लिटिल च्याम्प को ? प्रितम या आयुश !

शुक्रबार, २४ जेठ २०७६, ०४ : ०८ रीना माेक्तान
लिटिल च्याम्प को ? प्रितम या आयुश !

तिमीले नेपाललाई गौरवान्वित बनाउँनेछौ

भारतको चर्चित रियालिटी सो ‘सारेगामापा लिटिल च्याम्प’मा नेपालको प्रतिनिधित्व गरिरहेका बाल गायक प्रितम आचार्यको गायन सुनिसकेपछि अभिनेता सलमान खानले दिएको प्रतिक्रिया हो यो । सलमानले बालगायक प्रितमलाई सानो उदित नारायण झा भनेर सम्बोधन गरे ।

प्रितमले सलमानको अघि चार्ट बस्टर्स (शत प्रतिशत अंक)सहित प्रस्तुति दिएका थिए । अभिनेत्री कट्रिना कैफले पनि प्रितमको आवाजको खुलेर तारिफ गरिन् ।

प्रितम अहिले ‘सारेगामापा लिटिल च्याम्प’को शीर्ष ६ मा प्रवेश गरेका छन् । प्रितम मात्र होइन नेपालबाट अर्का बाल गायक आयुश केसीले पनि ‘सारेगामापा लिटिल च्याम्प’को स्टेजमा आफ्नो गायन प्रतिभा देखाइरहेका छन् । उनी दुई गायनसँगै नेपाली टोपी पहिरेर नेपाललाई त्यहाँ प्रस्तुत गरिहहेका छन् ।

यी दुईमध्ये कसले नेपालका लागि अवार्ड जित्ला वा उनीहरूलाइ अरूले नै उछिन्ला, त्यो भने शनिबार र आइतबाको ग्रान्ड फिनालेले बताउनेछ ।

आयुश र प्रितमको ‘सारेगामापा लिटल च्याम्प’को यात्रा कस्तो थियो त?

सुरशाला म्युजिक एकेडेमीमार्फत् १० जना बालबालिका भिडियो अडिसनका लागि छानिएका थिए । उनीहरुलाई गायक अमृत क्षेत्रीले अनलाइन अडिसनका लागि नेतृत्व गरेका थिए ।

सुरशाला म्युजिक एकेडेमीले आयोजना गरेको ‘सुरशाला आइडल जुनियर’ले दुई गायक प्रितम र आयुसलाइ जन्माएको हो । सो प्रतियोगितामा आयुस विजेता अनि प्रितम सह-विजेता घोषित भएका थिए ।

सुरशालाका कार्यकारी अध्यक्ष गायक अमृत क्षेत्री सम्झन्छन्,‘ यी दुई प्रितम र आयुस अति प्रतिभाशाली हुन् । उनीहरुलाई मैले सिकाउने अवसर पाएँ । हामीले सारेगामापा टार्गेट गरेर उनीहरुलाई नेपालीसँगै हिन्दी गीत पनि सिकाइरहेका थियौं ।‘

त्यही समय ‘सारेगामापा’का लागि १० जना बच्चाहरु अडिसनका लागि चुनिए । १० जना बालबालिकाहरु लिएर अमृतको टिम दिल्ली पुग्यो । लेभल वन र टुको अडिसनपछि स्टुडियो राउण्डका लागि नेपालबाट प्रितम र आयुस मात्र छानिए । त्यस दिनदेखि प्रितम र आयुसको यात्रा सुरु भएको थियो । अहिले भने उनीहरु शीर्ष ६ मा पुगिसकेका छन् ।

उनीहरुको फाइनलसम्मको यात्रा बडो अपत्यारिलो रहेको अमृत बताउँछन् । ‘इन्डियामा जाँदा गायनमा धेरै प्रतिभाशाली बाल गायकहरु भेटिएका थिए,' अमृतले भने, 'उनीहरु त सानैदेखि संगीत सिक्दै आएका हुन्छन् । हाम्रा बालबालिका पनि के कम !

प्रितम र आयुस यसरी फाइनलमा पुग्लान् भन्ने त कल्पनै गरिएको थिएन । यहाँसम्म क्षमता देखाएर पुगे, त्यसमा हामी बडो खुसी छैँ । हामीले लगेका १० जना बालबालिकाहरुमा २ जनालाई त्यहाँ देख्न पाएका छौं । हाम्रो लागि दुईमध्ये जसले जिते पनि बराबर नै हुन्छ ।'

 

Leave A Comment