अपत्यारिलो आत्महत्या

शुक्रबार, २४ जेठ २०७६, ०४ : २९ प्रजु पन्त
अपत्यारिलो आत्महत्या

जेठ १७ मध्याह्नमा महाराजगञ्ज प्रहरी वृत्त पुग्दा ४५ वर्षीया बोधमाया थामी र ५५ वर्षीय पुष्करबहादुर थामी शोकमा थिए । दोलखाबाट काठमाडौं आएका बोधमाया आँशुमा डुबेकी थिइन्, पुष्कर मौन । 
बोधमाया भनिरहेकी थिइन्, ‘हाम्रो प्रश्नको उत्तर कसले दिने ?’
नजिकै उभिएका प्रहरी मौन थिए ।
000

गएको जेठ ४ साँझ ७ बजे । बोधमायाकी साइँली छोरी गोठमा गाईभैंसीलाई घाँस हाल्न गएकी थिइन् । केही बेरमै उनी  हस्याङफस्याङ गर्दै आइन् । उनी नीलोकालो भएकी थिइन् । आमा छेउ आइपुग्नेबित्तिकै उनी रुन थालिन् ।

छिमेकी शुक्र थामीले उनलाई बलात्कार प्रयास गरेपछि जोगिएर आएकी रहिछन् । घटना सुनेलगत्तै थामी परिवारलाई के गर्नु गर्नु भयो । भोलिपल्ट उनी शुक्रको घरमा गएर ‘बहिनीलाई त्यसो किन गरेको ?’ भनेर सम्झाउन गइन् तर उनी कुटाई खाएर फर्किइन् ।

जेठ ११ मा उनी घटनाबारे उजुरी दिन दोलखाको भीमेश्वरबाट चरिकोट झरिन् । परिचित कमला मैनाली चरिकोटमा बस्थिन्, उनले बोधमायालाई घर बोलाइन् । उनले एक्कासि गाडी रिजर्भ गरेर छोरी भेट्न काठमाडौँ जाउँ भनिन् र चरिकोटमा बलात्कार प्रयासको उजुरी दिएर बोधमाया काठमाडौं आइन् । 
एउटी छोरीमाथि आएको विपत्तिको न्याय खोज्न चरिकोट झरेकी बोधमायालाई काठमाडौंमा अर्को विपत्तिले कुरेर बसिरहेको थियो ।
000

थामी परिवार दोलखाको भीमेश्वर नगरपालिका सुस्पाक्षमावतीमा बस्छन् । चार छोरी र एक छोरा छन् । जेठीको विवाह भइसक्यो । तीन सन्तान सँगै बस्थे । आर्थिक अवस्था कमजोर भएकाले अरुको जग्गा अँधियामा लिएर कमाई गर्छन् । २०७२ मा आएको विनाशकारी भूकम्पमा भएको एउटा घर पनि भत्कियो भने सन्तानको पढाइ पनि रोकियो ।

२०७३ सालमा तिनै परिचित कमला उनको घरमा आइन् र घरको अवस्थाबारे सोधखोज गरिन् । आर्थिक अवस्था कमजोर रहेको बुझेपछि उनले माइली छोरी सुनितालाई काम गर्न काठमाडौं पठाउन प्रस्ताव गरिन् ।

‘अलिअलि कमाई पनि हुन्छ । उतै बस्छे, उतै खान्छे,’ भनेपछि परिवार सुनितालाई राजधानी पठाउन राजी भयो ।

‘कमलाले बूढी आमा, दुई बच्चा र अरु चार जना हुन्छन्, धेरै काम गर्न पर्दैन भनेकी थिइन्,’ बोधमायाले शुक्रवारसँग भनिन्, ‘बेलाबेलमा आउने–जाने भइहाल्छ पनि भनेकी थिइन् । कहाँ लैजाने, के काम लगाउने त्यत्ति थाहै थिएन ।’

छोरीलाई काठमाडौँ पठाएयता तीन वर्ष बितिसक्दा पनि सुनिता घर फर्कन पाएकी थिइनन् । बोधमायाका अनुसार, फोनमा कुरा गर्न खोज्दा पनि एक्लै कुरा गर्न दिँदैनथे । उनले ‘घर कहिले आउँछेस् भनेर सोध्यो भने पछाडिबाट कसैले जान्न भन् न’ भन्थे । घरमा काम गरेबापत उनीहरुले तीन वर्षको बीचमा ३२ हजार रुपैयाँ, दुई बोरा चामल र दुई लिटर तेल पाइन् रे !

माथिल्लो तामाकोशीको शेयर हाल्नुपर्ने भएपछि छोरी बोलाउन खोजे । नागरिकता बनाउनुपर्ने थियो तर काम गर्ने घरकाले २० हजार र एउटा फोटो दिएर ‘यसैले हुन्छ’ भनेर टारेको बोधमाया बताउँछिन् ।
‘खान लाउन दिन नसके पनि आमाको मन हो, सन्तानको माया लागिहाल्छ,’ यसपछि केही क्षण मौन हुँदै उनको आँखाबाट आँशु झर्न थाल्यो, भनिन्, ‘तीन वर्षसम्म छोरीको मुख हेर्नै पाइनँ । आखिरमा ज्युँदै छोरीको मुख हेर्न लेखेकै रहेनछ !’
000

(घटनास्थलको अवस्था ।)

परिचित कमलाले तीन वर्षअगाडि १७ वर्षकी सुनितालाई व्यवसायी सुमीत मैनालीको घरमा घरेलु कामका लागि ल्याएकी थिइन् । चरिकोट रहेकी कमलाले बोधामायालाई जेठ ११ मा काठमाडौं ल्याइन् । छोरी बस्ने वसुन्धरास्थित घरमा पुर्याइयो । छतमा छोरीको शव पल्टिरहेको थियो । 

त्यतिञ्जेल काठमाडौँ गैह्रीधारा बस्ने बोधमायाका ज्वाइँलगायत ७÷८ जना आफन्त भेला भइसकेका थिए । 
घरसाहु सुमीतले ‘छोरीले आत्महत्या गरिन्’ भने । 
सग्लै काठमाडौं पठाएकी छोरी मूढोझैँ पल्टेको देख्दा पनि उनले पत्याउन सकिनन् । 
‘न्याय चाहियो,’ भक्कानिदै उनी भनिरहेकी थिइन् । 
000

क्युज सिनेमा हल र ओसिस क्याफेमा संलग्न मैनालीको वसुन्धरास्थित घरमा काम गर्न बसेकी सुनिता जेठ ११ बिहान घरको छतमा मृत अवस्थामा फेला परेकी थिइन् । पानीट्याङ्की राख्न बनाइएको फलामे स्ट्यान्डमा पासो लगाएको अवस्थामा सुनिताको शव फेला परेको थियो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईंका अनुसार घटना बिहान ९ बजेतिरको हो । 

घटनास्थलमा पुगेको प्रहरीले शव लियो र घटनाको मुचुल्का उठायो । शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक तुलसी कँडेलको नेतृत्वमा भएको पोस्टमार्टममा उनको मृत्युको कारण आत्महत्या नै देखियो । 
000

जेठ ११ मा शव लिन प्रहरीले बल प्रयोग गरेको थियो । न्याय माग्दा उल्टो प्रहरीले बल प्रयोग गरेपछि थामीका परिवार जेठ १२ मा चरिकोट फर्कियो । चरिकोटमा साइँली छोरीमाथि भएको बलात्कार प्रयासको अनुसन्धान बाँकी नै थियो । 

उनी चरिकोट त पुगिन् तर आफन्त र प्रहरीले जाहेरी दिन जसरी पनि आउनैपर्ने भनेर तारन्तार फोन गरेपछि उनी १२ गते राति काठमाडौँ फर्किइन् । १३ गते जाहेरी दिइन् । त्यही दिन पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट आयो । विस्तृत रिपोर्ट १६ गते दिइयो । दुवैमा मृत्युको कारण आत्महत्या थियो । 
प्रहरीले उनीसँग केही कागजमा औँठाछाप लिएको थियो । ती कागज के थिए, बोधमायाले चाल पाइनन् । ती कागज पोस्टमार्टमका लागि सहमति दिएको र शव बुझिलिएको थियो तर बोधमायाले छोरीको शव बुझेकी थिइनन् । 

छोरीको मृत्युबारे उनको मनमा अझै शंका थियो । 
शंकाको कारण थियो, अपत्यारिलो आत्महत्या । 
असम्भव नै त हैन तर जुन अवस्थामा सुनिताको शव फेला परेको थियो, त्यो झट्टै पत्यार लागिहाल्ने अवस्थामा थिएन । त्यसैले पनि बोधमाया छोरीले आत्महत्या गरेको पत्याउन सकिरहेकी थिइनन् । 
उनले शुक्रवारकर्मीसँग पनि पटक पटक सोधिन्, ‘मेरी छोरीले किन आत्महत्या गरी ? यो कुरा मैले जान्न पाउने कि नपाउने ?’ 
000

(बोधमाया थामी र पुष्करबहादुर)

घटनास्थलको तस्बिर हेर्दा आत्महत्या गरेकै हो भनेर पत्याउन मुस्किल पर्ने कारण थियो आत्महत्याको प्रकृति ।

झुण्डिएर आत्महत्या गर्दा अधिकांशले अग्लो स्थान चयन गरेका हुन्छन् । रुखको हाँगा, टुल या मेचमा टेकेर पासो लगाउँछन् । 

आत्महत्याका प्रकारबारे शिक्षण अस्पताल महाराजगञ्जले उपलब्ध गराएको लिखित जानकारी अनुसार, ‘सामान्यतः आत्महत्या गर्नेले अन्तिम समयमा बाँच्ने कोसीस गरेको हुन्छ ।’
तर सुनिताको शवको प्रकृति त्यस्तो थिएन ।

घटनास्थलको तस्बिरअनुसार घरको छतमा रहेको पानी ट्याङ्की राख्ने फलामे स्ट्यान्डमा उनले सलको पासो लगाएकी थिइन् । उनको खुट्टाले भुइँ छोएको मात्र हैन, शव पूरै भुइँमा घुँडा टेकेर बसेको थियो । उनको एक हातमा कपडा बेरिएको थियो ।

पोस्टमार्टम विभागको लिखित जानकारीअनुसार, सुनिताले आत्महत्याको प्रयास गर्ने क्रममा अन्त्यमा ज्यान जोगाउन खोजेको भए बसिरहेको ठाउँबाट उठे मात्र पुग्थ्यो । 

घटना अपत्यारिलो बनेको अर्को कारण, घटनास्थल वरपर रगतका टाटा पनि हुन् । आत्महत्या गरेको स्थान वरिपरि निक्कै रगत देखिन्थ्यो ।

तर पोस्टमार्टम रिपोर्टले मृत्युको कारण आत्महत्या नै देखायो । घटनास्थलमा रहेको रगतको टाटो महिनावारीको रगत रहेको चिकित्सकले निष्कर्ष निकाले ।

‘हामीले हेर्ने भनेको पोस्टमार्टम रिपोर्ट हो,’ महाराजगञ्जका डिएसपी प्रसाईंले भने, ‘पोस्टमार्टमको रिपोर्टमा मृत्युको कारण आत्महत्या देखिएको छ ।’
000

१० दिनसम्म थामी परिवार काठमाडौंमै बस्यो । प्रहरी कार्यालय धाइरहे तर छोरीको आत्महत्याको कारण चाल पाएनन् । प्रहरीले पोस्टमार्टम रिपोर्ट देखाउँदै ‘आत्महत्या गरेकै हो’ भनिरहे ।
आत्महत्याको कारण त होला ? घर जान नदिनुको कारण त होला ? उनीहरुले प्रश्न गरिरहे तर उत्तर पाएनन् ।

मंगलबार थामी परिवारले छोरीको शव बुझे र पशुपति आर्यघाटमा दाह संस्कार गरेर घर फर्किए । शव जलाउँदासमेत उनीहरुले सोधिरहेको प्रश्नको उत्तर भने पाएनन् । पाए त सुमीतको हातबाट सात लाख नगद रुपैयाँ मात्र ।

महाराजगञ्जका डिएसपी प्रसाईंको दाबीअनुसार उनलाई पैसा लिएको र शव बुझेर दाह संस्कार गरेकोबारे केही जानकारी छैन । डिएसपी प्रसाईंसँग जानकारी लिँदा थामी परिवार भने शव जलाएर चरिकोटतिर हिँडिसकेको थियो ।

शुक्रवारसँग सुमीतले थामी परिवारलाई सात लाख रुपैयाँ दिएको स्वीकार गरे ।
‘नयाँ कानुनअनुसार घरमा काम गर्न बसेकाको बीमा गर्नुपर्ने रहेछ, त्यो थाहा भएन,’ उनले भने, ‘दुर्घटना भएको हिसाबले सुनिताको परिवारलाई सात लाख क्षतिपूर्ति दिइसकेँ ।’
...........
पोस्टमार्टममा आत्महत्या देखेको भनेर प्रहरीले फाइल बन्द गरिसक्यो । क्षतिपूर्ति रकम लिएर थामी परिवारले शव बुझेर जलाइ पनि सके ।
तापनि सुनिताको आत्महत्याको त्यो दृश्य सामान्य भने थिएन । 

‘आत्महत्या गर्नेले अन्तिम समयमा बाँच्ने कोसिस गरेको हुन्छ’
विष सेवन गरेर, घाँटीमा पाँसो लगाएर, हाम्फालेर आत्महत्या धेरै किसिमका हुन्छन् ।  यस्तो घटनामा पहिला के भएको हो भन्ने जानकारी प्रहरीकोमा जान्छ । प्रहरीले घटनास्थलको प्रकृति हेरी आत्महत्या हो कि हत्या, भनी प्रमाण खोज्ने काम गर्छ । शवको पोस्टमार्टम गर्दा शरीरको जुन भागमा असर परेको छ, त्यो भागमा अनुसन्धान गरिन्छ । 

शरीरको हातले नभ्याउने÷नपुग्ने ठाउँमा घाउचोट लाग्दा सामान्यतः आफैँले गरेको हो कि हैन भन्ने कुरा ध्यानमा राख्नु पर्छ । स्मरणीय के छ भने शरीरको कुनै पनि भागमा आफैँले घाउ बनाउन नसकिने भन्ने हुँदैन ।

झुण्डिएर मरेको हो भने मृतकको घाँटीमा पासो देखिन्छ । शरीरको अन्य भागमा हत्तपत्त चोटपटक देखिँदैन । झुण्डिने क्रममा यताउति ठोक्किने, ब्रेनमा ब्लड सड्किएर जाने हुन सक्छ । 
त्यो बेलामा चोट पटक लाग्न सक्छ । सामान्यतः आत्महत्या गर्नेले अन्तिम समयमा बाँच्ने कोसिस गरेको हुन्छ । 

जस्तोसुकै अवस्थामा पनि आत्महत्या गर्न सक्छन् । मृतकको शरीर भुइँबाट १६ सेमीमाथि टेबुलको खुट्टामा पासो बाँधी मृत्यु भएका केसहरु पनि छन् । 

मृतकको घाँटीको तन्तु हेरी उक्त व्यक्ति झुण्डिएको हो या घाँटी न्याकी मारेको हो भन्ने अनुसन्धान गरिन्छ । कसले मारेको हो भन्ने कुरा मार्ने व्यक्तिको हातको अथवा अन्य अंगको छाप भने थाहा हुँदैन । मृतकले प्रतिकार गर्न खोजेको खण्डमा चोटपटक लागेको छ भने त्यसैको आधारमा के हो भनेर छुट्ट्याइन्छ ।
(महाराजगञ्ज शिक्षण अस्पताल पोस्टमार्टम विभागले उपलब्ध गराएको लिखित जानकारीको सम्पादित अंश ।)
 

Leave A Comment