पछिल्लो समय नेपाली फिल्ममा खलपात्रका रुपमा दरिलो परिचय बनाइरहेका अभिनेता हुन्– शिशिर वाङ्देल । पर्दामा भिलेनकै अफर बढी आए पनि भलाद्मी पात्रको अभिनय गर्ने उनको भित्री चाह मरिसकेको छैन । उनी मीठो गीत पनि गाउँछन् । त्यही भएर प्रदर्शनरत फिल्म ‘दाल भात तरकारी’मा गायक स्वामीको भूमिकामा देखिएका छन् उनी । सोमबार, ललितपुरको झम्सीखेलस्थित एक क्याफेमा उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी:
‘दाल भात तरकारी’को रेस्पोन्स कस्तो आइरहेछ ?
मह संचारको फिल्मबाट जुन आश हुन्छ, त्यही खालको नै आइरहेको छ । सकारात्मक छ ।
फिल्मको समीक्षा त राम्रो आएको छैन । व्यक्तिगत रुपमा तपाईको कामको प्रतिक्रिया कस्तो छ त ?
जतिले हेर्नुभयो ‘राम्रै गरिस्’ भन्नुभएको छ । क्यारेक्टरमा मैले न्याय गर्न सकेँ कि जस्तो लागेको छ ।
फिल्ममा तपाईं गायक स्वामीको भूमिकामा हुनुहुन्छ, जो धर्मको आवरणमा अपराध गर्छ । यो क्यारेक्टरको अफर आउनासाथ सबैभन्दा पहिले तपाईंले के गर्नुभयो ?
मलाई यो भूमिकामा अफर आउनुको कारण मदन दाइ (मदनकृष्ण श्रेष्ठ), हरि दाइ (हरिवंश आचार्य) र किरन दाइ (किरण केसी) नै हुन् । किरण दाइसँग ‘६क्कापन्जा’ काम गर्दा सम्बन्ध विस्तार भएको थियो । उहाँ पनि गाउने, म पनि गाउने । मेरो कलायात्रा सुरु भएकै गायनबाट । गाउने हुटहुटीका विषयमा किरन दाइ परिचित हुनुहुन्थ्यो । फिल्मको क्यारेक्टर पनि गायक स्वामी । क्यारेक्टरमा फिट हुने देखेपछि रोल अफर आयो । सायद मैले गाउन नजानेको भए म यो रोल गर्दिनथिएँ होला । अफर आउनासाथ रोल कसरी गर्ने भन्नेमा प्रस्ट हुन चाहेँ । ‘नार्सिसिस्ट’ भएर गर्नेकि, अलि उश्रृंखल खालको गर्ने हो कि, अलि रिजर्भ टाइपको गर्ने हो कि ? मैले गर्ने स्वामीको हाउभाउमा प्रस्ट हुन चाहेँ । त्यहीअनुसार आफूलाई तयार गरेँ ।
(अन्तरवार्ता लिदाँलिँदै टेबलअगाडी खाजा आइपुग्यो । खाजाका कारण पाँच मिनेट जति ‘अन द रेकर्ड’ कुराकानी रोकियो । ‘अफ द रेकर्ड’ कुराकानी सुरु भयो । पछि उनी अफ दि रेकर्डलाई अन दि रेकर्ड बनाउन राजी भए ।)
शिशिरः मैले अघि तपाईंलाई नोटिस गरिराछु, तपाईंको एकदमै खुट्टा हल्लाउने बानी रै’छ ।
संवाददाताः हो, सही भन्नुभयो ।
शिशिरः तत्काल सुधारिहाल्नुस् । डरका कारण पनि यस्तो हुन्छ । यसलाई सुधार्नुभएन भने पछि तपाईंलाई मुटुको व्यथा लाग्न सक्छ । त्यसैले यो बानी सुधारेको राम्रो । फेरि प्रोफसनल्ली पनि यो त्यति राम्रो देखिदैन नि !
संवाददाताः (मुस्कुराउँदै) म तपाईंको जवाफमा ध्यान दिइरहेको थिएँ, तपाईंको ध्यान मेरो खुट्टातिर पनि रहेछ । मैले त याद नै गरेको थिइनँ । यसरी खुट्टा भूकम्पपछि धेरै हल्लिन थालेको हो । म सुधार्ने प्रयास गर्छु ।
शिशिरः मेरो सुझाव हो– यो बानी सुधारेकै राम्रो ।
संवाददाताः हुन्छ, म प्रयास गर्छु । रमाइलैरमाइलोमा मलाई पनि भन्न मन लाग्यो, तपाईंले लगाइरहेको चश्मा खोल्नुभएको भए गफ गर्न झन् मज्जा आउँथ्यो कि ! (मुस्कुराउँदै)
शिशिरः मैले यो चश्मा खोलेँ भने तपाईंले मेरो आँखामा हेर्नै सक्नुहुन्न ।
(पुनः कुराकानी औपचारिक भयो ।)
चश्मा खोल्दा मैले हेर्नै सक्दिनँ भन्नुभयो । यसको अर्थ तपाईंको आँखा डरलाग्दो छ । यो तपाईं आफैँले फिल गरेको कुरा हो या अरुले भनेको ?
त्यस्तो केही पनि होइन । मजाक मजाकमा भनेको हो । चश्मा लगाएर बसिरहने मान्छे होइन । बाहिर हिँड्दा चश्मा लगाउँदा आँखा पोल्न कम भएको छ । नत्र बस्दाबस्दै आँखा रसाएर आउँथ्यो । अर्को कुरा, तपाईं मलाई प्रश्न सोधिरहनुभएको अनि सँगसँगै हाँसेर तपाईंको फोटोग्राफरलाई हेरिरहनुभएको छ । यसले मलाई तपाईंले मेरो उत्तरलाई खिल्ली उडाइरहनुभएको जस्तो लाग्यो । त्यस्तो हो भने म यो अन्तर्वार्ता दिनै बन्द गर्दिन्छु । किन हो किन, मलाई अब यो अन्तर्वार्ता दिनै मन लाग्न छाड्यो । यो कुरा तपाईको मोबाइलमा रेकर्ड भइरहेको छ भने प्लिज यो पनि छाप्नुस् ।
(माहोल अचानक अर्कै भयो । शिशिर पूरै रिसाएझैँ देखिए । अन्तर्वार्ता नै खल्बलिने सम्भावना बढ्यो ।)
अन्तर्वार्ता सुरु हुनुअघि नै मैले तपाईंलाई भनेको थिएँ, म तपाईंकहाँ आइपुग्नुको कारण तपाईंको कामबाट प्रभावित भएर हो । तपाईंले काम गरेका प्रायः फिल्म मैले हेरेको छु र त्यहाँ तपाईंले काम गरेको राम्रो देखिएकै कारण तपाईंलाई खोजीखोजी आइपुगेको हुँ ।
मैले तपाईंलाई यो कुरा नभन्न ’नि सक्थेँ । मैले यो कुरालाई बेवास्ता गर्न पनि सक्थेँ । तपाईंले अनौपचारिक ढंगले गरिने वार्ता भनेका कारण म त्यहीअनुसार प्रस्तुत भएको हो । अब यही कुरा मैले चश्मा खोलेर भनेको भए, ल चश्मा खोलेँ मैले ।
(यति भनेर उनले चश्मा खोले र डरलाग्दो पारामा संवाददातालाई हेरे र आक्रोशित रुपमा प्रस्तुत भए र भने–तपाईंले मेरो खिल्ली उडाउनु भएको हो ? )
हुँदै होइन ।
(मुस्कुराउँदै) ल भन्नुस्, तपाईंलाई चश्मा लगाएर सजिलो लाग्यो कि नलगाइकन ।
साँच्चै तपाईंको आँखा डरलाग्दो रहेछ । साँच्चै डर लाग्यो मलाई त (हाँस्दै) !
त्यस्तो पनि होइन । अघि तपाईंले मैले चश्मा खोलेर हेरेँ भने तपाईंले मेरो आँखामा हेर्न सक्नुहुन्न भन्दा तपाईंले किन होला भनेर प्रश्न सोधेको मलाई राम्रो लाग्यो । किनभने मेरो भनाइलाई तपाईंले ठ्याक्कै पक्रनुभयो । त्यसपछि मैले यो विभिन्न डाइनामिक्स बताएको हुँ । चश्मा खोलेर इन्टरभ्यू दिएँ भने तपाईं निदाउनुहुन्छ कि भनेर पनि जवाफ दिन सक्थेँ । तर, केही रमाइलो गरौँ भनेर यसरी जवाफ दिएको हुँ (मुस्कुराउँदै) ।
अब फिल्ममा प्रवेश गरौँ । तपाईंले अहिलेसम्म अभिनय गरेका फिल्मको चर्चा गर्दा ‘कबड्डी’मा गुन्डा, ‘कबड्डी कबड्डी’मा नेता, ‘रेशम फिलिली’मा पनि ‘भिलेन’ र अहिले आएर ‘दाल भात तरकारी’मा पनि ठग । सधैँ खलपात्र नै किन ?
सुरुमा एउटा जिज्ञासा राख्न चाहेँ । यो ‘गुण्डा’ शब्दका ठाउँ अरु नै कुनै शब्द प्रयोग गर्दा राम्रो हुन्थ्यो कि ! खलपात्र, खलनायकजस्ता शब्दको प्रयोग नै ठीक हो कि ! गुण्डाभन्दा मलाई अस्ति भर्खरको एउटा घटना याद आयो । एउटा भाइले मर्निङ वार्क गरिरहेका बेला ‘दाइ, गुडमर्निङ । सञ्चै हुनुहुन्छ ?’ भन्दै बोलायो । भाइहरुसँगै तीन चारजना हुनुहुन्छ । एकजना महिला पनि हुनुहुन्थ्यो । ती महिलाले त्यो भाइलाई ‘विदेशी हो ?’ भनेर सोध्नुभयो । भाइले ‘होइन, गुन्डा हो’ भनेर जवाफ फर्काउनुभयो । अब मैले भाइले भन्न खोजेको यो हो है भनेर सम्झाउने समय पनि पाइनँ । उता ती महिलालाई भने म साँच्चिकै गुण्डा हो कि क्या हो जस्तो लाग्यो । त्यतिबेला त्यो भाइले फिल्मको भिलेन या खलपात्र भन्देको भए त्यस्तो अनर्थ लाग्दैनथ्यो कि ! अब तपाईंको प्रश्नतिर जान चाहेँ । म आफूले आफैँलाई चरित्र अभिनेताका रुपमा उभ्याउन चाहन्छु, जसले सबैखाले रोलमा काम गर्न सकोस् ।
तर अफर खलपात्रमा मात्रै आइरहेको छ । लुक्सको पनि प्रभाव हो कि ?
सायद होला । म त आफ्नो लुक्समा आफूलाई भिलेनजस्तो त पाउँदिन तर अफर लिएरै आउँदा धेरैले खलपात्रकै रुपमा प्रस्ताव गर्नुहुन्छ । सायद उहाँहरुलाई मैले त्यस्तै क्यारेक्टरमा न्याय गर्न सक्छु भन्ने लाग्दो हो । तैपनि कहिलेकाहीँ टाइपकास्ट हुन्छु कि भन्ने डर पनि लाग्छ । तर नेपाली फिल्ममा मेरो परिचय चर्चित भिलेनका रुपमा भयो भने पनि म त्यसमा दुखमनाउ गर्दिनँ । तैपनि भलाद्मी क्यारेक्टर गर्ने मन भने छ ।
निर्देशकले जे निर्देशन दियो त्यही मात्र पालना गर्ने कलाकार हो या कुनै पात्रमा काम गर्दैगर्दा त्यसमा आफ्नो पनि दायित्व हुन्छ भन्ने महसुस हुन्छ ?
अफकोर्स, कलाकारको पनि दायित्व हुन्छ । निर्देशक फिल्मको क्याप्टेन हो । फिल्मको जहाजलाई डो¥याएर लाने त निर्देशकले नै हो तर क्यारेक्टरको ग्राफमा रहेर त्यसलाई जीवन्त बनाउने काम त कलाकारको पनि हो । क्यारेक्टरलाई कतिसम्म लाने, यो सिनमा कतिसम्म गर्ने हो, त्यसको निर्णय कलाकारमा निर्भर हुने कुरा हो । अभिनय नपुग्दा निर्देशकले निकाल्ने हो तर कतै आफूलाई चित्त बुझेन भने ‘यहाँ अलिकति यसो गरौँ न’ भनेर निर्देशकलाई सुझाव दिन सकिन्छ । फिल्म भनेको टिमवर्क पनि हो ।
अभिनय तपाईंको पुरानै गन्तव्य हो ?
मैले बालापनतिर जाने अनुमति पाएँ भने अभिनय मेरो धेरै पुरानो गन्तव्य हो । सानोमा खुब नाटक गर्थेँ तर त्यसलाई पनि थाँति राखेर कुरा गर्ने हो भने अभिनय मेरो एक दशक पुरानो गन्तव्य हो । मैले कला क्षेत्रमा प्रवेश गरेको सांगीतिक क्षेत्रबाट हो । पहिले गायक, त्यसपछि कलाकार बनेको हुँ । सन् २००६ मा मैले मेरो पहिलो एल्बम ‘सम्झिरहन्छु’ निकालेको थिएँ । त्यसैले पहिले गायक, अहिले गायक स्वामी (हाँस्दै) ।
एक्टर बन्छु भन्ने कहिल्यै सोच्नुभएको थियो ?
नढाँटी भन्नुपर्दा मभित्र त्यो रहेछ । सानोमा थिएटर गरेकाहरुले पछि यो लाइन नै रोज्दारैछन् ।
अभिनय आएपछि गायन सुस्तायो है ?
गाउन त म हरेक दिन गाइरहेकै हुन्छु । अहिले विश्राम लिएको भन्नुपर्ला । गीत त म पहिलेदेखि नै कम नै निकाल्ने हो । माया गर्न मन लाग्छ क्या गीतलाई । कम्ती होस् तर मीठो होस् । बरु समय लागोस्, केही छैन । मलाई फिल्मका लागि पनि एउटा गीत गाउन मन छ । पहिलोपल्ट तपाईंसँग यो इच्छा सेयर गर्दैछु । कसैले यो पढेर अफर गरिहाल्यो भने तपाईंलाई धन्यवाद जानेछ ।
गायनबाट अभिनयमा प्रवेश कसरी भएको हो ?
११ वर्षअघि उदय सिजापतीको ‘टाटाटाटा बाईबाई’ फिल्ममा पहिलोपल्ट ग्याङस्टर क्यारेक्टरका लागि अफर आयो । म त त्यस्तो देखिन्छुजस्तो लागेन । हुन्न भनेँ । तर, गर्नैैपर्छ भन्ने जिद्दी गरेपछि स्वीकारेँ । त्यतिबेला मेरो तौल एक सय किलो थियो झन्डै । म अहिलेभन्दा डबल थिएँ...।
ओ माई गड ! वेर यु द्याट मच ‘फ्याट’ ?
(मुस्कुराउँदै) त्यो ‘फ्याट’ भन्ने शब्द नै गलत प्रयोग हो । अपमान गरेजस्तो सुनिन्छ क्या ! र, अब त्यो पहिलो फिल्मको कुरा गर्दा त्यो अझै रिलिज भएको छैन ।
पहिलो सिनेमा रिलिज नभई दोस्रोमा कसरी अफर आयो ?
दोस्रो फिल्म ‘कर्कश’ हो । आसिफ शाह, असिम शाह र सत्यराज आचार्यले मलाई डिजेको क्यारेक्टरमा अफर गरेका थिए ।
मैले अघिदेखि ख्याल गरेको तपाईं शब्द प्रयोगका मामिलामा एकदमै गम्भीर हुनुहुँदो रै’छ । नेपाली फिल्ममा भिलेनको परिचय बनाइरहेको शिशिर रियल लाइफमा शब्द चयन गर्दा यति सिरियस हुनु कस्तो विरोधाभाष, क्या !
मान्छेले बोल्दा सधैँ ख्याल पु-याउनुपर्छ किनभने गलत शब्दको चयनले अगाडिको मान्छेको तनमन पूरै छियाछिया बनाउन सक्छ । घाउ त पुरिन्छ तर सानो दाग त बस्छबस्छ । सायद गीतहरु पनि लेखिरहने भएर म पहिलेदेखि यस्तो कुरामा सचेत हुने प्रयत्न गर्छु ।
करिब एक दशकमा तपाईले काम गरेको फिल्म संख्या एक दर्जन पनि पुगेको छैन । तपाईंको खास गरिखाने माध्यम के हो नि ?
पत्याउनुहुन्न होला तर मेरो खास गरिखाने माध्यम कलाकारिता नै हो । तँ के गर्छस् भनेर सोध्दा म आफूलाई कलाकार हो नै भन्छु ।
कलाकारिता गरेरै बाँच्न सकिने अवस्था छ त ?
अगर जिन्दगी जि लिया तो क्या खाक जि लिया ! जिन्दगी भनेकै संघर्ष हो । पहिले अलि गाह्रो थियो तर अब भने सकिने अवस्था बन्दैछ । अर्को कुरा, मेरो मुख्य पेशा कलाकार हो भन्दैमा म अरु केही काम नै गर्दिनँ भन्ने पनि होइन है ! बरु पार्ट टाइममा कहिले जिंगलको काम गरिरहेको हुन्छु, कहिले सो र इभेन्टहरु गर्दिराको हुन्छु । काउन्सेलिङ पनि गर्छु । कहिले विदेशीलाई टुर गराइदिराको हुन्छु । बाँच्नु त प-यो नि !
तस्बिर: कृष्पा श्रेष्ठ
Leave A Comment