तिमी मुक्त भयौ । भाग्यमानी रहेछौ । भाग्यवश कोही पनि पीडित भेटिएन । तर फेरि–फेरि यस्तो काम नगर्नू । अर्कोचोटिको सजाय यति छोटो हुने छैन ।’  
ऊ पनि मलाई अरूले झैँ घुरिरहेको थियो ।
जेलबाट छुट्नासाथ दिउँसोको रेल समाएँ । घण्टौँको लामो कठिन यात्रापछि मेक्सिको शहर आइपुगेँ । त्यहाँबाट घरसम्म ट्याक्सी लिएँ । घरअगाडि पुग्दा दैलोमा कोही हाँसेको, गीत गाएको सुनेँ । मेरो छाती चस्कियो । विस्मयले मेरो छातीमा लपेटा हानेजस्तो भयो ।  त्यहाँ मेरो त्यही लहरी साथी थिई । त्यही छाल । ऊ मस्त थिई गाउँदै, हाँस्दै । सदाझैँ ।
‘कसरी आयौ तिमी यहाँ ?’  मैले विस्मयको भावमा सोधेँ ।
‘सजिलै । रेलबाट । म नुनिलो पानी भएको था’पाउना साथ कसैले मलाई रेलको इन्जिनमा खन्याइदियो । त्यसपछि मेरो यात्रा निकै कठिन रह्यो । तक्कालै म सेतो बाफमा बदलिएँ । त्यसपछि इन्जिनमा रहेको सफा पानीमा मिसिएँ । यस क्रममा मेरो केही जल–अंश बाफ बनेर सदाका लागि हरायो । म निकै पातलिएँ ।’   
उसको उपस्थितिले मेरो जीवन बदलियो । घरका अँध्यारा मटान, बरन्डा र धुले फर्निचरहरूमा हावा सर्सराउन थाल्यो ।  सूर्यका किरणले ती सबै उज्याला देखिन थाले । घरका कुनाकुनामा उमंगको ध्वनि गुञ्जिन थाल्यो । हरिया, नीला प्रतिविम्बहरू टल्किन थाले । आह ! कसरी एउटै छाल कैयौँ छालहरू बन्न सकेको ! त्यस  छालले मेरो घरका भित्ताहरूमा समुद्री किनार, पत्थर या भनौँ बन्दरगाह बनाउन सकेको ! त्यही छालमा देखेँ मैले छाती, निदार जसमा सेतो फिँज कल्की बनेर टल्किरहेथ्यो । उसका हलुका हातले मेरो घरको बेवारिसे, विद्रुप, धुलौटे सबै कुनाकाप्चाहरू स्पर्श गर्न थाली । उसको स्पर्शमा सबै चिज चम्किला दाँत देखाएर हाँस्न थाले । सूर्य मख्ख पर्दै पुराना कोठाहरूमा छिर्न थाल्यो । घण्टौँसम्म ऊ मेरो घरभित्र बसिरहन्थ्योे— बेवास्ता गर्दै वरपरका अन्य घरहरूलाई, जिल्लालाई, शहरलाई, देशलाई । कुनै–कुनै रात त ऊ निकै अबेरसम्म त्यहीँ बसिरहन्थ्यो । मेरो घरबाट ऊ लुसुक्क बाहिरिएको माथिबाट ताराहरू विस्मित भई हेर्दथे ।
प्रेम एउटा खेल थियो । नित्य सृजनाको । समुद्री किनाराजस्तो, किनाराको बालुवाजस्तो, सदा स्वच्छ रहिरहने । सदा नवीन । मैले अँगालोमा बेर्दा ऊ गर्वले फुल्थी । कल्पना नै गर्न नसकिने गरी अग्लिन्थी । जलराशिले बनेको लहरेपीपल थिई ऊ । तत्कालै पातलिएर ऊ सेता प्वाँखको फोहोरा बनेर फक्रिन्थी । मुस्कानको कल्की बनेर मेरो शिर र ढाडमा खस्दथी । अनि, मलाई सेताम्मे बनाउँथी । कहिले भने मेरा अघिल्तिर लम्पसार परेर तन्किन्थी । असीमित क्षितिजझैँ । म आफू पनि क्षितिज र निःशब्दतामा नबदलिएसम्म ऊ ममाथि फैलिरहन्थी । ऊ मलाई पूरै छोप्दथी संगीतले झैँ । मलाई ढाक्दथी आफ्ना बडेमानका ओठहरूले । बारम्बारको सुम्सुम्याइ, गुनगुन, चुम्बन— उसले मलाई दिएको उपहार । उसको जलराशिमा प्रवेश गरेपछि म निथ्रुक्क भिज्दथेँ । निमेषभरमा नै म ऊमाथि तैरिरहेको हुन्थेँ । ऊ मलाई भाउन्न छुट्ने उचाइमा पु¥याउँथी । म रहस्यमयी ढंगले हावामा झुन्डिएको ढुंगाझैँ हुन्थेँ । अनि, ऊ मलाई बिस्तारै सुख्खा ठाउँमा झार्दथी । म प्वाँखझैँ झर्दथेँ । उसमा मस्त निदाउनु, अनि उसका हजारौँ मन्द–मन्द प्रहारले जाग्नु ! यस अतुलनीय अनुभवको तुलना म केसँग गरौँ !  
यति हुँदाहुँदै पनि म उसको अस्तित्वको केन्द्रमा कहिल्यै पुग्न सकिनँ । न त कहिल्यै उसको पीडाको, मृत्युको नग्न सत्य नै बुझ्न सकेँ  । सायद, यी सब कुरा छालहरूमा हुँदैन होला ।  त्यो रहस्यमयी क्षेत्र जसले नारीलाई  भेद्य र मरणशील बनाएको छ । त्यो विद्युतीय बटन जसमा उसको अस्तित्वका सबै चिज रहस्यमयी ढंगले जेलिएका हुन्छन् । त्यो बटन जुन कहिले पीडाले खुम्चिन्छ, कहिले तनक्क तन्किन्छ । अनि, मुर्छा पर्छ । उसको नारी संवेदना सम्पूर्ण तरंगहरूमा फैलियो । ती एकल केन्द्रीय तरंगहरू थिएनन् । ती केन्द्ररहित थिए, जुन दूर गगनका तारामण्डलसम्म नपुगुन्जेल फैलिरहन्थे । उसलाई प्रेम गर्नु भनेको दूरदूरसम्म फैलनु थियो । टिलपिल टिलपिल ताराहरूका कम्पनसँग मिल्नु थियो । तर, उसको केन्द्र... । हैन, हैन । उसको त कुनै केन्द्र नै थिएन । उसँग त केवल भुमरीभित्रको रित्तोपन मात्र थियो जसले मलाई भित्र खिच्दथ्यो । मलाई उकुसमुकुस बनाउँथ्यो ।
 सँगसँगै लम्पसार पर्दै हामी दुईले आ–आफ्ना भित्री कुरा, मौनता, मुस्कान साट्यौँ । गुट्मुटिँदै ऊ मेरो छातीमा झर्थी । कलकल गर्दै छताछुल्ल हुन्थी । कहिले मेरो कानैमा गाउँथी—  सानो चिप्लेकिराझैँ । कहिले भने मेरो खुट्टामा टासिँन्थी कुनै सानो जीवझैँ ।  विनयशील बन्थी । शान्त जलराशिझँै पारदर्शी पनि । कहिलेकाहीँ ऊ कतिसम्म सङ्लिन्थी भने म उसका सबै भित्री कुरा सहजै पढ्न सक्थेँ । कुनै रात भने उसको पुरै शरीर फोस्फोरेन्स पाउडरले छोपिएको हुन्थ्यो । उसलाई अँगालो मार्नु भनेको आगोको ट्याटू खोपाएको रातलाई अँगालो हाल्नुजस्तै हुन्थ्यो ।
अकस्मात् ऊ काली र टर्री बन्दै गई ।  बेला न कुबेला गर्जिन थाली । कहिले पीडाले चिच्याउँथी । यता र उता बटारिन्थी । उसका आर्तनाद सुनेर छिमेकीहरू जाग्दथे । उसको आवाज सुनेर समुद्री वायु मेरो घरको ढोकामा दस्तक दिन आइपुग्थ्यो या छानाबाट हुँकार गर्दथ्यो । बादल लागेको दिनमा ऊ क्रुद्ध बन्थी । फर्निचर तोडफोड गर्दथी । अपशब्द बोल्दथी । अपमान गर्दै मलाई हरियो, खैरो फिँजले ढाकिदिन्थी । थुक्थी । चिच्याउँथी । गाली गर्थी । अनेकौँ भविष्यवाणी गर्थी । चन्द्रलोक, तारामण्डल र अर्को दुनियाँबाट आएको प्रकाशको प्रभावमा परेको बेला उसको मनस्थिति र स्वरूपमा परिवर्तन आउँथ्यो । मलाई त्यस्तो उतारचढाव निकै रोमाञ्चक लाग्दथ्यो । यद्यपि यो ज्वारभाटाजस्तै घातक थियो ।
ऊ समुद्रको एकाकीपनको यादमा रहन थाली । चिप्लेकिरा, शंखेकिरा र क्रोधमा उसले ध्वस्त पारेका स–साना डुंगाका टुक्राहरूका साथै मेरो निदारबाट निक्सिएर उसको भयानक या भनौँ रमणीय भुमरीमा परेका अनेकाँै विम्बहरूले घर भरियो । यस बीचमा के–कति रत्नहरू हराए हुनन् ! मेलै उसलाई केही डुंगा र चिप्लेकिराहरू ल्याइदिएँ । तर, चिप्लेकिराका मौन गीतले उसलाई पुगेन । पछि एक हूल माछा ल्याएर राखिदिएँ । ती माछाहरू उसको शरीरमा पौडिएको, तिनले उसको स्तन सुम्सुमाएको, ती उसका खुट्टाबीच सुतेको, उसको हल्का चमकदार केश खेलाएको देखेर मलाई ईष्र्या लाग्न थाल्यो ।
तीमध्ये केही माछा भने अति घिनलाग्दा र डरलाग्दा थिए । बल्ड्यांग्रे आँखा, करौतीका धार जस्ता रक्तपिपासु मुख भएका एक्वारियममा बस्ने ती स–साना बाघ नै थिए । मेरो साथी त्यस्ता जीवहरूसँग कत्ति पनि धक नमानीकन कसरी रमाउन सकेकी होला ? म तिनलाई हेर्न पनि सक्दिनथेँ तर ऊ भने तिनैलाई त्यत्रो महŒव दिइरहेकी थिई । उसको योे विचलन मैले बुझ्न सकिनँ । ऊ अधिकांश समय ती डरलाग्दा जीवहरूसँग बिताउँथी ।
एक दिन मलाई त्यो सब असह्य भयो । मैले जोडले ढोका खोलेँ र तिनीहरूलाई झम्टिएँ । चञ्चल भूतजस्ता ती प्राणी मेरा हातबाट सजिलै फुत्किए । ऊ भने हाँस्न थाली । ममाथि जाइ लागी र  भुइँमा नढलेसम्म मलाई ठोकिरही । म डुब्दै छु भन्ने लाग्यो ।  कालको मुखमा पुगिसकेको थिएँ । तत्क्षण उसले मलाई बाहिर तानेर बगरमा पल्टाई र म्वाइँ खान थाली । ऊ के–के भन्दै थिई, केही पनि बुझिनँ । उसले मलाई निकै थकाई, शिथिल बनाई । अपमानित गराई । उसको कामोत्तेजना हेर्न सकिनँ र आँखा बन्द गरेँ । उसको मधुर स्वर मेरो कानमा गुञ्जियो । म डुबेर मर्नै आँटेकोलाई रोमाञ्चक मृत्युको कुरा गर्दै थिई ऊ ।
मेरो दैनिक कामकाज पूरै अस्तव्यस्त भइसकेकोे थियो । अब भने आफ्ना साथीसँगीहरूलाई भेट्न थालेँ । पुराना र घनिष्ट आफ्ना जनकोमा जान थालेँ । पुरानो केटी–साथीलाई पनि भेटेँ । मेरो रहस्य कसैलाई पनि नखोल्ने बाचा गराएँ र छालसँगको मेरो जीवनको सबै इतिवृत्त सुनाएँ । पुरुषको जीवन उद्धारको सम्भावनाले एउटी स्त्रीलाई जति संवेदनशील बनाउँछ, अरू केहीले पनि बनाउन सक्दैन । मेरो उद्धारकर्ताले आफ्ना सबै कलाकौशलको उपयोग गरी । तर, ऊ एक स्त्री थिई— सीमित शरीर र आत्माहरूको मालिक । ऊ मेरो छाल–साथीका अगाडि के नै गर्न सक्थी र, जो सदा बदलिरहन्थी ।  नित्य रूपान्तरित भइरन्थी ।  
हिउँद आयो । आकाश धमिलियो । शरहमा कुहिरो झर्न थाल्यो । कठांग्रिने सिमसिम पानी पर्न थाल्यो । मेरो छाल–साथी हरेक रात चिच्याउँथी । दिनभर ऊ एक्लै बस्थी । मौन । कुनै अशुभ घटनाको संकेत गर्दै । कुनामा बसेर गनगन गरिरहने बूढी आइमाईझैँ ऊ एउटै शब्द बर्बराइरहन्थी । ऊ चिसिँदै गई । अब उसँग सुत्नु भनेको रातभर थुरथुर काँप्नु थियो । बिस्तारै जम्नु थियो— रगत, हाड, विचार सबै । ऊ गहिरिँदै गई— अभेद्य, अधीर ।
प्रायः म उसलाई एक्लै छाडेर बाहिरै बस्न थालेँ । हरेक पटक लामोभन्दा लामो समय बाहिरै रहन्थेँ  । ऊ भने एक कुनामा बसेर चिच्याइरहन्थी । इस्पातजस्ता दाँत र धारे जिब्रोले भित्ता कोपर्थी । छियाछिया पार्थी । रुँदै मलाई धिक्र्कादै रात काट्न थाली ।  । प्रायः ऊ दुःस्वप्नमा हुन्थी । घाम लागेको न्यानो समुद्री किनारा कल्पँदै बर्बराउँथी । एक रात उसले सपनामा अग्लो खम्बा देखी । आफू बरफको ठूलो ढिक्कामा बदलिएको देखी । महिनाझैँ लामा रातहरूको कालो आकाशमुनि आफू बग्दै, तैरिँदै गएको देखी । आफ्नो सपना टुट्नासाथ ऊ मलाई अपमान गर्न थाली । मेरो सत्तोसराप गरी । खुबै हाँसी । उसको अट्टहास, उसले जगाएका  भूत, प्रेतहरूले घर  भरिन थाले । उसले आफ्नो गर्तबाट राक्षसहरू डाकी । ती कुनै अन्धा थिए त कुनै अति छरिता । कुनै भने भुत्ते । शरीरमा विद्युत चार्ज भएपछि उसले जे छुन्थी त्यो कार्बन बन्दथ्यो, एसिडमय हुन्थ्यो । उसले जे स्पर्श गर्थी त्यो पग्लिन्थ्यो । उसका मधुर अंकमाल अब मेरा लागि काँडे तार बन्न थाल्यो जुन मेरो घाँटीमा फन्फनी बेरिन्थ्यो । उसको शरीर हरियो  लचकदार र कठोर कोर्रा थियो जुन मेरो शरीरमा बारम्बार बज्रिन्थ्यो । त्यो डरलाग्दो माछा भने मेरो दशा देखेर रौद्र रूपले हाँसिरहन्थ्यो ।
एक बिहान म हिमालतिर  उक्लिएँ । त्यहाँ सल्लाका अग्ला रुखहरूका बीच  अक्करे भीरमा उभिएर चिसो हावा तानेँ । मेरो मनमा तरंगित स्वतन्त्रता जस्तै थियो त्यहाँको हावा । झण्डै एक महिनापछि घर फर्र्किएँ । मैले एउटा निर्णय गरिसकेको थिएँ । घरको चिम्नी माथिको मार्बल निकै चिसो थियो । आगो निभेको अगेनोको छेउमा बरफको एउटा मूर्ति देखेँ । त्यसको उदास सुन्दरता देखेर ममा कुनै प्रकारको भावना जागेन । त्यसलाई टाटको एउटा ठूलो बोरामा हालेँ अनि गल्लीमा निस्किएँ । शहरदेखि पर रहेको रेस्टुरेन्टमा मेरो एउटा साथी वेटर थियो । मैले त्यो बरफको मूर्ति उसैलाई  बेचिदिएँ । उसले तत्कालै त्यसलाई टुक्राटुक्रा बनायो । अनि, ती टुक्रालाई बोतल चिस्याउने बाल्टीहरूमा होसियारीपूर्वक खन्यायो ।

(नोबेल पुरस्कार विजेता मेक्सिकन कवि ओक्टाभियो पास (सन् १९१४–१९९८) बीसौँ शताब्दीका प्रभावशाली साहित्यकार हुन् ।)

 

Leave A Comment