धन्न रिलिज भएन ‘इन्डियाज् मोस्ट वान्टेड’

बिहिबार, १६ जेठ २०७६, ०७ : ४८ केपी ढुंगाना
धन्न रिलिज भएन ‘इन्डियाज् मोस्ट वान्टेड’

२०७० भदौमा भारतीय मिडियाले सनसनीपूर्ण समाचार प्रसार गरे, ‘नेपाल–भारत बोर्डरमा यासिन भट्कल पक्राउ ।’

भट्कललाई भारतीय मिडियाले भारतीय ओसामा बिन लादेनको रुपमा परिचय गराउने गर्छन् । इन्डियन मुजाहिद्दिनका सह–संस्थापक उनी भारतीय सुरक्षा एजेन्सीको मोस्ट वान्टेड सूचीमा थिए । 
भारतले उनलाई लामो समय कारागारमा समेत राखेन । पक्राउ गरेर लगेको तीन वर्षमै अदालतबाटै मृत्युदण्डको फैसला आयो । उनको पक्राउपछि भारतीय खुफिया र सुरक्षा संगठनले जुन रुपमा प्रस्तुत गरेका थिए, त्यसले उनी कुन तहसम्मका आतंकी हुन् भन्ने प्रमाणित गर्छ । 

उनी पक्राउ पर्नु भारतीय मिडियाका लागि उच्च महत्वको समाचार हुने नै भयो । तर सो समाचार भारतीय मिडियाका लागि मात्रै हैन, नेपाली मिडियाका लागि समेत उत्तिकै महत्वपूर्ण बनेको थियो । कारण, भारतीय सुरक्षा एजेन्सी र भारतीय मिडियाले उनी नेपाल–भारत बोर्डरमा पक्राउ परेको दाबी गरे पनि उनी बोर्डरमा हैन, भारतीय सीमा रक्सौलबाट २ सय ७० किलोमिटर टाढा पोखरामा पक्राउ परेका थिए ।
भारतीय सुरक्षा निकायको सूचनाको आधारमा नेपाली सुरक्षा निकायले पक्राउ गरेर अवैध रुपमा यासिनलाई भारतीय बोर्डर पुर्याएर ‘गिफ्ट’ दिएका थिए ।

सन् २००५ देखि २०१३ सम्म भारतका विभिन्न शहरमा भएका श्रृंखलाबद्ध विष्फोटका योजनाकार भट्कल गिफ्ट पाउनु भारतीय सुरक्षा निकायका लागि नेपाल प्रहरीको ठूलै उपहार थियो । उनको पक्राउपछि मुख्य शहरमा ठूला आतंकवादी आक्रमण नहुनुले समेत भारतीय सुरक्षा एजेन्सीका लागि उनको पक्राउ कति महत्वपूर्ण थियो भन्ने देखिन्छ ।

धन्न रिलिज भएन 
गत साता भारतमा एउटा फिल्म रिलिज भयो, ‘इन्डियाज् मोस्ट वान्टेड’ । अर्जुन कपुर अभिनित यो फिल्मको पोस्टर र ट्रेलर रिलिज भएलगत्तै नेपालमा समेत चर्चा बटुल्न सफल भएको थियो । चर्चाको मूल कारण भने नेपालमा छायाँकन गरिएको सिनलाई पोस्टर र ट्रेलर दुवैमा महŒवपूर्ण स्थान दिनु थियो । केही नेपाली कलाकारसमेत देखिए ट्रेलरमै । सत्य घटनाबाट प्रेरित भनिएको यो फिल्मको ट्रेलरले भट्कलबारे फिल्म हो भन्ने संकेत गरेको थियो ।

नेपालसँग साइनो नै नभएका फिल्मसमेत हरेक साता नेपाली हलमा रिलिज हुँदै आएका छन् तर नेपालमै छायाँकन गरिएको र नेपाली कलाकारको अभिनय समेत गरेको सो फिल्म भारतको एक हजार बढी हल र अन्य देशमा रिलिज हुँदा नेपाली हलमा भने लागेन ।

फिल्मबारे खसखस मेट्ने उपाय टोरेन्टबाहेक अर्को थिएन । टोरेन्टमा रहेको हलप्रिन्ट हेरेपछि लाग्यो, नेपालमा फिल्म रिलिज नभएर राम्रै भएछ । 

आर्थिक, सामाजिक र राजनीतिक कारणले असन्तुष्ट भइरहेको नेपाली दर्शकले नेपाली हलमा ‘इन्डियाज् मोस्ट वान्टेड’ हेरेको भए प्रतिक्रिया र परिणाम सुखद् नहुन सक्थ्यो । बेलाबेला नेपाली राष्ट्रियताबारे कति भावुक हुन्छन् भन्ने त ऋतिक रोशन काण्डले देखाएकै हो नि !

प्रभावित हैन, सत्य
फिल्म सत्य घटनाबाट प्रभावित भनिएको छ तर यो प्रभावित मात्रै हैन, नेपाल प्रहरीको भूमिका र नेपालको चरित्र चित्रणबाहेक बाँकी सबै सत्य नै देखिन्छन् । 

फिल्ममा जसरी भट्कल पोखरामा लुकेर बसेको देखाइएको छ, सत्य त्यही हो । फिल्ममा भट्कलको नाम युसुफ राखिएको छ । यो उनको उपनाम हो । उनको सहयोगी असदुल्लाह अख्तर मोबाइल मर्मतको पसल खोलेर बसेका थिए पोखरामा, यासिन राहुलको नाममा परम्परागत मुस्लिम पद्धतिको उपचार गर्ने चिकित्सकको आवरणमा लुकेर बसेका थिए । फिल्ममा यी घटना जस्ताको त्यस्तै छ ।
मनि ट्रान्सफरबाट भारतमा रहेकी श्रीमतीलाई पैसा पठाउँदा यासिन पोखरामा रहेको सूचना भारतीय सुरक्षा अधिकारीले पाएका थिए । फिल्मको लिड नै यही हो ।

ब्रिटिस लाहुरे बन्न चाहनेहरुलाई पोखरामा रहेका निजी ट्रेनिङ सेन्टरले सेनाको प्रारम्भिक तालिम दिने गर्छ । त्यो तालिम हेरेर यासिनले पाकिस्तानमा रहेका प्रशिक्षित इस्लामिक लडाकुलाई नेपाल भित्र्याएर नेपाली नागरिकको आवरणमा ब्रिटिस लाहुरे तालिम केन्द्रमा तालिम दिलाउने, साउदी अरब, मलेसिया लगायतका देशमा कामका लागि गएका नेपालीलाई प्रशिक्षण दिएर मुस्लिम लडाकुको रुपमा भर्ना गरेर नेपाल ल्याई लाहुरे तालिम दिएर आतंकी हमलामा प्रयोग गर्ने योजना बनाएको समेत अनुसन्धानमा खुलेको थियो । 
धन्न यी पाटो भने फिल्ममा देखिइँदैन ।

आतंकी संरक्षक देश


( यासिन भट्कल )

विदेशी फिल्म नेपालमा सुटिङ गर्न सञ्चार मन्त्रालयको स्वीकृति अनिवार्य छ । त्यसमा नेपालको सुरक्षा जोडिए गृह मन्त्रालयको समेत अनुमति चाहिन्छ । फिल्ममा नेपाल प्रहरीको पोशाक प्रयोग गरिएकाले वैध सुटिङका लागि गृह वा प्रहरी प्रधान कार्यालयको अनुमति लिनुपर्छ । सुटिङका लागि अर्जुन कपुर पोखरामा एक महिना बस्दा प्रहरीको समेत सुरक्षा रहेकाले नेपालको सुरक्षा संगठन यसबारे जानकार हुनु स्वाभाविक देखिन्छ ।

फिल्म बनाउनेले त आफ्नो योजनाअनुसार बनाए । नेपालमा आइएसआइको दबदबा देखाउने मिसन पूरा गरे तर फिल्म हेर्दा देखिन्छ, नेपाली सरकारी निकाय पनि नेपाल पाकिस्तानी खुफिया एजेन्सीको पकडमा रहेको स्वीकार गर्छन् । फिल्मको सन्देशझैँ उनीहरु सहमत छन्, ‘आइएसआईले चाहे नेपालमा जे पनि गर्न सक्छ । नेपालको हरेक क्षेत्रमा आइएसआईको बलियो प्रभाव छ ।’

फिल्मको कथासारप्रति सरकारी निकाय असहमत थिए भने नेपाललाई आइएसआईको उर्वर भूमि हो भन्ने सन्देश दिने फिल्मले नेपालमा निर्बाध सुटिङ गर्ने अनुमति कसरी पाउँथ्यो ?
यसले देखाउँछ नेपाल आतंकीको संरक्षक भूमि हो भन्नेमा हाम्रा सरकारी अधिकारी नै सहमत छन् ।
फिल्ममा अर्को पाटो पनि छ ।

फिल्मको प्रारम्भमै पर्यटन विकास बोर्डलाई धन्यवाद दिइएकाले यो फिल्म सुटिङको पाटोमा उनीहरुको कुनै न कुनै संलग्नता पुष्टि गर्छ । 

अहिले पर्यटन बोर्ड नेपालमा बाह्य पर्यटन भित्र्याउन कस्सिएर लागेको छ । भारतीय पर्यटक नेपाल भित्र्याउन ‘गर्मी से बेहाल, तो चलो नेपाल’ अभियान चलिरहेको छ । 

त्यसैले फिल्ममा समेटिएको पोखरा र काठमाडौंको केही मनोरम दृश्यबाट लोभिएर भारतीय नेपाल आउने सम्भावना देखिन्न । फिल्मको मूल सन्देश छ ‘नेपालमा पाकिस्तानी गुप्तचर निकाय आइएसआईको ठूलो प्रभावमा छ अनि यहाँ आउने हरेक भारतीय भारतविरोधी भावना भएका नेपाली र आइएसआईका एजेन्टबाट जुनसुकै बेला पनि मारिन सक्छन् ।’ 

फिल्मको सन्देश ‘सुन्दर देश नेपालमा स्वागत छ’ भन्ने हैन ‘आतंकी संरक्षक देशमा स्वागत छ’ भन्ने छ ।
अब, कोही गर्मी छल्ने लोभमा आइएसआई र भारत विरोधी कट्टर नेपालीबाट मारिन नेपाल आउलान् र !

गुनको बदला बैगुन 
भारतीय र नेपाली दुवै अपराधीले नेपाल–भारतको खुला सीमाको फाइदा उठाउँदै आएको सत्य हो । नेपालमा गम्भीर अपराधमा संलग्न धेरै अझै पनि भारतमा लुकेर बसेका छन् । भारतमा गम्भीर अपराध गरेकाहरु पनि लुक्न नेपाल आउँछन् । 

नेपालको सुरक्षा निकायमा कार्यरत केही सुरक्षाकर्मी विदेशी खुफिया एजेन्सीको सहयोगी हुन सक्छन् । सुरक्षा निकायका केही सदस्यले अनौपचारिक रुपमा अन्य देशका सुरक्षा निकायसँग सहकार्य पनि गर्न सक्छन् । 

तर, सत्य के हो भने नेपालको सुरक्षा निकायमा पाकिस्तानी खुफिया र सुरक्षा संगठनको भन्दा भारतीय खुफिया र सुरक्षा संगठनको प्रभाव बलियो छ । धेरै घटनाक्रमले यो पुष्टि गरेकै पाटो हो ।

नेपाल र पाकिस्तानको खुफिया र सुरक्षा संगठनका सदस्यबीच खुसुक्क पक्राउ गर्ने, लुसुक्क बोलेरो जिपको डिक्कीमा कोचेर सिमाना कटाउने गरेको एउटा पनि घटना सार्वजनिक भएका छैनन् ।

भारतीय खुफिया संगठन र नेपाली सुरक्षा संगठनका सदस्यबीच यस्तो काम दर्जनौँ पटक भएका छन् । नेपाली सुरक्षा संगठनले पनि भारतीय खुफिया र सुरक्षा संगठनको सहयोगमा भारतमा लुकेर बसेका नेपाली अपराधीलाई अनौपचारिक च्यानलबाट पक्राउ गरेर नेपाल ल्याउँछ । 

तर, नेपालका सुरक्षा संगठनको सहयोगमा भारतीय खुफिया एजेन्सी ‘र’ नेसनल इन्भेस्टिगेसन एजेन्सीले अकल्पनीय उपलब्धि पाउने गरेका छन्, आतंकवादको मामिलामा । 

भट्कल नेपालको विशेष ब्युरोको सहयोगमा पक्राउ परेका थिए । मुम्बई सिरियल ब्लास्टका दोषी बम गुरुको रुपमा परिचित अब्दुल करिम टुन्डा नेपालमै पक्राउ गरेर लुसुक्क भारत लगिएकै हो । सन् १९९३ को मुम्बई हमलाका दोषी मानिएको याकुब मेमनलाई त्रिभुवन विमानस्थलमा नेपाल प्रहरीले नियन्त्रणमा लिएर भारत लगेकै हो । यस्ता नाम दर्जनौँ छन् ।

तर यो फिल्ममा यत्तिको महत्वपूर्ण सहयोग गर्ने नेपाल प्रहरीको छवि भने पाकिस्तानी खुफिया एजेन्सी आइएसआईको मुख्य सहयोगीको रुपमा छ । 

फिल्मको ठाउँ ठाउँमा भारतीयलाई आइएसआई र कट्टर भारतविरोधी नेपालीले हत्या गर्नसक्ने भन्ने संवाद छ । विहारका प्रहरी प्रमुख बनेका अभिनेताले भन्छन्, ‘नेपालमा कट्टर भारतविरोधी र आइएसआईको बलियो जालो छ । तिमीलाई मार्न सक्छन् ।’

नेपाल प्रहरीको पोशाक लगाएका कलाकारले आइएसआईको प्रभावमा भारतीय नागरिकलाई गोली हानेको देखाइन्छ । आइएसआईका एजेन्टहरु गाडीभरि हतियार बोकेर निर्धक्क हिँडेको दृश्य सामान्य रुपमा राखिएको छ फिल्ममा ।

आतंकवादविरुद्ध भारतलाई सघाउँदै आएको नेपालबारे यस्तो गलत दृश्य राखेर भ्रम फैलाउनु, सहयोगी देशलाई दुश्मन देशको सहयोगीको रुपमा अथ्र्याउनु गुनको बदला बैगुन हैन र !
फिल्मको सकारात्मक पाटो पनि छ ।

भट्कललाई पोखरामा पक्राउ गरेर भारतीय खुफिया एजेन्सीलाई बुझाएको सत्य प्रहरी संगठनका जिम्मेवार अधिकारीले सधैँ अस्वीकार गरिरहे । यो फिल्मले यसलाई पुष्टि गर्दै झूट बोल्ने प्रहरी अधिकारीलाई कुरीकुरी गरिदिएको छ ।
 

Leave A Comment