अनुप बराल भन्छन् : ‘यौन दुव्र्यवहारको खुलासापछि १२ दिनसम्म पूरै उकुसमुकुस भयो ’

शुक्रबार, १७ जेठ २०७६, ०४ : २७ अनिल यादव
अनुप बराल भन्छन् : ‘यौन दुव्र्यवहारको खुलासापछि १२ दिनसम्म पूरै उकुसमुकुस भयो ’

नेपाली रंगमञ्चमा स्थापित नाम हो– अनुप बराल । उनी अभिनयका गुरु पनि हुन् । एक्टर्स स्टुडियोमार्फत् उनले सयौँ कलाकारलाई अभिनयको प्रशिक्षण दिएका छन् । उनी स्वयम् नाटक र फिल्ममा अभिनय गर्छन् । आफैँ निर्देशन पनि गर्छन् । चार वर्षअघि निर्माण घोषणा भएको उनी निर्देशित नयाँ फिल्म ‘दोख’ अझै प्रदर्शन हुन सकेको छैन । उनीसँग उनको नयाँ फिल्म, अभिनयको अवस्था र थिएटरको यौन दुव्र्यवहारमा केन्द्रित रहेर अनिल यादवले गरेको अन्तरंग कुराकानीः 


‘दोख’को सुटिङ थालेको त धेरै वर्ष भयो । अझै रिलिज हुन नसक्नुको कारण ? 
‘दोख’को पोस्ट प्रोडक्सनको तयारीमा छु । फेस्टिभलतिर लाने योजना पनि छ । चाँडै रिलिज हुन्छ । 

कस्तो फिल्म हो ‘दोख’ ?
एउटा कालखन्डको ऐतिहासिक विम्वहरुलाई यो फिल्मले आफ्नो कथा बनाएको छ । यो फिल्ममार्फत् मैले युद्धबाट प्रभावित एउटा समाजको मनोदशा देखाउन खोजेको छु । उनीहरुको नैतिक मूल्य र मान्यताहरुको कस्तो हुन्छ, त्यो देखाउने प्रयत्न गरेको छु । 

बजारबाट कतिको अपेक्षा छ त ? 
(मुस्कुराउँदै) सबैभन्दा पहिला म एउटा फिल्ममेकर हुँ, जो बजारले भन्दा पनि विषयवस्तुले प्रभाव पारेपछि काम गर्न रुचाउँछु । तर यसो भन्दैमा बजारलाई नजरअन्दाज गर्न मिल्दैन । बजार पनि सँगै जोडिएको हुन्छ । यद्यपि बजारले जे माग्छ, त्यो दिन नखोजी एउटा सुन्दर फिल्म बनाउन सकिन्छ कि भन्ने प्रयत्नअनुरुप यो फिल्म बनाएको हुँ । 

बजारको अवस्थाबारे तपाईको धारणा ?
मलाई अझै पनि हामीले मार्केटलाई राम्रोसँग ‘ट्रिट’ गर्न सकिरहेका छौँजस्तो लाग्दैन । सिनेमाले जहिले पनि दर्शकहरु बनाउँछ । हामी जहिल्यै पनि कलाको कुनै सीमा हुँदैन, भाषा हुँदैन, भूगोल हुँदैन भन्ने गर्छौं तर म त्यसको ठीक विपरीत छु । सीमा हुँदैनथ्यो भने हामी जे कुरा नेपाली भाषामा लेख्छौँ, त्यसलाई अंग्रेजीमा उल्था गरेर किन पठाउनुपथ्र्यो ? भूगोल, संस्कृति सबैको आफ्नो पहिचान र विशेषता हुन्छ । र, त्यो बुझ्न मान्छेले अलिकति कसरत गर्नैपर्छ, एकैचोटी त्यसको गहिराई बुझ्न गाह्रै पर्छ । त्यसैले हामीले सबैलाई हुने फिल्म बनाउनेभन्दा पनि पहिला आफूलाई मनपर्ने फिल्म बनाउनुपर्छ । र, आफूलाई मन परेको बनाउँदै गर्दा आफू वरिपरिका थुप्रै मान्छेहरुले पनि त्यसलाई मनपराउन सक्छन् । र, उनीहरुले फेरि त्यसलाई फैलाउँछन् । संस्कृतिको विकास हुने नै यसरी हो भन्ने लाग्छ । 

बजारले जबर्जस्ती हँसाउने र जबर्जस्ती रुवाउने ध्येयका फिल्म रुचाइरहेका बेला तपाईं ‘दोख’ बनाइरहनुभएको छ । यसरी बजारको उल्टो हिड्न खोजेर पुग्न खोजेको कहाँ हो ? 
बजारले त अर्कैथरी (पोर्न) फिल्म पनि मनपराउँछ नि ! दिने कि नदिने तपाईंको विवेकको कुरा हो । तपाईं समाजप्रति उत्तरदायी फिल्ममेकर हो भने तपाईंको पनि जिम्मेवारी हुन्छ होला समाजप्रति । मैले पनि मान्छेहरुलाई डेट एक्सपायर्ड कुराहरु दिएर पैसा कमाउन नसक्ने होइन, सक्छु तर त्यो गर्ने कि नगर्ने भन्ने हो । तपाईंको साहित्य, कला र संस्कृतिले समयलाई पक्रदैन, तपाईंको समयलाई संवेदनालाई छुँदैन भने त्यो कलाको के सार्थकता, के अर्थ ? 

बजारको रुची त हेर्नै पर्र्यो नि हैन ?
बजारको रुचिको कुरा त हाम्रो समाजको चेतनाले निर्धारण गर्ने विषय हो । हाम्रो धरातल के हो, हामी कसरी सोच्छौँ त्यो समाजको मनोवैज्ञानिक प्रतिविम्व हो । यसको अर्थ मैले आक्षेप लाउन खोजेको त होइन तर हामीकहाँ जस्तो सौन्दर्य अवधारणाहरु बने, हामी जस्तो फिल्म हेर्दै हुर्कियौँ त्यो नै यस्तो रुचि हुनुको कारक तŒव हो जस्तो मलाई लाग्छ । नत्र हामी पनि यही बजारमा छौँ तर किन हामीलाई फरक ढंगले काम गर्न मन लागेको होला ? हामी पनि त यही भिडमा मिसिन सक्थ्यौँ ? किन मिसिएनौँ त ? त्यो के चिज थियो जसले हामीलाई अलि फरक तरिकाले हेर्न सिकायो ? 

भनेपछि कमेडि फिल्म बनाउन आवश्यक छैन त ?
कमेडी फिल्म नबनाउनुस् भनेको होइन, बनाउनुस् तर कम्तीमा लजिकल बनाउनुस् । हँसाउनकै लागि पात्रहरु खडा नगर्नुस् । कम्तीमा पात्रहरुको तर्कसंगत चरित्रांकन गर्नुस् । हँसाउनुमा कुनै आपत्ति छैन । एक्सन फिल्म बनाउँदै हुनुहुन्छ भने तपाईं १० वटासम्म फाइट राख्नुस्, आपत्ति रहेन तर कम्तीमा स्वाभाविक र तर्कसंगत महसुस गराउनुस् । फिल्म बनाएर पैसा कमाउनु गलत होइन तर कम्तीमा कलाको आधारभूत मर्मलाई त आत्मसात गरौँ भनेको मात्रै हो । हाम्रो सबैभन्दा ठूलो विडम्बना हामी अहिले चलचित्रलाई कलाभन्दा पनि पैसा छाप्ने मेसिन मात्रै ठानिरहेका छौँ । दुःख त कहाँनेर लाग्छ भने पैसा छाप्ने हिसाबले फिल्म बनाउनेहरु नै बजारमा चिप्लिरहेका छन् । वर्षेनी ९५ प्रतिशत फिल्म डुब्नु यसकै उदाहरण त हो !

अहिलेको नेपाली फिल्मको ट्रेन्डलाई कसरी व्याख्या गर्नुहुन्छ त ? 
नेपाली चलचित्रको ट्रेन्ड कुहिरो भित्रको कागजस्तै देखिन्छ । कुनै एउटा जनराको फ्लिम हिट हुनासाथ यहाँ अरु फिल्ममेकर्सहरु त्यस्तै जनरा र स्टोरीको पछाडि अन्धाधुन्ध दौडन्छन् । मानौँ, हामीसँग भन्नको लागि कुनै कथा नै छैन । कथा नयाँ तरिका र शैलीले पनि भन्न सकिन्छ  भन्ने कुराहरुको खोज र आत्मबोधको कमी अधिकांश फिल्ममेकरहरुमा देखिन्छ । फिल्म निर्देशनमा नयाँ नयाँ मान्छेहरु भित्रिरहेका छन् तर कथालाई कसरी भन्ने भन्नेमै उनीहरुमा दुविधा देखिन्छ । 

तपाईं त एक्टिङको पनि गुरु । अधिकांश कलाकारको अभिनयमा जीवन नै पाइँदैन नि ? के भएको ?
(हाँस्दै) यो मैले एकदमै बोल्न चाहेको विषय हो । फिल्म भनेको खासमा निर्देशकको माध्यम हो । फिल्म राम्रो हुनु या नहुनुमा एक्टरको त्यस्तो ठूलो दोष हुन्छ भन्ने लाग्दैन किनभने फिल्मलाई नेतृत्व गर्ने भनेकै निर्देशकले हो । एक्टरबाट अभिनय निकाल्ने र उसलाई निखार्ने निर्देशकले नै हो । संसारमा थुप्रै निर्देशक छन् जसले फिल्ममा नन–एक्टरलाई लिएर पनि अभिनय गराएका छन् । 

भनेपछि हामी अभिनयमा गम्भिर छैनौं ?
हो । हामी अझै अभिनयलाई लिएर गम्भीर हुन सकिरहेका छैनाँै । तपाईंको अनुहार, हाइट, मसल्स नै तपाईंको अभिनय मानिँदैछ । तर हाइट र मसल्सले त अभिनय गर्ने होइन नि ! रुपले अभिनय गर्ने होइन नि ! तर यहाँ त्यस्तो गम्भीरता भइदिएन । पर्दाअघि उभिएर दुई–चार डायलग बोल्नुलाई अभिनय ठानियो । तर डायलग त एउटा सामान्य मान्छेलाई घोकाएर बोल्न लगायो भने पनि बोल्दिन्छ । तर, त्यसरी त्यो जीवन्त हुन सक्दैन । जीवन्त बनाउने भनेको त शब्दभित्र लुकेका अर्थ (रिडिङ बिट्विन द लाइन्स) ले हो । 

कसैले अभिनय  त ‘इनबोर्न क्वालिटी’ हो पनि भन्छन् । के अभिनय साँच्चै सिक्नु पर्ने विषय हो र ? 
मलाई उदेक लाग्छ, आजको समयमा पनि हामीसँग यो प्रश्न  दो¥याई ते¥याई सोधिदैछ । हामी यही कुरा डाक्टरी पढ्ने, इन्जिनियरिङ गर्ने या नृत्य सिक्ने या म्युजिक सिक्नेहरुसँग कहिल्यै गर्दैनौँ । अझै पनि हामीसँग अभिनय लाई लिएर मध्ययुगीन सोचको धङधङी छ । के कुनै दर्शक या व्यक्तिले घाँटु, चर्या, कत्थक हेरिरहँदा हेरेकै भरमा भयंकर प्रस्तुति दिन सक्छ र ? कुनै बाँसुरीबादक या भ्वाइलिन बादकले के कुनै अभ्यास बिना मञ्चमा गएर सानदार प्रस्तुति गर्ला ?

चीनमा गाइने पेकिङ अपेरा, दक्षिण भारतमा हुने कत्थकली, कुडियाट्टम या पश्चिममा देशतिर हुने ब्याले सिक्न  मानिसहरु आफ्नो बाल्यकालबाट नै सुरु गर्छन् र जीवनपर्यन्त त्यो फर्म र शैलीमा अभ्यास गरिरहन्छन् । संसारभरि, चाहे त्यो अमेरिका, युरोप होस् या एसिया सबेै महादेशका नाट्य विद्यालय या फिल्म स्कुलमा अभिनय विधा पढाइन्छ । अमेरिकामा मात्रै दुई सय भन्दा बढी स्कुलहरु र युनिभर्सिटी छन् जहाँ अभिनय पढ्न हरेक वर्ष हजारौं विद्यार्थी भर्ना भइरहेका हुन्छन् । के ती सबै विद्यार्थी मुर्ख हुन् ? जो समय र पैसा खर्च गरिरहेका छन् ? अवश्य पनि ती मुर्ख होइनन् ।

यिनीहरुको उपस्थितिले नै त्यहाँको रंगमञ्च र सिनेमा उद्योग झन् धनी बनाइरहेको छ । हो, सबै डाक्टरी पढेका मान्छेहरू उत्तिकै दक्ष नहुन सक्छन् । त्यसैगरी अभिनय पढेका सबैले राम्रो गर्छन् भन्ने हुँदैन । अभिनयको विद्यालय सागर हो । अब तपाईं त्यहाँबाट लोटा भरिको मात्रै पानी ल्याउनुहुन्छ कि ड्रमभरि ल्याउनुहुन्छ कि नहर नै बनाएर सिँचाइ गर्नुहुन्छ, त्यो त तपाईंको वैयक्तिक प्रतिभामा निर्भर हुने हो । तर अभिनय ‘इनबर्न क्वालिटी’ भएकाले मात्र गर्न सक्छ, अरुले गर्न सक्दैन भन्नु चाहिँ यो विधालाई गहिरिएर नबुझ्नेहरुको गनगन मात्रै हो । 

हामीकहाँ अधिकांश कलाकारहरु निर्देशकले जे निर्देशन त्यहीँ मात्र निभाउँछन्, अभिनयमा आफ्नो निजत्व खोज्दैनन् । यो ठीक हो ? 
हामी अभिनय गर्ने बेलामा आफूले निभाउने चरित्रको कारण खोज्दैनौँ । म जे पात्र निर्वाह गरिरहेको छु, के कारण गरिरहेको छ, यसले समाजमा के प्रभाव पार्दैछु त्यो बुझ्न खोज्दैनौँ । यो गलत अभ्यास हो । 

हामीकहाँ देखिएको अर्को समस्या के छ भने हामी यहाँ कुन एक्टरले कस्तो अभिनय ग¥यो भन्दा पनि कुन एक्टरले कति पारिश्रमिक लिएर काम ग¥यो त्यो महŒवपूर्ण ठानिरहेका छौँ । यसलाई तपाईंले कसरी लिनुभएको छ ? 
सबैभन्दा ठूलो समस्या नै यही भइदियो । एउटा कलाकारको सफलताको मापदण्ड त अभिनयभन्दा पनि पैसा भइदियो ! अभिनेताले पैसै माग्नुहुँदैन, कमाउनुहुँदैन भन्ने त होइन तर पैसा नै क्षमता मापनको मानक हुनुभएन । 

अहिले हाम्रो फिल्म बजारमा आफूलाई सबैभन्दा महँगा अभिनेता दाबी गरिरहेका अनमोल केसी, प्रदिप खड्का र पल शाहहरुलाई तपाईं कस्तो अभिनेताका रुपमा टिप्पणी गर्नुहुन्छ ? 
दे आर डार्लिङ एक्टर्स । डार्लिङ एक्टरको मोह के हुन्छ भने उनीहरु आफ्नो रुप, आफ्नो लुगाहरु एकदमै राम्रो बनाएर हिँड्न खोज्छन् । उनीहरुलाई मान्छेहरुले मन पराइदिए पुग्छ । कहिलेकाहीँ क्यारेक्टरलाई आत्मसात गर्ने क्रममा निधार पनि खुम्चाउनुपर्ने हुन्छ, चिच्याउदा अनुहार नराम्रो देखिन सक्छ । हो, अनुहारलाई नराम्रो देखाउने त्यस्ता दृश्यहरु उनीहरु गर्न रुचाउँदैनन् । दाँत राम्रो देखिन्छ भन्ने लाग्यो भने ऊ सँधै मुस्काएर अभिनय गर्न खोज्छ । डिम्पल छ भने सधैँ डिम्पलकै पछि दौडिन्छ । उनीहरु एक किसिमको ‘नार्सिज्म’ले ग्रस्त हुन्छन् । आफ्नो क्षमता बढाउने हो भने विविधता दिन सक्नुपर्छ । कति लभरब्वाय भएर खेल्ने ? 


नवीन सुब्बाले ‘हामीकहाँ अभिनय सिकाउने नाममा दुई चारवटा नाङ्लो पसल छ । प्रत्येक थिएटरवालाले एउटा–एउटा नाङ्लो पसल खोलेका छन् । एउटा राम्रो थिएटर स्कुल किन छैन त ? स–साना पसल चलाउनेहरुले संयुक्त मिलेर एउटा स्कुल किन खोल्दैनन् ? सायद स्कुल खोल्यो भने आफ्नो पर्सनल बिजेनस सुक्छ’ भन्नु भएको थियो । एउटा नाङ्लो पसल त तपाईंंको पनि छ, हगि ?
त्यसोभए नाङ्लो पसलमा अग्र्यानिक कुराहरु नै हुँदैनन् भन्ने हुन्छ त ? कि डिपार्टमेन्टल स्टोर नै चाहिने हो ? हरेक मानिसले आफ्नो जीवनको सुरुवात सानातिना कुराहरुबाटै गरेर पछि ठूला काम गर्न सक्षम भएका छन् । यो कुरालाई ‘ओभरलुक’ गर्न मिल्दैन होला । कम्तीमा यी नाङ्लो (नवीन को शब्दमा, मलाई त्यस्तो लाग्दैन) पसलले नाटक र अभिनयको बेसिक कुराहरु सिक्न मद्दत गरेको छ । नाटक गर्ने र हेर्न जाने संस्कार विकसित गरेको छ । 

नाट्य र फिल्म स्कुल आवश्यक छैन र ?
नवीनले भनेजस्तो नाट्य स्कुल हुनु झन् राम्रो कुरा हो । अभिनयमा परिपक्वता ल्याउन, अभिनेताले आफ्नो शरीर, मस्तिष्क र आवाजलाई कल्चर्ड बनाउनुपर्छ र यो लामो समयको अभ्यास र अनुशासनभित्र रहेर मात्र सम्भव छ । यसका लागि  नाट्य स्कुल र फिल्म स्कुल चाहिने हुन् । यसका लागि हामीले सामूहिक यत्न गरेकै हौँ र गरिरहेकै छौँ ।

हामीप्रति राज्य गम्भीर नदेखिएकाले गाह्रो भइरहेको हो । हामीकहाँ नाटक स्कुल खोल्नलाई त्यहीअनुसार चाहिने राम्रो जनशक्ति पनि छैन । स्कुलमा पढाउने कसले ? शिक्षक भेट्न गाह्रो छ । कम्तीमा थिएटरमा चलाइएको एक्टिङको सानो कोर्सले पनि राम्रा निर्देशक, लेखक र अभिनेता जन्माएका छन् । तिनको सामथ्र्यलाई फगत नाङ्लो पसलको प्रोडक्ट भनेर खारेज गर्न मिल्दैन । 

तपाईंहरुमा गम्भीर पहल भएन भन्ने आशय हो कि ? 
पहल गरेको तर त्यसअनुसार पूर्वाधार खोई ? जमिन कहाँबाट ल्याउने ? आर्थिक स्रोत कसरी जुटाउने ? मिलेर मात्रै हुन्छ ? जति मान्छेलाई भन्न र गाली गर्न सजिलो छ नि, व्यावहारिक रुपमा त्यसलाई उतार्न धेरै गाह्रो छ । नवीन सुब्बालाई सोध्नुस्, बरु तपाईं अहिलेसम्म किन फिल्म बनाइरहनुभएको छैन । तर्क मात्रै दिएर भएन, व्यावहारिक पनि हुनुपर्यो ।

गुगल पढेर मान्छेलाई व्याख्यान दिनु र सही पक्षभित्र छिरेर व्याख्या गर्नुमा धेरै फरक हुन्छ । संसारमा के भइरहेको छ, गुगल हेरेर त जसले पनि भन्दिन्छ । नवीन त मेरो एकदमै मिल्ने साथी हो । ‘नुमाफुङ’देखि नै हामीसँगै सहकार्य गरिरहेको हो । थिएटरमा गम्भीरता छैन भने पनि ऊ आफ्नै फिल्ममा भने थिएटरको एक्टर खोजेर हिँडिरहेको हुन्छ । त्यसो हो भने त थिएटर बाहिरका कलाकार लिएर काम गर्न सक्नुपर्यो नि, हैन र ? 

हालै शुक्रवारमार्फत् थिएटरका केही कलाकारले थिएटरका तीनजना वरिष्ठ रंगकर्मीबाट भोगेको यौन दुव्र्यवहारको फेहरिस्त सार्वजनिक गरे । दुईजनाले त आरोप स्वीकारेर आत्मालोचनासम्म गरिसके र तपाईंजस्ता वरिष्ठ रंगकर्मी पुरै मौन देखिनुभयो । किन ?
मैले व्यक्तिगत नबोले पनि हाम्रो एक्टर्स स्टुडियो संस्थामार्फत् यसबारे बकाइदा विज्ञप्ति निकालेका थियौँ । आफ्नो पदको दुरुपयोग गरेर कसैले कोहीमाथि यौन दुव्र्यवहार गरेको छ या कुनै फाइदा लिन खोजेको छ भने त्यो गलत कार्य हो, यसमा कुनै दुविधै छैन । कमसेकम थिएटरका मान्छेहरुले मिटु मुभमेन्टमा सहभागी जनाउँदै बोल्न सुरु गरेका छन् । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । सँगसँगै जो पीडक छ, उसले गरेको दुव्र्यवहारको प्रकृति कस्तो हो, त्यो पनि हामीले छुट्ट्याउन जान्नुपर्छ । उनीहरुलाई कसरी सजाय दिने हो, त्यो पनि सोच्नुपर्छ ।

तपाईं लामो दुःखपछि एउटा संसार बनाउनुहुन्छ र त्यसलाई एउटा घटनाले गल्र्यामगल्र्याम ढाल्न सक्छ । त्यसैले एकदमै सचेत हुनुपर्छ । मलाई लाग्दैन कि कोही पनि मान्छे यत्तिकै झूटो बोल्छ तर यसो भन्दैमा त्यसको सम्भावनै रहँदैन भन्ने हुँदैन । पीडित त लामो समयदेखि पीडामा गुज्रिरहेको हुन्छ, आरोप लाइसकेपछि पीडकले सजाय पनि भोग्छ तर सजाय भोगेपछि समाजमा उसको अवस्था के हुन्छ ? समाजले उसलाई कसरी लिन्छ ? उसले बाँच्नुपर्ने आधारहरु हुन्छ कि हुँदैन ? त्यो विषयमा पनि बहस भने हुनुपर्छ । 

वरिष्ठ रंगकर्मी सुनील पोखरेलमाथि पनि दुव्र्यवहारको आरोप छ तर उहाँ यस विषयमा पूरै मौन हुनुहुन्छ । यो मौनतालाईं तपाईं कसरी लिनुहुन्छ ?
त्यो त मलाई थाहा भएन । आरोप लाउनेले यो मौनतालाई चिर्न कानुनी बाटो नै खोज्नुपर्ने हो कि या के हो ! त्यस्तै यदि पीडकलाई आफूमाथि लागेको आरोप गलत लाग्छ भने त्यहीअनुसार कानुनी बाटो खोज्नुप¥यो । 

दुव्र्यवहारको खुलासापछि अब रंगमञ्चले आफूलाई कसरी शुद्धीकरण गर्नेतर्फ केन्द्रित हुनुपर्छ भन्ने लाग्छ ?
शुद्धीकरण त हुनैपर्छ । मीटूको खुलासापछि त्यसले हाम्रो क्लासमा ठूलो प्रभाव ग¥यो । हामी क्लास सकिएपछि सधैँ एकअर्कालाई हात मिलाउने, हग गर्ने र छुट्टिने गथ्र्यौं । मीटूको खुलासापछि मैले यो ठ्याक्कै रोकिदिएँ । कस्तो डेन्जर भयो त ! यो त मैले आफैँले आफैँलाई सेन्सरसिप गरेजस्तो ! १०–१२ दिनपछि मैले सबै विद्यार्थीलाई भनेँ, ‘हामीले क्लासमा जसरी अंगालो माछाँै, हात मिलाउँछौ त्यहाँनेर तिमीहरुलाई कसैले गलत नियतले गरेको या असहज महसुस भयो भने तत्काल भन ।

कसैसँग डराउनैपर्दैन ।’ यति भनेर १२ दिनपछि फेरि हामीले हात मिलाउन सुरु गर्यौँ । १२ दिनसम्म त पूरै उकुसमुकुस भयो नि ! बहिनीहरुको छेउमै बस्न पनि डरलाग्यो नि ! हात मिलायो कि अर्कै ढंगले लिइदिने होला कि ! आफैँले आफैँलाई सेन्सरसिप गर्न थालियो । यो घटनापछि एक किसिमले सचेतता भने आयो । कोही फिमेलको छेउमा बस्नुअघि ‘छेउमा बस्न सकिन्छ होला’ भनेर सोध्नसम्म थालियो । हामी आफैँ नाटकमा पढाउँदा प्रश्न गर्न सिकाउँछौँ अनि दुव्र्यवहार भयो भने चुप लाग्यौँ भने त त्यो त सही भएन नि ! मलाई बीचमा त यौन दुव्र्यवहार थिएटरमा मात्रै हुन्छ कि क्या हो भन्नेसम्म लाग्न थालेको थियो । अरुतिरको त आउँदैन त ! कम्तीमा हामी बोल्न सक्ने भएका रहेछाँै । आत्मालोचना गर्न सक्ने भएका रहेछाँै । थिएटरले कम्तीमा यत्तिको त बनाएछ । 
 

Leave A Comment