‘छोरी मान्छेहरुलाई चान्स मार्न कसले खोज्दैन र !’

शुक्रबार, १० जेठ २०७६, १० : १९ अनिल यादव
‘छोरी मान्छेहरुलाई चान्स मार्न कसले खोज्दैन र !’

लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल हुन्, अञ्जली अधिकारी । उनले करिब चार सय हाराहारी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । प्रकाश सपुतको ‘बोल माया’ गीतबाट उनी धेरै दर्शकमाझ छाइन् । पछि ‘प्रसाद’ फिल्मको ‘वनकी चरी’ गीतमा नाचेपछि उनको मोडलिङ उचाई थप बढ्यो । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी : 

तपाईंलाई त भ्याईनभ्याई छ है ? 
पहिलेजस्तो त होइन । पहिले त जस्तो पनि गरिन्थ्यो, अहिले त सेलेक्टेड भिडियो मात्रै गर्छु । 

तपाईंले त एकैदिन तीन वटासम्म म्युजिक भिडियोको सुटिङ भ्याएको कुरा छ, हो ? 
पाँच वटासम्मै भ्याएको छु । त्यो त तीजको बेला हो ।  

कसरी सकिन्छ हौ त्यसरी काम गर्न ? 
बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म ननस्टप काम गरेपछि सकिहालिन्छ नि ! 

हैट्, नसकिने रहेछ । ऊर्जा कहाँबाट आउँछ ?
रेडुबल खाएर (हाँस्दै) ! ढाँटेको होइन, म अलि बढी नै खान्छु रेडबुल । अर्को कुरा, फेरि यो हाम्रो काम हो । परेको बेलामा गर्नु पनि पर्छ । 

एकै दिन त्यत्रो भिडियोको सुटिङ भ्याउनुको पछाडि मूल कारण पैसा नै हुन्छ होला, हैन ? 
पैसा मात्रै पनि होइन । त्यो तीजको सिजनमा गरेको हो क्या ! अहिले त दिनमा एउटा काम पनि मुस्किलले हुन्छ । झन प्रतिस्पर्धा उस्तै बढिरा’छ । आउने तीजमा पहिलेजस्तो नहोला । योभन्दा अघिल्लो वर्ष मैले महिनामा कम्तीमा पनि २५ वटा जति भिडियो त गरेकै हुन्थेँ । यो वर्ष अलि कम गर्ने सोचमा छु । 

पैसाका लागि कति खेलियो अनि कलाका लागि कति ? 
सबैले काम गर्ने भनेको पहिला त पैसाकै लागि हो । त्यसपछि अरु कारण आउने हुन् । कतिपय सम्बन्धका कारण पनि गर्नुपर्ने बाध्यता हुन्छ, कतिपय काम मनदेखि मन परेरै पनि गरिएको हुन्छ । मूल कारण त पैसै हो नि ! 

मोडलिङ तपाईंको सानैदेखिको रहर हो ? 
रहर नै हो । बच्चैमा कसैले ‘तँ ठूलो भएर के बन्छस्’ भन्दा ‘म हिरोनी बन्छु’ भन्थेँ । कस्तोसँग बिहे गर्छेस् भन्दा लाहुरेसँग गर्छु भन्थेँ । कहाँ बिहे गर्छेस् भन्दा पोखरा भन्थेँ (हाँस्दै) । 

अहिले पनि रहर त्यस्तै हो ? 
अब अहिले त भाग्यले कहाँ लेखेको छ त्यतै हुन्छ होला नि (मुस्कुराउँदै) ! 

अनि, हिरोइन बन्ने रहर त अझै पूरा भइसकेको छैन नि ! अफर नआएरै हो कि रहर हराएर ? 
अँ, ‘प्रसाद’ फिल्मको एउटा गीतमा नाचेँ तर फिल्ममा अभिनय नै गरिसकेकी छैन । तीन–चार वटा फिल्मबाट अफर आएकै हो । एउटा त चलेर हिट पनि भयो । ढिलोचाँडो हिरोइन त बन्ने नै हो (हाँस्दै) । 

हालसालै दोहोरीकी व्यस्त मोडल करिश्मा ढकालले दोहोरीका मोडलहरु दोहोरी क्षेत्रबाटै हेलामा परेको अभिव्यक्ति राख्नुभयो । फिल्मका हिरोइनहरुलाई लाखसम्म दिन पनि तयार हुने तर दोहोरीमै लागेका मोडललाई १०–१५ हजार दिन पनि कन्जुस्याइँ गर्ने उहाँको तर्क थियो । तपाईं यसमा सहमत हो ? 
यो मेरो गुनासो होइन है ! कति पारिश्रमिक लिने, कसरी काम गर्ने त्यो कलाकारमा भर पर्ने कुरा हो । पहिले फिल्मका कलाकारले दोहोरी भनेपछि अर्कै किसिमले हेर्थे । अहिले उहाँहरु आफैँ दोहोरीमा नाच्न आउनु त गर्वको कुरा हो नि ! किन आपत्ति मान्नु ? म यसमा ‘जेलियस’ छैन । निर्माताले आफ्नो रोजाइअनुसार पारिश्रमिक निर्धारण गर्ने हो । चित्त बुझ्यो भने खेल्ने नत्र नखेल्ने । 

तपाईं दोहोरी क्षेत्रको डिमान्डिङ मोडल हो ? 
दोहोरी क्षेत्रमा जतिसम्म पच्छ, त्यति लिन्छु । आफ्नो स्ट्यान्डमा रहेर काम गर्छु । 

कति लिनुहुन्छ, भन्न मिल्छ ? 
त्यो पछि खुलाउँला नि (हाँस्दै) ! हुन्न ? 

मिल्छ भने भन्दिनुस् भन्ने हो ? 
त्यही २० देखि २५ हजार लिइरहेकी हुन्छु । भिडियो र मेकर्स हेरेर पनि हुन्छ । मैले भनेँ नि, काम दुई किसिमको हुन्छ– एउटा धनको, अर्को मनको । 

संघर्षका बेला त पैसा बिना पनि खेलियो होला ?
पैसा बिना त होइन तर हजार, दुई हजारमा पनि खेलियो । त्यो पैसा पाउँदा पनि एकदमै खुशी लाग्थ्यो । 

कसरी आइपुग्नुभयो मोडलिङ क्षेत्रमा ? 
मेरो घर बर्दिया हो । चार वर्षअघि बासगढी भन्ने ठाउँमा महोत्सव चलिरा’को थियो । महोत्सवमा काठमाडौंबाट शंकर बिसी, बद्री पँगेनी, पशुपति शर्मा लगायत कलाकार आउनुभएको थियो । बद्री दाइले त्यहाँनेर दोहोरीमा प्रतिस्पर्धा नै घोषणा गर्नुभयो । उहाँले म यहाँ स्टेजमा गाउँछु र स्टेज तल मेरो गीतमा जसले सबैभन्दा राम्रो र जर्बजस्त नाच्न सक्छ, त्यसलाई पाँच सय रुपैयाँ पुरस्कार दिन्छु भन्नुभयो । म पनि पूरा दिल खोलेर नाचेँ । पछि फस्ट पनि म नै भएँ । पाँच सय रुपैैयाँ पनि पाएँ । पुरस्कार थापेपछि मैले उहाँहरु सबैलाई मेरो कलाकारिता रुचिबारे सुनाएँ । त्यसपछि बद्री दाइले ‘हुन्छ, सुरुमा एउटा गीतमा चान्स दिन्छौँ । त्यसमा तिमीले राम्रो गर्न सक्यौँ भने जमिहाल्छौँ नत्र फेरि घर फर्कने’ भन्नुभयो । त्यसको केही समयपछि बद्री दाइकै एउटा गीतमा काम गर्ने मौका पाएँ । त्यसमा राम्रो भयो । बिस्तारै अफर बढ्दै गयो । त्यसरी यहाँसम्म आइपुगे । 

दर्शकमाझ तपाईं बढी नोटिस्ड भएको त प्रकाश सपुतको ‘बोल माया’ गीतबाटै हो नि, हैन र ?
हो । ‘बोलमाया’ बाटै हो । त्यसपछि ‘वनकी चरी’ले पनि धेरै चिनाउन मद्दत ग¥यो । चिनाउन हेल्प गर्ने अरु पनि थुप्रै गीत छन्, जस्तै ‘पसिना आइराछ’, ‘बत्ती बाल्नै पर्दैन ।’ 

फिल्ममा नाच्नका लागि कसरी अफर आयो ? 
निर्देशक शिव विक दाइको गीतको सुटिङ परेको थियो । उहाँले त्यतिबेला ‘वनकी चरी’ गीत सुनाएर, यो गीत कस्तो छ भनेर सोध्नुभयो । मैले राम्रो छ भनेपछि उहाँले ‘म तिम्रोलागि कुरा गर्दिन्छु’ भन्नुभएको थियो । पछि मैले अभिनय गरेको ‘बोल माया’ गीत फिल्मको टिमलाई देखाउनुभएछ । मलाई त्यही गीतमा हेरेर लिने निर्णय गर्नुभयो । 

भनेपछि ‘बोलमाया’ गीतकै कारण फिल्मको गीतमा नाच्न पाइयो ? 
अँ, त्यस्तै भयो । 

मोडलिङ क्षेत्रमा लागेको यो चार वर्षलाई आफैँले समीक्षा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
संघर्ष गर्नुपर्ने रहेछ । सबैले सहयोग गर्छन् भन्ने हुन्न । नयाँनयाँ मान्छेहरुसँग नयाँनयाँ ठाउँमा चिनजान हुन्छ । त्यहाँ कति जनाले प्रेम गर्नुहुन्छ, कति जनाले गर्नु हुन्न । त्यो पनि सहनुपर्छ । एउटा छोरी मान्छे भएर इन्डस्ट्रीमा लागिसकेपछि विभिन्न खाले प्रश्नहरु उठ्छन्, त्यसलाई पनि सहनुपर्छ । जस्तो, मेरै गाउँघरमा पनि म दोहोरीमा नाच्न आइपुगेको पचेको थिएन । मेरै घरमा ममीलाई छरछिमेकले प्रश्न गर्थे । समाज त त्यस्तै हुनेरै’छ । ए छोरीलाई त्यहाँ पठाइस्, अब बिग्रिन्छे, अब भत्किन्छे, अब बर्बाद हुन्छे भन्दै टिप्पणी गरेछन् । अरु त अरु मेरो ममीलाई ड्याडी र दाइलेसम्म टर्चर दिनुभयो त्यतिबेला । तर ममीको पूरा सहयोग थियो । बाबाको सपना त मलाई स्टार्फ नर्स बनाउने थियो तर हिरोनी बन्न भागेर काठमाडौं आइपुगेँ । उहाँ पनि रिसाउनुभएको थियो । जब मेरा भिडियोहरु रिलिज हुन थाले, त्यसपछि उहाँ पोजिटिभ हुन थाल्नुभयो । अहिले त ममीभन्दा बढी मेरो भिडियो बाबाले सेयर गर्नुहुन्छ । 

बिहे गर्ने उमेर त भइसक्यो होला नि ? 
कहाँ हुनु ? ०५४ साल असोजकी त हुँ । बल्ल २२ वर्ष पुग्दैछु । 

२२ मात्रै ? 
हेर्दामात्रै बूढी देखिने हो (हाँस्दै), मान्छे त सानै हो नि ! तर मान्छेहरुले मलाई दिदी नै भनेको मनपर्छ । रेस्पेक्ट गरेजस्तो लाग्छ क्या (हाँस्दै) ! 

विश्वभर अहिले मीटू मुभमेन्ट चलिरहेको छ । हालै शुक्रवारसँग रंगमञ्चका कलाकारले त्यहाँ हुने यौन दुव्र्यवहारबारे खुलेर अनुभव सेयर गरे । दोहोरी क्षेत्रमा पनि चान्स मार्न खोज्नेहरुको कमी छैन । त्यस्ता मान्छेहरुको सामना तपाईंले कत्तिको गर्नुप-यो ?

सुरुमा आउँदाखेरी नै जग बलियो भएर होला मलाई कसैले हेप्न सकेन । सिनियर दाइहरु बद्री पंगेनी, पशुपति शर्मा, शंकर बिसीहरुको सपोर्ट थियो, त्यही भएर पनि कसैले केही गर्ने हिम्मत गरेन । सायद म अर्कै माध्यमबाट आएको भए मलाई पनि त्यस्तो प्रयास हुन्थ्यो होला, नहुने होइन । छोरी मान्छेहरुलाई चान्स मार्न कसले खोज्दैन र, खोजिहाल्छ नि ! तर, आफू सचेत हुनपर्छ त्यस्तो कुरामा । एकपल्ट कार्यक्रममा जाँदाखेरी आयोजकका दाइहरुले बसेर वाइन खाऊ न, हुक्का तानौँ न, रुमसँग पु¥याइदिउँ ? जस्ता प्रस्ताव गर्न थाल्नुभएको थियो । टचसम्म गर्न खोज्नुभएको थियो । त्यो बेलामा म अझै बच्चै थिएँ । उहाँको नियतमा समस्या देखेपछि तत्कालै शंकर दाइ (बिसी)लाई फोन लगाएर मलाई यस्तोयस्तो भनिरा’छ भनेर सुनाएँ । शंकर दाइले फोन देऊ, म कुरा गर्छु भन्नुभयो । लास्टै झपार्दिनुभएछ । त्यसपछि चुप लाग्यो । त्यसैले म सधैँ भन्छु, सहेर बस्नुहुन्न । कि आफैँले प्रतिकार गर्नुपर्छ, आफैँ  सकिँदैन भने सिनियर दाइहरुलाई तत्कालै सुनाएर भए पनि एक्सन लिनुपर्छ । 

शक्ति र सत्तामै हुनेहरुबाट नै धेरै दुव्र्यव्यहार हुने गरेको पाइन्छ । सिनियरहरुबाटै तपाईंलाई कहिल्यै समस्या भएन ?
मलाई त्यस्तो भएन । किनभने मैले ती सिनियरहरु सबैलाई आफ्नो अभिभावक बनाएँ । 

पछिल्लो समय दोहोरी गीत एकदमै फोहोरी भएको देखिन्छ । सहमत हुनुहुन्छ ?
केही समयअघिसम्म व्यापक थियो तर अहिले सुधार भएको छ । 

द्विअर्थी र भद्दा शब्दले भरिएका त्यस्ता गीतहरुमा एक समय तपाईंले पनि खुब नाच्नुभयो । अप्ठेरो लागेन ?
अधिकांश गीत त्यस्तै निस्किन्थे । भ्यूज पनि त्यस्तैका बढी आउँथे । घरमा आर्थिक अवस्था एकदमै कमजोर थियो । त्यसैले नाच्न पथ्र्यो, नाचियो । तैपनि अप्ठेरो त लाग्थ्यो । घरमा ममी, ड्याडीदेखि दाजुभाइ सबले हेर्थे, अप्ठेरो त भइहाल्छ नि ! तैपनि त्यो बाध्यता थियो । अहिले सम्झिदा त्यस्तो नगरेको भए हुन्थ्यो भन्ने लाग्छ । 

तीन वर्षअघि एउटा इन्टरभ्यूमा तपाईंले मोडलिङमा आउनुअघि ब्वाइफ्रेन्डसँग ब्रेकअप भएको बताउनुभएको रहेछ । अहिले त नयाँ बनाइसक्नुभयो होला ? 
थ्याङ्क गड, त्यतिबेला ब्वाइफ्रेन्डले ब्रेकअप दियो र त म अहिले यहाँसम्म आइपुगेँ । ब्वाइफ्रेन्डलाई बोकेर हिँडेको भए त कहाँ पुग्थे कहाँ ! यो क्षेत्रमा आइपुग्न त रत्तिभर सपोर्ट थिएन । कि इन्डस्ट्री कि मलाई रोज रे ! मैले इन्डस्ट्री रोजेँ ।

अहिले को छ नि ब्वाइफ्रेन्ड ?
छैन हौ (हाँस्दै) । 

अनुहारले प्रस्टै भनिराछ, ढाँट्नुभयो ? 
मैले अहिले मेरो ब्वाइफ्रेन्ड छ भनेँ भने भोलि उसले मलाई छोड्यो भने (हाँस्दै) ? त्यसैले छैन क्या ! 

अघि लाहुरे बिहे गर्ने रहर सुनाउँदै हुनुहुन्थ्यो । पक्कै लाहुरे नै होला ? 
यत्रो संकेत गरेपछि त बुझ्नुपर्ने हो । ब्रिटिस आर्मी हो । अहिलेलाई त्यति बुझ्नुस् ।  

यो मनोरञ्जन क्षेत्रको के कुराले चित्त दुख्छ ? 
अस्ति एउटा अवार्डमा कपाललाई कर्ली बनाएर गएकी थिएँ । अंग प्रदर्शन गरेको थिइनँ तर कपाललाई लिएर हेर्न नहुने, पढ्नै नसकिने कमेन्ट्स आएको थियो । लङ ड्रेस लाएकी थिएँ तर कपाल त्यस्तो गरेको भन्दैमा त्यसरी गाली गर्नुभयो कि घरबाट ममी ड्याडीसम्मको फोन आयो । मान्छेहरुले मुखै छाडेर गाली गरेका थिए । लास्टै चित्त दुखेको थियो त्यो बेलामा । अर्चना पनेरुदेखि दुनियाँको पोर्न मुभी हेर्न हुने, मेरो कर्ली कपाल हेर्न नहुने ? कहाँको नियम हो त्यो ? मलाई त्यत्तिकै चित्त दुखेको होइन क्या ! ममीले रुँदै फोन गर्नुभयो, यो काम नै छोड्दे भनेर । अनि चित्त दुख्दैन त, आफैँ भन्नुस् न । 
 

Leave A Comment