विस्मृतिको तियानमेन

सोमबार, २७ जेठ २०७६, ०९ : २० अच्युत काेइराला
विस्मृतिको तियानमेन

स्वभावले शान्त र गम्भीर सोचमा अल्झिरहेको देखिने होचो कदका देङ स्याओपिङ (तङ सियाओपिङ) एक महिनादेखि नै अस्थिर थिए । देख्दा उनी विभिन्न बैठकमा सहभागी भइरहेको देखिन्थे तर भित्रभित्रै उनी उद्वेलित थिए । खासमा सयौँ विचार फुलोस् भन्ने नीतिका पक्षधर थिए उनी । यसो गर्दा समाजमा रहेका असन्तुष्ट भावना प्रकट हुन्थे र ती भावनाले देश कुन मुडमा छ भन्ने देखाउँथ्यो ।

सयौँ विचार फुलोस् भन्ने नीति खुला गर्नेबित्तिकै बेइजिङका चोक र गल्लीका भित्तामा अनेकन् अराजक नाराहरु देखिन थाले । खासमा जनताको मूड बुझ्न उनलाई समय लागेन । लामो समयदेखि मनको पोयो खोल्न नसकेका सर्वसाधारण व्याप्त भ्रष्टाचारबाट आजित देखिन्थे । सन् १९८९ को अप्रिल महिनादेखि भने आन्दोलनले निकै उभार पाइरहेको थियो । 

त्यो बेला चीनमा महँगी बढेको थियो । भ्रष्टाचारले सर्वसाधारण दिक्क थिए । त्यसमाथि संसारभरि नै प्रजातन्त्रको लहर चलिरहेको थियो । यस्तोमा त्यहाँ पनि पारदर्शिता र प्रजातन्त्रको माग गर्दै तियानमेन चोकमा बिछ्यौना लिएरै प्रदर्शन गर्न थालेको तीन महिना लाग्न थालेको थियो । त्यहीँ खाने र सुत्ने व्यवस्थाका साथ आएका विद्यार्थीले स्वतन्त्रताकी देवीको मूर्ति पनि बनाउन थालेका थिए ।

ठीक यही बेला रुसका राष्ट्रपति मिखाइल गोर्वाचेभ चीन आउँदै थिए । देशको बेइज्जत गर्ने वा देशको दुरवस्था देखाउन आन्दोलनकारीहरुका लागि योभन्दा गतिलो बाटो अरु देखेनन् । ‘ग्लास्तनोस्त’ र ‘पेरोइस्त्रेइका’को नारा लगाएका कारण गोर्वाचेभ संसारभरिको चासोको केन्द्रमा थिए ।

त्यसैले गोर्वाचेभ र देङबीच के कुरा होला भनेर संसारका मिडियाको ध्यान आकृष्ट हुन पुगेको थियो । ठीक यहीबेला संसारभर स्याटेलाइट च्यानलको उभार आइरहेको थियो । यस्तो अवस्थामा तियानमेन चोकको आन्दोलन स्याटेलाइट च्यानलको चासोभित्र पर्नु स्वाभाविक थियो । तियानमेनको अर्थ हुन्छ, ‘स्वर्गीय शान्तिको ढोका’ ।

सन् १९११ मा चीनमा भएको क्रान्तिले राजसत्ता समाप्त गरेको थियो । त्यसयता तियानमेन चोक राजाको आँँगन होइन, राजनीतिक गतिविधिको आँगनमा परिणत भएको थियो । यो चोकमा एकसाथ ६ लाख सर्वसाधारण भेला हुन सक्थे । सन् १९८९ को विद्यार्थी आन्दोलनताका भने १० हजार जना भेला भएर आफ्नै प्रकृतिको आन्दोलन गरिरहेका थिए । यो विरोधको लहर अन्यत्रसँगै नेपाल, बर्मा, चीन लगायत विश्वका अन्य मुलुकमा पनि पुगेको थियो । चीनबाट जसै गोर्वाचेभ फर्किए, आन्दोलनलाई कसरी दबाउने भन्ने छलफल भयो ।

यसका लागि एक साताअघिदेखि विद्यार्थीलाई त्यहाँबाट निस्केर घर जान माइकिङ गरियो । कसैले मानेन । यस्तो लाग्थ्यो, विद्यार्थीहरु ‘स्वर्गीय शान्तिको ढोका’बाट प्रजातन्त्र लिएरै जानेछन् र चिनियाँ कम्युनिस्ट पार्टीको शासन ढलाएरै छाड्नेछन् ।

माओ जेदोङ (माओ त्से तुङ)ले एउटा विरासत देङको काँधमा सुम्पिएका थिए । यत्ति एउटा आन्दोलनले यो ढल्ने हो त ? उसो भए विद्यार्थीको माग गलत थियो त ? पक्कै पनि माग गलत थिएन तर मागेकै भरमा जनगणतन्त्र चीनको पगरी फ्याँक्ने कुरा थिएन ।

त्यसपछि प्रशासनले तियानमेनबाट प्रदर्शनकारी ननिस्किए गोली चलाइने प्रचार गर्यो, र पनि विद्यार्थी टसको मस भएनन् । यसपछि जुन ४ को दिन चोकमा ट्याङ्कहरु छिरे । ट्याङ्कलाई तियानमेनभित्र नछिराउन एक जना विद्यार्थी ट्याङ्कको अगाडि उभिए ।

ती विद्यार्थी को थिए, कसैलाई पनि थाहा छैन । ट्याङ्कका अघिल्तिर उभिएका ती गुमनाम व्यक्तिको नाम पत्रकारहरुले ‘ट्याङ्क म्यान’ राखिदिएका छन् । त्यहाँ साहसपूर्वक त्यसरी उभिने अन्तिम व्यक्ति उनी नै थिए । ४ जुनको साँझ जसै गोली चल्न थाल्यो, मानिसहरु हताहत हुन थाले । 

यस घटनाका बारेमा न्युयोर्क टाइम्सका पत्रकार माइकल क्रिस्टोफले बडो रोचक संस्मरण लेखेका छन् । माइकलले समाचार सङ्कलन गर्दै गर्दा गोली लागेका विद्यार्थीलाई ओसार्न रिक्सा चलाइरहेका एक जनाले रुँदै भनेका थिए, ‘हामी बाँचौँला, नबाँचौँला तर तिमी बाँच्नू र संसारलाई हामीले सङ्घर्ष गरेका थियौँ भनी बताउनू ।’

निर्ममतापूर्वक यो आन्दोलन तुहाइयो । तुहाउनु जरुरी पनि थियो किनभने नतुहेको भए कम्युनिस्ट पार्टीले त्यतिञ्जेल जुन उपलब्धि हासिल गरेको थियो र भविष्यका लागि जे साँचेको थियो, त्यो पूरा हुने थिएन । देङको कोणबाट हेर्दा यो आन्दोलन दबाउनु पथ्र्यो र दबाइयो । प्रजातन्त्रको माग गर्नेहरुको कोणबाट हेर्दा यो जत्तिको ठूलो अत्याचार कुनै थिएन किनभने विरोधका क्रममा देशका होनहार जवानहरुको ज्यान गएको थियो । आन्दोलन तुहाउने अन्य बाटाहरु हुनसक्थे भन्ने तिनको धारणा हुनसक्छ । यो घटना दबाइँदा को कति हताहत भए, सरकारले अहिलेसम्म सूचना चुहाएको छैन ।

कतिसम्म भने आफ्ना हराएका वा मारिएका सन्तानका बारेमा खोजखबर गरिदेऊ भनेर पटक–पटक खोजीनिधि गर्ने ‘हराएका विद्यार्थीका आमाहरुको संस्था’ र तिनका सदस्यहरुलाई प्रशासनले दिनुसम्म दुःख दियो । त्यसको पीडा त्यो आमा समूहका सदस्यले पटक–पटक मिडियामार्फत् व्यक्त गर्ने गरेका छन् । खासगरी जसै जुन ४ आउँछ, पश्चिमा मिडियाले तिनै ‘आमा’हरुलाई खोजीखोजी समाचार बनाउँछ ।
यो आन्दोलन दबाइँदै गर्दा स्याटलाइट च्यानलले मिनेट–मिनेटमा खबरहरु पस्किरहेका थिए । यसले चीनको नहुनु बेइज्जत भइरहेको थियो ।

यो घटनामा अमेरिकाले नदेखेझैँ गर्ने सवाल नै थिएन । त्यसै पनि ऊ प्रजातन्त्रको रखवालाका रुपमा चर्चित थियो । तर समस्या के थियो भने उसको व्यापार साम्राज्य त्यहाँ भर्खरै मौलाउँदै थियो । विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएको मुलुकमा उसका लागि व्यापारका बाटाहरु खुला हुँदै थिए । यस्तो बेलामा उसले चीनलाई चिढ्याउन चाहँदैन थियो । बरु यसका लागि एउटा अर्को उपाय रचियो । यो घटनालाई भएकै थिएन भन्ने भान गराउने किसिमका मिडियाबाजी गर्ने । यसका लागि अमेरिकी विज्ञापन एजेन्सीले करोडौँ डलरको काम हात पार्यो ।

केही वर्षमै तियानमेन घटना एउटा सुदूरको घटनाझैँ बिर्सिइन थालियो । त्यसको साटो चीनले गरेको आश्चर्यजनक प्रगतिका समाचारले ठाउँ पाउन थाल्यो । हुन पनि आन्दोलन साम्य पारेलगत्तै सरकारले विकासका लागि गम्भीरतापूर्वक काम गर्न थाल्यो । तीस वर्षभित्रै चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्रमा परिणत भयो भने कतिपय काममा अमेरिकालाई समेत उछिन्यो ।

अहिले चीनलाई होच्याउने एउटै मात्र घटना तियानमेन छ । जसै उसको आलोचना कसैलाई गर्नुप¥यो भने तियानमेन घटना, मानव अधिकार, अल्पसंख्यक मुस्लिम उइगुर जातिमाथि लादिएको अनिवार्य शिक्षाजस्ता कुरा नै आउने गरेका छन् ।

तियानमेनको घटना देङ स्याओपिङको जीवनकै सबैभन्दा अप्रिय घटना थियो । उनले व्यक्तिगत रुपमा कयौँ होचोहेलो बेहोरेका थिए तर देशलाई नै अप्ठेरो पार्ने यस्तो अवस्था आइपर्ला भनेर कल्पेका पनि थिएनन् । तर समय क्रममा देशले विकासमा जुन छलाङ लगायो, त्यसले यो घटनालाई पर्दा हाल्न सजिलो पारिदिएको छ । तर संसारभर एउटा मानक भने स्थापित भएको छ, देशले प्रगति ग¥यो भने जनतामाथि भएका कयौँ अत्याचार बिर्साइन शासकहरुले गर्नुसम्म प्रयास गर्छन् ।

हालै बेइजिङमा भएको एउटा सर्भेमा तियानमेन घटनाका बारेमा सय जना विद्यार्थीमध्ये १७ जना मात्र जानकार रहेको देखाएको थियो । एउटा महŒवपूर्ण घटना देशको स्मृतिबाट गायब पारिनु कत्तिको जायज कुरा हो भन्ने प्रश्न यसले उठाइरहेको छ । कतिपय अवस्थामा चीनले यस घटनालाई निन्याउरो रुपमा व्यक्त गर्नेभन्दा पनि विजेताका रुपमा प्रस्तुत गर्ने गरेको छ ।

यसको उदाहरणका रुपमा सिंगापुरमा हालै भएको एउटा छलफल कार्यक्रममा एक जना सैन्य अधिकारीले गर्वका साथ यो घटनामा चीनले दुःखी हुनु नपर्ने बताएबाट प्रस्ट हुन्छ । यसबाट थाहा हुन्छ, चीनको विकासले उसमा कति गहिरो गरी आत्मविश्वास भरिदिएको छ । 

घटनाको ३० वर्ष पूरा भएको छ । चिनियाँ जनतामा तियानमेन घटना विस्मृत हुँदैछ । यस घटनाको एउटै मात्र पाठ भनेको भ्रष्टाचारीलाई न्यूनीकरण नै हो । त्यसैले पनि राष्ट्रपति सि जिनपिङले यही कुरालाई जोड दिइरहेका छन् ।

यो घटनाबाट नेपालले के सिक्न सक्छ ? विस्मृति नेपालीहरुको प्रमुख पहिचान हो तर सिक्न चाहेको खण्डमा जनताका असन्तुष्टिहरु या त बेलैमा सम्बोधन गरिनुपर्छ कि बिस्फोटको समय कुर्नुपर्छ । बिष्फोट नै कुर्ने हो भने भोलिका दिनमा मुलुक समृद्ध भयो भने पनि अरुले बारम्बार हियाउने बाटो पाइनैरहन्छन्, जसरी संसारले चीनलाई ‘तियानमेन’ देखाएर होच्याउने गरेका छन् ।
(कोइरालाले देङ स्याओपिङको जीवनी लेखेका छन् ।)
 

Leave A Comment