‘मंगलम्’ फिल्मको ‘पर्ख पर्ख मायालु’ र ‘६क्कापन्जा ३’को ‘पहिलो नम्बरमा’ गीत त पक्कै सुन्नुभएको होला ! हो, यही गीतकी गायिका हुन्, बिन्दु परियार। उनका गीत, उनको स्वर बजारमा हिट छ तर उनलाई प्रत्यक्ष चिन्नेहरु कमै छन्। तीन महिनाअघि रिलिज भएको उनको ‘घरबार’ बोलको गीत पनि बजारमा राम्रै चल्यो। उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः
कत्तिको व्यस्त हुनुहुन्छ अचेल?
त्यस्तो खास नयाँ त केही छैन। गीत त गरिरहेकै छु। धेरै रिलिज हुन बाँकी छन्।
फिल्ममा तपाईंको स्वर पातलिदै गएको हो?
किन र?
‘६क्कापन्जा–३’मा ‘पहिलो नम्बरमा’ गाएपछि अरु फिल्ममा तपाईको गीत सुनिएको छैन नि?
होइन, गाइरहेकै छु तर रिलिज नभएका हुन्। फिल्मको गीत गाउनेबित्तिकै रिलिज हुँदैनन् नि त ! टाइम लाग्दो रै’छ। गाउन त धेरै फिल्ममा गाइसकेँ। अब बिस्तारै रिलिज होला।
तपाईंं औपचारिक रुपमा संगीत क्षेत्रमा लागेको कति वर्ष भयो?
त्यही आठ वर्षजति भयो।
गाउने रहर सानैदेखिको हो?
हो। स्कुलका कार्यक्रमहरु सानैदेखि भाग लिइरहेकी हुन्थेँ, गाइरहेकी हुन्थेँ। ममी ड्याडीको पनि राम्रै सपोर्ट थियो। ०६९ सालतिर एसएलसी दिएपछि उता गाउँ (दाङ)तिरै सरयु सिङिङ स्टार प्रतियोगिता भएको थियो। त्यसमा सहभागी भएर फस्ट भएँ। फस्ट भएपछि मैले पुरस्कारस्वरुप सुरुमै फिल्ममा गाउने अवसर पाएँ। ‘अप्रिल फुल’ फिल्मको ‘तेरो मेरो पिरती’ गीत गाएकी थिएँ।
ओहो, गायनमा डेब्यु नै फिल्मबाट?
हो नि ! बच्चैदेखि फिल्ममा गाउने ठूलो रहर थियो। पहिलो अवसर नै फिल्मबाट जु¥यो। त्यतिबेला खुशीको सीमा नै थिएन।
त्यसपछि दाङदेखि काठमाडौंको यात्रा गायिका बन्नकै लागि तय भयो?
हो, सिंगर नै बन्छु भनेर आएकी हुँ।
बजारमा चिनिन समय लाग्यो है?
हो नि ! तर अझै कति जनाले त यो पनि छोटो समयमा भा’को भन्नुहुन्छ। अरुको त झन् कति धेरै वर्ष लाग्छ रे ! तर संघर्ष भनेको अरुलाई छोटो लाग्ने, गर्ने मान्छेलाई त आठ वर्ष त धेरै नै लाग्दोरै’छ। यहाँसम्म आउन कति दुःख गरियो, त्यो त भोग्नेलाई नै थाहा हुन्छ, भन्नेलाई के थाहा !
भन्दिनुस् न त, यहाँसम्म आइपुग्न के–कति संघर्ष गरियो?
गायनमा इच्छा भए पनि मेरो पेशा नै यही हुन्छ होला भन्ने मलाई कहिल्यै लागेको थिएन। बस्, एउटा गीत रेकर्ड होस् भन्ने चाहना भने थियो। परिवार पनि मेरो मध्यमवर्गीय हो। खर्च धेरै गर्न सक्ने अवस्था थिएन। ममी बुबाले ‘साह्रै इच्छा भए एउटा गीत रेकर्ड गराऊ न त’ भनेर सहयोग गर्नुभयो। त्यसपछि गीत रेकर्ड गराएर घर फर्किन्छु भन्ने सोचले काठमाडौं आएकी थिएँ। गीत रिलिज भएपछि सबैबाट एकदमै राम्रो रेस्पोन्स आयो। राम्रो प्रतिक्रियाले अब काठमाडौंमै बसेर संघर्ष गर्नुपर्छ भन्ने उत्प्रेरणा दियो।
यहाँ आएपछि अवसर पाउनलाई के–कति पापड बेल्नुप-यो त?
केही सिकेकी थिइनँ। आर्थिक रुपमा बलियो पनि थिइनँ। पैसा पनि त्यति थिएन। त्यसैले आउनेबित्तिकै तीन–चार महिना दरबारमार्गको गजलबारमा गीत गाउन थालेँ। त्यसपछि बागबजारको एउटा टेलरिङमा लुगा सिलाउने काम पनि गरेँ। म्युजिक सिक्ने इच्छा थियो, सुरु पनि गरेँ। अझै सिक्दैछु।
ठूल्ठूला ब्यानरका फिल्ममा गाउने अवसर पाउन भने समय लाग्यो है?
अँ, लाग्यो। नयाँहरुलाई गाह्रै हुन्छ, एकैचोटी पत्याउँदैनन् नि त !
भनेपछि नयाँलाई चान्स पाउन सजिलो रहेनछ, हैन त?
अफकोर्स छैन ! म फस्ट भएको सिङिङ आइडल प्रोगामको जज हुनुहुन्थ्यो, संगीतकार दीपक शर्मा। उहाँले मेरो स्वरको एकदमै तारिफ गर्नुभएको थियो त्यतिबेला। पहिलो गीत पनि मैले उहाँकै संगीतमा गाएकी हुँ। ‘पर्ख पर्ख मायालु’ र ‘पहिलो नम्बरमा’मा पनि उहाँकै संगीत हो। यो त पछि आएका अवसर हुन्। सुरुसुरुमा त म गीतहरुको डमी गाउँथे। ‘पर्ख पर्ख मायालु’ पनि खासमा एउटा एल्बमका लागि तयार हुँदै गरेको गीत थियो। मैले त्यो गीतको डमी गाउने अवसर पाएकी थिएँ। पछि त्यो ‘मंगलम्’ फिल्मको टिमले मन पराउनु भएछ। डमी सुन्दै मेरो स्वर मन पराउनु भएछ। प्रोफेसनल टाइपकै आवाज रैछ भन्ने प्रतिक्रिया आएछ। दीपक सरले पनि ‘त्यसोभए उसैलाई राखौँ न त’ भन्नुभएछ। त्यसरी ख्यालख्यालमै त्यो गीत मलाई गाउन जुरेको हो। सायद लकले फेभर गरेर पनि होला, गीत गाउन पाइयो पनि, हिट भयो पनि।
हामीकहाँ प्रायः संगीतकारले उनीहरुका प्रायः काममा केही सीमित गायक÷गायिकालाई मात्रै बोकेर हिँड्ने गरेको आरोप खुब सुनिन्छ। तपाईंका पनि धेरैजसो चल्तीका गीत दीपक शर्माकै संगीतमा छ। यसको खास कारण?
अरुको त थाहा भएन तर मेरो हकमा त्यस्तो होइन किनभने मैले प्रायः संगीतकारसँग काम गरेकी छु। फरक यत्ति हो, दीपक सरसँग काम गरेका गीतहरु बजारमा बढी हिट भइदिए। यो एउटा मीठो संयोग भन्नुपर्ला।
आफ्नो स्वर आफैँलाई सुन्दा कस्तो लाग्छ?
राम्रो लाग्छ, मीठो लाग्छ (मुस्कुराउँदै)। कहिलेकाहीँ अलि मिहिनेत नपुगेको हो कि जस्तो पनि लाग्छ।
ब्लकबस्टर फिल्म ‘६क्कापन्जा–३’को ‘पहिलो नम्बरमा’ गाउने अवसर पनि दीपक शर्माकै कारण जुरेको हो?
होइन। यसको शब्द वरिष्ठ गीतकार राजेन्द्र थापाको हो। उहाँसँग एउटा एल्बम बिमोचन कार्यक्रममा भेट जुरेको थियो। त्यो एल्बममा मेरो पनि स्वर थियो। उहाँले सुन्नुभएको रहेछ। भेटमा स्वर क्वालिटीको लाग्यो, अब सँगै काम गर्नुपर्छ भनेर रेस्पोन्स गर्नुभएको थियो। लगत्तै एक–दुई महिनापछि दीपाश्री दिदी (निरौला) सँग उहाँको शब्दमा गीत गर्ने कुरा भएछ। उहाँले मेरो नाम सिफारिस गरेर यो गीत बिन्दुले नै गाउनुपर्छ भनेर जोड गर्नुभएछ। संगीतको काम पनि दीपक सरकोमै परेछ। यो गीत राजेन्द्र सरका कारण जुरेको हो तर मान्छेहरु दीपक सरकै कारण पनि सोच्दारै’छन्।
तपाईंका गीत बजारमा बबाल हिट भए पनि मान्छेहरुले तपाईंलाई खासै नचिन्दा हुन्, है?
अँ, यो फिल्मको गीत गाउनेको पीडा नै यही रहेछ (हाँस्दै)। गीतमा कलाकारहरुले नाचिरहेका हुन्छन्। दर्शकलाई उनीहरुले नै गाइरहेकोजस्तो लाग्नेरैछ। तर पनि ‘पर्ख पर्ख मायालु’ र ‘पहिलो नम्बरमा’ हिट भएपछि स्टेज कार्यक्रम राम्रै पाइरहेकी छु। मेरा गीत सेलिब्रिटी भए तर म सेलिब्रिटी हुन अझै बाँकी नै छ। म त अझै संघर्ष गरिरहेकी छु, धेरै गर्न बाँकी नै छ जस्तो लाग्छ।
भनेपछि स्टेजले खान पुगिरहेको छ, अन्यत्र जागिर गर्नुपरेको छैन?
अँ, दुःखसुख खान पुगेको छ। मेरो श्रीमान् पनि म्युजिक एरेन्जर हो। दुई जनाको कमाई जोडेर काठमाडौंमा बाँच्न पुगिरहेको छ। गीत मात्रै गाएर त बाँच्न गाह्रै छ नि ! गीत यत्रो हिट हुँदा पनि भनेजस्तो सजिलो रै’नछ।
श्रीमान्को नाम?
सुदीप सागर।
काठमाडौंमै आएपछि लभ परेको?
हो तर उहाँसँग लभ पर्दा मेरा कुनै गीत हिट थिएनन्। मेरो काममा उहाँको फुल सपोर्ट छ।
घरमा श्रीमान् एरेन्जर हुँदा धेरै फाइदा हुन्छ, हो?
हो नि ! पहिला गीतको बारहरुको बारेमा थाहा थिएन, थाहा भयो। एरेन्ज कसरी गरिन्छ, थाहा थिएन। गीतको टेक्निकल कुरा धेरै थाहा हुन थाल्यो पछि त !
यो क्षेत्रमा टिक्नलाई कत्तिको सहज छ?
सजिलो त के हुन्थ्यो र ! टिक्ने क्रममा विभिन्न उतारचढावहरु आउँछन्। तर, त्यसलाई मिलाएर लानुपर्छ। खासगरी नयाँहरुले गर्दा पनि गाह्रो भइरहेको छ क्या, राम्रा कलाकारलाई। स्वर भने क्वालिटीको हुँदैन तर टन्न पैसा पेलेर भिडियो बबाल बनाइदिन्छन्। कति त मोडल पनि आफैँ भइदिन्छन्। श्रोतालाई जबर्जस्ती सुनाको जस्तो क्या ! यसले राम्रो क्षमता र स्वर भएका तर खल्तीमा पैसा नभएकालाई अगाडि आउन गाह्रो भइरहेको छ।
तपाईंलाई पनि त रहर होला नि, आफ्नो गीतमा आफैँ देखिने?
छ नि ! भिडियोमा नदेखिँदा मान्छेहरुले चिन्दै चिनेनन्। गीत हिट हुँदा पनि आफूलाई नचिन्दा नराम्रो लाग्ने। त्यसैले अब गीत निकाल्दा आफू पनि देखिनुपर्ला भन्ने सोचिरा’छु।
भनेपछि मोडल बन्ने रहर पनि रै’छ?
मोडल नै भन्न त नमिल्ला ! आफूले गाउने गीतमा मात्र देखिने रहर हो।
कस्ता गीत गाउन मन पर्छन्?
शास्त्रीय संगीतको विद्यार्थी भएको कारणले होला, गीत त मेलोडियस नै गाउन मन पर्छ। गीतले मौलिक स्वाद पनि बोकेको होस् भन्ने लाग्छ। मेरो लागि त गीत गाउनु भनेको रमाइलो दिलाउनु मात्रै पनि होइन। समाजमा प्रभाव पार्नेखालका चेतनामूलक गीत पनि गाउन पाइयोस् भन्ने लाग्छ। अरुले त यस्ता गीतमा त्यति लगानी गर्दैनन्, अब आफैँ लगानी गरेर गाउने मन छ।
(अन्तरवार्ता भइरहेका बेला कफी सपमा बज्यो, विन्दुकै पछिल्लो हिट गीत ‘घरबार’। बोल्दाबोल्दै एक्कासि उनी रोकिइन्। मुस्कुराएको भावमा हौसिँदै बोलिन्, ‘ऊ सुन्नु न, मेरै गीत पो बजिरा’छ।’
कतै जाँदा आफ्नो गीत बजेको सुनियो भने मज्जा आउँछ है ?
हो नि, एकदमै खुशी लाग्नेरैछ।
यो क्षेत्रमा अनेक प्रलोभन देखाएर चान्स मार्न खोज्ने, यौन दुव्र्यवहार गर्ने संगीतकर्मी र लगानीकर्ताको कमी छैन। त्यस्ता मान्छेसँग कतै ठोक्किनुभएको छ?
मलाई डमी गाउँदागाउँदै स्वर मन पराएर चिठ्ठा परेर ठूलो ब्यानरको फिल्ममा गीत गाउने अवसर जुरेको हो। मैले कहिल्यै पनि चाकडी र चाप्लुसी गरेर गीत माग्दै मागिनँ। म त्यस्ता खराब मान्छेसँग भेट्दै भेट्दिन थिएँ। फोन आउनेबित्तिकै बोलीबाटै छुट्टिइहाल्थ्यो, खराब र असल मान्छे। तपाईंलाई थाहै होला, अन्तरवार्ताका लागि तपाईंले कल गर्दा पनि मैले दुई–तीन पल्ट सोचेर मात्रै ‘हुन्छ’ भनेँ।
ए, अप्ठेरो मानेर अकमकिँदै बिस्तारै बोल्नुको कारण त यस्तो पो हो !
हो क्या, यहाँ सचेत हुनैपर्छ। म पत्रकार हुँ, यो लेख्दिन्छु, त्यो लेख्दिन्छु भन्दै फोनमा कुरा गरेर हैरान गर्नेहरु पनि धेरै भोगियो। लास्टाँ उनीहरु पत्रकार हुँदैनन्, फोनमा गफ गर्ने र जिस्किने चाहनाले गर्दारै’छन्।
भनेपछि तपाईंसँग गलत नियत राखेर प्रस्ताव गर्ने हिम्मत कसैले गरेन?
अहँ। बरु गजलबारमा गाउँदा एक–दुई जनाले मात्तिएको तालमा ‘तिम्रो स्वर मीठो लाग्छ, तिम्रो लागि म गीत गर्दिन्छु। मेरो नम्बर राख्नुस्, भोलि कल गर्नुस्’ भन्दै नम्बर दिन्थे। काठमाडौंमा भर्खरभर्खर आएको। मलाई त हो नै जस्तो लाग्थ्यो। भोलिपल्ट फोन गर्थें, फोन नै उठ्दैनथ्यो। कसैको उठ्थ्यो पनि। उठेपछि ‘सर म बिन्दु, हजुरले हिजो गीत गर्दिन्छु भन्नुभएको थियो नि’ भन्दा त ‘को बोलेको’ भन्दै फोन पो राख्थे (हाँस्दै)।
अहिलेको नेपाली म्युजिकको ट्रेन्डलाई कसरी नियालिरहनुभएको छ?
केही कुराहरु राम्रो पनि छ, केही नराम्रो पनि छ।
के राम्रो छ, के नराम्रो ?
फरक फरक स्वादका गीत आइरहेका छन्। मौलिक स्वादका गीत बन्न थालेका छन्, चल्न थालेका छन्। यो राम्रो कुरा हो। यसले विदेशी गीत मात्रै सुन्ने नेपालीहरुलाई पनि नेपाली गीत सुन्न बाध्य बनाएको छ। नराम्रो पक्ष भनेको पैसाकै भरमा गायक÷गायिका बन्ने ट्रेन्ड हो। अनि फेरि, मिडियाहरुले पनि राम्राराम्रा प्रतिभालाई खोज्न छाडेर भाइरलकै पछि लाग्ने ट्रेन्डले पनि बिगारेको हो कि जस्तो लाग्छ। जस्तो खराब गाउनेले पनि अटो ट्युनरको भरमा गीत गाउँदा क्वालिटी खस्किएको पनि छ। अहिले फेरि गीत सुन्नेभन्दा हेर्ने चलन बढेर पनि बिग्रिएको हो। यसले राम्रा प्रतिभालाई निरुत्साहित बनाएकोजस्तो लाग्छ। अनि स्टेज कार्यक्रमतिर पनि उश्रृंखल भएर प्रस्तुत हुने, नचाहिँदा शब्दहरु बोल्नेहरुलाई खोज्ने ट्रेन्डले बिगारेको हो कि ! सुन्नै नसकिने शब्दहरु प्रयोग गर्छन् क्या ! परिवारसहित कन्सर्ट जानेहरुले मुखमा हेर्न पनि लाज हुने खालको।
मनोरञ्जन क्षेत्रको चित्त दुख्ने पाटो के लाग्छ?
सम्बन्धलाई हेरिन्छ क्या यहाँ ! राम्रो स्वरभन्दा पनि राम्रो सम्बन्ध खोजिन्छ। यो कुराले अलि चित्त दुख्छ।
Leave A Comment