यसरी जोगिन सकिन्छ चाया—पोतोबाट

शुक्रबार, १७ जेठ २०७६, ०४ : ०९ उपेन्द्र खड्का
यसरी जोगिन सकिन्छ चाया—पोतोबाट

चाया–पोतोलै हैरान बनाएको छ ? हैरान बनाए पनि तनाव भने लिनु हुन्न । तनावले ठीक हुँदैन, तनावले त यो समस्या झन् बढाउँछ । बरु बेलैमा विशेषज्ञ चिकित्सकको सल्लाहमा उपचार ग¥यो भने ठीक हुन्छ । 
चार महिनाअघि चाया–पोतोको यस्तै तनाव लिएर करिब ४० वर्षकी महिला स्वस्ति लेजर एण्ड स्किन केयरकी छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. प्रकृति ज्ञवालीकहाँ पुगिन् । ती महिलालाई यसको तनावले सताउनुको साथै थाइरोइडको पनि समस्या थियो । उनको औषधोपचार गर्दा पनि ठीक नभएपछि तनावमा परेकी रहिछन् । 

‘उहाँले तनावले निद्रा लाग्ने औषधि नै खाइरहनु भएको थियो,’ डा. ज्ञवालीले भनिन्, ‘दुईपटक भ्याम्पायर फेसियल गर्दा यो समस्या हट्यो ।’ चाया–पोतोको धब्बाले सुन्दरहीन बनेको अनुहार सुन्दर भएपछि उनी खुसी नहुने कुरै भएन । औषधिले नभएपछि भ्याम्पायर फेसियल गर्दा ती महिलाको समस्या समाधान भएको डा. ज्ञवालीले बताइन् । तीन पटकसम्म भ्याम्पायर फेसियल गर्नुपर्ने डा. ज्ञवालीको सल्लाह छ ।
अनुहारको फेसियल गर्ने विधिमध्ये एक हो, भ्याम्पायर फेसियल । आफ्नै शरीरको प्रशोधित पहेँलो रगत अनुहारमा लगाएर गरिने फेसियललाई भ्याम्पायर फेसियल भनिन्छ । 

 त्यस्तै अर्को केस पनि छ । वीर अस्पतालकी वरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिस्ट (चर्म तथा छालारोग विशेषज्ञ) डा. अनुपमा कार्की (कँुवर) कहाँ त झन् चाया–पोतोको तनावले डिप्रेसनको अवस्थामा पुगिसकेकी एक रंगकर्मी उपचारका लागि पुगेकी थिइन् । २६ वर्षकी युवती त्यो पनि रंगमञ्चमा काम गनुपर्ने । अनुहारै कुरुप भएपछि तनाव नहोस् पनि कसरी ।

 ती युवतीलाई उनका बुवा–आमाले अस्पताल पु¥याएका थिए । ‘अनुहारले धोका दिएपछि उनले मोडलिङ गर्नै छाडेकी रहेछिन्, ‘डा. कार्कीले भनिन्, ‘नियमित केमिकल पिलिङ र औषधोपचार गरेपछि भने अहिले चाया–पोतो कम हुँदै गएको छ ।’ उपचार थालेको आठ महिनामा अहिले भने ती युवतीको अनुहारको ८० प्रतिशत चाया–पोतो ठीक भैसकेको डा. कार्कीले सुनाइन् । युवती अहिले भने नियमित काममा फर्किसकेको कार्कीले बताइन् । 

यी त प्रतिनिधि पात्र मात्रै हुन् । चाया–पोतोको समस्या लिएर छाला रोग विशेषज्ञकहाँ पुग्ने व्यक्तिको दैनिकजसो भीड नै लाग्छ । सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिष्ट) डा. रबिन्द्र शर्माका अनुसार छाला तथा यौन रोगको समस्या लिएर दैनिक अस्पताल पुग्नेमध्ये करिब १० प्रतिशत यसको समस्या लिएर पुगेका हुन्छन् । भने डा. ज्ञवालीकहाँ पुग्नेमध्ये करिब ५० प्रतिशत योे समस्या लिएर पुग्छन् । 

चाया–पोतोले शारीरिक असर नहुने भए पनि मानसिक रुपमा व्यक्ति तनावमा पर्ने गरेको चिकित्सक बताउँछन् । तर आत्तिनु भने पर्दैन । किनकि चाया–पोतोले एक त ज्यान जाँदैन । अर्को कुरा उपचारपछि ठीक हुन सक्छ, नयाँ–नयाँ उपचार पद्धति छँदैछन् । 

नयाँ—नयाँ उपचार विधि
डा. शर्मा भन्छन्, ‘६ महिनादेखि एक वर्षसम्म सन ब्लक क्रिम प्रयोग गर्दा चाया–पोतो नहटे थप उपचार गर्नुपर्ने हुन्छ ।’ खाने औषधिको पनि प्रयोग गर्न सकिने चिकित्सक बताउँछन् । केमिकल पिल्स र लेजर विधिबाट पनि यसको उपचार गर्न सकिन्छ । ‘केमिकल पिल्सले छालाको बोक्रा निकालेर सफा गरिन्छ,’ डा. शर्माले भने, ‘बोक्रा गएपछि सफा किसिमको भित्री छाला आउन मद्दत गर्छ र पोतो हट्छ ।’  

यति मात्रै हैन । चाया—पोतो हटाउन चिकित्सकको सल्लाहमा डि पिग्मेन्टिङ एजेण्ट भएका हाइड्रोक्वीनोन, एजेलिक एसिड, ग्लाइकोलिक एसिड, कोजिक एसिडलगायतका क्रिम लगाउन सकिन्छ । यीबाहेक लेजर टोनिङ, माइक्रो डर्मा ब्रेजन तथा केमिकल पिलिङजस्ता आधुनिक उपचार पद्धतिबाट चाया–पोतोको उपचार गर्न सकिने डा. कार्कीले बताइन् 

कठिन उपचार
उपचार गर्दैमा पूर्णरुपमा हट्छ नै भन्ने निश्चित हुँदैन तर धेरैजसो हट्छ । 
उपचार गरेर चाया–पोतो हटाउन निक्कै कठिन हुनेतर्फ चिकित्सक एकमत देखिन्छन् । ‘चाया–पोतो दीर्घ रोग हो ।

पूर्ण रुपमा ठीक हुन कठिन हुन्छ,’ डा. ज्ञवाली भन्छिन्,‘नियन्त्रण गर्न सकिन्छ ।’ चिकित्सकको मतअनुसार कसैको छालाको बाहिर तह (इपिडर्मिस) त कसैको भित्रि सतह (डर्मिस) मा यो समस्या देखिन्छ । छालाको बाहिरी सतहको तुलनामा भित्री सतहबाट आएको चाया—पोतो हटाउन कठिन हुने डा. ज्ञवाली बताउँछिन् । 

अनुहारभरि पोतो
चिकित्सकका अनुसार छालाको पिग्मेन्टेसन डिसअर्डर चाया–पोतो हो । चाया पोतो विशेषगरी अनुहारमा आउँछ । अनुहारमा आउने चाया–पोतो नाक, गाला, आँखिभौँमाथि, निधारको भागमा, निधारको  दायाँ बायाँ आउँछ । जसले अनुहारै कुरुप बनाइदिन्छ । छालामा कालो रंग बनाउने कोषिका हुन्छन्, जसलाई मेलानोसाइट्स भनिन्छ । यी कोषिका बढी सक्रिय हुँदा आउने परिवर्तन नै यसको असर हो । मेलानोसाइट कोषिकाले मेलानिन नामक तत्व बनाउँछ त्यो बढी भएमा चायापोतो देखिन्छ 

मेलानोसाइटको घनत्व शरीरको अन्य भागमा भन्दा अनुहारमा बढी हुने भएकाले अनुहारमा बढी यसको असर पर्ने शर्माले बताए । 

हर्मनको खेल
तुलनात्मक रुपमा पुरुषलाईभन्दा महिलालाई सुन्दरताको चिन्ता बढी भएको पाइन्छ, उनीहरुलाई नै बढी चाया–पोतोले सताउँछ । स्वास्थ्य जाँच गर्न पुग्नेमध्ये ९० प्रतिशत महिला र १० प्रतिशत पुरुषमा यसको समस्या हुने गरेको डा. शर्माले बताए । सामान्यतः बालबालिकामा यसको असर पर्दैन । पहिले पोतो आए पनि पाको उमेरसम्म पुग्दा हराउँदै जान्छ । 

चिकित्सकका अनुसार प्रजनन् उमेर समूहका महिलामा एस्ट्रा जेन र प्रोजेस्टेरोन हर्मनको बढी उतारचढाव हुने भएकाले यो समयमा बढी चाया–पोतो आउँछ । महिनावारी सुरु भएपछि महिनावारी बन्द नहुञ्जेल महिलामा यसको असर आउने डा. ज्ञवालीले बताइन् । स्वास्थ्य परीक्षण गर्न पुग्नेमध्ये ३० प्रतिशत अविवाहिता र ७० प्रतिशत विवाहितामा हुन्छन् ।

सामान्य रुपमा आउने पोतो मेलाज्मा हो भने गर्भवतीलगायत विशेष कारणले आउने पोतोलाई कोलाज्मा भनिने डा. शर्माले बताए । 

विभिन्न कारण
चाया पोतो आउने कारण एउटा मात्रै छैन । चिकित्सकका अनुसार चाया–पोतो आउनुको प्रमुख कारण वंशाणु गुण पनि हो । आमा–बुवा वा पुर्खामा चाया–पोतो नदेखिए पनि त्यसको गुण बोकेको भए त्यसको असर सन्ततिमा देखिन सक्छ । 
चाया–पोतोको अर्को शत्रु घाम पनि हो । ‘धेरै घाममा बस्नाले मेलानोसाइट बढेर अनुहारमा चाया–पोतो देखिन्छ,’ डा. शर्माले भने, ‘ चाया–पोतोबाट बच्न घामबाट जोगिनु पर्छ ।’ छालामा जथाभावी प्रयोग गरिने स्किन केयर प्रोडक्टले चाया–पोतो ल्याउने जोखिम त्यतिकै हुन्छ । चिकित्सकको सल्लाहबिना जथाभावि अनुहारमा क्रिम लगाउँदा यस्तो समस्या हुन्छ । 

सावधानी अपनाउनु पर्ने        
जतिसुकै औषधोपचार गरे पनि चाया–पोतोबाट बच्ने उपाय नअपनाउने हो भने पुनः आउन सक्छ । त्यसैले सावधानी अपनाउनै पर्छ । गर्भवतीमा हर्मनको उतारचढावले अनुहारमा आएको पोतो भने बिस्तारै आफैँ हराएर जान्छ । गर्भनिरोधक पिल्समा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मन हुने भएकाले नियमित पिल्स खाने महिलामा यस्तो समस्या आउने आउने डा. कार्कीले बताइन् । पिल्सका कारण यस्तो समस्या भए परिवार नियोजनको अन्य उपाय अपनाउन उनको सुझाव छ । 

Leave A Comment