‘केटाहरुको आवाजमा उटपट्याङ कुरा पाइन्छ’

आइतबार, २६ जेठ २०७६, ०७ : २० मनोज घर्तीमगर
‘केटाहरुको आवाजमा उटपट्याङ कुरा पाइन्छ’

किशोरी उमेरमै पपुलर भइन् अमिता गुरुङ । उमेर १७ वर्ष मात्रै भयो । डान्स, गायन सबैतिर पर्फेक्ट छिन् उनी । पछिल्लो समय उनी टिकटकवालीको रुपमा बढी परिचित छिन् । कमेडी फ्लेवरको टिकटकमा रमाउने उनी पोखरामा बस्छिन् । टिकटक क्विन उपनाम पाएकी उनीसँग शुक्रवारकर्मी मनोज घर्तीमगरले गरेको अन्तरंग संवाद : 

यति सानो उमेरमा सेलिब्रेटी हुँदा कस्तो लाग्ने रहेछ ?
सेलिब्रेटी नै त हैन । धेरै जनाले चिन्नुहुन्छ, माया गर्नुहुन्छ । आफूलाई चिन्दा, माया गर्दा खुसी लाग्छ । यत्ति हो ।

सेलिब्रेटी भनेकै धेरैले चिन्ने, माया गर्ने हैन र ?
 अँ, तर म सेलिब्रिटी नै भन्नुपर्ने गरी चर्चित भइसकेकी छैन जस्तो लाग्छ ।

अब टिकटककै कुरा गरौं न त । कसरी प्रवेश भयो ? 
सुरुमा त रहरैले हो । सानैदेखि डान्स गर्ने, अरुलाई हँसाउने टाइपको थिएँ । अभिनय गरेर होस् वा अरु केही काम गरेर होस्, साथीहरुलाई हँसाउन रमाइलो लाग्थ्यो । एसइईको परीक्षा दिएपछि फुर्सद भयो । फुर्सदमा रमाइलो हुने भएकाले डप्सम्यास भन्ने चलाउँथे । त्यसमा अरुले हेर्न मिल्दैनथ्यो । आफैँले मात्रै हेर्ने हो । पछि बहिनीले म्युजिकल्लीबारे बताइन् । त्यसमा भएका भिडियोहरु हेर्न थालेपछि मलाई पनि रहर लाग्यो । रहरै रहरमा म्युजिकल्ली चलाएँ । अपडेट भर्सन टिकटक आयो । समय कटाउन त्यसैमा लागेँ । केही भिडियो हालेपछि राम्रो प्रतिक्रिया आउन थालेपछि यतै लागियो ।

टिकटकमा हालेको पहिलो भिडियो याद छ ?
सुरुमा अंग्रेजी संवादको टिकटक बनाएकी थिएँ तर अपलोड गरेकी थिइनँ । आफैँ हेर्दै रमाउँथे । एक दिन कमेडियन सन्दीप क्षेत्रीको मिठाइलाल यादवको भिडियोको टिकटक बनाएँ । हेर्दा राम्रै लाग्यो । तर, अपलोड गर्न डर लाग्यो । ममीहरुलाई देखाएँ, राम्रो छ भन्नुभयो । ड्याडीले फेसबुक, इन्स्टाग्राममा हालिदिनुभयो । त्यहाँ राम्रो प्रतिक्रिया आउन थालेपछि बल्ल टिकटकमा हालेँ । धेरैले रुचाए अनि त अरु भिडियो गर्न थाले । 
हिट भएको क्लिप याद छ ?
मामुले पैसा गन्दै बसेको एउटा भिडियो छ । त्यसमा म आफ्नै धुनमा आएर छक्क परेर हेरेको हे¥यै गरेकोछु । यो धेरै हेरियो । २७ मिलियन भ्युज छ यसको । एक मिलियन त लाइक नै छ । 

अहिलेसम्म कतिवटा जति टिकटक बन्यो होला ?
२ सय २० भन्दा बढी भयो होला ।

बढी चैँ केटाको आवाजमा टिकट बनेको रहेछ नि, किन ?
केटाको भ्वाइसमा टिकट बनाउन अलि बढी फन्नी लाग्छ । यसमा लिप्सिङ गर्न, गेटअप गर्न पनि रमाइलो लाग्छ । उनीहरुको भ्वाइस गजबकै लाग्छ । केटीहरुको पनि पाइन्छ तर केटाहरुको आवाजमा बढी हाँसो लाग्दो, बढी उटपट्याङ कुरा पाइन्छ । 

टिकटक भिडियोको आइडिया चैँ कतिबेला आउँछ ?
गीत सुन्दै बसेको बेलामा धेरै आउँछ । कहिलेकाहीँ टिकटक हेरिराखेको बेलामा पनि आइडिया आउँछ । प्राय एक्लै हुँदा बढी आइडिया फुर्ने रहेछ । कन्सेप्ट आएपछि प्लान बनाउँछु अनि मात्र बनाउँछु । बुबा र मामुलाई देखाएर राम्रो छ भनेपछि मात्र अपलोड गर्छु ।

कमेडी फ्लेवरको बढी भिडियो रहेछ । पछि कमेडियन बन्ने लक्ष्य हो ?
कमेडी बेसकै भिडियो धेरै छ । रमाइलो लाग्छ कमेडी फ्लेवरको बनाउन । धेरैले कमेडी मन पराउने भएकाले यसमा बढी ध्यान दिएको हो । फेमस कमेडियनहरुको भ्वाइसमा टिकटक बनाउन रमाइलो लाग्छ तर गीतहरुमा पनि बनाउँछु ।

हिजोआज टिकटक भन्दा बढी मिडियातिर अन्तर्वार्ता बढेको छ । कस्तो लागिराछ ?
टिकटकमा आएपछि मिडियाले धेरै पछ्याएका छन् । मिडियाले नै दर्शकसामु चिनाउने हो तर नढाँटी भनौं है त, कहिलेकाहीँ चैँ दिक्क लाग्छ । त्यसमा पनि बढी युट्युब च्यानल र अनलाइनले पछ्याउँछन् । परिवारसँगै घुम्न गएको बेलामा पनि पछि लागेर हैरान बनाउँछन् । त्यतिबेला असाध्यै झ्याउ लाग्छ । टिकटकमा त फरक फरक विषयमा भिडियो बनाउन पाइन्छ । अन्तर्वार्ता दिँदा हरेक पटक कहिलेबाट सुरु गर्नुभयो ? कस्तो लागेको छ ? कस्तो अनुभूति हुन्छ ? भन्ने प्रश्न दोहोरिएको दोहोरियै गर्छ । एउटै प्रश्नको उत्तर पटकपटक दिँदा वाक्क लाग्छ । कोही त अन्तर्वार्ता लिन्छु भनेर आउने तर सोध्ने बेलामा आफैँ अक्क न बक्क पर्नेहरु पनि भेटिए । 

कस्ता–कस्ता प्रतिक्रिया आउँछन् ?
पहिला स्कुलमा साथीहरुले जिस्काउँथे । अहिले त स्कुलमा पनि अझै राम्रो गर्दै जाऊ भन्छन् । जो भेटिन्छन्, अझै राम्रो गर्दै जाऊ भन्छन् । पहिलो पटक भेटेकाले टिकटकवाली भन्छन् । रमाइलो लाग्छ ।

कहिलेकाहीँ झ्याउ लाग्दैन टिकटकमा ?

झ्याउ लागे त कसले बनाउँछ र ? मन लागेको बेला बनाउने त हो ! टिकटक बनाउनैपर्छ भनेर  बनाउँदिनँ । 

पढाइ कहाँ पुग्यो ?
होटल म्यानेजमेन्टमा कक्षा १२ मा पढ्दैछु । 

टिकटकले पढाइलाई असर गर्दैन ? 
मलाई त खासै असर गरेको छैन । शनिबार वा बिदा भएको दिनमा मात्र बनाउँछु । बिदा नभएको बेला टिकटकतिर ध्यानै जाँदैन । त्यसैले पनि पढाइमा असर गरेको छैन । 

टिकटक लत हो कि हैन त ? 
एक दिन चलाएन भने के भयो कस्तो भयो, के बिस्र्यो, के छुट्यो जस्तो भयो भने त्यो लत हो । अहिलेसम्म मलाई त्यस्तो भएको छैन । त्यसैले लत पनि लागेको छैन । यो रमाइलो हो । धेरै सिरियस भएर लाग्नु हुन्न । यो नचलाए पनि हुन्छ । म त नचलाई पनि बस्न सक्छु । त्यसैले मेरो लागि त टिकटक लत हैन ।

टिकटकका राम्रो पक्ष के हो जस्तो लाग्छ ?
अभिनय गर्न मन लाग्नेहरुले यसबाट धेरै आइडिया पाउन सक्छन् । अभिनयमा रुचि हो भने यसबाट आफ्नो कला देखाउन सकिन्छ । अरुलाई रमाइलो गराउन सकिन्छ । अरुलाई रमाइलो अनुभव गराउन सक्नु ठूलै कुरा हो । अहिले टिकटकबाट पनि राम्रा–राम्रा कलाकार उत्पादन भएका छन् । 

नराम्रो पक्ष ? 
जे गर्दा पनि टिकटक भनेर लागियो भने फाइदा हुन्न । भिडियो हाल्न पाइन्छ भनेर जे पनि हाल्नु पनि हुन्न । टिकटक रमाइलोको लागि बनेको हो । यसलाई त्यही रुपमा लिन सक्नु पर्छ । जतिखेर पनि टिकटक भनेर लाग्यो भने त खराब भइहाल्छ ।

टिकटकै आधारमा म्युजिक भिडियोको अवसर पाउनेहरु बढिरहेका छन् । हिट पनि भएका छन् । तपाईंलाई चैँ अफर आएको छैन ?
आउँछ नि ! धेरै आउँछ । तर, १२ कक्षा पास नगरेसम्म त्यतातिर लाग्ने योजना छैन । पहिला पढाइ सकौँ अनि त्यतातिर सोचौँला । 

भर्खर म्युजिक भिडियोमा काम गरेको हैन ?
अँ । धेरै अफर आएपछि सन्तोष लामाको गीत ‘मंसीर भन...’ मा अभिनय गरेकी छु । त्यसमा अभिनय र डान्स दुवै गरेको छु तर अहिले अन्य म्युजिक भिडियो गर्ने योजना छैन ।

टिकटक र म्युजिक भिडियोको अभिनयमा कत्तिको फरक रैछ ?
अभिनयमा रुचि भएर होला पहिलो गीत भए पनि सजिलै गरेँ । अप्ठ्यारो र त्यस्तो फरक लागेन ।

अब अभिनयतिर लाग्ने त होला नि हैन ?
अभिनयमा रुचि त छ तर पढाइ नसकी त्यतातिर लाग्दिनँ । त्यसैले यो पछिको कुरा हो । पछिको कुरा पछि नै थाहा होला ।
 

Leave A Comment