हैन भने किन मौन ?

शुक्रबार, २४ जेठ २०७६, ०५ : ०७ केपी ढुंगाना
हैन भने किन मौन ?

राज्यले चाहने हो भने कुनै पनि विषय रहस्यमा रहनै सक्दैन । पत्याउनुस्, सत्य यही हो । रहस्यको पर्दा हटाउन आवश्यक तत्व सत्य स्वीकार गर्ने हिम्मत मात्र हो ।

यत्ति पढेपछि लाग्न सक्छ, २०५० जेठ ३ को मदन भण्डारी र जीवराज आश्रितको शंकास्पद दुर्घटना अनि २०५८ जेठ १९ को रहस्यमय दरबार हत्याकाण्डको घटना किन अहिलेसम्म तिलस्मी नै रहिरहेको होला ?
निष्कर्ष यही हो, सत्य स्वीकार गर्न सक्ने हिम्मत नभएर ।

२६ वर्ष भइसक्यो दासढुंगा घटेको । प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहँदा नेकपा एमालेले हरेक वर्षको जेठ ३ मा घटनाको अनुसन्धान माग गर्दै आयो ।

दासढुंगा घटनापछि त्यो बेला प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमालेले देशी विदेशी शक्तिले षडयन्त्रपूवर्क आफ्नो पार्टीका दुवै नेताको हत्या गरेको दाबी गर्दै संसद र सडक दुवै तताएको थियो । साढे एक महिना संसद् चल्नै सकेन । त्यो बेला काठमाडौंका धेरै रेलिङ भत्किए ।

आफू सत्तामा पुगे अनुसन्धान गर्ने दाबी गरिरह्यो र अहिले पनि गरिरहेको छ ।

हरेक वर्ष एमालेका नेताहरुले ‘अनुसन्धान गर्ने’ फोस्रो वाचा गर्ने भूमिका निर्वाह गर्दै आइरहे । यो वर्ष एकीकृत माओवादीबाट चोला फेरेर नेकपाका नेता बनेका रामबहादुर थापा बादलको भागमा सरेछ, त्यो भूमिका । गम्भीर आपराधिक घटनाको अनुसन्धान गर्ने जिम्मेवारी रहेको सुरक्षा निकायको नेतृत्व गर्ने गृह मन्त्रालयको नेतृत्व सम्हालेका उनले घोषणा गरेका छन्, ‘अब अनुसन्धान गर्छु ।’

उनले वाचा गरेको २१ दिन बित्यो । कतै उनले छानविनका लागि सुरक्षा निकायसँग छलफल गरे कि ! समिति पो बनाए कि ! खसखस मेट्न खोज्दा उनले कहीँकतै अनुसन्धानबारे सामान्य छलफलसमेत गरेको भेटिएन । 

उनले भन्नका लागि मात्र अनुसन्धान गर्छु भनेका हुन् भन्ने बुझ्न २०७७ जेठ ३ कुरिरहनु पर्ने नै देखिएन । 
00000

त्यो बेला एमालेको मागअनुसार सरकारले सरकारी तहमा अनुसन्धान गर्न आयोग गठन गरेकै थियो । तर आयोगको निष्कर्षमा एमाले सहमत हुन सकेन । हत्यामा संलग्नको पोल खोल्ने भन्दै पार्टी तहमा अनुसन्धान गर्न अहिलेका प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा छानविन समिति गठन भएको थियो । 
समितिले प्रतिवेदन बनाएको समाचार पनि आयो त्यो बेला तर रहस्यमय घटनाको खोल्न बनेको समितिको प्रतिवेदन नै रहस्यमय नै रह्यो । 

कहिल्यै प्रतिवेदन सार्वजनिक भएन । यसो भनसुन चल्ने केही एमालेका नेतालाई प्रतिवेदन पढ्ने इच्छा व्यक्त गर्दा उनीहरु आफैँले प्रतिवेदन फेला नपारेको लाचारी देखाए ।

धन्न, चार वर्षअगाडि राष्ट्रिय पुस्तकालयमा दासढुंगाबारे सरकारी आयोगको प्रतिवेदन पढ्ने अवसर जुरेको थियो । जुन प्रतिवेदनको निष्कर्ष तत्कालीन एमालेले दाबी गरेझैँ दासढुंगा षडयन्त्रपूवर्क हत्या नभई दुर्घटना थियो ।

तर अझै एमालेबाट नेकपामा रुपान्तरण भएको पार्टीका नेताहरु न त्यो दुर्घटना थियो भन्ने स्वीकार गर्ने पक्षमा छन्, न घटनाको अनुसन्धान गराएर घटनामा संलग्नलाई कानुनी कार्बाहीको दायरामा ल्याउने मुडमा छन् । 

हुँदाहुँदा अब त ‘देशी–विदेशी शक्तिको षडयन्त्रमा मारिएका’ भन्न समेत छाडिसके । 

00000
दरबार हत्याकाण्डको अनुसन्धानको अवस्था पनि यो भन्दा फरक छैन है !
जेठ १९ मा नारायणहिटीमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्ने दाबी गर्न न घटना ताकाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला चुके, न तत्कालीन एमाले र माओवादीका नेता । 

ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा त गिरिजाप्रसादले आमसभामा सम्बोधन गर्दै हत्याकाण्डको प्रसंगमा शाहलाई नै धम्क्याउँथे ।

दासढुंगा घटनामा तत्कालीन एमालेका नेता–कार्यकर्ताले देशी–विदेशी तत्वको खेल देखेझैँ सशस्त्र द्वन्द्वताका र द्वन्द्व छाडेपछि पनि माओवादीका नेता कार्यकर्ताहरु पनि दरबार हत्याकाण्डमा देशी–विदेशी शक्तिको हात देख्थे र आफ्नो सरकार बनेपछि हत्यामा संलग्नलाई नंग्याउने दाबी गर्थे । तीन पटक सरकार बन्यो पनि तर केही भएन ।

खोजी हिँड्दा तत्कालीन एमाले र माओवादीका नेताले मात्रै हैन, नेपाली कांग्रेसका नेताले समेत दरबार हत्याकाण्डको अनुसन्धान गर्ने दाबी गरेका समाचार टन्नै भेटिन्छन् ।

अहिले पनि ज्ञानेन्द्र शाह यसो चल्मलाए कि दरबार हत्याकाण्डको छानविनको प्रसंग निस्किहाल्छ । र, नेताहरु ठूला स्वरमा ठिंगु¥याउन नपरोस् भनेर धम्क्याउँछन् । 

तर यसपालि त न सत्ताधारी न त प्रतिपक्षी कुनै नेताले पनि दरबार हत्याकाण्डको छानविन गर्छु या गर्नुपर्छ भनेको सुनिएन है !
00000

जति वाचा गरे पनि जिम्मेवार ठाउँमा पुगेकाहरु न दासढुंगाको रहस्य सल्टाउन तयार देखिन्छन्, न दरबार हत्याकाण्डको अनुसन्धान ब्युँताउँछन् नै ! 
किन होला ?

यी दुवैलाई सामान्य अपराध अनुसन्धानमा आउने बाधाका कारणको सूचीमा राखेर हेरौँ है त ।
जुन घटना, जे कारणले भएको दाबी गरियो, अनुसन्धानको निष्कर्ष त्यसको विपरीत आउने र त्यसले आफैँलाई नकारात्मक असर पर्नेमा अनुसन्धान गर्ने या गराउने व्यक्ति निश्चित भएको अवस्थामा अनुसन्धान रोक्ने काम हुन्छ । 

घटनाबारे समूहमा बनाइदिएको दृष्टिकोणले आफूलाई प्रत्यक्ष–अप्रत्यक्ष फाइदा भइरहेको छ तर अनुसन्धानबाट फरक तथ्य आउन सक्ने जोखिम देखिएको अवस्थामा समेत अनुसन्धानको फाइल खुल्दैन ।

अनुसन्धान गर्ने या गराउने ठाउँमा रहेका, उनीहरुका निकट वा शुभेच्छुक घटनामा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा संलग्न रहेको तर पहिचान नभएको घटनाको पनि अनुसन्धान शुरु गराउन मुस्किलै पर्छ ।

यी अपराध अनुसन्धान रोकिने सामान्य कारण हुन् । दासढुंगा र दरबार हत्याकाण्डजस्तो रहस्यमय घटनाको अनुसन्धान अगाडि नबढ्नुको कारणसँग मेल खान पनि सक्छ, नखान पनि सक्छ ।
तर, हिजो अनुसन्धानको माग गर्नेहरु आज आफैँ अनुसन्धान गर्ने या गराउने हैसियतमा पुग्दा मौन बस्दा शंका हुन्छ नै । 
भनेपछि,

के दासढुंगा प्राविधिक कारणले भएको दुर्घटना मात्रै थियो ? त्यो बेला क्षणिक राजनीतिक मुद्दाका लागि मात्र घटनालाई रहस्यमय देखाइएको थियो ?

के दरबार हत्याकाण्डको मुख्य पात्र दीपेन्द्र शाह नै हुन् ? गणतन्त्रको माहोल बनाउन मात्र ज्ञानेन्द्र र उनको परिवारलाई शंकाको घेरामा पारिएको थियो त ?
यदि हैन भने किन मौन ?
 

Leave A Comment